पोखरा। पोखराका दुइजना चर्चित कवि बिचको अन्तरंग कुराकानी सुन्न पाइने भएको छ। नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको ‘दौँतरी’ कार्यक्रमको तेस्रो शृङ्खला चैत १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीले सिर्जनागफ सुनाउनेछन्।
पोखरेली परिवेशमा रहेर लामो समय सँगै साहित्यिक गतिविधिमा संलग्न भएका यी दुई सर्जकका सिर्जना र सिर्जनागफ एउटै मञ्चबाट सुनाउन लागिएको हो। साहित्य, कला, सङ्गीत आदि विभिन्न क्षेत्रमा स्थापित एवम् क्रियाशील दौँतरीलाई यस मञ्चमा उभ्याउँदै आइएको छ। जुनसुकै क्षेत्रमा पनि मित्रताको विशेष हात रहन्छ। जीवनको कालखण्डमा कुनै एउटा क्षेत्रमा निरन्तर लागिरहँदा मित्रताले खेलेका भूमिकामाथि छलफल गर्दै सिर्जना सुन्ने कार्यक्रमका रूपमा यसलाई अगाडि बढाइएको छ।
कार्यक्रमको शुभारम्भ शृङ्खलामा पोखरेली साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठलाई दौँतरीका रूपमा उभ्याएको संस्थाले दोस्रो शृङ्खलामा दोस्रो पुस्ताका साहित्यकारद्वय दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याएको थियो। तेस्रो शृङ्खलामा अर्को पुस्तालाई उभ्याउन गइरहेको आगामी दिनमा देशव्यापी रूपमा दौँतरी स्रष्टाहरूलाई समेट्दै जाने लक्ष्य रहेको संस्थाका अध्यक्ष ईश्वरमणि अधिकारी बताउँछन्।
तेस्रो शृङ्खलामा उभिँदै गरेका दौँतरीहरू पोखरेली परिवेशमा विगत दुई दशकदेखि निरन्तर साहित्यिक गतिविधिमा क्रियाशील छन्। जन्मथलो कास्की नै रहेका दुवै स्रष्टा विशेषगरी कविता, गीत, गजल, मुक्तक, निबन्ध एवम् कथा लेखनमा सक्रिय छन्। दुवै शिक्षण पेसामा आबद्ध पनि छन्।
सञ्जीव पौडेल
कास्की जिल्लाको पूर्वी भेग रूपा गाउँपालिका वडा नं. ७ मा ४० को दशकको सुरुआती समयमा जन्मेका कवि सञ्जीव पचासको दशकको उत्तरार्धमा अध्ययनका सिलसिलामा पोखरा झरेका हुन्। नेपाली र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका उनी विद्यालयदेखि कलेजसम्म पढाउँछन्। विद्यालय पढ्ने उमेरमै गीत कविता लेखेर साहित्य क्षेत्रमा पाइला चालेका उनी पोखरेली परिवेशमा भइरहने कार्यक्रमहरूमा सहभागी हुँदै लेखन अगाडि बढाउँदै गए।
साहित्य, समालोचना र समसामयिक विश्लेषणमा कलम चलाइरहने उनले विभिन्न पोखरेली वाङ्मयिक संस्थाहरूको नेतृत्व गरिसकेका छन्। मुक्तक मञ्च, नेपाली लेखक संघ, कास्की शाखाको अध्यक्ष बनिसकेका उनी हाल नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव हुन्। पुछारसिटे अभियानका संयोजकसमेत रहेका उनी गजल सन्ध्याका, अक्षरयात्रालगायत अन्य संस्थामा पनि आबद्ध छन्। अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६ बाट पुरस्कृत उनले पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह वि.सं. २०७४ सालमा प्रकाशित गरेका छन्। दौँतरी कार्यक्रममै उनको दोस्रो कृति ‘जून ओर्लेको रात’ कवितासङ्ग्रह लोकार्पण हुँदै छ।
अल्पज्ञानी
कास्कीको वेगनासमा ३० को दशकको उत्तरार्धमा जन्मेका अल्पज्ञानी ५० को दशकदेखि नै पोखरेली साहित्यिकवृत्तमा घुलमिल भइसकेका थिए। पत्रमित्रताको समयका थुप्रै अनुभवहरू छन् उनीसँग। अध्ययन अध्यापनका सिलसिलामा हाल उनी काठमाडौँमा छन्। अर्थशास्त्र विषय प्राध्यापन गर्ने उनी काव्य क्षेत्रमा आफूलाई नदी झैँ सलल बगाउँछन्। काव्यिक कोमलता एवम् मौलिक कवितावाचन शैलीमा उनी अब्बल मानिन्छन्।
उनी पद्यलय एवम् गद्यलय दुवैमा सुन्दर कविता रचना गर्दछन्। काव्यका अलावा निबन्ध, संस्मरण र कथामा पनि उनको कलम बलियोसँग चल्दै आएको छ। विद्यालय पढ्दाखेरि नै पोखरेली परिवेशमा हुने साहित्यिक कार्यक्रमहरूमा देखिने उनी पोखराका विभिन्न वाङ्मयिक संस्थाहरूसँग आबद्ध छन्। पोखरेली युवा सांस्कृतिक परिवार, नमुना साहित्य, गजल सन्ध्या, अक्षरयात्रा, पुछारसिटे अभियानलगायत अन्य विभिन्न संस्थामा रहेर साहित्यिक क्षेत्रमा विशेष योगदान दिएका छन्। लामो समयको काव्यसाधनापछि उनले आफ्नो कविताकृति प्रकाशन गर्न लागेका छन्। उनको पहिलो कृति ‘उज्यालो पर्खिरहेको मानिस’ कवितासङ्ग्रह छिट्टै लोकार्पण हुँदै छ।