दाङ। लुम्बिनी प्रदेशको दाङमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ। दाङको राजपुर गाउँपालिका–१, कठबेरुवा वडाभित्र रहेका चौधरी, मगर, गुरुङ, क्षेत्री, दलित समुदाय बसोबास गरेका स्थानमा चैत ४ देखि ६ गतेसम्म सञ्चालन गरिदैछ। कठबेरुवामा रहेका पाँच होमस्टेहरुको प्रचारप्रसार गर्ने उद्देश्यले होमस्टे महोत्सव गर्न लागेको वडा अध्यक्ष तथा समाजसेवी सुर्य चौधरीले बताए।
महोत्सवमा चौधरी, मगर, गुरुङ लगायत अन्य समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक, स्थानिय समुदायको खानपान, भेषभूषा, सिपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए।
यसका साथै विभिन्न १२ वटा छिमेकी जिल्लाबाट सहभागी होमस्टेकर्मीहरुले आ–आफ्नो उत्पादन र स्थानीय परिकार साथै खानपिन लगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने साथै यस क्षेत्रबाट भारतीय नाका अत्यन्तै नजिक र लुम्बिनी प्रदेशको मुख्य देउखुरी उपत्यकाको क्षेत्र भित्र रहेकोले चुरे पहाडको काखमा अतिरिक्त सुन्दर वातावरण र विभिन्न पौराणिक कथाहरुको आकर्षणले जोडिएको स्थान रहेको पनि चौधरीले बताए।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली चौधरीले गर्न आयोजकले जनाएको छ भने कार्यक्रममा आतिथ्यता र विशिष्ट आतिथ्यता होमस्टे महासंघका केन्द्रिय सदस्य ज्यूहरुको उपस्थित रहनेछ। होमस्टे महासंघका केन्द्रिय सदस्य तथा बिदेश विभागका प्रतिनिधि र प्रमुख सल्लाहकारहरु र सञ्चारकर्मीको उपस्थिति उपस्थिति रहने होमस्टे महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा आयोजक सदस्य पृथ्वी पुन (बाल्कुराम) ले बताए।
२०७८ सालदेखि यस कठबेरुवामा माररिखोला समुदायक होमस्टे , ॐ शिव शक्ति सामुदायिक होमस्टे , चौधरी सामुदायिक होमस्टे , गुरुङ खोला मगर सामुदायिक होमस्टे , रसरिखोला सामुदायिक होमस्टेहरु सञ्चालन गरिदै आएको छ। होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा ओझेलमा परेको छ। त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन महोत्सव आयोजना गर्न लागिएको समेत उनले बताए।
महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष लालबहादुर बुदा मगरले बताए। महोत्सवको आयोजक होमस्टे महासंघ हुनेछ भने राजपुर गाउँपालिका आर्थिक सहयोग र पर्यटन डिभिजन कार्यलय, कोहलपुर, बाँके,र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको सहयोग रहनेछ।