चितवन। ‘भ्यालेन्टाइन डे’ को अवसरमा चितवनको सौराहामा ‘फुड फेस्टिवल’ शुरु भएको छ।
रेष्टुरेण्ट एण्ड बार एसोसिसन नेपाल (रेवान) को आयोजनामा माघ २८ गतेदेखि फागुन ३ गतेसम्म १८ औं सौराहा फुड फेस्टिवलको आयोजना गरिएको हो।
सौराहासहित चितवनको पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्रणय दिवसको अवसर पारेर फेस्टिवल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको गिरीले बताए। उनले भने,“सौराहा फुड फेस्टिवलको आफ्नै गौरवमय इतिहास छ। हरेक वर्ष प्रणय दिवसको अवसरमा फेस्टिवल आयोजना गरिँदै आइएको छ।”
लामो समयसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्काउने गरी फेस्टिवलका गतिविधिलाई अगाडि बढाइने फेस्टिवका संयोजक सूर्यबहादुर रिमालले बताए।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृति, भेसभुसाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले पर्यटन मार्गको सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको रमिालले बताए।
दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टिवलमा ६० लाख अनुमानित खर्च हुने र तीन करोड कारोबार हुने अनुमान गरिएको छ।