काठमाडौं। प्रकृति र अध्यात्मको संगम अर्थात् नुवाकोटको कपिलेश्वरमा ललितपुरको प्रकृतिप्रेमी समूहले हाइकिङ गराउने भएको छ। उसले यही फागुन १२ गते स्वास्थ्यबद्र्धक हाइकिङ गराउन लागेको हो।
समूहकी सचिव एवम् ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनका अनुसार कपिलेश्वर डाँडाको आधारशिविर छहरेबाट जंगलको गोरेटो हुँदै पदयात्रीलाई डाँडामा पुर्याइनेछ। त्यहाँबाट फर्केर चौतारीसम्म हिँडाइनेछ। यसरी करिब १० किलोमिटर पदयात्रा गराउने योजना छ।
‘हिमाल खुल्ने यो मौसम कपिलेश्वर हाइकिङका लागि एकदमै राम्रो ठाउँ हो’, योग तथा उचित आहार, विहार र विचारकी प्रशिक्षक समेत रहेकी मर्हजनले भनिन्, ‘हामी स्वास्थ्यबद्र्ध खानपान गरेर हाइकिङ गर्नेछौं।’ पञ्चकन्या गाउँपालिका वडा नं १२, नुवाकोटमा पर्ने कपिलेश्वरधाममा प्यागोडा शैलीको मन्दिर छ। मन्दिरभित्र पञ्चमुखि शिवलिङ छन्। साथै भित्र खोपामा भैरब, काली र बुद्धका मूर्ति।
डाँडामा गुरु रिम्पोचे अर्थात् पद्यसंभवको मूर्ति पनि स्थापना गरिएको छ। त्यसैले हिन्दु र बौद्धमार्गी दुवैको साझा तीर्थस्थल बनेको छ। शान्त वातावरण रहेको कपिलेश्वर क्षेत्र योग र ध्यानका लागि उपयुक्त छ। कपिलेश्वरबाट गणेश र लाङटाङ हिमालको मनोरम दृश्य देखिन्छ। त्यति मात्र होइन, तादी खोला र लिखु खोला अनि किनारका खेतबारी देख्दा आँखा रमाउँछन्।
डाँडामा कपिलेश्वरका साथै नाट्येश्वर, रक्षाविनायक, पाताल देवी, सिद्धिविनायक, सरस्वती, महालक्ष्मीलगायत देवदेवीको बसोबास छ। कपिलेश्वरधाम निर्माणमा कपिलमुनि ऋषिको ठुलो योगदान छ। उनैले यहाँ शिवलिङ स्थापना गरेका हुन्। यहाँ शिवरात्री, बडादसैं, हरितालिका तीज, बालाचर्तुदशी, श्रीपञ्चमी, फागु पुर्णिमा, चैत्राष्टमी, नयाँ वर्ष वैशाख १ गते ठुलो मेला लाग्छ।
कपिलेश्वरधामको विकास र प्रवद्र्धनका लागि ‘श्री कपिलेश्वर महादेवस्थान परिसर संरक्षण तथा सुधार समिति’ क्रियाशील छ। कपिलेश्वर पुग्न काठमाडौंको टोखा बट्टार छहरे सडकको ४५ किलोमिटरमा छहरे बजार। छहरे बजारबाट उत्तर १० किलोमिटर सडक यात्रामा डाँडाको चौतारीमा पुगिन्छ। त्यहाँसम्म बस, जिप, कार र मोटरबाइक लान मिल्छ। चौतारीबाट करिब आधा घण्टा उकालो चढेमा कपिलेश्वर मन्दिर पुगिन्छ।
हाइकिङ गर्दा भने छहरे अगाडि भित्ताबाट जंगलको बाटो करिब ३ घण्टामा कपिलेश्वरधाममा पुगिन्छ। स्मरणीय छ, प्रकृतिप्रेमी समूह नेपालमा हाइकिङ जागरण गराउने अग्रणी संस्था हो। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यबद्र्धक प्रकृतिमैत्री हाइकिङ गराउँदै आएको छ। हाइकिङमा सहभागी हुन समयमै सम्पर्क राख्नुपर्ने समूहले जनाएको छ।
सम्पर्कं
प्रकृतिप्रेमी समूह
सातदोबाटो, ललितपुर
फोन : ५५४१९९१