रोल्पा। रोल्पाको जलजला गुराँसले बेहुली झै सिंगारिएको छ। जलजला प्राकृतिक, धार्मिक एवम ऐतिहासिक रुपमा प्रसिद्ध स्थान हो। नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले एक सय गन्तव्यको सूचीमा राखेको जलजला माओवादी जनयुद्वकालमा मओवादीको सुरक्षित र आधार इलाकाका रुपमा मानिएको थियो।
थबाङ, सुनछहरी, रोल्पा र परिवर्तन गाउँपालिकाको साझा भुभाग हो जलजला पहाड। जलजलामा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्छ। जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ। वर्षेनि सयौं भक्तालुजनहरु भेडा र कुखुराको बलि दिएर पूजा गर्छन्। वराह देवताको पूजा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ।
मन्दिरबाट करिब २० मिनेटमा बिशाल भामा गुफा छ। किम्बदन्ती अनुसार यो गुफामा १२ भाइ वराह र २२ बहिनी बज्यु वराह उत्पत्ती भएका थिए। त्यस्तै यसको सेरोफेरोमा झरनाहरु प्रसस्तै छन्। जंगली पशुपंछि, वनस्पति, फूलहरु र थरि थरिका चराचुरुंगी पाईन्छ।
यहाँबाट उत्तरतिर सिस्ने, पुथा र धौलागिरी हिमश्रृंखलाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ। समुन्द्र सतहबाट ३००० मि. देखि ३६५० मिटरसम्मको भूभागमा फैलिएको जलजला रोल्पा जिल्लाकै अग्लो भुभाग हो। यो क्षेत्र धार्मिक, प्राकृतिक र ऐतिहासिक रुपले प्रसिद्ध छ।
वसन्त ऋतुमा जलजला क्षेत्र गुराँस फुलेर ढकमक्क हुन्छ, वर्षायाममा थरी थिरिका सयौं रंगिबिरंगि वुकी फूल फुल्छ। हिउँदमा जलजला क्षेत्र सेताम्मे हिउँले ढाकिन्छ।
वैशाख–जेठमा करिव १४ प्रजातिका गुराँस फुल्दा जलजला क्षेत्र बेहुलीझैं सिंगारिन्छ। यहाँ घोरल, थार, रतुवा, हरिण, बंदेल , बाघ, चितुवा, भालु र दुर्लभ वन्यजन्तु रेड पाण्डा लगाएत जंगली जनावर पाईन्छ।
त्यस्तै डाँफे, मुनाल, कालिजसहित सयौ चराचुरुंगिको बासस्थान हो जलजला। घाँसे फूलहरू, रथ विरथ, गन्दव, हाङगव, जिलावे,भारमासे, पातव , ढालमुन्द्र, विन्जोरी , ढोङ्ग्रे, सुनगाभा आदि फुल साथै जडिबुटिहरु समेत पाईन्छ। आकास खुलेको समयमा उत्तरतिर सेताम्मे सिस्ने, पुथा, डोगारी, गुर्जा र धौलागिरि हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ। हिउँदमा जलजला हिउँले ढाकिन्छ उत्तरमा ढोरपाटन क्षेत्र माथिका हिमालको दृश्य देखिन्छ।
राष्ट्रिय प्रकृति कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ।
कसरी पुगिन्छः
काठमाडौंबाट लिवाङसम्म बस या माईक्रोमा करिब १२ घण्टा। सुलिचौरवाट जेलवाङसम्म डेढ घण्टा जिप यात्रा , जेलवाङवाट सुल्कबाङ हुदै ६–७ घण्टाको पैदलयात्रामा। त्यस्तै सवाङवाट धवाङहुँदै पेवासम्म साढे २ घन्टाको जिपमा ओख्रेनी पुगिन्छ। त्यहाँबाट धरमपानीहुँदै जलजला करिव ५–६ घण्टा पैदलमार्ग। थबाङबाट चलाबाङसम्म गाडीमा ३० मिनेट , त्यहाँबाट ४–५ घण्टा पैदलमार्ग। या सलापसम्म जिप÷बाईकमा त्यहाँदेखि डेढ् देखि दुई घण्टा पैदलयात्रामा जलजला।
पोखरा, वुर्तिबाङ, रूकुम (पूर्व) को खावाङ बगर, महतगाउँ, थबाङहुँदै जलजला पनि पुग्न सकिन्छ। लिबाङबाट करिब घर्तिगाउँ हुदै थबाङ जिपमा या दाङबाट होलेरी घर्तिगाउँ हुदै थबाङ गाडीमा पुग्न सकिन्छ।