काठमाडौं। मर्स्याङ्दी विद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ। नयाँ वर्ष २०८१ को अवसरमा पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी विद्युत केन्द्रको जलाशयमा मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालनमा ल्याएको हो।
तत्काल एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको मोटरबोट आगामी दिनमा अन्य पूर्वाधारहरुसमेत थप्दै लैजान योजनामा रहेको बोटेबोरा प्रालिका अध्यक्ष विष्णु ढकालले बताए।
उनका अनुसार आगामी दिनमा जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो।
ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तब्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ।
मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति दुई सय ५० रूपैयाँ, १० देखि १२ मिनेटको लागि पाँच सय रूपैयाँ र १५ देखि २० एक हजार रूपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।
मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ। स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ। उक्त रूटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ।