भक्तपुर। नेवार समुदायले मनाउने विभिन्न जात्रामा लाखेलाई नचाइन्छ। त्यसैले लाखेको स्वरुपमा नाच्ने कलाकारले मुकुण्डो लगाउँछन्। गाइजात्रादेखि कृष्णाष्टमीसम्म मुलुकका विभिन्न ठाउँमा लाखे नाच प्रदर्शन गरिन्छ।
कलाकार सोमराज विभिन्न देवदेवीका मुकुण्डो बनाउँछन्। यो ठुलो लाखेको मूल्य ३५ हजार रुपैयाँ राखेका छन्।
परम्परागत रुपमा धार्मिक कार्यमा प्रयोग हुँदै आएको मुकुण्डो अचेल पर्यटकीय प्रोडक्ट बनेको छ। विदेसी त कोसेली किन्छन् नै, स्वदेसी पनि सद्भाव बाँड्न मुकुण्डो रोज्छन्। प्रियजनलाई मायाको चिनोका रुपमा बाँड्छन्।
त्यति मात्र होइन, घर, होटल, रेष्टुराँतिर मुकुण्डो सजाउने चलन बढ्दै गएको छ। त्यसैले विभिन्न आकारप्रकारका मुकुण्डो बनाइन्छ। मध्यपुर नगरपालिका–६ बहाखा बजारस्थित ‘मध्यपुर मास्क मेकिङ’का कलाकार सोमराज तामाङले लाखेको ठुलो मुकुण्डो बनाएका छन्। भन्छन्, ‘लाखेको यति ठुलो मुकुण्डो अरुले बनाएको देखेको छैन।’ यही वर्षको सुरुमा बनाएको यो मुकुण्डोको उचाई ५.५ फिट छ भने चौंडाई ६ फिट। ठ्याक्कै तीन साता लाग्यो बनाउन। रिसाइकल पेपर, लोक्ता पेपर, जुटको बोरा र गम मिलाएर बनाएका।
विभिन्न प्रदर्शनीमा यसलाई राख्दा दर्शकले, ‘अहो कति ठुलो लाखे’ भनेर अचम्म मान्दै तस्बिर खिच्ने गरेको तामाङ बताउँछन्। उनले यसको मूल्य ३५ हजार रुपैयाँ राखेका छन्।
तामाङले मुकुण्डो कलामा परम्परा र आधुनिकताको फ्युजन गराएका छन्। त्यसैले उनको बजार राम्रो छ। व्यक्ति मात्र होइन, सामाजिक संस्था र सहकारीहरू समेत मुकुण्डो कला प्रवद्र्धन गर्दैछन् । पेपर बोर्डमाथि कलाकृति टाँसेर संस्थाको लोगो समेत छापिदिन्छन्।
मुकुण्डो कलामा सोमराजले गज्जबै गरेका छन्। बिशेषतः नेवार समुदायले बनाउने कलामा उनी पारंगत त छँदैछन्, नयाँनयाँ सृजना गरेर सबैलाई चकित पारिदिन्छन्। उनको बजार विदेशसम्म फैलेको छ।
बेलाबेलामा सोमराज मुकुण्डो कार्यशाला आयोजना गर्छन। समूहबद्ध भएर विदेशी सहभागी हुन्छन्। उनी मुकुण्डो बनाउन र रंग लगाउन सिकाउँछन् । र, हातहातमा एउटा एउटा मुकुण्डो उपहार दिएर पठाउँछन्।
ठाउँठाउँमा पुगेर तालिम पनि दिन्छन्। उद्योग वाणिज्य कार्यालय, भक्तपुरको आयोजनामा फागुन ६ गतेदेखि महिना दिनसम्म उनकै कारखानामा तालिम हुँदैछ। तालिममा काठमाडौं, भक्तपुर, ललितपुरदेखि हुम्लासम्मका कलाप्रेमीले भाग लिन नाम लेखाइसकेको उनले बताए।
पुख्र्यौली थलो सिन्धुपाल्चोक भएका सोमराज कसरी मुकुण्डो कलामा लागे त ?
उनी मध्यपुर थिमिमै हुर्किएका हुन्। यहीँका पूर्णकृष्ण चित्रकारसँग ६ वर्षसम्म कला सिके। र, ०५४ सालदेखि आफैं पसल खोले।
उनले जान्दा टोलमा मुकुण्डो बेच्ने ९ वटा पसल थिए, आज उनी एक्लै छन्। मुकुण्डो कलाकारीतालाई नै नयाँ उचाइमा पु¥याउने अभियानमा समर्पित सोमराजलाई शुभकामना !
सम्पर्क
सोमराज तामाङ–९८४१३७१४५४