चार वर्ष अघिसम्म मानिसको मृत्यु भएपछि शव दाहसंस्कार गर्ने स्थलको रूपमा प्रयोग हुँदै आएको मसानघाटलाई व्यवस्थित गरी रूपन्देहीको शुद्धोधनमा आकर्षक पार्क निर्माण गरिएको छ।
गाउँ र बस्तीको बीचमा रहेको दाहसंस्कार स्थललाई अन्यत्र व्यवस्थापन गरी सोही स्थानलाई उपयोग गरी गाउँपालिकाले सुन्दर पार्क बनाएको हो।
गाउँको बीचमा शव दाहसंस्कार गर्दा वातावरण प्रदुषण फैलिने भन्दै दाहसंस्कारको लागि अन्यत्रै घाटको व्यवस्था गरी उक्त स्थानमा पार्क बनाइएको हो।
पर्यटन र कृषिको माध्यमबाट गाउँपालिकाको विकास र पहिचानलाई स्थापित गर्ने योजनाअनुरूप वडा नं. ५ को प्राचीन दर्वाह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले बताए।
आफूहरू निर्वाचित भएर आएसँगै गाउँपालिकाका हरेक वडालाई कुनै न कुनै हिसाबले अगाडि बढाउने योजनाअनुसार वडा नं. ५ मा प्राचीन दर्वाह क्षेत्र रहेकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना अगाडि सारिएको चौधरीले बताए।
‘हामीले सबै वडालाई कुनै न कुनै हिसाबले विकास गर्ने योजना बनाएका थियौं, वडा नं. १ लाई कृषि, २ देखि ४ सम्म पशुपालन ६ र ७ लाई मत्स्य व्यवसाय र वडा नं. ५ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना बनाएका हौं,’ उनले भने।
प्राचीन दर्वाह मन्दिर र मन्दिरको किनारमा रहेको नदीलाई व्यवस्थित गर्दै निर्माण गरिएको पार्कले गाउँकै सुन्दरता थपिदिएको उनले दाबी गरे।
तिलौराकोट देवदह जोड्ने बुद्ध परिपथमा रहेको दर्वाह क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्य बनाउन आर्थिक वर्ष ०७४/०७५ देखि नै गाउँपालिकाले गुरूयोजना निर्माण गरी काम सुरू गरेको थियो। शव दाहस्थलमा पार्क निर्माण गर्न लागिएको भन्दै स्थानीय केही व्यक्तिले सुरूमा अवरोध गरे।
पार्कको पर्खाललगायत संरचना तोडफोडसमेत भए, तर मसानघाटको व्यवस्थापन अन्यत्र गरी यहाँ पार्क निर्माण गरिएपछि गाउँको सुन्दरता नै बढेको छ।
स्थानीय राजेन्द्र पौडेलले पहिले झाडीले जंगल बनेको क्षेत्रलाई अहिले मंगल बनाइएको भन्दै खुसी व्यक्त गरे।
‘पहिले खोलाको डिलमा झाडी र मसानघाट हुँदा हिँड्न पनि डर लाग्थ्यो। हेर्दाहेर्दै त्यस्तो ठाउँमा यति राम्रो पार्क बनेको देख्दा धेरै खुसी लागेको छ,’ उनले भने।
गाउँपालिकाले यहाँ रहेको दाहसंस्कार स्थललाई वडा नं. ७ को सन्तघाट, वडा नं. ६ को नागेश्वर र तिनाउ घाटमा व्यवस्थित गरेको छ। पार्कको निर्माणसँगै ऐतिहासिक दर्वाह मन्दिरको संरक्षण र नदीलाई व्यवस्थापन गरी डुंगा सयर गर्न लागिएको छ।
गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको सहयोगमा दर्वाह पार्क निर्माण र व्यवस्थापनको लागि २ करोड रुपैयाँको गुरूयोजना तयार गरी काम सुरू गरेको हो।
गाउँपालिका कार्यालय भवनअगाडि रहेको यस पार्कमा विभिन्न जनावरका आकृति निर्माण गरी जियोलोजिकल पार्कको रूपमा विकास गरिएको गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए। यो क्षेत्रमा रहेको प्राचीन दर्वाह शक्तिपिठ मन्दिरमा हरेक वर्ष कात्तिक पूर्णिमामा ५ दिनसम्म दर्वाह मेला लाग्ने गर्छ। पार्कको निर्माणपछि मेलालाई समेत व्यवस्थित गर्न सकिएको कँडेलले जानकारी दिए।
रुपन्देहीको मध्यभागमा रहेको शुद्धोधनमा आन्तरिक पर्यटकलाई घुम्ने स्थानको अभाव भएको अवस्थामा गाउँपालिकाले यो पार्कलाई गौरवको योजनाका रूपमा विकास गर्ने सोच अगाडि सारेको वडा नं. ५ का वडाअध्यक्ष पुन्नेराम गौतमले बताए।
अहिले त पार्कमा तारबार गरी बालउद्यान, विभिन्न जनावरका आकृति निर्माण, फूल तथा दुबो रोपेर हरियाली बनाइएको छ भने फाउन्टेन निर्माण, मन्दिर र पार्कलाई जोड्ने नदीमाथि पुल निर्माण, ट्री हाउसलगायत संरचना निर्माण हुने छन्।
वडा अध्यक्ष गौतमले दर्वाह मन्दिर प्राचीन रहेकाले पुरातात्विक विभागमा दर्ता गरिएको जानकारी दिए। मन्दिर कहिले निर्माण भयो र कहिलेदेखि मेला लाग्न सुरू भयो भन्ने यकिन जानकारी नभए पनि बुढापाकाहरूको अनुभवको आधारमा दुई-तीन सय वर्ष पहिलेदेखि नै मन्दिर निर्माण र मेला लाग्न सुरू भएको उनले बताए।
‘हाम्रा हजुरबुवा आमाहरूलाई पनि कहिलेदेखि यहाँ मेला लाग्न सुरू भएको थियो भन्ने सम्झना छैन,’ उनले भने।
गाउँपालिकाले गुरूयोजना बनाएर पार्कको निर्माण थालेको भए पनि सीमित बजेटका कारण अहिले सबै संरचना बनिसकेका छैनन्। आगामी वर्षमा सबै संरचना निर्माण भएपछि लुम्बिनी जाने पर्यटकलाई केही समय भए पनि यो स्थानमा रोक्ने गाउँपालिकाको उद्देश्य छ।
पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष मोतीबहादुर थापा झाडी फोहोर थुप्रिने नदीको छेउँमा आकर्षक पार्क बनाउन सकिन्छ भनेर सुरूमा विश्वास नलागे पनि पार्क निर्माण पछि खुसी लागेको बताए।
‘पार्क निर्माणपछि चाह्यो भने जस्तो स्थानलाई पनि आकर्षक बनाउन सकिन्छ भन्ने विश्वास जागेको छ,’ उनले भने।
पार्कमा बालउद्यान, जिराफ, गैंडा, बाघ, चितुवा, सिंह, जरायो, कंगारु, भालु, सारस, डायनोसरजस्ता विभिन्न जनावर र चराको दुरूस्तै आकृति निर्माण गरिएका छन्। जसले पार्कलाई रमणीय र आकर्षक बनाएको छ।
करिब एक बिघा जग्गामा बनेको पार्क र मन्दिरलाई जोड्ने पुल निर्माण गरिएपछि पार्कको सौन्दर्यता झनै थपिने छ। पार्कभित्र व्यवस्थित शौचालय, सेडहरू, विभिन्न फलफूलका बाटिका, पानीका फोहोरासहितको ‘आइल्यान्ड’ लगायतका संरचना निर्माण भइरहेका छन्।
भगवती पाण्डे/सेतोपाटी