पोखरा। नेपाली लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको दौँतरी कार्यक्रमको तेस्रो शृङ्खलामा शनिबार कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीले आफ्ना दौँतरी अनुभव र कविता सुनाएर सबैलाई मन्त्रमुग्ध बनाए।
दौँतरीलाई मञ्चमा सहजीकरण गरिरहेका थिए कवि अमृत क्षेत्रीले । दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामलाई समेटेर अमृतले जिज्ञासा राखेका थिए भने कविद्वयले थोरै औपचारिक, थोरै अनौपचारिक ढङ्गले जीवनका अनुभव र अनुभूति पस्केका थिए।
पचासको दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी दुई कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसङ्ग सुनाए। भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख पनि सम्झे। प्राध्यापन पेसामा आबद्ध दुवै कविले घर सम्झे, आमाबा सम्झे, आफन्त सम्झे, विद्यार्थी सम्झे, समाज हुँदै राजनीतिसम्म सम्झे। कलेज पढ्दाका दिन सम्झे, प्रेम सम्झे र सम्झे आफूजस्तै अरू दौँतरीहरू पनि।
कर्मका सिलसिलामा अहिले काठमाडौँ पुगेका अल्पज्ञानीले पोखराबाट अलग हुँदाखेरिका चस्काइ र दुखाइ पनि सम्झन छुटाएनन् भने साथी छोडेपछि दुःख हुन्छ भन्दै सञ्जीवले छेड हाने। दुई साथीका अन्तरकुन्तर खोतल्दै अमृतले दौँतरी गफमा मसला थपिरहेका थिए। ठट्यौली गफ र गम्भीर कविताको आस्वादनमा श्रोताहरू निमग्न देखिन्थे। दौँतरी कविले गफगाफका बिचबिचमा एक दर्जनभन्दा बढी कविता श्रोतामाझ पस्के।
सोही कार्यक्रमको अवसर पारेर कवि सञ्जीव पौडेलको नवीनतम कवितासङ्ग्रह जून ओर्लेको रात को विमोचन पनि गरियो। नेपाली साहित्यका विशिष्ट साधक सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोक सङ्गीतकि कोइली हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका थिए।
कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासङ्ग्रह उज्यालो पर्खिरहेको मानिस पनि सोही कार्यक्रममा विमोचन गर्ने तयारी रहेकामा प्रविधिक कारणले असमर्थ भएको संस्थाका अध्यक्ष ईश्वरमणि अधिकारीले बताए। कार्यक्रममा साहित्यकार सरूभक्त र माया पब्लिकेसन प्रा.लि.का निर्देशक विनयभूषण दत्तले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा उपस्थित एवम् कार्यक्रम सम्पन्न गर्नमा योगदान दिने सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष अधिकारीले कार्यक्रमको समापन गरे।