हरियाली जङ्गलबीचमा थुम्को। थुम्कोमा प्यागोडा शैलीको मन्दिर। मन्दिरभित्र पञ्चमुखि शिवलिङ। भित्र खोपामा भैरब, काली र बुद्धका मूर्ति। शान्त वातावरण। योग र ध्यानका लागि उपयुक्त।
वर्षैभरि नुवाकोटका कपिलेश्वरको दर्शन गर्न सकिन्छ। प्रकृति प्रेमी समूहका सदस्य फागुन १२ गते शनिबार कपिलेश्वर पुगेका थियौं।
देवदेवीले बास गरेको पावन भूमि। लिखु र तादी नदीको बीचमा पूर्वपश्चिम भई उठेको डाँडा। यो रमणिय भूमि होे कपिलेश्वरधाम। पञ्चकन्या गाउँपालिका वडा नं २, नुवाकोटमा पर्ने कपिलेश्वरधाममा प्रकृतिको काखमा खेल्न पाइन्छ। तन र मन दुवै चंगा बन्छ, ऊर्जा बढ्छ।
कपिलेश्वर डाँडा (१,३४० मिटर)बाट मौसम खुलेका बेला गणेश र लाङटाङ हिमालको मनोरम दृश्य देखिन्छ। तलतल तादी खोला र लिखु खोला अनि किनारमा लहलहाएका खेतीबालीका फाँट एकटकले हेरिरहुँ झैं लाग्छ। क्यामेराले खिचिरहुँझैं लाग्छ।
डाँडाको टाकुरा दुई रोपनीमा फैलिएको छ। शिव मन्दिर त छँदैछ, यहाँ गुरु रिम्पोचे अर्थात् पद्यसंभवको मूर्ति पनि स्थापना गरिएको छ। त्यसैले कविलास डाँडा हिन्दु र बौद्धमार्गी दुवैको साझा तीर्थस्थल बनेको छ। कपिलेश्वर ६४ ज्योर्तिलिङ्ग मध्ये एक। स्कन्दपुराणको हिमवत खण्डमा कपिलेश्वरको वर्णन छ।
कपिलेश्वरधाम निर्माणमा कपिलमुनि ऋषिको ठुलो योगदान छ। उनैले यहाँ शिवलिङ स्थापना गरेका। धार्मिक कथाअनुसार हिन्दू धर्ममा महादेवलाई देवताहरूका पनि देवता मानिन्छ। देवता र मानव हितका लागि उनले धेरै काम गरेका सन्दर्भ धर्मग्रन्थमा उल्लेखित छन्।
कपिलेश्वरधामका बारेमा बुझ्न पौराणिक कथाको अध्ययन जरुरी हुन्छ। उहिल्यै देवता र असुरहरू मिलेर समुन्द्र मन्थन गर्दा कालकुट विष निस्कियो। त्यो विषले ब्रम्हाण्ड नै खतरामा पर्ने देखियो। त्यसैले लोककल्याण र ब्रम्हाण्डको सुरक्षाका लागि महादेवले त्यो कालकुट विष सेवन गरिदिए। विषका कारण डाहा तथा छटपटि भएपछि महादेव शितल ठाउँको खोजीमा गोसाइँकुण्डतिर लागेछन्।
उनको पछिपछि ऋषिमुनीहरु पनि लागे। त्यो भिडमा कपिलमुनि ऋषि पनि थिए। उनी छिटोछिटो हिँड्न सकेनन्। त्यसैले पछि परे। एक्लै भए। थकाई लागेपछि उनी कविलास डाँडामा बसे। त्यहाँ उनले ज्योर्तिलिङ्गको दर्शन पाए। त्यसैले खुसी भएर त्यही डाँडामा शिवलिङ्ग स्थापना गरे।
धार्मिक तथा प्राकृतिक वातावरणबाट मोहित भएका कपिलमुनि त्यहीं बस्न थाले। त्यहाँ उनले गाई पालन पनि गरे। बिस्तारै वरपरका गाउँलेहरू पनि डाँडामा आएर महादेवको पूजा आराधना गर्न थाले। कालान्तरमा यसलाई कपिलेश्वर महादेव भन्न थालियो।
कपिलेश्वर मन्दिर रहेको डाँडालाई ‘कविलास डाँडा’ भनिन्छ। पहिलापहिला यसलाई ‘कपिलबास’ भनिन्थ्यो। महादेव बस्ने भएकाले ‘कैलाश’ पनि भनिन्थ्यो। पछि अपभ्रंस भएर ‘कविलास’ भन्न थालियो।
यहाँ उहिल्यै ब्रमहाजीले विश्व शान्ति यज्ञ र धर्मसभा गरेका थिए। त्यसैले कपिलेश्वर क्षेत्रमा ब्रम्हेश्वरको मन्दिर पनि छ।
कपिलेश्वरमा शिवरात्री, बडादसैं, हरितालिका तीज, बालाचर्तुदशी, श्रीपञ्चमी, फागु पुर्णिमा, चैत्राष्टमी र वैशाख १ गते ठुलो मेला लाग्छ।
कपिलेश्वरधामको विकास र प्रवद्र्धनका लागि ‘श्री कपिलेश्वर महादेवस्थान परिसर संरक्षण तथा उपभोक्ता समिति’ सक्रिय छ। समितिको अग्रसरतामा चौतारीदेखि मन्दिरसम्म व्यवस्थित सिँढी बनाइएको छ। यो राम्रो काम हो।
सिँढीमाथि बौद्ध मन्त्र अंकित रंगिन झण्डाहरू टाँगिएका छन्। रंगिन झण्डाले वातावरणनै रंगिन बनाएको छ। हावाको झोकासँग हल्लिने झण्डाहरू र तिनलाई स्पर्श गरेर आएको चिसो हावाले आनन्दित बनाउँछ। कपिलेश्वर आधारशिविरमा रहेको वरपिपलको चौतारीमा सुस्ताउँदा पनि मनमा शान्ति छाउँछ। ठूलो रुखमुनिको खुल्ला चौतारा। नुवाकोटको राम्रो दृश्यावलोकन गर्न सकिन्छ।
कपिलेश्वर क्षेत्रमा होटल तथा लज सुविधा छैन। कपिलेश्वर आधारशिविर चौतारामा सामान्य पसल छ। तल छहरे बजारमा भने पर्यटकीय होटल तथा रेष्टुराँको कमि छैन।
कपिलेश्वरको आधारशिविर चौतारी क्षेत्रमा होटल, लज वा होमस्टे सुविधा भएमा यहाँको पर्यटन फस्टाउन सक्छ। यसका लागि गाउँले र स्थानीय गाउँपालिकाले प्रयास गर्नुपर्ने देखिन्छ। साथै मन्दिर हातामा बोर्ड राखि त्यसमा कपिलेश्वरको चिनारी लेखिदिएमा तिर्थालुलाई बुझ्न सजिलो हुनेछ।
डाँडामा भएका संरचना व्यवस्थित गरे मात्र पुग्छ। नयाँ निर्माण गर्नै परे पनि पुरानो शैलीमा वातावरणमैत्री संरचना बनाउनु बुद्धिमानी हुनेछ। डाँडामा कपिलेश्वर महादेवका साथै नाट्यश्वर, रक्षाविनायक, पातालदेवी, सिद्धिविनायक, सरस्वती, महालक्ष्मीलगायत देवदेवीको बसोबास छ।
नाट्यश्वरी (नाश द्यो):
प्राकृतिक चट्टानको पहरामा बसेका छन् नाट्यश्वर। अविरले राताम्ये चट्टानमा बाघको शिला अनि ३ ओटा प्राकृतिक प्वालहरु। घण्टैघण्ट झुन्डइएका। टङ्टङ् घण्टीको आवाज। यसैलाई नाट्यश्वरी भनिन्छ। नाट्यश्वरलाई सङ्गीत र नृत्यका प्रवर्तक मानिन्छन्। उनी बाद्यबादन र नाच सिकाउने पहिलो गुरु हुन्।
विशेषतः नेवार समुदायले नाट्यश्वरको धुमधामसँग पूजा गर्छन्। नेपाल भाषामा यसलाई नाशःद्यो भनिन्छ अर्थात् सिद्धिका देवता। काठमाडौं उपत्यकाका नेवारले नाचगान सिक्दा वा सिकाउँदा नाट्यश्वरलाई पूज्छन्। र सिकेको कला प्रदर्शन गर्दा नआत्तियोस्, राम्रो होस्, सिद्धि पुगोस् भनेर नाट्यश्वरको पूजा गर्ने गरिन्छ।
कथाअनुसार नाट्यश्वरी (नाट्यश्वर) पहिला भक्तपुरमा बस्थे। त्यहाँ उनी सङ्गीत सिकाउँथे। पछि नुवाकोट आए।
भक्तपुर छाड्ने बेलामा उनले भनेका रहेछन्, ‘सिद्धि प्राप्त गर्न म भएको ठाउँमा आउनु।’
नाट्यश्वरीको पहराभन्दा माथि कपिलेश्वर बसेका छन्। चौताराबाट सिँढी उकालो चढेर पहिला बायाँ लागेर नाट्यश्वरको दर्शन गरेर कपिलेश्वर पुग्ने चलन छ। अन्त्यमा, आध्यात्मिक भावनाले मात्र होइन, प्राकृतिक सौन्दर्यका दृष्टिले समेत कपिलेश्वरधाम घुम्नलायक गन्तव्य हो । वर्षैभरि कपिलेश्वर दर्शन गर्न सकिन्छ।
एकपटक पुगेपछि फेरिफेरि पनि पुगिरहन मन लाग्छ। कपिलेश्वरले मोहनी लगाउँछ। हामी त पुग्यौ सुन्दर धाम कपिलेश्वर। अहिलेको मौसममा उत्तरतिर हिमाल हेर्दै कपिलेश्वर दर्शन गर्न जाने कि ?
कपिलेश्वरमा प्रकृति प्रेमी समूह
प्राकृतिक स्वास्थ्य चेतना र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘प्रकृति प्रेमी समूह’ले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। यसै सिलसिलामा वि.सं. २०८० फागुन १२ गते शनिबार छहरे नुवाकोटबाट कपिलेश्वर– नाट्यश्वर महादेव (कविलास डाँडा)मा हाइकिङ गराइएको थियो।
सातदोबाटो, ललितपुरस्थित निरोगधामबाट बिहानै गाडीमा छहरेसम्म पुगेका थियौं । छहरे (६४० मिटर)मा चैते धान रोप्ने तयारी हुँदै थियो। धान रोप्न ठिक्क गरागरा मिलाइएका फाँट। कतै धान रोप्दै थिए त कतै पानीले भरिभराउ खेत। गर्मी स्थान भएको हुनाले यहाँ दुईपटक धान बाली लगाइन्छ। सबै पदयात्री चैते धानको माहौलमा रमाए। स्थानीय युवा सन्देश वाइबा हाम्रो पथप्रदर्शक भएर सहयोग गर्न छहरेमा कुरी बसेका थिए।
धानबालीको दुश्य हेर्दै हामी त्यहाँबाट केहीबेर तेर्सो बाटो हिँडेर रक्षेश्वर महादेव मन्दिर पुग्यौ। त्यहाँबाट भने सालघारी जङ्गलको ठाडो उकालो चढ्यौं।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर हामीले हाइकिङ गरेका। पदमार्ग निकै रमाइलो। सुरुवातदेखि नै उकालो । पदमार्गको ठाउँठाउँमा गुफा छन्। करिब ३.५ किलोमिटर सालकोे जंगल उकालो चढेपछि कपिलेश्वरको आधारशिविर चौतारामा पुग्यौ।
चौतारा नजिकै हामीलाई कुमार बाइवा र उनको समूहले स्वास्थ्यबद्र्धक शाकाहारी खाना (तीन बराबर आहार– गाउँकै लोकल भात, दुईथरी हरियो तरकारी, दाल, अचार र सलाद गाजर) तयार गरिसकेका थिए। सबैले खाना खायौं।
खानापछि चौताराबाट ढुङ्गा छापिएको सिंढी उकालो करिब ३० मिनेटमा कपिलेश्वर मन्दिर परिसरमा पुग्यौ। त्यहाँबाट नाट्यश्वरी र गुरु रिम्पोचेको दर्शन गरेर ओरालो झर्यौं। फर्कने बेला छहरेसम्मै हिँड्यौं। चोतारादेखि कपिलेश्वर मन्दिर हातासम्मै बौद्ध मत्रका लुङ्दार टाँगिएका छन्।
फर्कंदा भने कतै सडक ओरालो त कतै गोरेटोमा हिँड्यौ। कतै धानबाली, कतै गहुँबालीको हरियाली त कतै पहेंलो तोरीबारी र आलुबारीमा रम्दै हिँड्यौं। फर्कंदा भने हामीलाई रश्मी बाइबाले बाटो देखाएर सहयोग गरिन्।
आफ्नो स्वास्थ आफ्नै हातमा लिँदै आँफैै स्वस्थ रहन प्रेरित गर्दै हाइकिङ गराउने भएको हुनाले यात्रामा जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ। हाइकिङमा नयाँठाउँ चिन्ने, घुमघामका साथै स्वास्थ्य ज्ञान पनि पाइन्छ। पदयात्री, गाइड भाइ सन्देश बाइबा, बहिनी रश्मी बाइबा र खाना बनाउने कुमार बाइबाको समूहलाई धेरैधेरै धन्यबाद। त्यसैगरि कपिलेश्वरका अगुवा सबैलाई धन्यबाद!
प्रकृति प्रेमी समूहको अर्को नियमित पदयात्रा फागुनको चौंथो शनिबार फरक ठाउँमा हुनेछ। सबै इच्छुक पदयात्रीलाई स्वागत छ।
कसरी पुग्ने ?
बस मार्गः काठमाडौंको टोखाबट्टार छहरे सडकखण्ड हुँदै छहरे बजार ४५ किलोमिटर करिब साँढे दुई घण्टा। छहरे बजारबाट उत्तर ७ किलोमिटर सडक यात्रामा डाँडाको चौतारीमा पुगिन्छ। चौतारासम्मै बस, जिप, कार र मोटरबाइक लान मिल्छ। चौतारीबाट करिब ३० मिनेट उकालो चढेमा कपिलेश्वर मन्दिर पुगिन्छ।
पदयात्रा मार्गः छहरेबाट रक्षेश्वर महादेव मन्दिर र मन्दिर परिसरबाट सालघारीको जङ्गल उकालो करिब ३.५ किलोमिटरमा चौतारीमा पुगिन्छ। चौतारीबाट करिब १.५ किलोमिटरमा कपिलेश्वर मन्दिर। ठाडै उकालो भएकाले ५ किलोमिटर दूरी हिँड्न करिब ३ घण्टा लाग्छ। झर्दा भने कतै मोटरबाटो, बस्ती र कतै गोरेटो हुँदै छहरेसम्मै पदयात्रा ६ किलोमिटर।
जम्मा पदयात्रा दूरीः ११ किलोमिटर। पुरै बाटो उकालीओराली।
समयः ५ देखि ६ घण्टा
राज्यले हेर्नुपर्छ
हामीले २०६८ असार १ गते जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेर निरन्तर पूर्वाधार विकासका काम गर्दै आएका छौं। हामीले १६ करोड १८ लाख रुपैयाँको योजना बनाएका छौं।
गुठी संस्थानमा अभिलेख हेर्दा पहिला कपिलेश्वरको ३७७ रोपनी १४ आना गुठी जग्गा थियो। त्यसबाटै यहाँका सबै अनुष्ठान गरिन्थ्यो। सरकारले वि.सं. २०५७ सालमा गुठी जग्गालाई रैकरमा परिणत गर्ने व्यवस्था गरेपछि आयस्ता घट्यो। त्यसपछि पूजा चलाउन गाह्रो परेको छ। यसमा राज्यको ध्यान जानुपर्छ।
फोन: ९८५१०४१०६९
(‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जन, उचित आहार, विहार, विचार र योगकी प्रशिक्षक हुन्।)
हेर्नुस् हाइकिङका थप तस्बिरहरु :