प्रकृति, संस्कृति र अध्यात्मको सङ्गम हो मनास्लु क्षेत्र। उत्तरी गोरखामा पर्ने मनास्लुमा दुइटा भ्याली छन्, नुब्री र चुम। दुबै भ्यालीलाई समेटेर चुमनुब्री गाउँपालिका बनाइएको छ। समग्र गाउँपालिकाको जनसङ्ख्या करिब १० हजार छ। गाउँमा भोटे समुदायको बाहुल्य छ।
मनास्लु पदमार्गमा धमाधम होटल खुलिरहेका छन्। यहाँ १५० होटल छन्। सन् २०२५ मा १५ हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ।
संसारको सातौं अग्लो मनास्लु हिमाल, अहिंसा क्षेत्रको रुपमा विश्वमै प्रख्यात चुम भ्याली लगायतका कारण वर्सेनी हजारौं पर्यटक मनास्लु घुम्छन्। मनास्लु गुरु रिन्पोछे र महायोगी मिलारेपाले ध्यान गरेको पवित्र भूमि हो। मनास्लु पदयात्रामा बौद्ध दर्शनको अध्ययन गर्न पाइन्छ।
मनास्लुको पर्यटनका विषयमा गाउँपालिकाका अध्यक्ष निमा लामासँग एभरेस्ट पेडियाका लागि अमृत भादगाउँलेले गरेको कुराकानी :
- मनास्लुमा पर्यटनको अबस्था कस्तो छ ?
मनास्लुमा हरेक वर्ष पर्यटक बढीरहेका छन्। अबस्था संतोषजनक छ। सन् २०२३ मा ९ हजार १ सय ७७ जनाले पदयात्रा गरेका थिए। त्यसैगरी पर्वतारोहीको पनि आकर्षण बढ्दो छ। मनास्लु पहिलोपटक आरोहण भएको सन् १९५६ मे ९ देखि सन् २०२२ सम्म २,७१६ जना टाकुरामा पुगिसकेका छन्।
- पदमार्गमा सबैतिर होटल तथा होमस्टे खुलेपछि ‘टि हाउस ट्रेकिङ’ले गाउँलेलाई कत्तिको फाइदा पुगेको छ ?
पहिलापहिला होटल र होमस्टे थिएन। क्याम्पिङ टे«क चल्थ्यो। गाउँलेले खासै आम्दानी गर्न पाउँदैनथे। अहिले चुम र नुब्री दुबैतिर होटल तथा होमस्टे खुलेका छन्। पर्यटक बढ्दा स्थानीयले पनि फाइदा पाइरहेका छन्। होटल तथा रेस्टुराँ खोल्नेक्रम जारी छ। मनास्लु क्षेत्रमा १५० होटल छन्।
- पर्यटक बढाउन के के गर्दै हुनुहुन्छ ?
‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन समृद्ध चुमनुब्री’ नाराका साथ हामी काम गरिरहेका छौं। हामी समग्र मनास्लु क्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना बनाउँदै छौं। पर्यटनलाई रैथाने कृषिसँग जोड्दैछौं।
- पर्यटनलाई कृषिसँग कसरी जोड्नु हुन्छ ?
मनास्लु क्षेत्रको अर्गानिक खानेकुरा उत्पादनमा जोड दिन्छौं। फापर, कोदो, आलु, मकै, सिमी, आलु, साग र मुला खेतीमा किसानलाई प्रोत्साहित गर्छौं। किसानलाई पर्यटनसँग प्रत्यक्ष जोड्ने योजना छ। ‘मनास्लु स्याउ’ भनेर चुमनुब्री भनेर नामकरण भइसकेको छ। अब यसको ब्रान्डिङ र बजारीकरण गर्छौं।
पोखराको पर्वतीय सङ्ग्रहालयमा मनास्लुको थ्रिडी मोडल राख्दै छौं। एमक्यापसँगको समन्वयमा यो काम गर्छौं। हामीले डडेलोमुक्त क्षेत्र र प्रदुषणमुक्त क्षेत्र घोषणा गरिसकेका छौं।
चुममा अहिंसा शताब्दी महोत्सव २०८० वैशाख ६ मा मनाइसक्यौं। चुम उपत्यका जैविक विविधताको खुला सङ्ग्रहालय हो। आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको प्राविधिक सहयोगमा चुमनुब्री गाउँपालिकाले ‘शाग्या ऐन’ (अहिंसा ऐन) जारी गरिसक्यौं। त्यसैगरी स्रोवा रिक्पा (आम्ची ऐन) पनि जारी ग¥यौं। यसको कार्यविधि बनाउँदैछौं।
- मोटरबाटोले पदमार्ग छोट्टिँदै छ, वैकल्पिक पदमार्गका बारेमा के सोच्नु भएको छ ?
अहिले चुमनुब्री गाउँपालिका वडा नं ३ को पाङसिङ गाउँसम्म सडक ट्रयाक खुलिसक्यो। यो बाटो तिब्बती सिमा रुइला भन्ज्याङसम्म पुग्छ। अर्कोतिर, स्यार खोलाको किनारैकिनारै निले हुँदै ङुइला ढाजेन नाका जोड्ने योजना छ। त्यसैले भविश्यमा मौजुदा पदमार्ग सडकमा रुपान्तरित हुनेछ।
पदयात्राका लागि हामीले वैकल्पिक पदमार्गको अध्ययन सुरु गरिसकेका छौं। बुढीगण्डकी तिरैतिर नयाँ पदमार्गको खोजी भैरहेको छ। चुमतिर पनि सल्लेरीबाट फिल्म, लोक्पा छेकम्पार र चुमचेतबाट बिही जोड्न सकिन्छ।
- चीनसँगको सुरक्षा संवेदनशीलता भन्दै सरकारले मनास्लु क्षेत्रलाई निषेधित क्षेत्र बनाइराख्दा पर्यटक आवागमन बढाउन सकिएको छैन। यसलाई खुला बनाउने अभियान कहाँ पुग्यो ?
यसका लागि हामी लामो समयदेखि निरन्तर संर्घषरत छौं। साम्दोमा सीमा सुरक्षा क्याम्प बसिसक्यो। केही समय पछि छेकम्पारमा पनि राखिँदैछ। सरकारले पनि खुला गर्न चासो देखाएको छ। चाँडै निषेधित क्षेत्र खुला हुनेमा आशावादी छौं।
- हिमाल आरोहणबाट उठ्ने राजस्वको २५ प्रतिशत सम्बन्धित ठाउँमै खर्च गर्नु पर्ने नियम छ। के तपाईंहरूले त्यो रकम पाइरहनु भएको छ ?
हामीले अहिलेसम्म रोयल्टी रकम पाएका छैनौ.। सरकारले तत्काल त्यो रकम स्थानीय सरकारलाई दिनु पर्छ।
- मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को काम कत्तिको प्रभावकारी देखिन्छ ?
संरक्षण क्षेत्रमा एमक्यापको काम राम्रै छ। विकास निर्माण र संरक्षणका काममा हामी हातेमालो गरिरहेका छौं। मिलेर गर्नुपर्ने काम धेरै छन्।
- आन्तरिक पर्यटक पनि बढ्दैछन्, यसलाई कसरी हेर्नु भएको छ ?
हामी नेपालीले आफ्नो देश घुम्नुपर्छ। आन्तरिक पर्यटक बढ्नु खुसीको कुरा हो। विदेशी पर्यटक पनि बढाउनु पर्छ। सन् २०२५ मा १५ हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ।