एउटै व्यक्तिको अथक प्रयास, सुझबुझ र निस्वार्थ सामाजिक भावना भयो भने मात्र पनि समाज परिर्वतन हुन सहज हुन्छ भन्ने उदाहरण खोज्न टाढा जानै पर्दैन, हाम्रै गण्डकी प्रदेशको म्याग्दीमा करबाकेलीको उकालो चढे पुग्छ। करबाकेलीका सामाजिक अभियन्ता हुन् चामबहादुर पुन। रिटायर्ड लाइफमा जन्मथलोको विकासमा उनले पुर्याएको योगदान प्रशंसनीय छ।
लाहुरे चामबहादुर पुनको नेतृत्वमा म्याग्दी जिल्लाको करबाकेली क्षेत्रले काँचुली फेरेको छ। गाउँमा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय र सामुदायिक पाहुना घर निर्माण गरिएको छ। त्यसैगरि पुनहिलदेखि करबाकेली भएर बेनीबजार जोड्न ‘करबाकेली इको ट्रेक’ ब्रान्डिङ भएको छ।
उनको नेतृत्वमा म्याग्दी जिल्लाको करबाकेली क्षेत्रले काँचुली फेरेको छ। गाउँमा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय र सामुदायिक पाहुना घर निर्माण गरिएको छ। त्यसैगरि पुनहिलदेखि करबाकेली भएर बेनीबजार जोड्न ‘करबाकेली इको ट्रेक’ ब्रान्डिङ भएको छ।
याे पनि: करबाकेलीका सेवक चामबहादुरको पुस्तकमाथि काठमाडौंमा विमर्श
म्याग्दीको काफलडाँडामा ७२ वर्ष पहिले जन्मेका बृटिस पेन्सनर लाहुरे चामबहादुरसँग वि.सं. २०८० को कात्तिकमा मेरो भेट भएको हो। सामाजिक भावना र बिकासको हुटहुटी बोकेका एक बृद्ध म्याग्दीका उकालीओरालीमा ठम्ठमी हिँडिरहेको देख्दा लाग्योे मनभित्रको सामाजिक भावनाले उनलाई युवा बनाइरहेको छ।
अचेल उनको परिवार बेलायतमा बस्छ। उनी भने वर्षका अधिकांश समय नेपालमै विताउँछन्। उनको मन बेलायतमा होइन, करबाकेलीमा रमाउँछ।
याे पनि: ‘करबाकेली इको ट्रेक’मा रमाएका लेखकहरू (फोटो फिचर)
वास्तवमा ‘करबाकेली काव्ययात्रा २०८०’मा सहभागी भएर करबाकेली क्षेत्रको पदयात्रामा निस्कँदा हामीले करबाकेलीको जनजीवन, प्रकृति र संस्कृतिको अध्ययन गर्न पायौं। साथै करबाकेली क्षेत्रको विकासमा चामबहादुर दाइको नेतृत्वदायी भूमिकाको अध्ययन गर्ने मौका पनि।
जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना भनेजस्तै लागिरहेको छ। काव्ययात्राका लागि काठमाडौंबाट कवि, लेखक र पत्रकारको टोली आएको थियो। भाग्यले त्यही टोलीमा म पनि पोखराबाट जोडिन पाएँ। हामी गाडीमा बेनी बजारमा पुग्यौं। भोलिपल्ट म्याग्दी सदरमुकाम बेनीबजारबाट हाम्रो पदयात्रा सुरु भयो। हामी जुन पदमार्गमा हिँड्यौं त्यसलाई यिनै चामबहादुर दाइको समूहले ‘करबाकेली इको ट्रेक’का रुपमा चिनाएको छ।
बेनीबाट उकालो चढेर मल्लाज फाँट पुग्दा सबै पदयात्री एकआपसमा घुलमिल भैसकेका थियौं। तर पनि हाम्रो टोलीका कमाण्डर अर्थात् पाका चामबहादुरका बारेमा त्यति जानकारी थिएन। मित्र अमृत भादगाउँलेले उनको योगदानका बारेमा केही कुरा गरेको सम्झिएँ।
हामी मल्लाजबाट बाँसखर्क हुदै महभिर पछि काफलडाँडामा पुग्यौं। यही डाँडामा बनाइएको छ पुन समुदायका कुलदेवता करबाकेली बाकाको (मन्दिर) थान। हामी त्यहाँ पुग्दा रात परिसकेको थियो।
धौलागिरीमा सूर्य भगवानले चुम्बन गरेको दृश्य खिच्न भनेर बिहानै हामी बसेको सामुदायिक पाहुनाघरबाट माथि पुग्यौं। त्यहाँ पुग्दा बल्ल हामीले देख्यौं कि चामबहादुर दाइले गरेका काम।
झलक्क हेर्दा गाउँले घरजस्तो। ढुङ्गा, माटो र काठबाट बनाइएको घर नै करबाकेली थान रहेछ। करबाकेलीलाई अर्थात् पुन समुदायका कुलदेवता। कुशल धनुर्धारी, बिद्धान, प्रख्यात झाँक्री र ज्ञानी करबाकेली पश्चिम नेपालबाट आई यही काफलडाँडामा बसेका रहेछन्। उनकै सन्तानले डाँडाकाँडा ढाकेका रहेछन्।
यसरी थान नै बनाएर यसलाई एउटा सामाजिक संस्थाका रुपमा विकास गरि धार्मिक तथा पर्यटकीय गन्तव्यका बनाउने कामको अगुवाई चामबहादुरले गरेका रहेछन्। उनकै अगुवाइमा करबाकेली थान नजिकै सङ्ग्रहालय पनि बनाइएको रहेछ। समुदायको पहलमा यति व्यवस्थित र भव्य सङ्ग्रहालय सायदै अन्यत्र बनाइएको होला! सङ्ग्रहालयमा पुन समुदायको रहनसहन, संस्कृति र परम्परा झल्किने सामान राखिएका छन्। यसले जन्मदेखि मृत्यू संस्कारसम्म झल्काउँछ।
दुई तल्ले सङ्ग्रहालय भवन निकै व्यवस्थित छ। सामाग्रीहरु सुन्दर ढङ्गले सजाइएको छ। काफलडाँडा पुन समुदायको संस्कार र संस्कृति अध्ययन गर्ने विद्यालय बनिसकेको छ। प्राकृतिक हिसाबले पनि डाँडा आफैंमा सुन्दर छ। गाउँलेको मौलिक जीवनशैली र संस्कृति रहेछ।
हामी पुगेको भोलिपल्ट बिहान करबाकेलीको प्राङ्गणमा औपचारिक कार्यक्रम गरियो। हामीले पालैपालो आआफ्ना यात्रा अनुभूति सुनायौं। गाउँका अगुवा रवी गर्बुजा पुन र हाम्रा टोली नेता चामबहादुर दाइले पुन समुदायको इतिहास, जीवनशैली र संस्कृतिका विषयमा हामीलाई जानकारी गराए।
त्यही मौकामा मौलिक नाचगान पनि देखाइयो। पुख्र्यौली नाच। बिश्वव्यापीकरण र आधुनिकताले हाम्रा कतिपय परम्परागत कुरा समस्यामा परेका छन्। यहाँ भने प्रौढदेखि नव युवासम्म मौलिक संस्कृति र परम्परा संरक्षणमा लागेका रहेछन्।
पर्यटकले पनि पुख्र्यौली नाच मन पराउँछन्। सरस्वती लाग्ने, झाम्रे गान, अनौठो नाच र पोशाक आदिले लोभ्याउँछ।
करबाकेली क्षेत्रको काँचुली फेर्न धेरैले योगदान गरेका छन्। यसको नेतृत्व भने चामबहादुर दाइले गरेका हुन्। त्यसैले करबाकेली क्षेत्र स्वदेशी तथा बिदेशीका लागि समेत अध्ययन केन्द्र बनेको छ।
धौलागिरी हिमालको काखमा मुस्कुराएको काफलडाँडा। यसको शिरमा प्रख्यात हिलस्टेसन पुनहिल छ। प्राकृतिक रुपले देखिने सुन्दर दृश्य अन्यत्र पनि छन् तर, सामाजिक बिकास र सांस्कृतिक संरक्षणको अध्ययन गर्ने अब्बल गन्तव्यका रुपमा करबाकेली स्थापित बन्नेमा शंका छैन।
महत्वपूर्ण कुरा त एउटा लाहुरेको सक्रियतामा गाउँको यति धेरै विकास हुन सक्छ भनेर अध्ययन गर्ने थालेका रुपमा समेत करबाकेली स्थापित बन्न सक्छ। नेपालमा लाहुरेको इतिहास खासगरी सन् १८१६ को सुगौली सन्धी पछि भएको मानिन्छ। सुगौली सन्धीमा नेपालले बृटिसका लागि लड्न नेपाली युवा पठाउने सम्झौता बमोजिम कामका लागि नेपाली विदेश जाने चलन शुरु भयो। यसै सन्धी बमोजिम नेपालीले बृटिस सेना भएर बृटिसका लागि प्रथम र दित्तिय बिश्व युद्ध समेत लडे। बृटिसले सन् १९४७ मा भारत छाडे पनि बेलायती, भारतीय, ब्रुनाई र सिङ्गापुर सेनामा नेपाली युवालाई लिने परम्मरा कायमै छ।
यही परम्परागत लाहुरे संस्कृतिको पालना गर्दैै चामबहादुर पनि पहिले बृटिस आर्मीमा भर्ति भए। त्यता पेन्सन आएपछि १० वर्ष ब्रुनाइमा काम गरे। त्यस पछिको जीवन नेपालमै विताउने सोचले काठमाडौंमा घर बनाए। तर, उनले गाउँ भुल्न सकेनन्।
पछि बेलायत सरकारले पूर्व गोर्खा सैनिकलाई आवासिय भिसा दिएपछि परिवारसहित बेलायत बसाइँ सरे। त्यहाँको चमकधमक जिन्दगीभन्दा आफ्नै गाउँको चिसो हावापानी र पिठो ढिँडोमा रमाउन चाहे। र, सामाजिक काममा समर्पित बने।
नेपाली समाजमा धेरै लाहुरे छन् जो रिटायर्ड जीवनमा घरपरिवारमा मात्र सिमित छन्। हाम्रै समाजमा केही भूपू सैनिक अर्थात् लाहुरेले आफ्नो परिवार मात्र हैन, समाज सुधारकै लागि योगदान गरेका उदाहरण पनि छन्। वास्तवमा गाउँसमाजको परिर्वतनका बाहक भनेका ३ किसिमका मानिस हुन्छन्, पहिलो शिक्षित, दोस्रो देशविदेश देखेको र तेस्रो सकारात्मक आत्मबलले सामाजिक परिवर्तन गर्ने गाउँमै रहेका नेता।
वास्तवमा चामबहादुरमा रहेका यी सबै गुणले गर्दा नै गाउँ र समुदायको हित सम्भव तुल्याएको हो। अन्तरआत्मको शक्तिले नै उनी हिँडेरै बेनीदेखि करबाकेलीसम्म ओहोरदोहोर गर्दैछन्। ७२ वर्षको उमेरमा पनि गाउँकै विकासमा समर्पित उनलाई मनको उज्यालोले डोर्याइरहेको छ। यिनै लाहुरे दाइको निम्तोमा हामी कात्तिक १९ देखि २३ गतेसम्म ‘करबाकेली काव्ययात्रा २०८०’मा करबाकेली क्षेत्र घुमेका हौं। हामीले पनि यसैगरि आआफ्ना समुदाय, संस्कृति र जन्मभूमिको सेवा गर्नु पर्छ।
हामीलाई चामबहादुर जस्तै सकारात्मक सोच भएका विकासप्रेमी चाहिएको छ। स्याबास् लाहुरे दाइ !
याे पनि: ‘करबाकेली इको ट्रेक’मा रमाएका लेखकहरू (फोटो फिचर)
याे पनि: करबाकेलीका सेवक चामबहादुरको पुस्तकमाथि काठमाडौंमा विमर्श