काठमाडौं। पूर्वी नेपालको चर्चित पर्यटकीय प्रोडक्ट ‘मुन्दुम टे«ल’मा एक लाखभन्दा बढी पर्यटक भित्र्याउन सन् २०२५ लाई ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ का रुपमा मनाइने भएको छ। मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रबर्धन केन्द्रको अगुवाइमा भ्रमण वर्षका कार्यक्रम सार्बजनिक गरिएका छन् ।
पदमार्ग प्रवद्र्धनका लागि गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, विश्व साइकल यात्री पुस्कर शाह, अल्टाधाविका मिरा राई र पर्वतारोही पेम्बा वाञ्चु शेर्पालाई पर्यटन दूत नियुक्त गरिएको छ ।
केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भ्रमण वर्षको घोषणा गरिएको हो । केही वर्षअघि यही संस्थाको अगुवाइमा खोटाङ र भोजपुर जोड्ने मुन्दुम पदमार्ग एक्सप्लोर गरिएको थियो।
केन्द्रका अध्यक्ष रमेश राईका अनुसार वर्षभर विभिन्न महोत्सव गरिनेछ। भ्रमण वर्षका आकर्षणहरूमा गुराँस महोत्सव, घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सब, गोठस्टे महोत्सव, साकेला, उधौली, उभौली महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथुन महोत्सव, धामी महोत्सव, रुद्राक्ष महोत्सव आदि हुनेछन्।
यसका लागि करिब ४ करोड २३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भ्रमण वर्षको आयोजक स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार हुनेछन् भने संयोजकमा मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रबर्धन केन्द्र रहने छ ।
सोमबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा मुन्दुम पदमार्गको वृतचित्र प्रदशर्नीका साथै सहभागीलाई ब्रोसर र नक्सा वितरण गरिएको थियो।
कार्यक्रममा पूर्व पर्यटन नागरिक तथा संस्कृति मन्त्री सुदन किराती, सभासद् रामकुमार राई पासाङ, प्रदेश सांसद विनोद वान्तवा राई, पूर्वमन्त्री शंकर कोइराला, पर्यटन बोर्डको वरिष्ठ निर्देशक हिकमत सिंह ऐर, टानका अध्यक्ष निलहरी बास्तोला, स्विस डेभलपमेन्ट कर्पोरेसनका प्रतिनिधि सुशील श्रेष्ठ, मुन्दुम ट्रेल पर्यटन दुत दयाहाङ राई, साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलत कुलुङ, हरिबहादुर राई, इन्सु राई र निला राईले मुन्दुम पदमार्गका विषयमा बोलेका थिए ।