ललितपुर। ललितपुर तयारी पोशाक व्यापार संघको रजत महोत्सवका अबसरमा शनिबार ललितपुरको हिलस्टेसन ‘दलचोकी निरोग आनन्दधाम’ (२१६५ मिटर) मा हाइकिङ तथा उचित आहार, बिहार र विचार (उआविवि) सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ।
व्यापारमा सक्रिय रहँदै आएका व्यवसायीलाई स्वास्थ्यप्रति जागरुक गराउन कार्यक्रम गरिएको हो। उनीहरूलाई प्रकृति प्रेमी समूहले प्राबिधिक सहयोग गरेको थियो।
‘व्यापारीहरू सधैं काममा मात्र व्यस्त भयौं’, संघका अध्यक्ष मिलन श्रेष्ठले भने, ‘त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग गराउने उद्धेश्यले हामीले हाइकिङ सँगै स्वस्थ रहने ज्ञान लिन प्रकृतिप्रेमी समूहको सहयोगमा कार्यक्रम गरेका हौं।’ पदयात्रीहरूलाई समूहकी सचिव एवम् योग तथा उचित आहार, बिहार, विचार प्रशिक्षक राम देवी महर्जनले सहजीकरण गरेकी थिइन्। त्यसैगरि समूहका संस्थापक डा. उमेश श्रेष्ठले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिने सरल विधिबारे प्रकाश पारेका थिए।

उनीहरू सातदोबाटोस्थित निरोगधामबाट गाडीमा चापागाउँ, मल्ल होटल हुँदै तीनपाने भन्ज्याङसम्म पुगेका थिए। त्यहाँ गाडीबाट ओर्लिएपछि हाइकिङविज्ञ महर्जनले पदमार्ग र हिँड्दा ध्यान दिनु पर्ने विषयमा जानकारी गराएकी थिइन्। त्यसपछि पदयात्रा सुरु भयो।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा लगाउँदै पदयात्रीहरू लामबद्ध भएर हिँडे। उनीहरू भन्ज्याङबाट खुर्सानीबारी बस्ती हुँदै दलचोकीस्थित निरोग आनन्दधाम पुगेका थिए। खुर्सानीबारीबाट उकालो लाग्नेवित्तिकै झलमल्ल हिमालको लर्कनले पदयात्रीको स्वागत गरे। हिमाललाई पृष्ठभूमिमा राखेर रमाउँदै सबैले फोटा खिचे। निरोग आनन्दधाममा सबैलाई अर्गानिक चिया खुवाईयो। त्यसपछि उनीहरूलाई दलचोकी भ्यू टावर, मनकामना मन्दिर घुमाएर पुनः निरोगआनन्दधाममै ल्याइयो।

निरोग आनन्दधाममा सबै पदयात्रीलाई स्वास्थ्यवद्र्धक खाना खुवाइयो। खानामा खैरो चामलको भात, दुई थरि हरियो तरकारी, चना, दाल, गाजरको अचार, प्राकृतिक खुर्पानीको लालमोहन र अन्त्यमा सलादस्वरुप गाजर खुवाइयो। यसलाई तीन बराबर आहार भनिन्छ। यसरी सधैं सेवन गर्दा स्वस्थ भइन्छ।
खानापछि उचित आहार, बिहार र विचार सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरियो। कार्यक्रममा स्वस्थ रहन कसरी आहार खानु पर्छ, कसरी विहार गर्नु पर्छ र विचार कसरी उचित गर्ने भन्ने बारेमा डा. श्रेष्ठले प्रकाश पारेका थिए। संघका अध्यक्ष मिलन श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण संघका द्धितिय उपाध्यक्ष कपिल शाहीले गरेका थिए भने संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार अशोकमान शाक्यले स्वास्थ्यको ख्याल गर्न सबैलाई आब्हान गरेका थिए। त्यसैगरि संघका प्रथम उपाध्यक्ष एवम् गायक शेर बहादुर महर्जनले धन्यबाद ज्ञापन गरेका थिए।
कार्यक्रमको अन्त्यमा गायक सूरजवीर ब्रजाचार्यले ‘गाह्रो छैन निरोगी भई बाँच्नलाई’ र शेरबहादुरले ‘मनपरि खाने, कोचिकोचि खाने जिङ्रिङ् मोटाउने’ बोलको गीत गाएर सबैलाई नचाएका थिए। त्यसपछि सबैजना गाडीमा फर्केका थिए।
स्मरणयी छ, प्रकृति प्रेमी समूहले मागअनुसार स्वास्थ्यवद्र्धक हाइकिङ तथा उचित आहार, विहार, विचार सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ।
दलचोकी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ३ मा पर्दछ दलचोकी (२,३००मिटर)। सुन्दर हिलस्टेसनका रुपमा चम्किँदै गरेको दलचोकीबाट हिमालको लामो लर्कन देखिन्छ। अन्नपूर्ण, गणेश, लाङटाङ, जुगल, गौरीशंकर लगायत हिमाल देखिन्छन्। डाँडामा सधैं शितल हुन्छ। काठमाडौं खाल्डोमा बस्नेहरू जाडोमा पहार ताप्दै हिमाल हेर्न र गर्मीमा शितलता ताप्न दलचोकी पुग्न सक्छन्। जाडोमा यहाँ हिउँ समेत पर्छ।
ललितपुरको सातदोबाटोबाट मात्र २१ किलोमिटर दक्षिणमा पर्दछ दलचोकी। हाइकिङका लागि दलचोकी सुन्दर गन्तव्य हो। डाँडासम्मै सडक सञ्जाल जोडिएकाले यहाँ गाडी र मोटरबाइकमा पनि जान सकिन्छ। डाँडामा खाना र बासको समस्या छैन। होमस्टे, होटल र रेष्टुराँहरू छन्। रिसोर्ट र भ्यूटावर निर्माणधिन छन्।
निरोग आनन्दधाम

दलचोकीमा प्रकृतिप्रेमी समूहले ‘निरोग आनन्दधाम’ (२,१६५ मिटर) बनाएको छ। यहाँ १०० जना बसेर व्यबहारिक अभ्यास गर्न सक्छन्। प्राकृतिक जीवनशैली अपनाएर ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिई निरोगी र आनन्दित रहन यहाँ व्यबहारिक ज्ञान दिइन्छ। यहाँ उचित आहार, विहार र विचारको प्रयोगात्मक अभ्यास गराइन्छ। समूहले यहाँ ८ दिन ७ रातको ‘दिशा बदले दसा सप्रिन्छ, साँचो ध्यान शिविर’ पनि सञ्चालन गर्दै आएको छ।
मनकामना मन्दिर

दलचोकी डाँडामा मनकामना मन्दिर छ। मन्दिर क्षेत्रमा ठुलो चौर छ। यहाँबाट पनि चारैतिर राम्रोसँग दृश्यावलोकन गर्न सकिन्छ। मन्दिर क्षेत्रलाई पिकनिक स्पटका रुपमा विकास गरिएको छ। मनकामना मन्दिर राजा पृथ्वीनारायण शाहकै समयको मानिन्छ। मन्दिर हातासम्मै गाडीमा जान सकिन्छ। मनकामनाबाट करिब ६ किलोमिटर दूरीमा नल्लुमा पाथीभरा मन्दिर पनि छ।
कसरी पुग्ने ?
गाडी: ललितपुरको लगनखेलबाट नेवारी बस्ती सुनाकोठी, ठेचो, चापागाउँ हुँदै कान्ति राजपथको तीनपाने भन्ज्याङसम्म १९ किलोमिटर गाडीमा।
पदयात्रा: तीनपाने भन्ज्याङबाट खुर्सानीबारी, दलचोकी निरोगआनन्दधाम, भ्यूटावर, मनकामना मन्दिर हुँदै दलचोकी निरोग आनन्दधामसम्म।
पदयात्रा दूरी : ६ किलोमिटर।
पदयात्रा समय: २ घण्टा।


















