पोखरा। मुक्तक साहित्यको प्रवद्र्धनमा क्रियाशील मुक्तक मञ्च नेपालले चर्चित मुक्तककार उषा शेरचनलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ प्रदान गर्ने घोषणा गरेको छ। बिहीबार पोखरामा आयोजित मुक्तक दिवसमा उसले यस्तो घोषणा गरेको हो।
तीसको दशकदेखि नै मुक्तक लेखनमा क्रियाशील भएर नेपाली साहित्यको श्रीबृद्धिमा योगदान पुर्याएकाले उनलाई पुरस्कृत गर्न लागिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले बताए। पुरस्कारमा ३३ हजार ३३३ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र छ।
याे पनि: मुक्तकिलो पोखरा
वि.सं. २०१२ मा पोखरामा जन्मेकी साहित्यकार शेरचनको वि. सं. २०५६ मा ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तकसङ्ग्रह प्रकाशित छ। साथै नजन्मेका आस्थाहरू (कविता सङ्ग्रह, २०४८), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता सङ्ग्रह, २०६३), तेस्रो रङ (कथा सङ्ग्रह, २०७०), आधि (उपन्यास, २०७६) प्रकाशित छन्।
मञ्चका अध्यक्ष आचार्यले नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्चको संयुक्त पहलमा मुक्तक दिवस मनाउने निर्णय भएको जानकारी दिए। पोखरामा २०७० मा मुक्तकसम्बन्धी पोखरा घोषणापत्र जारी भएको दिनको सम्रझनामा हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाइन्छ।
मञ्चका सल्लाहकार तथा प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले बिहीबार आयोजित कार्यक्रममा पुरस्कार घोषणा गर्दै शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तकमा पु¥याएको योगदानको कदर गर्न लागिएको जानकारी दिए।
साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा शेरचनलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
याे पनि: मुक्तकिलो पोखरा