कीर्तिपुर। कीर्तिपुर स्वयंसेवक समाजले ‘व्हेल बोई’ उपनामले परिचित फिलिपिनो कलाअभियन्ता एजी सानोसँ अन्तरक्रिया गरेको छ।
समाजले कीर्तिपुरको नेवाः लहनामा बुधबार कलाका मार्फत वातावरण संरक्षण विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
शोक, त्रासदी, न्याय र आशाले एजी सानोको कला र सक्रियतालाई विगत तीस वर्षमा उत्प्रेरित गरेको छ। प्रख्यात फिलिपिनो मुरल चित्रकार, फोटोग्राफर, र वातावरणीय कार्यकर्ता फिलिपिन्स वरपरको सार्वजनिक स्थानहरूमा डल्फिन र पर्यावरणीय समस्याहरूलाई मुरल बनाउने कामका लागि लागि परिचित छन्। कार्यक्रममा उनले जलवायु परिवर्तनले विशेषत उनको कलाअभियानको मुख्य विषयबस्तु भएको बताए। कलाप्रेमीहरुले उनलाई ‘व्हेल बोई’ भनेर चिन्छन्। हालसम्म उनले २५ बढी देशमा १२ सय मुरल चित्र बनाएका छन्।
कलाकार सानोले कीर्तिपुरको कलात्मक चेतले आफू प्रभावित भएको बताए। उनले यहाँका भित्तेचित्र सांस्कर्तिक धरोहर भएको र यसको सबैले जगेर्ना गर्नुपर्ने बताए। उनलाई कार्यक्रममा स्थानिय कलाकारहरुको मौलिक डाफा संगितले स्वागत गरिएको थियो।
वातावरणीय अभियन्ता सौरभ ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए। कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कार्यसमिति सदस्य सरल गोपाल महर्जनले संचालन गरेका थिए भने उपाध्यक्ष अमन महर्जनले धन्यवाद ज्ञापन तथा कार्यक्रमको समापन गरेका थिए।
युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ।