दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ। गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा जलविहार सुरु गरिएको हो।
यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक रूपमा जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको हो।
पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा रयाफ्टिङ सञ्चालन गरिएको उनको भनाइ छ। चुमानले भने, “मर्स्याङ्दी व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि गाइड ल्याएर सम्भाव्यता अध्ययन गर्दा सफल भयो। अब यसलाई व्यावसायिक रूपमा सञ्चालन गरेका छौँ।”
एस्केप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा मर्स्याङ्दीमा र्याफ्टिङको अध्ययन गरिएको थियो। प्रशिक्षक सुमन थापाले मर्स्याङ्दी नदी र्याफ्टिङका लागि उपयुक्त रहेको बताए। आँबुखैरेनी–४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न रु एक हजार शुल्क तोकिएको छ।
गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ। वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको हो।
गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ। चुमानले भने, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्छ। पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई यस ठाउँमा रोक्न सकिन्छ।”
मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए। उनले भने, “यहाँ वैशाख २ गतेदेखि मोटरबोट शुभारम्भ हुँदैछ। त्यसका लागि ऊर्जा मन्त्रीलाई आमन्त्रण गरिसकिएको छ।”