‘बोन’ हजारौँ वर्ष पुरानो धर्म हो। संसारका सबै प्राणीलाई सबै खाले दुःखबाट रक्षा गर्ने धर्मलाई ‘युङ्ढुङ् बोन धमर्’ भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ। बोन धर्मका प्रवर्तक तोन्पा शेराव मिवो हुन्। उनले १८ हजार ४० वर्ष अघि यो धर्म सुरु गरेका थिए।
आठौं बुद्ध तोन्पा शेन्राव मिवोले १८ हजार ४० वर्ष अघि जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ।
समय क्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन ग्रन्थहरूमा उल्लेख छ। तोन्पा शेन्राव आठौँ बुद्ध हुन्। उनी स्याङ्स्युङ् राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए।
जनहितका लागि उनले प्रतिपादा गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश सङ्ग्रह गरिएका १४० ओटा पुस्तक छन्, जसलाई काङ्ग्युर भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीनसय शास्त्र रचिएका छन्। तिनलाई कातेन भनिन्छ।
बोन धर्म अभ्यास गर्नेहरूलाई ‘बोन्पा’ भनिन्छ। बोन्पोहरु ‘ओम मा ट्रि सु य सा ले दु’ मन्त्रोच्चारण गर्दै माने गुम्बा र चैत्य घुम्छन्।
नेपालको डोल्पा, मुस्ताङ्, हुम्ला, जुम्ला, बाग्लुङ, मुगु, कास्की, चितवन, काठमाडौँलगायत विभिन्न ठाउँमा बोन धर्मावलम्बीको बसोबास छ।
हिमाली जिल्ला डोल्पामा मात्र तीन दर्जन भन्दा बढी बोन गुम्बा छन्। त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ।डोल्पाको फोक्सुन्डो ताल किनारमा पन्ध्रौँ शताब्दीमा बनाइएको थासुङ छोलिङ गुम्बा छ। यसको निर्माण धार्मिक गुरु टेतोन छेवाङ छुल्ठिमले गरेका हुन्। हिमाली भेगमा यस्ता धेरै प्राचीन गुम्बा छन्।
काठमाडौँको इचंगुनारायण, तीनघरेमा पनि बोन गुम्बा छ। गुरु योङजिन रिम्पोचेले ४० वर्षअघि स्थापना गरेको ‘त्रितेन नोर्बुचे गुम्बा’ यहाँ बोन धर्म सम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाइ हुन्छ। यस्तो कोर्ष पुरा गर्नेलाई ‘गेसे’ भनिन्छ। यसका लागि कम्तिमा १५ वर्ष पढ्ने पर्छ।
इतिहास हेर्नै हो भने स्याङस्युङ राज्य आठौँ शताब्दीसम्म दक्षिण एसियाका ठुला र शक्तिशाली राज्यमा गनिन्थ्यो। भोटका पहिलो राजा न्याठी चेन्पोदेखि ३२औँ राजा नाम्री स्रोङ्चेनसम्म भोटमा बोन धर्मले व्यापकता पाएको थियो। राजा स्रोङचेन गोम्पोदेखि भोटमा बुद्धधर्म विस्तार हुन थालेको हो। भोटका राजा ठिसोङ देचेनका पालामा बोन धर्ममा धेरै उतारचढाव आयो। त्यसपछि क्रमशः धेरै बोन धर्मवलम्बी भोटबाट विभिन्न ठाउँमा पुगे।
बोन धर्मका संस्थापक तोन्पा शेन्राव मिवो आफ्नो धर्म प्रचार गर्न नेपाल पनि आएका थिए। त्यसैले प्राचीन समयदेखि नै नेपालमा बोन धर्मको अभ्यास भएको पाइन्छ।
‘ॐ मा ट्रि सु य सा ले दु’
थासुङ छोलिङ गुम्बामा ‘राब्ने पूजा’
हाम्रो डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ मा रिग्मो गाउँ छ। हामी रिग्मोका बासिन्दा बोन युङ्ढुङ धर्म मान्छौं। हाम्रो गाउँको छेउमा प्राचीन पाल शेन्तेन थासुङ छोलिङ गुम्बा पनि छ।
१५ औं शताब्दीमा धार्मिक गुरु टेतोन छेवाङ छुल्ठिमले बनाउनु भएको गुम्बा। गुम्बा जीर्ण भएकाले हामीले यसको पुननिर्माण गरेका छौं। गुम्बामा बोन धर्मका संस्थापक बुद्ध तोन्पा शेन्राव मिवोको नयाँ मूर्ति पनि स्थापना गरेका छौं। हामीले सन् २०२१ बाट पुननिर्माण शुरु गरेका थियौं। विभिन्न व्यक्ति, दातृ संस्था, रिग्मो गाउँका जनप्रतिनिधि, स्थानीय, थासुङ छोलिङ गुम्बाको खेन्पो साम्डुप निमा रिन्पोछेज्यू लगायत टावा र च्होमोहरूसँगको समन्वय र सहकार्यमा गुम्बा पुननिर्माण सम्भव भएको हो।
यही वैशाख २६ गतेदेखि २९ गतेसम्म धुमधामसँग ‘राब्ने पूजा’ गरी पुननिर्मित गुम्बा उद्घाठन गर्दैछौं। नाम्ग्याल याङ्गटुप पूजाविधिद्धारा गुम्बाको राब्ने तथा उद्घाटन कार्यक्रम गरिने छ। यस धार्मिक कार्यक्रममा सहभागी हुन सबैसँग आग्रह गर्दछु। कार्यक्रममा लामा नाचसहितका सांस्कृतिक कार्यक्रम समेत अवलोकन गर्न सकिनेछ।