काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।