मनाङ– अग्ला–अग्ला पर्वत श्रृंखलाहरू मिलेर बनेका हिमाली भू–भागको संरचना कमसल माटो र चट्टानद्वारा निर्मित हुन्छन् । त्यसैले त्यस्ता क्षेत्रमा वर्षा हुँदा भू–क्षय र बाढीपहिरोको जोखिम अत्याधिक रहन्छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमाली जिल्लाहरू त्यस्तै भौगोलिक विकटताका कारण प्रचूर सम्भावनारू हुँदा–हुँदै पनि पिछडिएका छन् ।
भौगोलिक विकटताकै कारण नेपालका हिमाली क्षेत्रहरूमा मानिसहरूको बसोवास पनि ज्यादै न्यून छ । नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हिस्सा हिमाली क्षेत्रले ओगटेको छ जसमा २० जिल्ला र ५७ स्थानीय निकाय समावेश छन् । तर देशको कुल जनसंख्याको ६ प्रतिशतमात्र हिमाली भेगमा बसोबास गर्छन् र क्रमिक रूपमा यो संख्यामा ह्रास आउँदै गएको छ ।
हिमाली क्षेत्रको लम्वाई पूर्वबाट पश्चिमतर्फ ८८५ किलोमिटर र उत्तरदेखि दक्षिणसम्मको चौडाई २५ देखि ३० किलोमिटरसम्म रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा सहित संसारका आठ अग्ला हिमाल र संसारकै उच्च भागमा ताल–हिमतालहरू समेत यही क्षेत्रमा रहेका छन् । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बग्ने अनगिन्ति ठूला र साना नदीहरूको उद्गमस्थल तिनै हिमालहरू हुन् । तर हमाली भेगमा पर्ने मनाङ, मुस्ताङ, डोल्पालगायतका जिल्लाहरू वृष्टि छायाँ वा रेन स्याडो मा पर्ने हुँदा तिनमा वर्षा नहुने मानिन्छ ।
कमजोर भू–बनोटका कारण हिमाली क्षेत्रमा थोरै पानी पर्दा पनि धेरै क्षति हुने सम्भावना हुन्छ । यसै वर्ष, जेठ–असार महिनामा, भएको अत्याधिक वर्षाका कारण हिमाली जिल्ला मनाङमा ठूलो क्षति पुग्न गएको थियो । भौगोलिक बनावट चट्टान र कमसल माटोले बने पनि मनाङ सम्भावनाहरूले भरिएको जिल्ला हो, प्रकृतिले हामीलाई दिएको अनुपम उपहार हो । यहाँको स्रोत र साधनलाई सही ढङ्गबाट उपयोग गर्ने हो भने देशलाई आर्थिक रूपमा समुन्नत बनाउन हिमाली क्षेत्रले अहं भूमिका खेल्नसक्छ ।
पर्यटन क्षेत्र
‘अतिथि देवो भवः’ भन्ने हिन्दु धर्मको संस्कार र परम्परालाई आत्मसात गर्दै मनाङवासीहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने गरेका छन् । पर्यटकहरू प्राकृतिक रूपमा अवस्थित हिमालहरूको मनोरम दृष्यसँगै रमाउन यहाँ आउने गर्दछन् । यहाँका आदिवासी–जनजातिले अतिथिहरूलाई गर्ने सत्कार, यहाँको कला, संस्कृति, भेषभूषा र खानपानले समेत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ ।
हिमालको मनोरम दृश्यसँगै यहाँका गुम्बाहरू, स्थानीय लामाहरूका साधना स्थलहरू, रोमाञ्चक जलयात्रा, साहसिक खेलस्थलहरू, वायुजन्य आकृतिहरू, रोधी घरहरू, सत्कारगृहहरू, मठमन्दिरहरू, पर्यटकहरूका आकर्षणका केन्द्रहरू हुन् ।
शहरको भीडभाड, कोलाहल र प्रदूषणबाट मुक्त भएर केही समय आराम लिनका लागि विदेशी तथा स्वदेशी पर्यटकहरू मनाङ आउने गर्दछन् । मनाङवासीले स्थानीय कला, संस्कृति, भेषभूषा र खानपानका माध्यमबाट उनीहरूको आतिथ्य सत्कार गर्ने गरेका छन् । तर, यस क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका पुराना पदमार्गहरू मासिँदै जानु चिन्ताको विषय बनेको छ । नयाँ बनेका मोटरेवल मार्गका कारण पुराना पदमार्गहरू हराउँदै गएको अवस्था छ भने नयाँ पदमार्ग बन्न सकेका छैनन् । जसले गर्दा पर्यटकको संख्या आशातीत रूपमा बढ्न सकेको पाइँदैन ।
कृषि क्षेत्र
हिमाली जिल्लामा पहाड र तराईमा जस्तो उल्लेख्य उत्पादन हुँदैन । मनाङमा पनि कृषिजन्य वस्तुहरूको उत्पादन थोरै मात्र हुने गर्छ र त्यसमा पनि विविधता पाइँदैन, तापनि पशुपालन र फलफूल (खासगरी स्याउ खेती) का लागि राम्रो सम्भावना बोकेको क्षेत्रमा मनाङ पनि पर्दछ । यहाँ पालिने चौँरी, च्याङ्ग्रा र भेडा लगायतका पशुपालन व्यवसायलाई उन्नत बनाएर ऊन, दुध र दुग्धजन्य उद्यमहरूको विकास गर्नुपर्ने देखिन्छ ।
मनाङ लगायतका हिमाली क्षेत्रमा मुख्यतः आलु, फापर, उवा र गहुँको खेती हुनेगर्छ । त्यसैगरी हिमाली भेकमा लटरम्म फल्ने स्याउ, आरूबखडा र आरू रूखमै कुहेर जाने अवस्था छ । भौगोलिक विकटताले गर्दा उत्पादित वस्तु बजारमा पुर्याउन समस्या रहेको छ ।
त्यसैले यहाँ उत्पादित फलफूललाई प्रशोधन गरेर जाम, जेली, जुस वा वाइन बनाएर निर्यात गर्न सके निर्यात बढेर ब्यापार घाटा कम हुने मात्र होइन, यहाँका कृषकहरूको जीवनस्तर समेत उकास्न सकिन्थ्यो । हिमाली जिल्लामा नेपाल खाद्य संस्थानले आफ्नो चामललाई हवाईजहाज वा हेलिकप्टरमार्फत ढुवानी गरिसकेपछि तिनलाई रित्तै फर्काउनु भन्दा स्याउ र अन्य स्थानीय उत्पादन बाहिर पठाएर आन्तरिक र बाह्य बजारमा पुर्याएर आर्थिक सवृद्धि हासिल गर्न आवश्यक देखिन्छ ।
जडीबुटी
हिमाली क्षेत्रमा पाइने धेरै किसिमका जडीबुटीहरू औषधी बनाउन उपयोग भएको पाइन्छ । जडीबुटी हिमाली क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । महाभारतको युद्धमा घाइते भएका लक्ष्मणको प्राण बचाउन, श्री रामको आदेश अनुसार हनुमानले हिमालय क्षेत्रबाट सञ्जीवनी बुटीसहितको सिंगो पर्वत नै उठाएर लगेको भन्ने कथन हाम्रो पौराणिक ग्रन्थ महाभारतमा पढ्न पाइन्छ ।
त्यसैले हाम्रा हिमाली क्षेत्र औषधी एवं जडीबुटीमा पूर्ण रूपमा आत्मनिर्भर रहेको बुझ्न सकिन्छ । हिमाली क्षेत्र औषधिजन्य जडिबुटीहरू कति धनी छ भन्ने कुरा यसबाट नै प्रष्ट हुन्छ ।
विगत केही वर्षदेखि हिमाली भेगको करीब ३ हजार ८ सय मिटरभन्दा माथि पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आयस्रोतको एउटा भरपर्दो माध्यम बन्नपुगेको छ । हरेक वर्ष चैत्र–वैशाख महिनामा यहाँका हरेक घरबाट यार्सागुम्बाको संकलन गर्न उच्च हिमाली भेगमा स्थानीयहरूको लर्को लाग्छ । आधा जीव र आधा वनस्पतिको रूपमा पाइने यार्सागुम्बामा प्रचूर मात्रामा पौष्टिक र औषधीय गुण हुने हुँदा विश्व बजारमा यसको उच्च माग हुने गर्दछ ।
यसका अतिरिक्त यहाँ पाइने पाँचऔले, निरमसी, जटामसी, सिलाजित, चिराइतो, भुत्ले, जिम्बु, टिम्बुर लगायतका औषधिजन्य जडीबुटी, भीरमौरीको मह र अन्य जडिबुटीहरूले पनि यहाँको औषधीय स्रोतको छुट्टै पहिचान बनाएको छ । तर आजसम्म पनि यस्ता जडीबुटीलाई बिना प्रशोधन कच्चा रूपमै विदेश पठाउदै आएका छौं । पछि त्यही जडिबुटी प्रशोधन गरेर तयारी औषधीको रूपमा हामी आफैले विदेशबाट आयात गर्ने गरेका छौँ ।
हिमाली क्षेत्रमा प्रचूर मात्रामा पाइने यस्ता जडिबुटी र औषधीजन्य वनस्पतिहरूको उचित संरक्षण र उपयोग गर्न नसक्दा सिंगो राष्ट्रले नै आर्थिकस्तरमा घाटा व्यहोर्नु परेको छ । देशभरका सम्भावित स्थानहरूमा प्रशोधन केन्द्रहरू स्थापना गरेर यहाँका उत्पादनलाई प्रशोधन गर्दै औषधी बनाएर निर्यात गर्न सके राष्ट्रले नै फाइदा लिनसक्ने देखिन्छ ।
त्यसैगरी नेपालका उच्च हिमाली लेकहरूमा पाइने वन लसुन जस्ता मसलाजन्य को निर्यातले पनि विदेशी मुद्रा आयात गर्न मद्दत पुग्दछ । घोरल, झारल, कस्तुरी, बंदेल, थार, मृग लगायतका यहाँ पाइने वन्यजन्तुलाई निकुन्जको रूपमा संरक्षण गर्न सके नेपालको पर्यटन व्यवसायलाई थप आकर्षणको केन्द्र बनाउन सकिन्छ ।
घरेलु उद्यम
हिमाली क्षेत्रमा भएका घरेलु तथा स–साना हाते उद्योगलाई उर्जाबाट सञ्चालन गरेर विकसित गर्न सकिन्छ । अहिले सामान्य घरायसी उपयोगको लागि मात्रै उत्पादन हुँदै आएका राडी, पाखी, गलैँचा, बक्खु, स्वेटर लगायतका ऊनबाट बनेका वस्तुहरूको उत्पादनलाई आधुनिकीकरण गरेर व्यावसायिक रूपमा उत्पादन गर्न सक्नुपर्छ । स्थानीय कच्चापदार्थद्वारा उत्पादन गर्न सकिने नेपाली कागज र बाक्लो कपडाहरूको उत्पादनलाई पनि व्यावसायिक बनाउनुपर्ने देखिन्छ । अझैसम्म यस क्षेत्रका ज्येष्ठ नागरिकहरू आफ्नो पोशाक स्थानीय ऊनबाट आफैँले बुनेर लगाउने प्रचलन रहेको छ ।
यस क्षेत्रमा मुहान रहेका साना तथा ठूला नदीहरूबाट खानेपानी तथा लघु जलविद्युतको उत्पादन गर्न सके देशको आर्थिक विकासमै टेवा पुग्न सक्थ्यो ।
सामाजिक अवस्था
हिमाली क्षेत्रमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । वास्तवमा यस क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीको संख्या शिक्षकको भन्दा कम रहेको छ । यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रमा एकाधिकार भएकाले प्रतिस्पर्धा हुँदैन । त्यसैले यहाँको शिक्षा र स्वास्थ्य त्यति गुणस्तरीय छैन ।
यहाँको स्वास्थ्य क्षेत्र अधिकांश स्थानीय जडीबुटी र लामा झाँक्रीको तन्त्रमन्त्रलाई उपचारको माध्यम बनाउँछन् । त्यसैले शिक्षा र स्वास्थ्यको लागि पनि हिमाली क्षेत्रका बासिन्दा शहरी क्षेत्रमा बसाई सर्ने प्रवृत्ति बढ्दै गएको छ । यस क्षेत्रमा समान भाषा र संस्कृति भएका समूहहरू एकआपसमा मिलेर बस्नु र एक अर्काको सुखदुःखमा साथ दिनु कर्तव्य जस्तै मानिन्छ ।
‘वसुधैव कुटुम्वकम्’ र ‘अतिथि देवो भवः’ यहाँका मानिसहरूको दैनिकी हो । यस क्षेत्रमा हिमाल आरोहण या पदयात्राका लागि आउने पाहुनाहरूलाई स्वागत–सत्कार गर्न हरेक समुदाय खादा र माला लिएर सधैँ तत्पर देखिन्छन् । हिमाली क्षेत्रमा अझैसम्म धार्मिक सहिष्णुता र सामाजिक एकता कायम रहेको छ ।
सांस्कृतिक पक्ष
कला र संस्कृतिको हिसाबले नेपालका अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्र धनी छ । यहाँका गुम्बाहरूले विश्वको बौद्ध धर्मको प्रतिनिधित्व गर्छन् । तिब्बतसँग जोडिएको क्षेत्र हुनाले यहाँको संस्कृतिप्रति आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन्छन् । नेपालको हिमाली क्षेत्रमा हुने सामाजिक व्यवहारहरूको सोझो सम्वन्ध तिब्बतसँग जोडिएको हुँदा नेपाल र चीन बीचको सम्बन्धको कडी यो क्षेत्र बन्न पुगेको छ।
माथिल्लो मुस्ताङमा रहेका तत्कालीन मुस्ताङे राजाले नेपालमा गणतन्त्र आउनु अगाडि दुई राजा भएको देश नेपाल भनेर विश्वमा एउटा सांस्कृतिक सन्देश दिने गर्थे । अहिले पनि यस भेगमा कुनै निर्णय लिनुपर्दा यहाँका स्थानीय राजपरिवारसँग स्थानीयले सरसल्लाह गर्ने चलन रहदै आएको छ।
हिमाली भेगमा पर्ने मनाङ, मुस्ताङ, उत्तरी गोरखा, उत्तरी धादिङ, दार्चुला, हुम्ला, डोल्पा, रसुवा, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ लगायतका सीमावर्ती जिल्लाहरूको कला, संस्कृति हाम्रो देशको पहिचान हो । यो क्षेत्र बाह्य पर्यटकको आकर्षणको केन्द्र समेत भएको छ।
यातायातका सम्भावना
नेपालका अन्य भागहरूमा जस्तै विकासका संरचनाहरू बनाउँदा हिमाली क्षेत्रलाई समेत सडक सन्जालबाट जोडिएको छ । तर हिमाली क्षेत्रको धरातल सडकमैत्री भने छैनन् । यहाँको धरातल नितान्त फरक रहेको छ । यहाँको माटो खुकुलो र भू–बनोट समेत खोँच परेको हुनाले सडक मार्ग दिगो हुन सकेको छैन।
सडक बनाउदा वातावरणीय पक्षलाई हेक्का राख्न नसक्दा वर्षेनी भू–क्षयका प्रकोपहरू बढिरहेका छन् । विकासका संरचनाहरू स्काईभेटर र डोजरमुखी भएकाले वर्षेनी प्राकृतिक प्रकोपको सामना गरिरहनु परेको छ।
हिमाली क्षेत्र अति संवेदनशील बन्दै गएकाले यसको संरक्षण गर्नतर्फ सम्बन्धित निकायसँगै स्थानीयवासी समेत सचेत हुनुपर्ने देखिएको छ । यसैले यस क्षेत्रलाई छिमेकी जिल्लासँग केवलकार तथा हवाईजहाजको माध्यमबाट जोड्न सके यहाँका मनाङवासी र व्यवसायीलाई मात्र हैन पर्यटकहरूलाई समेत सहज हुने देखिन्छ।
वैकल्पिक अवसरहरू
आर्थिक, सामाजिक एवं अन्य अवसरहरूको अभावमा यहाँका सक्रिय जनशक्ति शहर र सुगम क्षेत्रतर्फ मात्र नभई विदेश पलायन हुने प्रवृत्ति समेत बढ्दो छ । यसले गर्दा स्थानीय तहमा सामान्य काम गर्ने जनशक्तिको पनि अभाव हुन थालेको छ । यहाँका गाउँघरहरू क्रमशः रित्ता खण्डहरमा परिणत हुँदैछन् ।
जनसंख्या कम हुँदै जाँदा उत्पादनयोग्य भू–भागहरू पनि उजाड बन्दै गएका छन् । यो समस्या हिमाली क्षेत्रमा मात्र नभएर देशका अन्य क्षेत्रमा पनि देखिएको छ । त्यसैले यहाँको जनशक्तिलाई आफ्नै थालथलोमा रोक्नका लागि स्थानीय तहमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ ।
हाम्रो देशमा प्रशस्त सम्भावना भएका क्षेत्रमध्ये पर्यटन उद्योगलाई प्रमुख मान्न सकिन्छ । नेपालमा रहेका प्राकृतिक सम्पदाहरू, यहाँको परम्परा र संस्कृति सबै पर्यटनमैत्री छन् । त्यसैले पर्यटन क्षेत्रलाई व्यवसायिक गरिनु अत्यावश्यक छ । निजी क्षेत्रको व्यापक सहयोग र समर्थन रहने पर्यटन व्यवसायमा सहजीकरण गर्न सरकारले लचिलो नीति–नियम कार्यन्वयनमा ल्याउनुपर्छ । खास गरी पर्यटन व्यवसायलाई हिमाली क्षेत्र केन्द्रित गरी प्रभावकारी बनाउन सके नेपाललाई विश्वको अर्को स्वीट्जरल्याण्ड बनाउन सकिन्छ।
त्यसैगरी हिमाली वन्यजन्तुको संरक्षण गर्दै यस क्षेत्रमा निकुञ्जहरूलाई विस्तार गर्दै लैजान सके अझै बढी पर्यटकको आकर्षित हुनेछन् । हिमाली क्षेत्रमा छिर लिएर बसेका बस्तीलाई उचि स्थानमा स्थानान्तरण गरेर राज्यले प्रदान गर्ने सामाजिक सेवाहरूलाई मितब्ययी बनाउनु जरूरी छ।
मनाङ जिल्लाकै आर्थिक समृद्धिको मेरुदण्डको रूपमा जिल्लामा एउटा मात्रै सडक छ । यहाँ मुख्य सडकसँगै सहायक मार्गहरूलाई समेत सीमित गरी रोप वे वा केवलकारलाई प्राथमिकता दिनुपर्छ । यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न यहाँका पदमार्गहरूको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । सरकारले हवाई यातायातका लागि यहाँ रहेको धावनमार्ग सञ्चालनमा ल्याउनुपर्छ।
त्यसैगरी हिमाली क्षेत्रमा साहसी यात्रा र साहसिक खेलहरूको धेरै सम्भावना छन् । यहाँका नदीको बहाव तीब्र छ, उपयुक्त रुट बनाएर जलबिहार वा राफ्टिङ सञ्चालन गर्न सके थप आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यहाँका भीर र पहराहरूलाई पर्वतारोहणको प्रशिक्षण केन्द्रको रूपमा विकास गर्नुपर्छ । त्यस्तै भीर मौरी काट्न, शिलाजीत उत्खनन्, बन्जी जम्प जस्ता साहसिक खेलहरूबाट पर्यटकको बसाई अवधि लम्ब्याउन सकिन्छ ।
सम्भावित अवसरको उपयोग गर्न सक्यौँ भने हामीले हिमाली क्षेत्रको मुहार फेर्न सक्छौँ । स्थानीयले कामको खोजीमा भौतारिनुपर्ने अवस्था पनि रहँदैन र राज्यको आयस्रोत पनि बृद्धि हुन्छ । जलवायु परिवर्तनको नकारात्मक असर पर्नाले हिजोआज हिमाली क्षेत्रमा कहिलेकाहीँ बेमौसमी वर्षा पनि हुने गरेको छ । विश्वभर परेको जलवायु परिवर्तनको प्रभाव यहाँको हावापानी र वनस्पतिमा समेत प्रत्यक्ष रूपमा पर्न गएको छ। कोणधारी वनस्पति रहेको यस क्षेत्रमा सल्लोको खोटोलाई व्यापारिक तवरले उत्पादन गर्दै अझै विस्तृत बनाउन सकिने सम्भावना रहेको छ ।
मनाङको ‘विकास मोडल’ आवश्यक
हिमालपारिको जिल्ला मनाङको भौगोलिक र सामाजिक–आर्थिक परिस्थिति अन्य जिल्लाको भन्दा फरक छ । वातावरणीय हिसाबले यस जिल्लाको भु–बनोट एकदम नाजुक र कमजोर रहेको छ । अधिकाशं भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ भने अर्कोतर्फ आबादी भएकाले पुर्वाधारहरूको आवश्यकता हुनु स्वभाविक मानिन्छ।
देशमा विद्युत खेर जाने अवस्थामा पुग्दा पनि मनाङवासीले भने सोलार र माईक्रो हाईड्रोमा भर पर्नु परिरहेको छ । पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङका अनुसार फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जोडिएको छ । गत जेठ र असारमा आएको बाढीले उक्त प्रसारण लाइनको सामुदायिक तथा निजी पुर्वाधारहरूमा धेरै क्षति पुगेको छ । जाडो मौसममा हिमपातका कारण यहाँको विकास निर्माण पूर्ण रूपमा प्रभावित हुन्छन् । यो पनि हिमाली क्षेत्रको एउटा स्थायी समस्याका रूपमा रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार