धार्मिक एवं पर्यटकीयले रूपमा प्रख्यात जट्टापोखरी र पाँचपोखरीको काखमा लुकामारी खेलेर प्राकृतिक रूपमा छरपस्ट बसेका ढुङ्गै ढुङ्गाको पार्क अर्थात ‘स्टोन पार्क’ दोलखाको पूर्वी सिमानाको सुन्दर पर्यटकीय स्थल हो।
जिरी नगरपालिकाको वडा नम्बर–१ स्यामा, पुम्पास्थित यो बगर ढुङ्गैढुङ्गाले ढाकिएको छ । तर तिनै ढुङ्गालाई सजाएर बनाएको पार्क अन्य पार्कभन्दा फरक छ।
खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुङ्गा रहेको र ती ढुङ्गाहरुलाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरि पार्क बनाएको हुँदा जो कोही मन्त्रमुग्ध हुन्छन्।
नगरपालिकाले जिरीमा बढ्दै गएको आन्तरिक पर्यटकको बसाई लम्ब्याउन यूएनडीपीको साझेदारीमा स्टोन पार्क निर्माण गरेको हो।
सयौं अजंगका ढुङ्गासहित घाँसे मैदानहरूले ढाकिएको पार्कमा गुरू रिम्पाोचे, शिवजीको मूर्ति निर्माण गरिएको छ। ढुङ्गामाथि बनाइएको यी मुर्तीहरु पर्यटकका लागि थप आकर्षक बन्न पुगेको छ। पार्कलाई तार बार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतीक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङ गरिएको छ।
प्राकृतिक मनोरममा धनी स्टोन पार्कको नजिकैबाट पूर्वोउत्तरमा देखिने हिमश्रृङ्खलाको लर्कनले मन आनन्द हुन्छ।
स्टोन पार्कको वरिपरि पुम्पा, यार्सा साथै रामेछापतिर गर्जाङ जस्ता बसेको शेर्पा, क्षेत्री , बाहुनजस्ता मानवीय बस्तीले सामाजिक र जातीय सहिष्णुता झल्काएको छ।
पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडिओको सुटिङ गर्न कलाकारहरू स्टोन पार्क आउने गरेका छन्।
दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र वीर बिक्रममा समेत यसपार्कको सुन्दर दृश्यहरू कैद गरिएका छन्।
आन्तरिक पर्यटकलाई लक्षित गरि निर्माणधीन स्टोन पार्कमा अझै विकास र प्रचारप्रचारको कामहरू गर्न प्रयासरत रहेको जिरी नगरपालिका वाड न.१ का वडा अध्यक्ष लाक्पा शेर्पाले बताए।
‘हामी आन्तरिक पर्यटकलाई लक्षित गरि स्टोनपार्कमा थप पूर्वाधारको विकास गर्दैछौ। यसलाई दोलखा र रापेछापकै उत्कृष्ट प्रयकटीयस्थल बनाई छाड्नेछ’, शेर्पाले भने।
वडाध्यक्ष शेर्पाको अनुसार पार्क भित्र बालबच्चाको निम्ति फनपार्क बन्दै छ। जहाँ बालबच्चालाई मनोरन्जनको लागि बिभिन्न खेल्ने सामाग्री राखिने भएको छ। जिरी नगरपालिका र बागमती प्रदेश सरकारको समन्वयमा स्टोन पार्कलाई पर्यटकीय गन्तव्य बनाउन लागि परेको अध्यक्ष शेर्पाले बताए।
पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बुलगायत अन्य जिल्लाबाट आन्तरिक तथा विदेशी मुलुकबाट पनि मानिसहरू घुम्न आउने उनले बताए ।
दोलखा र रामेछापको भ्रमण गर्दा स्टोन पार्क भुल्नु हुन्न है। स्टोन पार्कहुँदै जट्टापोखरि र पाँचपोखरि पैदल जान सकिन्छ। जहाँ पुगेर ठूलो स्वरमा चिच्याउँदै भगवानलाई पुकारेमा चिताएको पुग्ने जनविश्वास छ। यहाँको प्राकृतिक छट्टाले मन जित्नेछ।
कसरी पुग्ने:
समुन्द्र सतहबाट करिब १८७६ मिटर उचाईमा रहेको स्टोनपार्क नेपालको स्वीजरल्याण्डको उपनामले परिचित जिरीको ढुङ्गेबजारबाट २७ कि मि को दुरिमा रहेको छ। दोलखा र रामेछापको सिमानामा रहेको उक्त स्थान दुबै जिल्लाको लागि पर्यटकीय गन्तव्य हो।
स्टोन पार्कसम्म पुग्नको लागि दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली,यलुङहुँदै जान सकिन्छ । यस्तै जिरीबजार, कुने, सिउरानि, ठोसे, सिवालयहुँदै पुग्न सकिन्छ। पैदल गएमा लगभग ४ घण्टा। दुबै बाटो मोटरबाटो हो। जिरी सिवालयबाट गर्जाङ देउराली जाने गाडी पाइन्छ। मोटर वा बोलेरोमा जाँदा करिब २ घण्टामा पुग्न सकिन्छ। यसैगरी छिमेकी जिल्ला रामेछापको ठोसे, शिवालयहुँदै पनि जान सकिन्छ।