काठमाडौं।नेपालको पर्यटन बजारमा ‘तामाङ सांस्कृतिक पदमार्ग’का रुपमा चर्चित रसुवाको गन्तव्यलाई नयाँ ढङ्गले अघि बढाइने भएको छ। पदमार्गको रिब्रान्डिङ गर्ने विषयमा यतिबेला स्थानीयहरूले काठमाडौंमा सरोकारवालासँग छलफल गरिरहेका छन्।
पर्यटकलाई नयाँ उपहार ‘आइस पिरामिड’, अबको पर्यटन साङ्जेन भ्यालीमा।
आमाछोदिङ्मो गाउँपालिका–३, रसुवाका अध्यक्ष सुरेन्द्र तामाङ नेतृत्वको टोलीले पर्यटनकर्मीहरू, पर्यटनविज्ञ, पर्यटन बोर्डका प्रतिनिधि, टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का प्रतिनिधि, माउन्टेन गाइड, नक्साविज्ञ, पत्रकारलगायतसँग निरन्तर अन्तरक्रिया गरिरहेका छन्।
‘१२ वैशाख, २०७२ को भुइँचालोपछि हाम्रो क्षेत्रमा पदयात्री कम भए’, वडाध्यक्ष सुरेन्द्रले भने, ‘फेरि कोभिड १९ ले पनि असर ग¥यो। त्यसैले परिवर्तित अबस्थामा नयाँ ढङ्गले पर्यटकको आकर्षण बढाउने उपायको खोजीमा लागेका हौं।’
यस अभियानमा वडाध्यक्षसहित पेम्बा तामाङ, फुर्पु सिङ्गी तामाङ, सञ्जय तामाङ, अनिल तामाङ, रबिन तामाङ, सज्जन तामाङ, कामी गरा तामाङ, चन्द्रमान तामाङ, प्रताप तामाङ विमर्शमा जुटेका हुन्। उनीहरू सबै गत्लाङकै पर्यटनकर्मी हुन्।
भुइँचालोले गत्लाङ क्षेत्रका परम्परागत घर भत्काएपछि नवनिर्माण भएको छ। पदमार्गको सबैभन्दा ठुलो बस्ती ‘गत्लाङ’ हो। यहाँ करिब ५ सय ५० घर छन्। भुइँचालो अगाडि सबै घरका छाना काठले छाइएका थिए। घरका गाह्रो र भित्ता ढुङ्गाबाट मात्र बनाइएका थिए।
सबै छाना काला देखिने भएकाले विदेशीले गत्लाङलाई ‘ब्ल्याक भिलेज’ उपमा दिएका थिए। भुइँचालोले ती घर भत्केपछि रंगिविरंगी छाना छाइएको छ। झलक्क हेर्दा छिरबिरे पुतली जस्तो देखिने भएकाले अचेल ‘पुतली भिलेज’ पनि भन्न थालिएको छ।
‘पर्यटक र पर्यटनकर्मीले पुरानै शैलीको छाना छाउन सुझाब दिएका छन्’, वडाध्यक्ष सुरेन्द्र भन्छन्, ‘हामी कालै छानामा रुपान्तरण गर्न सहयोगीको खोजिमा छौं। त्यसैले बागमती प्रदेश सरकारदेखि सबै सरोकारवालाको ढोका ढक्ढक्याउँछौं।’
त्यति मात्र होइन, मौजुदा पदमार्गलाई बिस्तार गर्ने समेत उनीहरूको योजना छ। चल्तिको पदमार्ग स्याफ्रुबजारबाट सुरु भएर गत्लाङ, चिलिमे तातोपानी, नागथली÷तरुचे भ्यु पोइन्ट, थुमन, टिमुरे, ब्रिदिम हुँदै स्याफ्रु पुगेर सकिन्छ। यसरी एक हप्तामा यात्रा पुरा हुन्छ। यस पदमार्गमा सबै उमेर समूहका पदयात्री हिँड्न सक्छन्।
तामाङ संस्कृति र प्राकृतिक सम्पदाका कारण यो पदमार्गलाई पर्यटकले रुचाएका छन्। यस क्षेत्रका प्रमुख आकर्षणहरूमा घले दरबार, पार्वती कुण्ड, ज्यार्सातेन्जो भ्यु पोइन्ट, लालीगुराँस, चराचुरुङ्गी, सर्प आकृतिको अनौठो गुफा, गत्लाङको १०८ ओटा माने आदि हुन्।
लामो दूरी हिँड्न चाहनेहरू भने ब्रिदिमबाट खाङ्जिम, शेर्पा गाउँ हुँदै लामा होटल भएर क्यान्जिन भ्याली पुगेर फर्कन्छन्। ‘अब हामी साङ्जेन भ्याली पनि एक्सप्लोर गर्दैछौं’, उनले भने, ‘यो पदमार्ग भर्जिन गन्तव्य बन्नेछ।’ साङ्जेन भ्याली पदयात्रा आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङबाट सुरु गरेर धादिङको रुबि भ्यालीमा पुरा गर्न सकिन्छ। अथवा वडा नं ५ को चिलिमेसम्म हिँड्न पनि सकिन्छ।
‘यसलाई १२ देखि १५ दिनसम्मको पदमार्ग बनाउन सकिन्छ’, सन् २००८ देखि पर्वतीय पर्यटनमा लागेका गत्लाङका पथप्रदर्शक रबिन तामाङ भन्छन्, ‘त्यसका लागि थुप्रै काम गर्नै बाँकी छ।’
सबैभन्दा पहिला पदमार्ग एक्सप्लोर गर्नु आबश्यक हुन्छ। त्यसपछि नक्सा निर्माण, पदमार्ग सुधार, साइनबोर्ड र संकेत चिन्हको व्यवस्थाका साथै धर्मशाला बनाउनु पर्नेछ। उनकाअनुसार यस क्षेत्रमा साङ्जेन हिमाल, कालो टुप्पा हिमाल (साङ्गेन तोर्मा), पाल्दोर पिक, जागेश्वर कुण्ड, कालो दह, सेतो दह, डिल्बु कुण्ड, खर्क (याक तथा भेडा चरन क्षेत्र) आदि रमणिय सम्पदा छन्। साथै साङ्जेन भ्यालीबाट उकालो चढेमा तिब्बतको रमणिय दृश्य पनि देखिन्छ।
‘अन्नपूर्णदेखि मनास्लु र गणेश हिमसृङ्खला पनि देख्न पाइन्छ’, उनले भने, ‘तिब्बतको सिसापाङ्मा (८,०२७ मिटर) लगायतका हिमाल पनि देखिन्छ।’
जागेश्वर कुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्छ । चिलिमेको तातोपानी (२७०० मिटर), भुइँचालोपछि सुक्यो। हाल चिलिमे गाउँ (१,६०० मिटर)मा तातोपानीको नयाँ मुहान छ। यसलाई पर्यटनमैत्री बनाउने काम हुँदैछ। तामाङ सम्पदा मार्गका सबैतिर पर्याप्त मात्रामा पर्यटकीय सुविधाका होटल तथा होमस्टे छन्।
‘आइस पिरामिड’ले ल्याएको खुसी
भर्खरै गत्लाङ गाउँ नजिकै गोठेन खर्कमा ‘स्नो पिरामिड’ बनाइएको छ। जनबोलिमा यसलाई ‘आइस स्तुप’ पनि भनिन्छ। पाइपबाट पानी खसालेर राती बरफ जमाएर बनाइएको पिरामिड।
‘रिसोर्स हिमालय’ले नेपालमा पहिलोपटक परीक्षणस्वरुप आइस पिरामिड बनाएको हो। ‘स्नो पिरामिड बनाउन सम्भव देखियो’, संस्थाका अनुसन्धानकर्ता कमल अधिकारी भन्छन्, ‘नेपालका अन्य ठाउँमा पनि यसको अभ्यास गर्न सकिन्छ।’
जलवायु परिवर्तनका कारण हिमाली भेगमा असर परेको छ। पानीको मुहान सुकेका छन्। यसरी पानी जम्मा गरेर बनाइको बरफ पछिका लागि प्रयोग गर्न सकिन्छ। यसबाट वन्यजन्तु र खर्कमा चर्ने जनाबरले खान पाउँछन्। सिँचाईका लागि पनि प्रयोग गर्न सकिन्छ। ‘धेरै खर्च पनि लाग्दैन’, उनले भने।
अर्को महत्वपूर्ण कुरा, ‘स्नो पिरामिड’ पर्यटकीय प्रोडक्ट बनेको छ। यसबाट गाउँलेमा खुसी छाएको छ। वडाध्यक्ष सुरेन्द्रकाअनुसार जनवरीबाट बनाइएको आइस पिरामिड हेर्न वरपरका आन्तरिक पर्यटक आउने गरेका छन्।
गत्लाङ गाउँबाट मोटर बाटो करिब १३ किलोमिटर दूरी तय गरेपछि आइस स्तुप क्षेत्रमा पुगिन्छ। काठमाडौंबाट भने गत्लाङसम्म १५७ किलोमिटर छ। काठमाडौंको माछापोखरीबाट बिहान गत्लाङका लागि गाडी छुट्छन्। गाडीले करिब ७ घण्टा लगाउँछ।
थप जानकारीका लागि सम्पर्क :
सुरेन्द्र तामाङ- ९८६७६७७२०५
वडाध्यक्ष, आमाछोदिङ्मो गाउँपालिका, ३