बागलुङ। नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अबधारणा भित्र्याई त्यसलाई व्यबहार लागु गराउने सिरुबारी, स्याङ्जाका क्याप्टेन रुद्रमान गुरुङको सम्मानमा बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा प्रतिमा बनाइएको छ।
भकुण्डेले ‘रुद्रमान स्मृति पार्क’ बनाएर अगुवाको सम्मान गरेको छ। अब भकुण्डे गाउँको कामबाट गाउँ पर्यटनमा काम गर्न भनेर खुलेका संस्थाहरु होसान, भिटोफलगायतले प्रेरणा लिनुपर्ने देखिन्छ।
गुरुङको नेतृत्वमा सिरुबारी गाउँमा वि.सं. २०५४ कात्तिक २३ गतेदेखि पाहुना राख्न थालिएको थियो। सिरुबारीको सिको गर्दै मुलुकभर सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको अभ्यास हुँदै आएको छ।
वि.सं. १९८७ भदौ १२ गते जन्मिएका ग्रामीण पर्यटनका नायक गुरुङको ८६ वर्षको उमेरमा वि.सं. २०७२ फागुन १५ गते निधन भएको थियो। उनको स्मृति दिवसका दिन यही फागुन १५ गते भकुण्डेमा प्रतिमा अनावरण गरिएको हो। स्थानीय अतिथि सत्कार सामुदायिक होमस्टेको लगानीमा बनाइएको मूर्तिका कलाकार सुवास लामिछाने हुन्।
प्रतिमाको अनावरण गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले गरेका हुन्। कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, उपमेयर राजु खड्का, सामुदायिक होमस्टेका पूर्व अध्यक्ष खिमबहादुर थापालगायतले क्याप्टेन रुद्रमानको योगदानको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा रुद्रमान स्मृति पार्ककालागि सिरुबारी सामुदायिक हाेमस्टेका तर्फबाट रु १ लाख रुपैयँ सहयाेग हस्तान्तरण गरिएकाे थियाे। त्यस्तै भकुण्डे र सिरुबारीबीच मितेरी साइनो गाँस्ने घोषणा गरिएको छ। चाँडै नै सिरुबारी भ्रमण गरेर त्यसलाई औपचारिकता दिइने पूर्वअध्यक्ष खिमबहादुरले जानकारी दिए। कार्यक्रममा बाक्लो जमघट थियो। सिरुबारी र पोखराबाट समेत ठुलै सङ्ख्यार्मा सहभागी बनेका थिए। सिरुबारी सामुदायिक होमस्टेका अध्यक्ष जितेन्द्र गुरुङ, अगुवाहरु दिपककुमार गुरुङ, गणेशबहादुर गुरुङ, यमकुमारी गुरुङ, भिमबहादुर गुरुङ, उर्मिला गुरुङलगायतको सहभागिता थियो।
भकुण्डेले ‘रुद्रमान स्मृति पार्क’ बनाएर अगुवाको सम्मान गरेको छ। अब भकुण्डे गाउँको कामबाट गाउँ पर्यटनमा काम गर्न भनेर खुलेका संस्थाहरु होसान, भिटोफलगायतले प्रेरणा लिनुपर्ने देखिन्छ।
भकुण्डे गाउँ
एकै ठाउँमा उभिएर गुर्जादेखि धवलागिरि, निलिगिरि, अन्नपूर्ण हुँदै माछापुच्छ्रे हिमालसम्म हेर्न पाइने सुन्दर गाउँ हो, बागलुङ जिल्लाको भकुण्डे। बागलुङ नगरपालिका–१० मा पर्दछ भकुण्डे गाउँमा मगर समुदायको बसोबास छ। यहाँका १५ ओटा घरमा होमस्टे सञ्चालित छन्।
वि.सं. २०७३ सालदेखि ‘अतिथि सत्कार सामुदायिक होमस्टे’ सञ्चालनमा गरिएको हो। होमस्टेमा लोकल कुखुरा, कोदोको रक्सी, कोदोका परिकारलगायत थरिथरिका परिकार पकाइन्छ। अनि गाउँमा यानीमाया, सालैजो र झ्याउरे भाकाको झङ्कार सुनिन्छ। पोखराबाट ७२ किलोमिटरमा बागलुङबजार छ। बागलुङबजारदेखि भकुण्डे ११ किलोमिटर जिप यात्रामा भकुण्डे गाउँ।
सम्पर्क
अतिथि सत्कार सामुदायिक होमस्टे
मुना थापा–९८४७६६८८२४
खिमबहादुर थापा–९८४७६२८४९
सिरुबारी
स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं १ मा पर्दछ सिरुबारी गाउँ (१,६१० मिटर) । जिल्ला सदरमुकाम स्याङ्जा बजारबाट उत्तर पश्चिममा पर्ने गाउँमा गुरुङ जातिको बसोबास छ ।
सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ हो । यहाँ वि.सं. २०५४ कात्तिक २३ गतेदेखि पाहुना राख्न थालिएको हो। अचेल २१ घरमा होमस्टे गराइन्छ। गाउँमा ४३ घर छन् । प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, ग्रामीण जीवनशैली र गाउँलेको आत्मीय व्यवहार पाइन्छ। पोखराबाट नाउडाँडाहुँदै ४४ किलोमिटरमा सिरुबारी गाउँमा पुगिन्छ। पोखराबाट सिरुबारीसम्मै सार्बजनिक बस चल्छन्।
सम्पर्क
सिरुबारी सामुदायिक होमस्टे
फोन: ९७४५९९६४२४
९८१८३५४८६४