पोखरा। पोखराका चर्चित साहित्यकार लक्ष्मण थापा आफ्नो पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लिएर पाठकमाझ आएका छन्। उनको यो लघुकथा सङ्ग्रह शनिबार पोखरामा सार्बजनिक गरिएको थियो।
लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृति लोकार्पण गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे।
‘मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको छ’, सरुभक्तले भने।
कृतिको समीक्षा गर्दै साहित्यकार डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताए। ‘थापा सामाजिक यथार्थवादी साहित्यकार हुन्’, उनले भने, ‘दार्शनिक चिन्तन गर्न सक्ने कथाकारका रूपमा थापालाई स्थापित गर्ने लघुकथाहरू कृतिमा समेटिएका छन्।’ कथाकार थापाको परिचय दिँदै साहित्यकार दीपक समीपले साहित्यिक भिडमा पनि अलग्गै चिन्न सकिने साहित्यिक व्यक्तित्वका रूपमा चिनाए। ‘थापा विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकार हुन्’, उनले भने।
लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठल र कवि अमृत क्षेत्रीले शुभकामना दिएका थिए। थापाले आफूलाई सङ्गतले लेखक बनाएको बताए । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए।
यसअघि उनले मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) कृति पाठकलाई अपर्ण गरेका थिए। माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन्। लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन्। उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन्।