व्यस्त जिन्दगीमा बेलाबेलामा कामबाट ‘ब्रेक’ लिनुपर्छ। शरीर र मनलाई रिचार्ज गराउनु पर्छ। घुमफिरमा निस्कँदा मन चङ्गा बन्छ। सहरी भेगमा भन्दा स्वच्छ हावापानी भएका गाउँघरमा डुल्नु राम्रो हुन्छ। घुमफिरबाट फाइदैफाइदा हुन्छ। तन र मनमा ऊर्जा बढ्छ। अर्को कुरा, मुलुक चिन्न पनि पाइन्छ।
जनसहभागितामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर, करबाकेली इको ट्रेक निर्माणका साथै पुस्तकहरू प्रकाशन गर्नु चानचुने कुरा होइन। अन्य समुदायले पनि काफलडाँडाबाट सिक्नैपर्छ।
त्यसैले काठमाडौंको दौडादौडीका बिचमा जब म हराउँछु तब यात्रामा निस्कन्छु। केही समय अघि ‘करबाकेली काव्ययात्रा २०८०’मा म्याग्दीको पर्यटकीय क्षेत्र करबाकेली घुम्ने साइत जुरेको थियो। हामी १८ जनाले कात्तिक १९ गतेदेखि ५ दिन यात्रा गरेका थियौं।
करबाकेली क्षेत्रको सामाजिक र सांस्कृतिक विकासमा क्रियाशील अभियन्ता चामबहादुर पुनको अगुवाइमा काव्ययात्रा गरिएको थियो। उहाँकै नेतृत्वमा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडालाई पर्यटनधाम बनाइएको हो। करबाकेली क्षेत्रको विकास र प्रचारमा चामबहादुर दाइले अतुलनीय योगदान पु¥याउनु भएको छ।
काव्ययात्रा भन्दा पहिला नै उहाँलाई चिनेको थिएँ। उहाँको जीवनकथा ‘लाहुरेको सङ्घर्ष’ पनि पढिसकेको थिएँ। त्यसैले उहाँले गर्नुभएको समाजसेवाका कामबारे पहिल्यै जानकार थिएँ। जब काफलडाँडामा पुगें तब तस्बिर र शब्दमा पढिएको करबाकेलीलाई आँखै सामुन्ने देख्न पाएँ।
दाइ सरल र फरासिलो हुनुहुन्छ। बुढेसकालमा पनि फूर्तिलो। आफ्नो गाउँको लागि उहाँले श्रम, सीप, समय र पैसा खर्च गर्नु भयो। यस्ता मनकारी मान्छे कमै भेटिन्छन्। हामीलाई हरेक गाउँमा यस्तै मान्छे चाहिएको छ। उहाँ बेलायती सेनाको रिटायर्ड लाहुरे। काठमाडौं र बेलायतमा घर छ। परिवार बेलायतमा बसाइँ सरिसक्यो। उहाँ पनि सर्नु भएको हो। तर, उहाँको मन कहिल्यै बसाइँ सरेन। त्यसैले त उहाँ गाउँमा फर्कनु भयो। आफ्ना कुलदेवताको मन्दिर बनाउने अभियानमा।
मन्दिर अथवा उहाँहरूकै भाषामा ‘थान’ त बन्यो नै। त्यतिले मात्र नपुगेर काफलडाँडालाई पर्यटनधाम बनाएर गाउँलेले आम्दानी लिने अभियान चलाउनु भयो। यही अभियानमा पुन सामुदायिक सङ्ग्रहालय बन्यो। पुनहिलदेखि करबाकेली हुँदै बेनीबजार जोड्न ‘करबाकेली इको टे«क’ ब्रान्डिङ गरियो।
करबाकेली काव्ययात्राको दौरानमा २१ कात्तिकका दिन करबाकेलीमा बसेर सेरोफेरो नियाल्दा लाग्यो, चामबहादुर दाइमा दीर्घकालिन सोच रहेछ। स्वदेश तथा विदेशमा रहेका पुन समाजले उहाँलाई साथ दिइरहेका छन्। त्यसैले काफलडाँडाको कायाकल्प सम्भव भएको हो।
यसरी जनसहभागितामा कलात्मक करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर, करबाकेली इको ट्रेक निर्माणका साथै पुस्तकहरू प्रकाशन गर्नु चानचुने कुरा होइन। उदाहरणीय र प्रेरणादायी काम हो। अन्य गाउँहरू र समुदायले पनि काफलडाँडाबाट सिक्नैपर्छ।
‘करबाकेली इको टे«क’ सुन्दर उपहार हो। स्वच्छ हावापानी र वातावरण भएको पदमार्गमा हिँड्दा आनन्द मिल्छ। पदमार्ग छोटोमिठो त छँदैछ, खर्च पनि धेरै लाग्दैन। लोकल खानामा रमाउँदै र लोकल संस्कृतिमा झुम्दै हिँड्न पाइन्छ।
म साइकले भएकाले अब साइक्लिङकै कुरा गरौं है ! करबाकेली थानसम्म बेनीबजारबाट जिप ट्रयाक खुलेको रहेछ। माथि फूलबारीसम्म पनि जिप चल्छ। त्यसैले यस क्षेत्रमा ‘क्रस कन्ट्रि साइक्लिङ’को सम्भावना देखिन्छ।
यसका लागि पदमार्ग र साइक्लिङ रुट प्रवद्र्धन जरुरी छ। विभिन्न वेवसाइट, सामाजिक सञ्जाल र मोबाइल एप मार्फत् यसको प्रवद्र्धन गर्न सकिन्छ। काफलडाँडामा बिस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ। पुनहिलतिरबाट विदेशी पदयात्री पनि झर्न सुरु गरिसकेका छन्। अझै ठुलो सङ्ख्यामा करबाकेली क्षेत्रमा पर्यटक डुलाउन सके गाउँलेलाई फाइदा पुग्छ। त्यसका लागि ‘एग्रेसिभ मार्केटिङ’ जरुरी हुन्छ।
म सम्झन्छु, १५ वर्ष पहिला थाइल्याण्डका विदेशीसँग पुनहिल पदयात्रा गरेको। त्यतिबेला कास्कीको वीरेठाँटीदेखि हामी हिँडेका थियौं। त्यो समय हामीले न काफलडाँडाको नाम सुनेका थियौं न करबाकेली बाबाको। आज संसारभर काफलडाँडा र करबाकेलीको नाम चम्किँदैछ।
अचेल बेनीबजारतिरबाट पोखरेबगर हुँदै घोडेपानीसम्म जिप चल्दो रहेछ। यता वीरेठाँटीबाट पनि उल्लेरीसम्म जिप चल्छ। अबका केही वर्षमा उल्लेरीतिरबाट पनि घोडेपानीसम्मै जिप चल्नेछ। पुनलिबाट फूलबारी, करबाकेली थान हुँदै बेनीबजार झर्ने पदमार्गमा भने जिपको चहलपहल बढ्न अझै केही वर्ष लाग्नेछ। यस भेगका बस्ती पनि सुन्दर छन्। अब चामबहादुरहरूको होस्टेमा स्थानीय गाउँपालिका, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र केन्द्रीय सरकारले पनि होस्टे गर्नुपर्छ। आफ्नै बलबुतामा पर्यटन विकास गरिरहेका गाउँलेको हामी सबैले सम्मान गरिनुपर्छ। समाज विकासको दियो जलाउनेहरूलाई हामीले मन खोलेर साथ दिनु पर्छ। उनीहरूको सही मूल्याङ्कन गर्नैपर्छ।
अन्त्यमा, चामबहादुर दाइको सुर्कमबाट हामीले सिक्नु पर्छ। आफ्नोपनमा गौरब गर्नुपर्छ।