‘जिरीका टेक सर’ भनेपछि दोलखामा नचिन्ने कमै होलान्! दोलखाको मात्र के कुरा, मुलुकका धेरै शिक्षासेवीमाझ उनी परिचित छन्। सङ्घर्षशील कर्मयोगीका रुपमा सम्मानित पनि।
७० वर्षको उमेरमा पनि सक्रीय जीवन विताइरहेका जिरीका समाजसेवी टेकबहादुर जिरेल भन्छन्, ‘मर्ने दिनसम्म पनि बुढो हुने मन छैन। त्यसैले म कहिल्यै रिटायर्ड हुन्न।’
शिक्षासेवा, संस्कृतिकर्म र साहित्यिक उन्नयनमा उनले योगदान पु¥याएका छन्। ७० वर्षको उमेरमा पनि सक्रीय जीवन विताइरहेका जिरीका समाजसेवी टेकबहादुर जिरेल भन्छन्, ‘मर्ने दिनसम्म पनि बुढो हुने मन छैन। त्यसैले म कहिल्यै रिटायर्ड हुन्न।’
दोलखाको रमणिय उपत्यका जिरीको ‘जिरी माध्यमिक विद्यालय’मा जीवनका ऊर्जाशील ३३ वर्ष विताएका टेक सर। शिक्षक जीवनबाट निवुत्त भएपनि समाजसेवामै संलग्न छन्, गाउँको मुलि बनेर।
गोरखाली सेनामा भर्ति भएर दोस्रो विश्वयुद्ध लडेका पिताजी उनलाई आफूजस्तै लाहुरे बनाउन चाहन्थे। तर उनले बन्दुक होइन, कलम समाते। दुनियाँको आँखा खोल्ने काम गरे।
‘शिक्षण सेवाबाट रिटायर्ड त हुँ तर थाकेको छैन’, उनी भन्छन्, ‘आजसम्म आफ्नो लुगा कसैलाई धुन दिएको छैन। आफैं खाना पकाउँछु। जुठा भाँडा माझ्छु। गाईलाई खोले पकाउँछु। घाँस हाल्छु। नातिनातिनासँग खेल्छु। जिन्दगी मस्तसँग विताउँदैछु।’
उनको दिनचर्या राम्रैसँग चलिरहेको छ। पुस्तक उनका साथी। फुर्सद हुनेवित्तिकै किताबका पाना पल्टाउँछन्। फेसवुक पनि चलाउँछन्। स्रष्टाहरूसँग कुराकानी गर्छन्।
उनी जिरेल संस्कार र संस्कृतिका ज्ञाता। तीन दशकभन्दा बढी समय गाउँमा पढाएका उनी आत्मकथा लेख्ने मुडमा छन्। त्यसअघि उनको कवितासङ्ग्रह छापिनेछ।
राम्रा किताबले बाँच्ने कला सिकाउँछन्। उत्साह बढाउँछन्। स्वाभिमानपूर्वक बाँच्न प्रेरित गर्छन्। त्यसैले त साहित्य र संस्कृतिका किताब पढ्छन्। यतिबेला भने प्राध्यापक अभि सुबेदीले सम्पादन गरेको बी.पी. कोइरालाज् डायरी ‘द स्टोरी अफ करेज एण्ड प्रिडम’, देवानन्दको ‘रोमान्सिङ विथ लाइफ’ र माइकल पिसेलको ‘टाइगर फर ब्रेकफास्ट’ पुस्तक पढ्दैछन्।
आलोपालो गरेर बेग्लाबेग्लै विषयका पुस्तक पढ्न रुचाउँछन्। भन्छन्, ‘सरस्वतीको मूर्ति स्थापना गरेर मन्दिर बनाउनै पर्दैन। पुस्तक पढ्नु नै सरस्वतीलाई पूज्नु हो।’
उनी जिरेल संस्कार र संस्कृतिका ज्ञाता। बेलाबेलामा सांस्कृतिक लेखहरू लेख्छन्। यतिबेला आत्मकथा लेख्ने मुडमा छन्। त्यसअघि उनको कवितासङ्ग्रह छापिनेछ। कवितामा मनका कुरा लेख्छन्। जीवन भोगाईका अनुभूति पोख्छन्।
उनी ‘अर्गानिक कवि’ हुन्, गाउँका कथा लेख्ने। जिरी उपत्यकाकै ऊर्जाशील युवा लिलाराम खड्काको नेतृत्वमा पर्यटनकर्ममा संलग्न ‘पर्यटन प्रवद्र्धन मञ्च नेपाल’ले उनको कवितासङ्ग्रह प्रकाशनको चाँजोपाँजो मिलाएको छ।
‘एउटा यक्ष प्रश्न काठमाडौंलाई’ शीर्षक कवितामा उनले लेखेका छन् :
राणाकालीन गाउँको गर्जमान ठालुजस्तो
जाबो दशहाते पटुकीको पगरी पहिरिएर
हामी पूर्व मेची र पश्चिम महाकालीमाथि
जङ्गे हैकम चलाउने
ए को हो त्यो काठमाडौं ?
झलक्क हेर्दा कद होचो देखिन्छ, तर उनको बौद्धिकताको उचाई निकै अग्लो छ। अतुलनीय। उनी बेलाबेलामा काठमाडौं आइरहन्छन्, छोराबुहारी, साथीसङ्गी भेट्न र उपचार गर्न भनेर। आज पनि काठमाडौंमै छन्, मनप्रियहरूसँग भेटघाटमा व्यस्त।
जिन्दगी कतिसम्म चल्छ, भगवानलाई मात्र थाहा छ। बाँचुञ्जेल सकारात्मक ऊर्जा बोकेर समाज हितमा काम गर्नुपर्छ भन्ने बुझेकैले उनी खुसी छन्। सबैका प्रिय बनेका हुन्।
उनले हजारौंलाई पढाए। ती देशविदेशमा सपना कोरल्दैछन्। यता मुलुकको राजनीति धमिलिएको छ। हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ। यसले स्वाभिमानी नेपालीको मन भत्भति पोलिरहेको छ।
जुन दिन राजनीतिमा राम्रा मान्छे आउँछन्, त्यही दिन फोहोरको मुहान सफा हुन थाल्नेछ। मुहान सङ््लिने छ। बल्ल मुलुकले मुहार फर्नेछ। विकासको घाम लाग्नेछ। यो सत्य टेक सर र उनका सबै चेलाले बुझेका छन्। उनका विद्यार्थीले सम्झिन्छन्। श्रद्धा गर्छन्। उनीहरू टेक सरलाई सक्रीय राजनीतिमा आउन आग्रह गर्छन् । त्यसका लागि चुनावमा खट्नेदेखि आवश्यक खर्च व्यवस्थापन गर्नेसम्मका प्रतिबद्धता जनाउँछन्।
उनको इमानदारी देखेर विद्यार्थी सपना देख्छन्। तर, टेक सरलाई चुनाव लड्ने रहर छैन। उनी सधैं भन्छन्, ‘भाइबहिनीहरू म जिन्दाबाद र मुर्दाबादको दोबाटोमा उभिन चाहन्न। स्वतन्त्र भएर बाँच्न चाहन्छु।’
संस्कारले हामी दास बन्यौ भन्छन् उनी। हामीले मुलुक जोगाउने पुर्खालाई सम्झेका छैनौं। व्यक्तिगत स्वार्थमा जेलिँदा सामाजिक प्रगति हुन सकेन। त्यसैले हाम्रा युवा देश छाडेर परदेश जानेक्रम बढ्यो। आज विदेश जानेलाई बधाई दिने चलन छ !
‘पहिला सडकबाट मुगलान जान्थे। अहिले हवाईजहाजबाट ताँती लागेर हिँडीरहेका छन्। सिँगो देश नै हिँडीरहेझैं लाग्छ’, उनी चिन्तित छन्, ‘जैविक विविधता र जातजातिको सुन्दर फूलबारी यति स्यानो नेपालमा हामीले सम्भावनाको मुहान खोल्नै सकेनौं।’
उनी ठोकुवा गर्छन, ‘देश बिग्रनुमा सबैभन्दा जिम्मेवार हाम्रा नेताहरू हुन्।’ ‘हामीले पढाउँदा नेपाल शब्द लेख्न, पढ्न र मानचित्र कोर्न सिकाएकै छौं, उनले भने, ‘देश बिगारेको त नेताहरूले न हो।’
फर्केर हेर्दा अचम्म लाग्छ। नेपालमा परिवर्तनका लागि बेलाबेलामा क्रान्ति सम्पन्न भए। मुलुकमा राम्रो वातावरण भएन। सुशासन भएन। सबैले क्रान्तिलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाए। मुलुक बनाउने रोडम्याप कसैसँग देखिएन। त्यसैले उनी प्रश्न गछर््न्, ‘सात सालदेखिको पौने सय वर्षको समय हामीले टुकुचाको नालिमा बगायौं कि बगाएनौं ? यही अबधिमा छिमेकी चीन र जापान कहाँ पुगिसके ? एकछिन गमौं त।’
समय सधैं एकनास रहँदैन। एक दिन परिवर्तन अवश्य हुन्छ। त्यो परिवर्तन चाँडै आओस् भन्ने चाहना टेक सरको मात्र होइन, राष्ट्रप्रेमी सबै नेपालीको हो।
अब पुराना दिन खोतलौं, गोरखाली सेनामा भर्ति भएर दोस्रो विश्वयुद्ध लडेका पिताजी उनलाई आफूजस्तै लाहुरे बनाउन चाहन्थे। तर उनले बन्दुक होइन, कलम समाते। अनि दुनियाँको आँखा खोल्ने काम गरे।
उनले जिरी माध्यमिक विद्यालयबाट २०२९ सालमा एस.एल.सी पास गरें। उनका पिताजी दोस्रो विश्वयुद्धमा ब्रिटिस गोर्खाका फौजी नायक थिए। मलायन इन्सरजेन्सी र इटालीका युद्धका मोर्चाहरूमा जर्मन सेनासँग लडेका। उनले ‘इटाली स्टार मेडल’ पाएका थिए।
त्यसैले छोरा पनि भर्ती होस् भन्ने उनको चाहना थियो। ‘मैले जीवनको सबै रगतपसिना विदेशमा छरेर आएँ’ भनेर पिताजीले भनेको उनी बरोबर सम्झिन्थे। त्यसैले उनलाई भर्तीमा रहर जागेन। बरु पिताजीलाई थाहै नदिई सुटुक्क भक्तपुरको सानो ठिमी क्याम्पसमा भर्ना भए।
उनले वि.सं. २०३४ भदौदेखि २०६९ सालसम्म जिरी माध्यमिक विद्यालयमा पढाए। सुरुसुरुमा जुनुसुकै विषय पनि पढाउनु पथ्र्यो। नेपाली, इतिहास, कृषि, अंग्रेजी र सामाजिक पनि पढाए। समयसँगै उनी वि.सं. २०५८ भदौबाट प्रधानाध्यापक बनेर सेवा गरे।
लाहुरे बनेको भए मनग्गे कमाउँथे होलान्। शिक्षक बनेर सरल जिन्दगी बिताइदिए। ‘३३ वर्ष आफ्नै जन्मथलोमा पढाएँ। दाम कमाउन नसकेता पनि म आफैंमा आत्मपराजित छुइनँ’, उनी गौरब गर्छन्, ‘आत्मसम्मानकै साथ बाँचिरहेको छु।’ सरल, हार्दिक र विनयीपन स्वाभावका टेक सर। उनी पुस्तक पढ्छन्। सिनेमा हेर्छन्। सामाजिक सञ्जाल केलाउँछन्। आफूलाई मन परेका पात्रलाई भेटिहाल्छन्। सर्बसाधारणदेखि सेलिब्रिटीसम्म उनको सङ्गत छ।
यसरी प्रेरणादायी जिन्दगी बाँचिरहेका टेक सरको सुस्वास्थ्य एवम् दीर्घायूको कामना !
हामी प्रकृतिपूजक जिरेल
हामी जिरेल जिरीका आदिबासी हौ। वास्तवमा जिरेलहरू किरातको एउटा हाँगा हो। सात सय वर्षसम्म किरातले शासन गरेको इतिहास छ। लिच्छिवी शासन सुरु भएपछि किरातले स्वअस्तित्वका लागि जङ्गलको बाटो तताए। जङ्गल, जमिन र जलको खोजी गर्दै हाम्रा पुर्खा पूर्वी पहाडतिर आए।
तीमध्ये कोही दोलखाको सुरी, कोही जिरी, कोही लिखुखिम्ति, कोही दुधकोसी पारी, कोही अझै पर पुगे। सुरीमा बस्नेहरु सुरेल, जिरीमा बस्ने जिरेल, लिखुखिम्तिमा बस्ने सुनुवार, दुधकोसी तरेर जाने राई, त्योभन्दा सुदूरपूर्वमा जानेहरू लिम्बू भए। यी क्षेत्रमा पनि राज्यले अघोषित दमन गरेकै कारण कतिपय किरात हुँ भनेर खुल्न सकेनन्।
प्रकृतिपूजक हाम्रोमा नदीनाला, भिड, ओढार, ठुलठुला वृक्षलाई देवस्थलका रुपमा पूजा गर्ने चलन छ। हामी संसारी माई, भुरेनी माई पूजा गर्छौं। सिमेभूमे, नागनागिनीको पूजा गर्छौं।
हाम्रो पुरानो धर्म प्रकृति धर्म हो। कालान्तरमा हाम्रा केही मानिस तिब्बतमा गएर बौद्ध धर्मशास्त्र अध्ययन गरे। त्यहाँबाट पारङ्गत भएर आएका लामाले जिरेलको दाहसंस्कार गर्दा बौद्ध धर्मअनुसार गरे। यसरी बौद्ध धर्ममा रुपान्तरण भएको इतिहास छ।
राईले पुरेतलाई नाक्छुङ्, सुनुवारले नासो र जिरेलले नाकसुङ् सम्बोधन गर्ने चलन छँदैछ। हामी पुरानो शासनकालमा किपटिया मिजार(मुखिया) हौं। वि.सं. १८५२ मा तत्कालिन राजाद्वारा जिरेलका पूर्वज नैदारे जिरेलका नाममा दिएको किपटको लालमोहोर मिजार चतुरमानको नाति कृष्ण जिरेलसँग सुरक्षित छ। त्यस लालपूर्जामा जिरेलका पूर्वज नैदारे जिरेललाई सम्बोधन गर्दै ‘यो जिमी परापूर्वकालदेखि तेरै पुर्खाको रैछ’ भनी उल्लेख गरेबाट पनि जिरीमा जिरेलहरू आदिम समयदेखि नै बसेको ठहर हुन्छ।
‘जिग्री’को अर्थ जीवजन्तुले बास गरेको डरलाग्दो घना जङ्गल भन्ने बुझिन्छ। यस नामलाई अपभ्रंसित गरेर हामा पुर्खा स्वयंले मातृभूमिलाई ‘जिरी’ नाम दिए । यसरी जिरीमा बस्ने किरातवंशी जिरेल कहलिन थाले। र जिरेल नै एउटा जात बन्यो।
जिरेल जातिबारे विद्ध्वान लेखक सुमनकृष्ण जिरेलले ‘जिरेल्स अफ नेपाल’ भन्ने पुस्तक लेखेका छन्। यो नेपाली र अङ्ग्रेजी दुबै भाषामा छापिएको छ। जिरेल सुमनकृष्ण जिरेल भाषामा कविता लेख्ने प्रथम व्यक्ति हुन्। ‘बाकी दुक’ अर्थात् बाँकी छ कविता त्यसको शिर्षक हो।
अर्का लेखक टहलबहादुर जिरेलले पनि जिरेलबारे विस्तृत विवरणसहित पुस्तक लेखिसकेका छन्।
उनीहरू दुबैलाई साधुबाद !