कमलामाई नगरपालिका–५, सिन्धुलीका यादव प्रसाद न्यौपानेको दिनचर्या अहिले गाई वस्तुसँगै बित्ने गरेको छ । उमेरले ५० नाघेका यादव बिहान ४ बज्न नपाउँदै उठ्छन् । राति अबेरसम्म गोठमा खटिन्छन् । उनको गोठमा हाल १२ माउ गाई छन् । बिहान उठेपछि न्यौपाने गोठ वरिपरि फन्को मार्छन ।
गाईलाई ब्रेक फास्ट (खोले) खुवाउँछन् । झिसमिस उज्यालो हुन नपाउँदै दूध दुहुने मेसिन र हातमा बाल्टी बोकेर गाईको छेउमा पुग्छन् । २ जना सहयोगी कामदारसंगै गाई दुहुन्छन् । उनको गोठबाट अहिले दैनिक सय लिटर दूध उत्पादन हुने गरेको छ । पहिला ३५ वटासम्म गाई पालेका उनले अहिले राम्रो गाई पालनका लागि ७÷८ वटा भर्खरै किनेका छन् ।
‘पहिला त धेरै दूध उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अहिले कोही ब्याउने छन् त कोही राम्रो गाई ल्याउने भनेर बेचँे । अब चाँडै राम्रो राम्रो गाई किन्दै छु ।’
अहिले उनले गाउँकै कोसेली डेरीमा दूध बिक्री गर्ने गरेका छन् । दूध बिक्री गरेर वार्षिक १८ लाखसम्म आम्दानी हुने उनले बताए । ‘अहिलेसम्म त राम्रा आम्दानी भइरहेको छ र व्यवसायबाट पनि एकदमै खुसी छु’, उनले आफ्नो अनुभव सुनाए । यसरी व्यवसायबाट खुसी मिले पनि यो अवस्थासम्म आइपुग्न उनको सघर्षको पनि लामो कथा छ ।
‘भारत बसाईमै गाउँमा गएर गाई पाल्ने योजना बन्यो’
पहिले उनको परिवारमा आर्थिक अवस्था खासै राम्रो थिएन । सामान्य खेती÷किसानी गरेर जीविकोपार्जन गरिरहेका थिए । त्यतिकैमा उनी संस्कृति पढ्न भारत गए । भारतमा उनी ७÷८ महिना बिताए । र, परिवारिक कारण त्यतिकै नेपाल फर्किए । ‘घरमा बुढी आमासँगै बच्चा पनि साना थिए । पारिवारिक समस्याका कारण पढाई पुरा नगरी नेपाल फर्किए ।’ उनले ती दिन सम्झदै हलोखबरसँग भने ।
भारतमा हुँदा नै यादवलाई गाई पालन गर्ने सोच त्यहीँबाट आयो । ‘भारतमा निकै गाई पालिएका थिए, मैले त्यहाँ गाई कसरी पालिन्छ कसरी आम्दानी हुन्छ भन्ने कुरा राम्ररी नियाले, त्यसपछि मलाई लाग्यो नेपालमा गएर केहि गर्न सकिन्छ,’ उनी भन्छन् । त्यसपछि नेपाल फर्किएर उनले गाई पालन गरे । गाउँमा त्यति बेला गाई पालेर दूध बेच्ने चलन नै थिएन । ‘सुरुमा पाल्छु भन्ने लागेको थियो, तर यहाँ गाई पालेर दूध बेच्ने चलन नै नभए पछि के गर्नु ?,’ उनी भन्छन् । त्यो बेलाको समयमा भैँसी पालन गरेर दूध खाने चलन रहेको थियो । तर उनले भैँसी बेचेर गाई पालन सुरु गरे ।
व्यवसाय सुरु गर्दा घरपरिवारबाट उनलाई सहयोग थिएन । ‘सानो खोल्सामा पनि धान लगाउनु पर्छ भन्ने सोचाई थियो,’ उनले भने, ‘मैले मूल खेत मासेर गोठ बनाए र गाई पालन सुरु गरे । तर बुढी आमाले दूध नै खानु भएन । र फेरि भैँसी नै किनेर ल्याए ।’ २÷४ पटक गाई बेच्दै भैँसी किन्दै, भैँसी किन्दै गाई बेच्दै गरेका उनले केहि सिप नलागेपछि उनले सरसल्लाह बिना नै गाई किनेर गोठमा बानिदिए । न्यौपानेले भने, ‘मैले मूल खेत नै मासेर ढोठ बनाउदा सहयोग गर्ने त कुरै थिएन । तर जब गाईको दूध बेचेर पैसा गोजिमा आउन थाल्यो। त्यसपछि परिवारको सहयोग मिल्यो ।’
समयसँगै गाईको दूध किन्नेको संख्या पनि बढ्दै गएपछि गोठमा गाई थप्दै गएको उनले बताए । निकै कष्टसँग गाईपालन सुरु गरेका न्यौपानेलाई अहिले व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि उनले चितवन, हेटौडामा निर्माण भएका ठूूला फार्महरूको अवलोकन गरेर व्यवस्थित गोठ निर्माण गरेका छन् । गोठ निर्माणमा मात्र १५ लाख भन्दा बढीको लगानी रहेको उनी बताउछन्, ‘कमाई भने नहुने होइन, हुन्छ । मिहेनत पनि उत्तिकै छ ।’ उनले अहिलेको अवस्थामा आइपुग्न आफूले धेरै मेहनत गर्नुपरेको अनुभव सुनाए ।
‘गाई पालनमा ठूूलो समस्या भनेकै बरगोरु र बाछाबाछी व्यवस्थापन हो’
हरेक क्षेत्रमा जस्तो गाई पालनमा पनि समस्या रहेको उनले बताए । यो तरकारी खेती, अरु पसल चलाए जस्तो हुँदैन । आज बन्द गरौँ र यता उता घुमौँ भन्ने मौका चाहिँ यसमा हुन्न,’ उनले थप भने, ‘हामीलाई फुर्सद भनेको बिहानको खाना खाएपछि २ घण्टा जति हो । त्यसपछि फेरी हाम्रो डिउटी सुरु भइहाल्छ ।’ यसका साथै बहरको एकदमै समस्या रहेको उनी बताउँछन् । त्यसका साथै बाछाबाछि र थारो गाईलाई व्यवस्थापन गर्न धेरै समस्या रहेको उनले बताए । यी कुराहरूमा सरकारले चासो लिए अझ किसान गाई पालन तर्फ आकर्षण हुने उनको बुझाई छ ।
यसरी समस्या भएपनि फाइदा अझै धेरै रहेको पनि उनले उल्लेख गरे । गाईपालन नेपालमा सम्भावना बोकेको व्यवसाय हो । यसबाट अरू तीन विषयलाई पनि अवसरका रूपमा जोड्न सकिन्छ–पहिलो दूध, दोस्रो घाँस र तेस्रो अग्र्यानिक मल उत्पादन । दूधका लागि गाईपालन राम्रो विकल्प हो । उन्नत जातका गाईले एकै दिन ३० देखि ६० लिटरसम्म दूध दिने सामर्थ्य राख्छन् ।
भैँसीले भन्दा उन्नत जातको गाईले निकै बढी दूध दिने गर्छ । अनि दानापानीमा चाहिँ भैँसीले भन्दा आधा मात्रै खपत गर्छ । त्यसैगरी उत्पादित दूधमध्ये ताजा दूधलाई बजारीकरण गरी बाँकी दूधलाई प्रशोधन उद्योगमा पठाउन सकिन्छ । जसबाट घ्यू, पनिर, चिज, मक्खन, छुर्पी, बटर, दही, मही, धूलो पाउडर र क्रिम समेत बन्ने भएकाले यसको बजार अभाव भन्ने नहुने उनले बताए ।
यस्तै कृषि बाली उत्पादनका लागि अर्ग्यानिक मललाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यसमा पनि गाईको मल अझ रोजाइमा पर्छ, किनकि बाख्रा, कुखुराको मलले कतिपय बालीलाई बिगार समेत गरिदिने र यसको सही प्रयोगमा ध्यान दिइएन भने नोक्सान समेत गर्छ। तर, गाईको मल प्रयोग गर्दा मात्रा घटबढले बालीनालीलाई नोक्सान नगर्ने उनी बताउँछन् । त्यसैले समग्रमा हेर्दा गाईपालन व्यवसाय फाइदाजनक नै रहेको उनको अनुभव छ ।
गोठ निर्माणका लागि ५ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट उनले गोठ निर्माणका लागि २०७६/७७ मा ५ लाख रुपैयाँ अनुदान पाएका थिए । त्यसैगरी उनले नगरपालिकाबाट पनि ७० हजार रुपैयाँ अनुदान पाएका छन् । यसरी सरकारी तर्फबाट सहयोग पाउँदा आफूलाई व्यवसाय गर्न थप हौसला मिलेको उनले बताए । ‘सरकारी तर्फबाट हुने केहि सहयोगले नै हामी अहिलेसम्म टिकिरहेका छौँ,’ उनले भने, ‘दानाको मूल्य बढ्नु, पराल नपाउनु तथा कोरोनाको कारण व्यवसाय छोड्नु पर्ने स्थिति आएपनि सरकारी तर्फबाट हुने सहयोगले केहि राहत मिलेको छ । त्यति भएर अहिलेसम्म पनि जस्तो सुकै समस्या आए पनि व्यवसाय छोडेको छैन ।’
गाईपालन गर्दा घाँसपात, पराल, दानालगायतका खानकीको जोहो गर्न कठिनाइ हुने गरेको बताउँछन् । तर सरकारले गर्ने सहयोग प्रभाव कारी नभएको उनको गुनासो रहेको छ । म जस्ता अन्य व्यवसायीलाई नगरपालिकाले सहयोग गरे अरूले पनि यो काम गर्न सक्छन् । त्यति धेरै मुस्किल छैन । सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि भनेर ल्याएका नीति तथा कार्यक्रमको राम्रो कार्यान्वयन हुने र किसानलाई भनेर घोषणा गरिएको अनुदान सम्बन्धित पक्षसम्म पुग्ने व्यवस्था गर्ने हो भने यहाँ धेरै मानिस कृषि तथा पशुपालनमा लाग्ने उनको विश्वास छ ।