प्रकृतिको अनुपम भण्डार नेपाल भौगोलिक विविधता, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले संसारमै प्रख्यात छ। उच्च हिमाली, मध्य पहाडी र तराईको भूभाग र त्यहाँ बसोबास गर्ने पशुपक्षी, वनस्पति र जनजीवन गजबकै छ। यही विविधता हेर्न बर्सेनि लाखौं पर्यटक नेपाल आउँछन्।
मध्यपश्चिममा पर्ने रोल्पाको सबैभन्दा अग्लो भूभाग जलजलाको नाम सुन्दा जति आनन्द लाग्छ, त्यहाँ पुग्दा धेरै गुणा सुन्दर र मनमोहक अनुभव हुन्छ। हरेक पटक त्यहाँ पुग्दा बेग्लै अनुभूति हुन्छ।
तीन हजार मिटरदेखि छत्तीस सय पचास मिटर उचाइमा फैलेको जलजला रोल्पाकै अग्लो भूभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रूपले महत्व बोकेको स्थान हो। जलजला क्षेत्रको बीचमा स्यानो उपत्यका भित्र बज्यू बराह, कैलु बराह र सतदेवका मन्दिर छन्। बर्सेनि सयौ भेडा र कुखुराको बलि दिने चलन छ।
जलजलामा वर्षमा तीन पटक वैशाख, जेठ र साउने पूर्णिमाका दिन ठूलो मेला लाग्छ। मेलामा वराह पूजा गरिन्छ। सयौं भेडाको बलि चढाइन्छ। पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
नजिकै पोखरीबाट पानीको मुहान फुटेको छ। खोला दक्षिणतिर बग्छ। मन्दिरबाट करिब २० मिटर दक्षिण हिँडाइमा विशाल भामा गुफा छ।
जलजला क्षेत्रको महत्व र विशेषता
थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकाको साझा भुभाग हो जलजला पहाड। प्राकृतिक रुपमा निकै मनोरम रहेको जलजला धार्मिक एवम ऐतिहासिक रुपमा प्रसिद्ध छ। नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले एक सय गन्तव्यको सूचीमा राखिएको जलजला माओवादी जनयुद्वकालमा आफ्नो सुरक्षित र आधार इलाकाका रुपमा मानिएको थियो।
जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्छ। जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ। वर्षेनि सयौं भक्तालुजनहरु भेडा र कुखुराको बलि दिएर पूजा गर्छन्। वराह देवताको पूजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।
मन्दिरबाट करिब २० मिनेटमा बिशाल भामा गुफा छ। किम्बदन्ती अनुसार यो गुफामा १२ भाइ वराह र २२ बहिनी बज्यु वराह उत्पत्ती भएको थियो। त्यस्तै यसको सेरोफेरोमा झरनाहरु प्रसस्तै छन्। जंगली पशुपंछि, वनस्पति, फूलहरु , र थरि थरि चराचुरुंगी पाईन्छ।
उत्तरतिर सिस्ने हिमाल, पुथा र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
समुन्द्र सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भूभागमा फैलिएको जलजला रोल्पा जिल्लाकै अग्लो भुभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रुपले प्रसिद्ध छ।
वसन्त ऋतुमा जलजला क्षेत्र गुराँस फुलेर ढकमक्क हुन्छ, वर्षायाममा थरी थिरिका सयौं रंगिबिरंगि वुकी फूल फुल्छ। हिउँदमा जलजला क्षेत्र सेताम्मे हिउँले ढाकिन्छ।
वैशाख-जेठमा करिव १४ प्रजातिका गुराँस फुल्दा जलजला क्षेत्र बेहुलीझैं सिंगारिन्छ। यहाँ घोरल, थार, रतुवा, हरिण, बंदेल , बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगाएत जंगली जनावर पाईन्छ।
त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौ चराचुरुंगिको बासस्थान हो जलजला। घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे,भारमासे, पातव , ढालमुन्द्र, विन्जोरी , ढोङ्ग्रे, सुनगाभा आदि फुल साथै जडिबुटिहरु समेत पाईन्छ।
राष्ट्रिय प्रकृति कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । केही वर्ष अगाडि एक्सप्लोर गरिएको गुरिल्ला ट्रेल र जलजला ट्रेकिङ ट्रेल यही क्षेत्रलाई पछ्याउँछ।
जलजला कसरी पुग्न सकिन्छ?
हेलीमा लिबाङबाट करिब ६ मिनेटमा जलजला पुगिन्छ, फर्किँदा ५ मिनेट लाग्छ।
काठमाडौंबाट लिवाङसम्म बस या माईक्रोमा करिब १२ घण्टा।
लिवाङवाट धवाङहुँदै पेवासम्म साढे २ घन्टापछि जिपमा ओख्रेनी पुगिन्छ। त्यहाँबाट धरमपानीहुँदै जलजला करिव ५-६ घण्टा पैदलमार्ग।
सुलिचौरवाट जेलवाङसम्म डेढ घण्टा जिप यात्रा , जेलवाङवाट सुल्कबाङ हुदै ६-७ घण्टाको पैदलयात्रामा जलजला पुगिन्छ।
थबाङबाट चलाबाङसम्म गाडीमा ३० मिनेट , त्यहाँबाट ४-५ घण्टा पैदलमार्गमा जलजला पुगिन्छ।
पोखरा, वुर्तिबाङ, रूकुम (पूर्व) को खावाङ बगर, महतगाउँ, थबाङहुँदै जलजला पनि पुग्न सकिन्छ।