तपाईं कतिबेला खुसी हुनुहुन्छ ? जब मनले चाहेको कुरा पुरा हुन्छ, तब मान्छे अत्याधिक खुसी हुन्छ। अचानक मनले गुराँस पदयात्राको सोच बनायो। त्यसको भोलिपल्टै पदयात्रा शुरु भयो। कौतुहलता र उत्साह एकैसाथ भरिएका थिए। जब आखाँभरि अनेक रङ्गका गुराँस पोतिन थाले, म अवाक भएँ। कल्पना गरिएभन्दा बेसी जब प्राप्ति हुन्छ तब, स्तब्ध बाहेक अर्को विकल्प हुँदैन होला।
उकालोको छपनीमा थचक्क बसेको छु। गुराँसले छपक्कै ढाकिएको रातै पाखा हेरि टोलाई रहेछु। म टोलाएको देखेर गुराँसे पाखा थप मुस्कुराएको छ। गुराँस अनेकथरि फुलेका छन। विभिन्न प्रजातिका गुराँसले जङ्गल थप आकर्षक देखिएको छ। जङ्गल नै गुराँसको, जङ्गल गुराँसमय भएको छ।
अनेक चराका आवाजले गुराँसको बयान गर्दै गीत गाईरहेछन्। चराहरु वल्लो र पल्लो डाली चाहार्दै मस्ति गरिरहेछन्। पुतलीहरु कुन फूलमा बसुँ भन्ने अड्कल काट्न सकिरहेका छैनन। जता बस्यो उतै सुन्दर। जता नाच्यो उतै सहज आँगन। बहुरङ्गि पुतलीहरु गुराँसका फूललाइै हलुका स्पर्श गरी रमाइरहेछन्। विस्तारै बहेको चिसो बतासले छोएर गुराँसको रङ सगर भरि पुर्याएको छ। अनेक सुगन्ध बोकि आउने गुराँसे बतास मातिएको छ, लठ्ठिएको छ।
मेरो मन बताससँगै पाखाभरि छरिएको छ। जब मन र बतास एकभई उड्न शुरु गर्छ सायद त्यो नै जीवन्त प्राप्ति हो। केही ठोस हात लाग्नु मात्र प्राप्ति होइन। जव ह्रदयको भित्तामा बतासको कुचि कोरिन थाल्छ तब, परम प्राप्तिको शुरुवात हुन्छ। यो गुराँसको बेहद सुन्दर पाखामा पोखिएर मैले जीवनको अर्को सुन्दर पाटो प्राप्त गरेको छु। जो अवर्णीय छ।
गुराँसको जङ्गल हिँड्दै थिएँ
कतिबेला म पनि गुराँस भै पठाएछु चालै पाएनछु
गुराँसको रङ्ग
आँखाको सागरभरी डुबुल्की मारेको छ
ह्रदयको भित्ताभरी पोतिएको छ
पैतालाहरुमा छोइएर काउकुती लगाई बसेको छ
विचारको सगरमा स्पर्श गरी बसेको छ
कसो कसो म त आफैं गुराँस पो भै पठाएछु।
एउटा कविले शब्दहरुलाई सजाएर, सिङ्गारेर बेहद सुन्दर मालाको निर्माण गर्नसक्छ। कल्पनामा शब्दहरुलाइ फूलझै फुलाएर जीवन्त आकृति दिनसक्छ। स्वाभावको बाटो हुँदै ध्यानस्थ गहिराईबाट उडान भर्ने कलात्मक सिर्जनाले नै लामो यात्राको दुरी तय गर्छन। सिर्जनाकला प्रेमको एक स्वरुप हो। प्रेमको बाछिटामा टल्कने शितझैं शब्दहरु मौन संवाद गर्छन। निर्जीव लाग्ने शब्दहरु प्रेमको बाटो हिँड्न थालेपछि जीवन्त बन्छन। शब्दहरु जीवन साकार गर्ने दिव्य माध्यम हुन्।
प्रकृति जीवन्त कवि हो। जसले उनेका प्राकृत शब्दहरु कालजयी छन्। जुन खण्डबाट उत्पती हुन्छ समाप्ति पनि त्यही हुन्छ। प्रकृति समाप्त नहुने उर्बर कवि हो। प्रकृतिले सिर्जना गरेका दुई अस्तित्व यतिबेला आमने सामने उभिएका छन्। एक अस्तित्व स्वयंम म हुँ र अर्को यो गुराँसे पाखा। हामी दुबै प्रकृतिले कोरेका सुन्दर कविता हौ। म गुराँस र गुराँसे पाखाको प्रेममा छु। गुराँस मेरो प्रेमको सागरमा पौडिएर मस्त छ। हामी अलग अस्तित्व भएर पनि एक भएका छौ। जव अस्तित्वहरुको मिलन सम्भव हुन्छ तब खुसीको सिमा रहँदैन। हामी बतासको बाटो भएर भुवाझंै बरालिरहेछौ।
दृश्यले विचारको बाटो हुदै सुसेली हालेको छ। अनुभूतिको भावमा दृश्यको मिलन मार्ग सजीव बनेको छ। प्रेमले ह्रदयको पहाड गुराँसे पाखा बनेको छ। गुराँसको रङले पोतिएको ह्रदयको क्यानभाष जीवन्त भएको छ। हामी दुबै चुलिएर आकाशझै फराकिला बनेका छौ। आकाशभन्दा बेसि त हामी पो निराकार रहेछौ। खुसी लिएर मिलन हुने मिलनको आकाश पो आकाश हुने रहेछ। यस्तैयस्तै यो ब्रम्हाण्डमा नजाने कति धेरै आकाशहरु होलान। हामीले कल्पना गर्ने पनि त अर्को आकाशको नाम हो नि। कल्पना आकाश !
यस्तो लाग्दैछ, मेरो आँगमनमा गुराँस पत्रहरु बाटो भरी पोखिएर मलाई स्वागत गरिरहेछन्। मेरो पदयात्रालाई थप सहजता थप्न उनीहरु डालीबाट बिछोडिएका छन्। पाखैभरि गुराँस, बाटो भरि गुराँस पत्र, दायाँ गुराँस, बायाँ गुराँस अनि कसरी कोही गुराँसमय नहोस।
गुराँसको रङलाई थप जीवन भर्न उत्तरबाट हिमाली चिसो बतास यतै डुलिरहेको छ। धौलागिरि, सिस्ने, निलगिरि, अन्नपूर्णलगायतका हिमसृङ्खलाहरु गुराँसे पाखाको आँगनमा रमाइरहेछन्। गुराँसका अनेक रङ बटुलेर उज्यालिएका हिमालहरु थप आकर्षक देखिएका छन्। गुराँसको पाखालाई आफ्नो बाहुमा सजाएर गमक्क परेको धौलागिरि हिमाल गजक्क बसेको देखिन्छ। अन्नपूर्ण साउथ हाम फालि हाल्ने तरखरमा छ। अहो ! एकैसाथ देखिने यी सबै दृश्य हेर्न छुटाउनु भयो तपाई जीवन कै दुर्लभ पात्र हुनुहुनेछ। साच्चै ! नेपाल नै स्वर्ग हो। स्वर्ग नै नेपाल हो।