काठमाडाैं। मान्छेमा चरा अध्ययन गर्ने सौख जाग्यो भने त्यसले खाना खानै बिर्सन्छ। न भोक न प्यास, एकहोरो चरातिरै मन डोरिन्छ। यसरी अध्ययन गर्दै जाँदा ऊ संरक्षणविद् बन्न पुग्छ। यस्तै एकजना चराप्रेमी हुन्, सुदर्शन कार्की।
आफू बाँच्न र बचेरालाई बचाउन चराचुरुङ्गीले गरेको जीवनसङ्घर्ष नजिकबाट नियाल्दा निरन्तर कर्म गरिरहन प्रेरणा मिल्छ। तनावबाट मुक्ति मिल्छ। त्यसैले त ६० बसञ्त पार गरिसकेका सुदर्शन कार्की क्यामेरा र दुरबिन बोकेर डुलिरहन्छन्।
उमेरले ६ दशक पुरा गरिसकेका कार्की फुर्तिला छन्। उनी पेशाले फोटोग्राफर र फिल्म मेकर हुन्। विशेषतः वृत्तचित्र बनाउँछन्। उनी फोटोग्राफीमा लागेको ४ दशक नाघ्यो भने फिल्म मेकिङमा समर्पित भएको पनि तीन दशक भैसक्यो।
जीवनको भागदौडमा जब तनाव हुन्छ तब उनी क्यामेरा र दुरबिन बोकेर निस्किहाल्छन्। चरा प्रकृतिका सुन्दर सृजना। थरिथरिका चरा हेर्दै गाउँघर वा वनजङ्गल डुल्दा मनमा ऊर्जा बढ्छ। तनाव मेटिन्छ। आफूले देखेका चरालाई उनी आँखाले मात्र होइन, क्यामेराले पनि खिच्छन्। बल्ल संतोषको स्वास फेर्छन्। ‘पहिलापहिला रमाइलोका लागि चरा हेरिन्थ्यो’, उनी भन्छन्, ‘अचेल तनाव मेटाउन चराको अध्ययन गर्छु। मेरा लागि बर्डवाचिङ मेडिटेशन जस्तै हो।’
चरालाई भोलिको चिन्ता हुँदैन। काकीृले पनि भोलि जे आई पर्छ त्यसलाई सामना गर्ने शिक्षा चराबाट पाएका छन्। धेरै कुरा सिकेका छन्। आफूले त बुझेका छन् नै, अरुलाई पनि बुझाउँदैछन्। नेपालमा ८९४ प्रजातिका चरा पाइन्छन्। उनले करिब ३ सय प्रजातिका चराका तस्बिर खिचिसके।
उनी सानैदेखिका चराप्रेमी। काभ्रेपलाञ्चोकको बनेपामा किसान परिवारमा जन्मीहुर्किएका। उनको गाउँघरमा चराको चिरबिर सुनिन्थ्यो। रंगविरंगका चरा देखिन्थ्यो। चीलले कुखुराका चल्ला लैजाँदा उनी रुन्थें। ‘चरा कसरी उड्छ ? त्यसैगरी उड्न पाए कस्तो हुन्थ्यो भन्ने मलाई लाग्थ्यो’, उनी पुराना दिन सम्झन्छन्, ‘घरमा बाले चरा बसुन् भनेर खटप्वालहरू बनाइदिनु भएको थियो। एक पटक धोबी चराको गुँडमा कुक्कुले अण्डा पारिदिएछ। धोबिले बच्चा हुर्कायो। बच्चा यति ठुलो थियो कि त्यसले आहारा खाने बेलामा धोबिको मुख नै खाएझैं देखिन्थ्यो। त्यस्तो दृश्य देखेर म रुन्थे।’
छोरा रोएको देखेर उनका बाले भनेछन्, ‘कुक्कुले आफैं बच्चा कोरल्दैन। अर्काको गुँडमा अण्डा पारिदिन्छ।’ यसरी चराप्रति उनी जिज्ञासु बन्दै गए। त्यतिबेला चराको विषयमा पढ्ने किताब पाइँदैनथ्यो। विद्यालयमा चराबारे पढाई हुँदेनथ्यो। उनी अभिभावकसँग चराको विषयमा सोध्थें।
चराले फलफूल खाएका दृश्यमा पनि रमाउँथे। काग र कोकलेले बारीमा मकै खान्थे। स्कुल जानुभन्दा अगाडि बारीका चरा धपाउने उनीहरूको ड्युटी तोकिएको हुन्थ्यो।
‘म चरालाई ढुङ्गा वा गुलेलीले हान्दिनथें। बरु खान दिन्थें’, उनले भने, ‘चराको खेतीबारी हुँदैन। तिनले खाँदैमा हाम्रो बाली सिद्धिन्छ र !’
जब उनी भारतबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ सकेर नेपाल फर्के तब व्यवस्थित रुपमा चराको अध्ययनमा जुटे। यो कुरा करिब ४२ वर्ष अघिको। उनी विशेषतः आफ्नै खेतीबारी र बगैंचाका चरा अध्ययन गर्न थाले।
उनलाई चराको आनीबानी मन पर्छ। तिनको जीवनसङ्घर्ष नजिकबाट हेर्दा निरन्तर कर्म गर्न प्रेरणा मिल्छ। त्यसैले उनले सुरुसुरुका दिनमा चराले खाने फलफुलका विरुवा रोप्न थाले। बिस्तारै उनका बगैंचामा नयाँ चरा भित्रिन थाले। अनि नजिकै उभिएर हेर्दा बेग्लै आनन्द आउन थाल्यो।
आफूले खिचेका तस्बिर धुलाएर हेर्न समय लाग्थ्यो। फेरी त्यतिबेला रिलवाला क्यामेरा हुन्थ्यो, डिजिटल युग आइसकेको थिएन। खटाईखटाई खिच्नु पथ्यों। डिजिटल युग आएपछि भने सजिलो भएको छ, क्यामेराको डिस्प्लेमा तुरुन्तै तस्बिर हेर्न पाइन्छ।
सौखले उनी चरा अध्ययनमा लागे। यसबाट मनमा शान्ति र आनन्द मिल्छ। आखिर मान्छेलाई चाहिएको पनि आनन्द न हो। दुःखको कुरा आधुनिकिकरणले कतिपय चरा मासिइसके। कति लोप हुने अबस्थामा छन्। खेतीबालीमा विष हाल्नाले, सिमसार, चरन क्षेत्र र बासस्थान मासिनाले चरा सङ्कटमा परेका छन्। खोलानाला पनि विनास हुँदैछन्। विद्युतिय विकिरणहरू र प्रसारण लाइनहरूको बिस्तारले गर्दा पनि चरालाई असर परिरहेको छ।
चराबाट धेरै कुरा सिक्न सकिन्छ। आफ्ना सन्तानप्रतिको जिम्मेवारी, आपसी एकता, शिष्टता, शान्त स्वभाव, अथक प्रयास आदि गुण।
‘बुद्धिमानहरूले चरा उडेको हेरेर हवाईजहाज बनाए’, कार्की भन्छन्, ‘हामी गुलेली बोक्ने÷बनाउनेहरू अहिले पनि चराको पछाडि कुद्दैछौं।’
उनका भावि योजना केके छन् त ?
चराको महत्वबारे जनचेतनामुलक कार्यक्रममा समर्पित रहने उनको योजना छ। ‘विद्यालयदेखि नंै संरक्षण सम्बन्धी शिक्षा दिनुपर्छ’, उनले भने।
उनी चरा सम्बन्धी वृत्तचित्र पनि बनाउँदैछन्। बेलाबेलामा आफ्ना तस्बिरहरूको प्रदर्शनी गर्दै पनि आएका छन्। उनलाई धेरै शुभेच्छुकेले ‘गार्डेन बर्डस्’का विषयमा पुस्तक लेख्न झक्झकाईरहेका छन्। उनी ती शुभेच्छुकको आग्रहलाई पुरा गर्ने प्रयासमा छन्।
चरा प्रकृतिका अभिन्न अंग हुन्। चरा बिनाको संसार कल्पना गर्न सकिँदैन। चरा नभएमा इको सिस्टममा उथलपुथल हुन्छ। त्यसैले यस धर्तिका सबै प्राणीले मुस्कुराउनु पर्छ।
जसले नजिकबाट चरालाई नियाल्छ उसले वास्तविक खुसी पाउँछ। त्यसैले तपाईं पनि आजैदेखि आफ्ना वरपरका चरा चिन्ने र आनीबानी अवलोकन गर्ने बानी बसाउनुस् है !
हेर्नुहोस् अध्येता सुदर्शन कार्कीले खिचेका चराका केही तस्बिरहरू :