काठमाडाैं। प्रकृतिको सुन्दर उपहार हो, दोलखाको जिरी। प्रकृति र संस्कृतिको सङ्गम जिरीमा घुम्नुपर्ने धेरै ठाउँ छन्। सबैतिर घुम्न दुई दिनले पुग्दैन, कम्तिमा एक हप्ता छुट्टयाउनै पर्छ।
समग्र जिरी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न जिरी उद्योग वाणिज्य संघले यही चैत २३ देखि वैशाख २ गतेसम्म ‘जिरी महोत्सव’ आयोजना गरेको छ। त्यसैले महोत्सवकै रमझममा जिरी घुम्ने कि !
जिरी नगरपालिका
जिरी बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एउटा सुन्दर नगरपालिका हो। यसको क्षेत्रफल २११।२५ वर्ग किलोमिटर छ। नगर क्षेत्र १६४९ मिटरदेखि ५३४१ मिटरसम्मको उचाइमा छ। सरकारले माली, ठुलो पातल, श्यामा र जिरी गा।वि।स।लाई मिलाएर जिरी नगरपालिका बनाएको हो। यसको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा दोलखा जिल्लाकै बैतेश्वर र गौरीशङ्कर गाउँपालिका, उत्तरमा गौरीशङ्कर गाउँपालिका र दक्षिणमा तामाकोसी गाउँपालिका र रामेछाप पर्दछन्।
जिरी उद्योग वाणिज्य संघले चैत २३ देखि वैशाख २ गतेसम्म ‘जिरी महोत्सव’ आयोजना गरेको छ। महोत्सवकै रमझममा जिरी घुम्ने कि!
जिरी विभिन्न जातजातिको सुन्दर बगैंचा हो। यहाँ जिरेल, शेर्पा, सुनुवार, विश्वकर्मा, तामाङ, नेवार, क्षेत्री, बाहुन आदिको बसोबास छ। वि।सं। २०७८ को जनगणनाअनुसार जनसङ्ख्या १६ हजार १०९ छ।
‘नेपालको स्वीजरल्यान्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा जिरी चर्चित छ। पहिलापहिला अधिकांश पर्वतारोही र पदयात्री यतैबाट सगरमाथा जान्थे। त्यस्तै स्वीजरल्यान्डको जुरिचसँग यहाँको भूगोल एवम् हावापानी मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्विजरल्यान्ड पनि भनिन्छ।
स्वीस भूगर्भविद् टोनी हेगनकै कारण जिरीले विकासमा फड्को मारेको हो। स्वीस सरकारले वि।सं। २०१४ देखि ‘जिरी बहुद्देश्यीय विकास परियोजना’ मार्फत् दोलखाको कृषि, सडक, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा सहयोग गर्दै आएको छ। जिरी नगरपालिका क्षेत्रमा घुम्ने र रमाउने धेरै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन्।
जीवनशैली
जिरीका बासिन्दाको प्रमुख आम्दानीको स्रोत कृषि र वैदेशिक रोजगारी हो। त्यसबाहेक व्यापार, व्यवसाय, नोकरी आदि पर्दछन्। नगरबासीहरू मिहिनेती र इमान्दार छन्। सबैजना सत्कर्ममा विश्वास गर्छन्।
यहाँ ग्रामीण जीवनशैलीको सुवास मग्मगाउँछ। परम्परागत खेतिपातीको शैली, काष्ठकला, प्रस्तरकला आदिको रैथाने सिप अध्ययन तथा अवलोकन गर्न सकिन्छ। त्यस्तै जिरी बजारबाट तीन घण्टा उकालो चढेमा च्योर्दोङ चिज कारखाना पुगिन्छ। त्यहाँ वैशाखदेखि कात्तिकसम्म चिज बनाइन्छ।
जिरीका आदिवासी जिरेल जाति हुन्। विशेषतः जिरेल संस्कार र संस्कृति अध्ययन गर्न सिक्री गाउँ उपयुक्त छ। त्यस्तै शेर्पा संस्कृतिका लागि यलुङ उत्तम गन्तव्य बन्न सक्छ भने ठुलापातल तामाङ र सुनुवार संस्कृतिका लागि। जिरी नगरपालिकामा विभिन्न समुदायको बसोबास भएकाले उनीहरू आफ्ना चाडपर्व धुमधामसँग मनाउँछन्। दसैं, तिहार, ल्होसार, बुद्धपूर्णिमा, रामनवमी, होली, शिवरात्रि, कृष्णजन्माष्टमी, रक्षाबन्धन, छठपर्व, विवाहपञ्चमी आदि यहाँका प्रमुख चाड हुन्।
सम्पदाहरू
जिरी उपत्यका
उत्तरदक्षिण फैलेको र पूर्वपश्चिम साँघुरो हरित उपत्यका हो, जिरी। यसलाई पहरा दिइरहेका डाँडापाखा सुन्दर छन्। जिरी बजार नजिकै गाई फार्म, प्राविधिक शिक्षालय, अस्पताललगायत अनेकौं चिज छन्। फार्मका गाई चउरमा चरिरहेका दृश्य मनमोहक देखिन्छ। यहाँको प्राविधिक शिक्षालयमा मुलुकका विभिन्न भूगोलबाट विद्यार्थी आउँछन्।
जिरी उपत्यकामा चिया बगान छ। बजार क्षेत्रमा तेन्जिङ हिलारी पार्क र टोनी हेगन इकोलोजिकल पार्क छन्। तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारीले सगरमाथा आरोहणका बेला जिरीकै बाटो प्रयोग गरेका थिए। त्यसैगरी स्वीस भूगर्वविद् हेगनले जिरीको विकासमा ठुलो गुन लगाएका छन्।
जिरी उपत्यकामा साइक्लिङ, बर्डवाचिङका साथै योग तथा ध्यान गर्न सकिन्छ। बिदा मनाउन समेत जिरी उपयुक्त छ। बजारमै छन्, होटल, रेस्टुराँ र कोसेलीघरहरू पनि।
तीर्थस्थल
सुन्दर बगैंचा जिरीमा प्रकृतिका इन्द्रेणी रङ्गहरू मात्र होइन, धार्मिक आस्थाका देवलहरू पनि प्रशस्तै छन्। हिन्दु र बौद्धमार्गीका तीर्थस्थलहरू। जिरी बजार सेरोफेरोमा जिरेश्वर, ढुङ्गेश्वरी, राङराङेश्वरी र देवीस्थान मन्दिर छन्। डेढदेखि तीन किलोमिटर दुरीमा छन्, यी मन्दिर। अर्को पवित्र गन्तव्य, हलेसीधाम। बजारबाट पूर्व १२ किलोमिटर दुरीको माली गाउँमा गुफाभित्र बसेका छन्, हलेसी महादेव। त्यस्तै ठुलोपातलमा राम्बोले देवीको मन्दिर छ। त्यसैगरी जिरेल बस्ती सिक्रीमा रहेको आबीथान आदिम देवस्थल हो।
जिरी बजार नजिकै तल्लो कोट गाउँमा खार्बोक गुम्बा (ल्हागाङ) छ। यो नै यस क्षेत्रको सबैभन्दा पुरानो गुम्बा हो। बजारमै छ, ५१ फिट अग्लो चैत्य पनि। त्यसभन्दा मास्तिर गुरु पद्यसम्भवको मूर्ति छ। त्यसको शिरानमा रहेको सामाजिक सेवा केन्द्रमा बुद्धका मूर्ति छन्। बजारबाट एक घण्टा पदयात्रामा कुन्साल थोर्दोलिङ गुम्बा पुगिन्छ, जहाँ आनी र लामा पढाइ हुन्छ।
त्यस्तै यलुङ गाउँमा ङग्यूर हेशे ख्यूङजोङ लिङ गुम्बा पनि छ। यहाँ धमाधम नयाँ धार्मिक सम्पदा पनि बनाइँदैछ। पटासे डाँडामा गुरु रिम्पोचेको १०८ फिट अग्लो मूर्ति बनाइँदैछ।
हनुमन्ते
जिरी नगरपालिका र बैत्येश्वर गाउँपालिकाको सिमामा हनुमन्ते डाँडा (३,०५० मिटर) छ। डाँडा नजिकै खोंचको गुफामा शिवलिङ्ग छन्। नजिकै हनुमानको मूर्ति पनि छ। शिवलिङ्गमाथि गाईका थुनजस्ता प्रतिमा छन्, जहाँबाट तपतप जल वर्षा भइरहन्छ। डाँडाबाट हिमालको लर्कन देखिन्छ, लाङटाङ, गौरीशङ्कर र नुम्बुर हिमशृङ्खलासम्म। डाँडामा बसेर योग र ध्यान गर्न सकिन्छ।
हनुमन्तेको सन्दर्भ हिन्दु धर्मग्रन्थ रामायणसँग जोडिएको छ। रामायणअनुसार लक्ष्मणको उपचारका लागि जडीबुटीको खोजीमा निस्केका हुनुमानले यही डाँडामा बसेर चारैतिर नियालेका थिए। उनले यतैबाट जडीबुटीको पहाड बोकेर लगेका थिए।
जिरी बजारबाट ११ किलोमिटरमा खावा बजार छ। खावाबाट ३ किलोमिटरमा हनुमन्ते डाँडा। हनुमन्तेको बेसक्याम्प मेहेलेसम्म सडक छ। त्यहाँबाट ६०० मिटर उकालो चढेमा डाँडामै पुगिन्छ। खाना र बासका लागि खावा बजारमा होटल सुविधा छ।
च्योर्दोङ
जिरी उपत्यकाको शिरमा च्योर्दोङ डाँडा (३,६९० मिटर) छ। यहाँ महादेवको प्राचीन शिला र आधुनिक मूर्ति छ। च्योर्दोङेश्वर महादेवको दर्शन गरेमा रोगब्याधी नलाग्ने, सुखशान्ति मिल्ने जनविश्वास छ। वैशाख १ गते र कात्तिक पूर्णिमाका दिन यहाँ मेला लाग्छ। डाँडाबाट महादेव दर्शनसँगै रोल्वालिङ, नुम्बुर र लाङटाङ हिमालको लर्कन अवलोकन गर्न सकिन्छ। डाँडाको छातीमा सुन्दर क्याङ्से पोखरी छ। च्योर्दोङ उकालिँदा पोखरीमा धुपबत्ती गर्ने चलन छ।
जिरी बजारबाट करिब ६ घण्टा पदयात्रामा डाँडामा पुगिन्छ। क्याङ्सेसम्म सडक ट्र्याक खुलेको छ। त्यहाँबाट करिब दुई घण्टा पदयात्रामा डाँडाको थाप्लोमा पुगिन्छ। माथि खानेबस्ने सुविधा छैन।
नागी
हिमाली सौन्दर्य, गुराँस र चौंरीको चरन क्षेत्र अवलोकन गर्न नागीडाँडा उत्तम गन्तव्य हो। जिरी नगरपालिका–६ मा पर्ने ठुलोनागी (३,०३० मिटर) बाट गौरीशङ्कर, रोल्वालिङ र नुम्बुर हिमशृङ्खला देखिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य पनि चित्ताकर्षक देखिन्छ। लामो दुरीको पदयात्रा गर्ने हो भने हाटडाँडाबाट हनुमन्ते, ठुलोनागी, च्योर्दोङ, यलुङ भएर जिरीसम्म पदयात्रा गर्न सकिन्छ। यसलाई ‘जिरी चिज सर्किट’का रुपमा ब्रान्डिङ गर्न मिल्छ।
जिरी बजारबाट करिब ४ घण्टा पदयात्रामा ठुलोनागी पुगिन्छ। मोटर बाटो भने १२ किलोमिटर गुराँसपार्कसम्म खनिएको छ। गुराँसपार्क हेरेर डाँडामा पुग्न सकिन्छ। गुराँसपार्क पनि आफैंमा मनमोहक छ, जहाँ विभिन्न थरीका गुराँस फुल्छन्। पार्कमा कृत्रिम पोखरी र धर्मशाला बनाइएको छ।
बुद्धपार्क
जिरी बजारबाट पश्चिममा चिहानडाँडा छ। त्यहाँबाट बजारको दृश्य सुन्दर देखिन्छ। त्यही चिहानडाँडा नजिकै बुद्धपार्क बनाइएको छ। बुद्धिस्ट एकेडेमी एन्ड रिसर्च सेन्टरले बनाएको पार्कमा शाक्यमुनि गौतम बुद्धको २० फिट अग्लो मूर्ति राखिएको छ। पार्कसँगै ध्यान केन्द्र पनि छ। जिरी बजारबाट ६ किलोमिटर गाडी यात्रा वा देवीथान भएर डेढ घण्टा पदयात्रामा बुद्धपार्क पुग्न सकिन्छ।
स्टोनपार्क
जिरीको भूगोल रमाइलो छ। कतै वनजङ्गल मात्र छ त कतै खुला चउर। कतै अग्ला डाँडा छन् त कतै खोलानाला। अनि कतै ढुङ्गैढुङ्गाको प्राकृतिक बगैंचा। जिरी नगरपालिका–१ मा पनि यस्तै एउटा प्राकृतिक बगैंचा छ, जसलाई व्यवस्थित बनाएर ‘स्टोनपार्क’ नामकरण गरिएको छ। यहाँ बौद्धमार्गीका गुरु रिम्पोचे अर्थात् पद्यसम्भव र हिन्दुका देवादिदेव महादेवका मूर्ति बनाइएका छन्।
साविक श्यामा गा।वि।स।को पुम्पामा पर्ने स्टोपनपार्क जिरी बजारबाट २७ किलोमिटर दुरीमा पदर्छ। गाडी यात्राबाट यहाँ पुग्न सकिन्छ। पार्क नजिकै पुम्पाकोटमा होटल सुविधा छ।
झरना
जिरीमा थुप्रै रमणीय झरनाहरू छन्। यहाँको हाटडाँडाबाट ३ किलोमिटर पर कुँडारमा एकै ठाउँमा तीनवटा झरना छन्। सबैभन्दा ठुलो लौती झरना। दुईटा चाहिँ बर्खे झरना हुन्, लौतीमा हिउँदमा पनि पानी हुन्छ। यहाँ क्यानोनिङ खेलको सम्भावना देखिन्छ। झरना नजिकै ट्राउट पालन छ। चिया बगान पनि छ।
जटापोखरी–पाँचपोखरी
जिरी नगरपालिका र रामेछापको साँधमा छन् जटापोखरी ९४,२०० मिटर० र पाँचपोखरी ९४,५०० मिटर०। हरेक वर्ष जनैपूर्णिमाका दिन यहाँ मेला लाग्छ। बौद्ध र हिन्दू धर्मावलम्बी दुबैले मेला भर्छन्। मेला भरेमा रोगब्याधी नलाग्ने, अन्न उत्पादन राम्रो हुने र सुखशान्ति मिल्ने जनविश्वास छ।
जिरी बजारबाट दुई दिन पदयात्रामा पाँचपोखरी पुग्न सकिन्छ। मोटर बाटो भने गर्जाङसम्म पुगेको छ। त्यहाँबाट करिब ६ घण्टा हिँडेर पहिलो दिन मानेडाँडामा बास। भोलिपल्ट करिब ४ घण्टामा जटापोखरी पुगिन्छ। जटापोखरीबाट पाँचपोखरी पुग्न १ घण्टा लाग्छ। पाँचपोखरी क्षेत्रमा होटल तथा लज सुविधा छैन। त्यसैले टेन्ट बोकेरै यात्रा गर्नुपर्छ।
होटल
जिरी बजारमा पर्यटकीय सुविधाका होमस्टे, होटल, लज र रिसोर्ट छन्। खानामा जिरीको छ्याङ, तोङ्बा, पदमचाल रक्सी र सुकुटी प्रख्यात छ। यहाँका होटल तथा खाजाघरमा नेपाली, चिनियाँ, कन्टिनेन्टल परिकार पाक्छ। साथमा जिरेल, शेर्पा, नेवारलगायत विभिन्न जातजातिका परिकार पनि पाइन्छ।
कोसेली
जनबोलीमा ‘याक चिज’ भनिन्छ। खासमा याक हिमालतिर पाइने भाले गाई भएकाले त्यसले दुध दिँदैन। चौंरी गाईको दुधबाट बनेको चिज, छुर्पी, डल्ले खुर्सानी, चियापत्ती, गेडागुडी, आलु, किबी, काष्ठकला र हस्तकलाका सामग्री जिरी बजारमा किन्न पाइन्छ।
कसरी पुग्ने ?
काठमाडौं–लामोसाँघु–जिरी १८८ किलोमिटर सडक यात्रा। अथवा, काठमाडौं–खुर्कोट–मन्थली–जिरी २१३ किलोमिटर यात्रा। सबैतिर पक्की सडक छ। साना तथा ठुला दुबै किसिमका गाडी र मोटरबाइक यात्रा गर्न सकिन्छ। काठमाडौंको जडीबुटी बसपार्कबाट जिरीका लागि बस तथा माइक्रोबस चल्छन्।