सन् १९११ मे १३ का दिन करिब साढे छ बजे नेपालका तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौं सहरको केन्द्र टुँडीखेलस्थित स्विच खोलेर नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युतको उद्घाटन गरे । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका नाममा स्थापित चन्द्र ज्योति हाइड्रोपावर स्टेसनको क्षमता ५०० किलोवाट थियो । यसलाई बनाउन चार वर्ष र करिब १० लाख दिनको काम लागेको थियो । निरङ्कुश राणाशासकका दरबारमा बिजुली बाल्न बनाइएको यो पावर स्टेसनले काठमाडौंदेखि दक्षिण १२ किमि दूरीमा रहेका पानीका दुई स्रोत उपयोग गथ्र्यो ।
यो जलविद्युत् गृह अमेरिकास्थित एपल्टन, विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृह (प्लान्ट)को ३० वर्षपछि र सन् १९१२ मा युनान प्रान्तमा चीनले बनाएको पहिलो जलविद्युत् गृह (प्लान्ट)को एक वर्षअघि बनाइएको थियो ।
सबैभन्दा पहिला बिजुली पुर्याइएको खोकनाको घर, जुन बिजुली स्टेसनबाट केही किलोमिटर टाढा छ । आफ्ना दरबारमा तार जडान गर्नुअघि बिजुली प्रयोग गर्न कति सुरक्षित छ भनेर राणाहरु जाँच्न चाहन्थे । त्यसैले उनीहरुले पहिला खोकना गाउँमा मदनकृष्ण महर्जनको घरमा बिजुली जोडे। सन् २०१५ को भूकम्पका कारण भित्ता भत्किएकाले दायाँपट्टि रहेको घर अहिले खाली छ । ढोकामाथिको बोर्डमा लेखिएको छ, “खोकना सङ्ग्रहालयमा स्वागत छ । बिजुली बत्ती प्रदान गरिएको यो नेपालको पहिलो घर हो ।” [तस्विर: रमेश भुसाल]
छिट्टै सुरूवात गरे तापनि नेपालले जलविद्युत् उत्पादनमा द्रुत प्रगति गर्न भने सकेन । यसले २८ वर्षपछि मात्र दोस्रो जलविद्युत् आयोजना निर्माण ग¥यो । काठमाडौंको उत्तरपूर्वमा सन् १९३९ मा ६४० किलोवाट क्षमताको दोस्रो जलविद्युत् आयोजना निर्माण गरिएको थियो । यो साधारण जनतालाई जलविद्युत् उपलब्ध गराउनभन्दा पनि निरङ्कुश राणाशासकलाई विलासिताको जीवन यापन गर्न सघाउन बनाइएको थियो । नेपालले पहिलो ५० वर्षमा जम्मा ५० मेगावाट बिजुली उत्पादन गरेको थियो ।
पछिल्लो एक सय वर्षमा नेपालको जलविद्युत् विकास एकदम सुस्त छ । अहिले जम्मा १४४० मेगावाट जलविद्युत् मात्र उत्पादन भइरहेको छ । देशलाई आवश्यक एकतिहाई ऊर्जा दक्षिणी छिमेकी भारतबाट आयात गरेर पूर्ति गरिएको छ ।
दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युतको इतिहास करिबकरिब बिरर्सिसकिएको छ । यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ । सन् २०११ मा यसलाई नेपाल सरकारले जीवित सम्पदा घोषणा गरेको थियो । तर यसलाई संरक्षण गर्न खासै केही गरिएको छैन । पुरानो दरबार र अतिथि गृहहरु चर्किएका वा भत्किएका छन् । पावर स्टेसनको राम्रो सम्भार गरिएको छैन । त्यहाँ पुग्ने बाटो पूरा हुन बाँकी नै छ । खिया लागेका धातुका पाइप पानी भण्डारण पोखरी वरिपरि असरल्ल छन् । एक जना स्थानीयले भने झैं “हामी नेपालीले महत्वपूर्ण चीजको मूल्य बुझ्दैनौं ।”