पाेखरा। मुक्तक साहित्यको लोकप्रिय विधा हो। काव्यको सानो रुप मुक्तकको नेपाली साहित्यमा विशिष्ट पहिचान छ। साहित्यका अरु विधा नै मन नपराउने ठूलो समुदाय पनि मुक्तक रुचाउँछ। मुक्तक लोकप्रिय विधा भएर नै नेपालमा यस सम्बन्धी थुप्रै कार्यक्रम गरिन्छन्।
पोखराको मुक्तक विकासमा धेरै वाङ्मयिक संस्थाले योगदान पुर्याएका छन्। ‘मुक्तक मञ्च नेपाल’ले मुक्तक घोषणापत्र जारी गरेपछि चतुष्पदिय मुक्तकको लोकप्रियता झनै बढेर गएको छ।
चार पंक्तिको यौटा मुक्तकले तानाशाहको कुर्सी हल्लिन्छ। प्रेमिकाको मन फर्किन्छ। भरियाको थकाइ मेटिन्छ। नेपाली साहित्यमा मुक्तक लेखेरै भिमदर्शन रोका, चेतन कार्की, रत्न समशेर थापा, सरुभक्त श्रेष्ठहरुले मुक्तकको ओज बढाए। अचेल नवप्रवेसी पनि मुक्तकबाटै आफ्नो लेखनयात्रा शुरु गर्छन्।
प्रेम सर्वब्यापी छ। प्रेममा रहेका प्रेमिल जोडी मुक्तक लेखेर अथवा नलेख्नेहरुले मन परेको मुक्तक साभार गरेर आफ्ना भावना आदानप्रदान गर्छन्। मुक्तक आम प्रेमीको भावनाको ढुकढुकी पनि हो।
बिगत केही दशकदेखि मुक्तकसँग पोखरा जोडिएर आएको छ। मुलुकको जुनसुकै कुनामा मुक्तकको चर्चा हुँदा पोखराको नाम आउँछ। पोखराको चर्चा हुँदा मुक्तकको नाम आउँछ। मुक्तक र पोखराको सम्बन्ध फेवाताल र माछापुच्छ्रेको जस्तो छ। आम मानिसमा यौटा मान्यता स्थापित भएको छ। मुक्तक सुन्न पोखरा आउनु पर्छ। यो मान्यता स्थापित भएको पैतालिस वर्ष पुगिसकेको छ।
पैतालिस वर्षमा पोखराले थुप्रै मुक्तककार जन्माएको छ। हुर्काएको छ। स्थापित बनाएको छ। यिनै स्थापित मुक्तककारले पोखरालाई मुक्तकिलो बनाएका छन्। बिक्रम संवत् २०३५ साल माघ २० गते पोखरेली युवा साँस्कृतिक परिवारले नेपालमै पहिलो चोटि ‘टिकटमा मुक्तक’ कार्यक्रम गरेका थियो।
दुई रुपैयाँको टिकट काटेर दर्शक पोखरामा मुक्तक सुन्न आए। मुक्तक सुन्नेको भिडले हल खचाखच भरियो। त्यही दिनदेखि ‘मुक्तक सुन्न पोखरा जान’ भन्ने भनाई स्थापित भयो। त्यही कार्यक्रममा मुक्तक सुनाउन त्यतिबेलाका चर्चित साहित्यकार हरिभक्त कटुवालदेखि भवानी घिमिरे, केशवराज पिँडाली, कणाद महर्षि, हेम हमाल, गगन विरही, कृष्णभूषण बल, ध्रुवकृष्ण द्वीपलगायतका थुप्रै स्रष्टा पोखरामा आएका थिए।
यसरी मुक्तकमा अगाडि छ पोखरा। पोखरामा थुप्रै वाङमियक सस्था छन् जसले मुक्तकको विकासमा टेवा पुर्याएका छन्। केही वर्षदेखि पोखरामै ‘मुक्तक मञ्च नेपाल’ स्थापना भयो। यसले नेपाली साहित्यमा मानक मुक्तकका लागि विविध अन्तक्रिर्यात्मक कार्यक्रम गरेर मुक्तक घोषणापत्र जारी गर्यो। मुक्तक घोषणापत्र जारी भए पछि चतुष्पदिय मुक्तकको लोकप्रियता झनै बढेर गयो।
मुक्तक मञ्च नेपालले देशका विभिन्न जिल्लामा शाखा बिस्तार गर्दै गयो। जुझारु युवा साहित्यकार रामजीप्रसाद आचार्य हाल मञ्चका केन्द्रीय अध्यक्ष छन्। उनको समूह मुक्तक विकास र परिस्कारका लागि अहोरात्र खटिदै आएको छ। यसले पुरस्कार स्थापनादेखि पुस्तकालय निर्माण पनि गरेको छ। मुक्तकलाई पाठ्यक्रममा राख्न दबाबमुलक कार्यक्रम पनि गर्दै आएको छ।
पोखरेली मुक्तकको प्राथमिक चरणका लेखकमा लेखनाथ पौडेल हुँदै रत्नदेव शर्मा पौडेल, भोलानाथ पराजुली, तारा पाखे, मुकुन्दशरण उपाध्याय, भूपी शेरचन, तेजनाथ घिमिरे आदि छन्। मुक्तकलाई थप उचाइमा पुर्याउने चेतन कार्की, सरुभक्त, तीर्थ श्रेष्ठ, विजय बजिमय, भिम रानाभाट, उषा शेरचन, विनोद गौचन, विश्व शाक्य आदिको योगदान महत्वपूर्ण छ।
पोखरा आफैंमा मुक्तक जत्तिकै चिटिक्कै छ। यो चिटिक्कको सहरमा मुक्तकका विषयवस्तु भने बिबिध छन्। प्रायः मुक्तककारले देशको समसामयिक विषयवस्तुमा आवाज उठाएका छन्। नवप्रवेसीका मुक्तकमा प्रायः मायाप्रेम, देशप्रेमका साथै राजनीतिप्रति तिखो व्यंग्य भेटिन्छ। ब्यवस्था फेरिए पनि अवस्था नफेरिएको आक्रोश युवा मुक्तककारमा देख्न पाइन्छ।
त्यसैगरि पोखराको सुन्दरताको बयान पनि भेटिन्छ। कतै मुक्तकमा सेती लुकेको देखिन्छ। कतै मुक्तकमा सेती फुकेको देखिन्छ। विषयवस्तुका हिसाबले पोखराका मुक्तककारका धार बेग्लाबेग्लै छन्। कोही माछापुच्छ्रेभरि हिउँ देख्छन्। हिउँ देखेर रमाउँछन्। अनि कोही माछापुच्छ्रेमा अभाव देख्छन्। अभावका सुस्केरा सुसेल्छन्।
पचासको दशक पछि थुप्रै चर्चित मुक्तकार पोखराको माटोले पाएको छ। वि.सं. २०८० माघ २० गते शनिबार ‘पोखरेली युवा साँस्कृतिक परिवार’ले पोखरामा टिकटमा मुक्तक कार्यक्रम गर्दै छ। यतिवेला पोखरा थप मुक्तकिलो बनेको छ।तपाईं पनि आउनुस् है स्वादिला मुक्तक सुन्न।
मुक्तक अनुष्ठानमा लागेका सबैलाई शुभकामना !
पोखराका १४ जना प्रभावशाली मुक्तककारका ५–५ ओटा रचना:
भीम रानाभाट
तनहुँको जामुने स्थाई घर भएका भीम रानाभाट तीन दशकदेखि पोखरामा साधनारत छन्। ‘गण्डकी साहित्य संगम’ पोखराका अध्यक्ष रानाभाट नेपाली मुक्तक लेखनको स्थापित नाम हो। उनका दुई मुक्तक सङ्ग्रह ‘रगतका छिर्का’(२०४९) र ‘यही हो मेरो देश’(२०७०) प्रकाशित छन्। प्रगतिशील लेखनमा समर्पित उनको गीत सङ्ग्रह पनि प्रकाशित छ।
आफैंले लेखेको दस्तावेज आफंैले च्याते पछि
जनताको अधिकार घाँटी समाएर न्याके पछि
के रहन्छ र हजुर स्वतन्त्रताको बाँकी चिज ?
बाँदरको हुल पसेर सबै सामान फ्याँके पछि !
♦♦♦
भाषणले बन्ने भए यो नेपाल उहिले नै बन्थ्यो
कस्ले हो कुन्नि ? स्युजरल्याण्ड बनाउँछु भन्थ्यो
परिश्रमी किसान मजदुरको के भाउ छ र हजुर ?
साँच्चै हामीलाई स्वाभिमानीको देश बनाउन मन्थ्यो ।
♦♦♦
हिमाल हाँसेको डाँफेचरी नाचेको
घाम उदाउनु अघि नै भाले बासेको
गुराँस फुलेको सुन्दर शान्त विशाल
तर कसले हो यो देशको ढाड भाँचेको ?
♦♦♦
देख्यौ कर्णालीको थाप्लोमा कति धेरै पहिरा छन
सोच त साथी, त्यहाँका पीडा कति गहिरा छन्
जतिसुकै बोल, जतिसुकै लेख र जतिसुकै भेट
तर यो सत्ताका कान जहिले सुकै बहिरा छन !
♦♦♦
आफैं क्रान्तिमा होमिएर ल्याएको संविधान !
जनअधिकार लेखियो समावेसी बन्यो संविधान
काम भएनन् व्यवहामा कत्ति पनि लागू भएनन्
आखिर राम्रो लेखेर पो के हुँदो रहेछ र संविधान?
नारायण मरासिनी
नेपाली साहित्यमा स्थापित नाम हो नारायण मरासिनी। कविता, गीत, मुक्तक, लघुकथामा उनी क्रियाशील छन्। २०५० सालमै उनको ‘समयका धब्बाहरु’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ। नेपाल प्रज्ञाप्रतिष्ठानको प्रज्ञा सभा सदस्य मरासिनीका कथा र कविताका कृति पनि प्रकाशित छन्।
झुत्रा झुम्राहरु पनि फेता भएका छन्
काला कर्तुतहरु पनि सेता भएका छन्
यही नै हो मेरो देशको पहिचान
जहाँ ब्वाँसाहरु पनि नेता भएका छन् ।
♦♦♦
उनी भन्छिन्, ‘घर सम्हालेर बाँच्न कति गाह्रो छ !’
म भन्छु– ‘व्यवहार सम्हालेर बाँच्न कति गाह्रो छ !’
सधैंको भनाभनमा यसरी नै सकिँदै छ जिन्दगी–
हेर्नोस् त, आँसु लुकाएर हाँस्न कति गाह्रो छ !
♦♦♦
दिन ढल्दै घाम पनि पश्चिमतिर सरेपछि
पारी जाने कसो गरी नदी बिचमा परेपछि
यात्रुहरु अलपत्र भई रुँदैरुँदै बसेका छन्
माझीहरु डुङ्गा छोडी माछा मार्न झरेपछि।
♦♦♦
खान पुग्दैन निकै दुःखसँग जिएका छौं
नयाँ पुग्दैन, टुक्रा–टाला सिएका छौं
यही हो हाम्रो जीवन–यापनको कथा
दुध बेचेको पैसाले रक्सी पिएका छौँ !
♦♦♦
यहाँ कसैले सम्पत्ति खात पारेका छन्
कसैले मध्यान्हलाई नै रात पारेका छन्
हुनेखानेहरूको त यस्तै छ दिनचर्या
नहुनेलाई सबैले लात मारेका छन्।
♦♦♦
प्रतिमा अधिकारी
मुक्तक, कविता र गीत लेख्ने प्रतिमा अधिकारी कास्कीको लाहाचोक निवासी हुन्। समसामयिक विषयवस्तुमा लेख्न उचाउने प्रतिमाको मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ। उनका रचनाको केन्द्रीय भावमा मायप्रेम र भुईँमान्छेका कथाव्यथा हुन्छन्।
कहिल्यै नटुङ्गिने जिन्दगीको ब्यथा छ म भित्र
दुःख, पीडा, बाढीपहिरो अथाह छ म भित्र
भित्रभित्रै मन भिजाएर मुस्कुराउनु बाध्यता हो
खोलेर खोल्नै नसकिने यस्तो कथा छ म भित्र।
♦♦♦
अब रुन कहाँ बाकिँ छ र तिमी नरुनु भन्छौ
मन धुन कहाँ बाँकी छ र आसुँले नधुनु भन्छौ
छोडिए रहरहरु गए आफ्नै सपनाको मलामी
बाँचेको नै कहाँ छु र मरेजस्तो नहुनु भन्छौ ।
♦♦♦
पत्तै नपाई दिल पनि यहाँ बिक्छ बजारमा
खै कसरी पो सम्बन्ध नि टिक्छ हजारमा
गा¥हो हुन्छ फरक जीवन बाँच्छु भन्नेहरु
अनेक घुम्ती जंघारहरु मिल्छ सवारमा !!
♦♦♦
म चाहान्न फूलमा अब भँवराको बासहोस
निश्फिक्री जवानिमा कोही कसैको राजहोस
बरु एक्लै चलाइदिन्छु पुरै यो जिन्दगी तर,
म चाहन्न दिनभन्दा साँझहरु नै खासहोस् ।
♦♦♦
न आफ्नो भन्ने कुनै घर हुन्छ
न त गर्नलाई कसैको भर हुन्छ
संसार बनाउने नारीको नै कठै
न चिन्नलाई आफ्नै थर हुन्छ ।
वसन्त विनोद
विशेषगरी गजल र मुक्तकमै आफ्नो परिचय स्थापित गरेका वसन्त विनोद गजल सन्ध्या, पोखराका अध्यक्ष हुन्। करिब बाईस वर्ष अघि रोजिरोटीका लागि बिराटनगरबाट पोखरा आएका यी सर्जक मुक्तक लेखनमा समर्पित छन्। उनका रचना प्रायः मायाप्रेम र देशप्रेमले भरिएका हुन्छन्। पोखरा बसाइँमा उनले सयौं मुक्तक रचेका छन्।
लागेपछि दाग मेट्न गाह्रो हुने हो
पर्यो भने गर्धन रेट्न गाह्रो हुने हो
नजिक हुँदा तिमीले सम्झिएनौ के रे
छुटेपछि साथ भेट्न गाह्रो हुने हो ।
♦♦♦
गाली भित्र ताली देख्छु के भयो खै कुन्नि?
माया गर्ने जाली देख्छु के भयो खै कुन्नि?
फूल राखी जलघडामा कुरिरहेछु
भन्थ्यौ द्वार खाली देख्छु के भयो खै कुन्नि?
♦♦♦
मक्किँदै गएको छ मन खै के हुन्छ?
भड्खालोमा पर्यो जीवन खै के हुन्छ?
तिमीले बिर्सियौ सत्यको राजमार्ग
साथमै छ मेरो वचन खै के हुन्छ?
♦♦♦
गरेको भरोसा तोडिएपछि गाह्रो हुँदोरहेछ
बिश्वासमा घात जोडिएपछि गाह्रो हुँदोरहेछ
यात्रा हो जिन्दगी निरन्तर चलिरहन्छ थाहा छ
लक्ष्य बिर्सि पैताला मोडिएपछि गाह्रो हुँदोरहेछ ।
♦♦♦
हराएको छ आफैँबाट आफ्नोपन के गरौँ?
अस्थिर भएको छ आजकाल मन के गरौँ?
सहज बन्नुको साटो असहज भईगयो
धिक्कार लाग्दैछ अनायास जीवन के गरौँ?
♦♦♦
फडिन्द्र अकिञ्चन
साहित्य र पत्रकारिताको क्षेत्रमा स्थापित नाम हो फडिन्द्र अकिञ्चन। आजभन्दा डेढ दशक अघि अध्ययनको सिलसिलामा ओखलढुंगाबाट पोखरा आइपुगेका यी सर्जकलाई पोखराको मायाले पोखरेली बनायो। साहित्यिक बिबाह गरेर बिबाह बन्धनमा बाँधिएका फडिन्द्र कविता, मुक्तक र आख्यान लेखनमा सक्रिय छन्।
डोरी दिएनन् कसैले, कतै जरा पनि समाउन दिएनन्
मेरोसरह भाग लिए पहिला तर थप कमाउन दिएनन्
१०/२० करोड मैले लिँदैमा देश कंगाल त हुने थिएन !!
हाँस्न दिएनन्, खान दिएनन् मलाई देशमै रमाउन दिएनन् ।
♦♦♦
खलाँती मक्कियो, पाइन हराएको छ
स्टकोट र चौबन्दीको डिजाइन हराएको छ
न लास बोक्ने छन्, न जन्ती पाइन्छ
सम्चार बनाइदिनोस् गाउँहरुको हेडलाइन हराएको छ ।
♦♦♦
हुन्डरी आउँछ, ढकढक पार्छ, अम्बर आउँदैन
अब थोक आउने मोबाइलमा अम्बरको नम्बर आउँदैन
सुुने बंकरमा पुर्न फर्मान दिने कर्नेल पनि बिते अस्ती
न मान्छे, न हाडखोर, मेरो ढुकढुकीको खबर आउँदैन ।
♦♦♦
जिउँदै मरेका लास छन् अनगिन्ती
लासकै बाकस फोर्ने बदमास छन् अनगिन्ती
आमा रुँदा, देश बर्बाद हँुदा पनि रमाउने
सास विनाका विदेशी दास छन् अनगिन्ती ।
♦♦♦
सके युरोप, अमेरिका, न नसके कतार कहिलेसम्म ?
वृद्धाश्रम बनाएर देश उड्न हतार कहिलेसम्म ?
नागरिक बेचेर सरकार र सत्ताको खर्च धान्नुु छ
भन्नुुस् हजुर यो अनौठो व्यापार कहिलेसम्म ?
♦♦♦
श्रद्धा आचार्य
पोखरा– १६ कुरेचौर निवासी श्रद्धा आचार्य शसक्त नारी हस्ताक्षर हुन्। कथा, कविता, मुक्तकलगायत बिधामा उनले कलम चलाएकी छन्। मुक्तक मञ्च केन्द्रीय समितिकी सहसचिव श्रद्धा मुक्तक लेखन समर्पित छिन्।
पारिजात फूल कसैलाई झार भयो भनेर
शासकको जित, आफ्नो हार भयो भनेर
मुक्तककारले आत्महत्या गर्न पनि सक्छ
मुक्तकमाथि नै बलात्कार भयो भनेर ।
♦♦♦
अपराधीले अनेकौँ जाल बुन्छन्, किन बिर्सिएको
एसिड छर्दै आँखा, मुख थुन्छन्, किन बिर्सिएको
नारीमाथि अत्याचार, शोषण, जाल गर्ने पुरुषले,
उनीहरूको पनि बहिनी हुन्छन् किन बिर्सिएको।
♦♦♦
अमृत फल्ने यी बोटहरुमा कहिल्यै विष फल्न नपरोस्
धन सम्पत्तिको लोभमा झगडाको आगो बल्न नपरोस्
सबैका घरघरमा चेतना र न्यायको दियो बाल्न पाऊँ
नेपाली चेलीले दाइजोको निहुँमा जिउँदै जल्न नपरोस्
♦♦♦
पीडित पक्षले सक्दो अन्यायको विरुद्ध करायो
बलात्कारी घुस खुवाई, दाग सबै मेट्ने गरायो
अझै पनि हरेक मोडमा निर्मलाहरु भेटिन्छन्
वेश्यालय खोल्नु सरकार देशमा न्याय हरायो ।
♦♦♦
बिदेशबाट फर्क भनी पत्र कोरु म कसरी
संसारको दैवी नियम फेरुँ म कसरी
दैवले पनि कस्तो खरो अग्नि परीक्षा लिए
आँखै अगाडि छोराको लास हेरु म कसरी ।
♦♦♦
अल्पज्ञानी
विशेषतः कविता लेख्ने अल्पज्ञानी मुक्तक लेखनमा पनि स्थापित नाम हो। सानै उमेरदेखि मुक्तक लेखेर चर्चामा आएका यिनी प्रायः साहित्यिक कार्यक्रममा कविता र मुक्तक सुनाउँछन्। उनका मुक्तक निकै शक्तिशाली हुन्छन्।
सत्यलाई सत्य भन्नु अप्ठ्यारोमा पार्नु होइन
सधैँसधैँ तिमीलाई जिताउनु म हार्नु होइन
हरेकले आफ्नो अस्तित्व जसै खोजिरहन्छ
नबोलीनबोली बस्नु सबथोक स्वीकार्नु होइन ।
♦♦♦
२
माया गर्छु भन्दैमा कसैको मनभित्र सुटुक्क छिर्न सकिँदैन
अनमोल छ यो जोखेर तराजुमा मायाको ऋण तिर्न सकिँदैन
दुई आत्माको मिलन हो, शालिनता हो, समर्पण हो
माया त अझै हृदय हो, देखाउन छाती चिर्न सकिँदैन ।
♦♦♦
कोही त यस्तो होस् मसँगै हाँस्ने होस्, मसँगै रुने होस्
झरीले निथ्रुक्क भिजेको पल मायाले परेली छुने होस्
मलाई जहिल्यै तिमी अभावको गीत लेख्न सिकाउँछौ
मेरो मान्छे त यस्तो होस्, बरु नदिने होस् प्रशस्त हुने होस्
♦♦♦
नयाँ वर्ष आयो र आँफै रमाएर गयो
बाँच्ने जिम्मा जम्मै मैमाथि खन्याएर गयो
दिन उस्तै छन् रात उस्तै छन्, उस्तै छ् म पनि
अरु केही भएन फगत बुढो बनाएर गयो ।
♦♦♦
जङ्गली फूलहरूको माली हुँदैन
सीमानामा इमान हुन्छ गाली हुँदैन
होस् गर्नुस् देश मेरो भन्नेहरूले
रावण मरेर लङ्का खाली हुँदैन ।
♦♦♦
अम्बिका ओझा
पोखरा–३०, खुदी ढुङ्गेपाटन निवासी अम्बिका ओझाको प्रमुख विधा मुक्तक हो। मुक्तक बाहेक कविता, गीत, गजलमा पनि उनको राम्रो दख्खल छ। मुक्तक मंच नेपालकी केन्द्रीय सदस्य ओझा मुक्तक उत्थान र बिकासमा समर्पित छिन्।
निर्दोष हुँदाहुँदै आँसु झारेको मान्छेलाई
खुसीहरु अन्तै बसाइँ सारेको मान्छेलाई
आफ्नै रहरहरु छप्काई बलि चढाएकी छु
नसुनाउनु विजयको कथा हारेको मान्छेलाई।।
♦♦♦
रित्तै छ खुसीको थैली भरेकै छैन
दुःख आफैँसँग छ टरेकै छैन
पर्खनुस्, नआत्तिनुस्, धैर्य गर्नुस्
जल्नै पर्ने प्रगति मैले गरेकै छैन।।
♦♦♦
हावी बनाएर आफ्नै विचार, मान्न मिल्दैन
ठानेर त्यसैलाई आधार, मान्न मिल्दैन
केही थियो एक समय हामीविच भन्दैमा
मेरा हरेक बोलीलाई प्रहार मान्न मिल्दैन ।।
♦♦♦
यता जलेको मन हुनेछ, त्यता जग्गेमा हवन हुनेछ
त्यो दिन मौन बसेरै पनि दर्दको प्रदर्शन हुनेछ
सम्झेर निम्ता गरेछौ भने आउनेछु तिम्रो बिहेमा
शान्तिपुर्ण बिरोधस्वरुप मेरो कालो पहिरन हुनेछ।।
♦♦♦
सहरमा भेटिन्छन् अनि गाउँमा भेटिन्छन्
बेलाबेला बल्जिरहने घाउमा भेटिन्छन्
महशुस गर्न नसकेको आफ्नोपनको हो
आफ्ना भन्नेहरु त ठाउँठाउँमा भेटिन्छन् ।।
♦♦♦
जमुना आरसी
कविता र मुक्तक लेख्ने जमुना आरसी बिगत डेढ दशकदेखि लेखनमा सक्रिय छिन। साहित्यिक कार्यक्रमहरुमा कमै उपस्थित हुने जमुनाका रचना राष्ट्रिय साहित्यिक पत्र पत्रिकामा प्रकाशित छन्।
आँखैको सपना दिनु छ उपहार तिमीलाई
उपाहारभित्रै पठाउनु छ अनुहार तिमीलाई
छामेर हेर्नु मुटुको धड्कन फगत नबोलूँ क्यारे
नबोलेरै थमाउनु छ सिंगो आधार तिमीलाई ।
♦♦♦
जहिल्यै गोरेटोमा चीलहरू मात्र भेटिन्छन्
छातिभित्र पनि बेसी पीरहरू मात्रा भेटिन्छन्
घुम्तिहरूमा छोडिदै गएका यादहरूमा पनि
किन मुटु घोच्ने तीखा तीरहरू मात्रा भेटिन्छन् ।
♦♦♦
जो आफ्नै लाग्छ उही जाली हुँदो रहेछ
आफ्नैसँग छाति खान्ने फाली हँुदो रहेछ
आजकल त आकास धर्ती पनि पराय बनेछ
मान्छे भित्रको मन पनि कति खाली हुदो रहेछ ।
♦♦♦
छाडेर एक्लै विमान चढेर गयौ
मनभरि पीडाको रंग भरेर गयौ
मसँग अनिदो रात बाहेक के छ र
मारेरै मलाई दूर बसाईं सरेर गयौ ।
♦♦♦
सुन निखार्न आगोमाथि राख्नु पर्छ भन्छन्
अघि बढ्न शत्रूलाई छेउमै डाक्नु पर्छ भन्छन्
जले भन्छौ जलिदेऊ न खरानी नै हौला
दुःख परे दुःखकै रथ चढ़ी हाँक्नु पर्छ भन्छन् ।
♦♦♦
सन्जिता लम्साल
पोखरेली मुक्तक लेखनमा सक्रिय नाम हो सन्जिता लम्साल। उनका मुक्तक निकै शसक्त र मार्मिक हुन्छन्। प्रायः साहित्यिक कार्यक्रममा उनी मुक्तक नै सुनाउँछिन्।
दुःखहरुले काम सुरु गरेका छन्, बढुवा भएर
पीडा मेरै काँधमा नारिन आउँछन्,जुवा भएर
दिलको भन्सारबाट प्रेम निर्यात गर्न छाडेपछि
खुसीहरु अन्तै गएका छन्, सरुवा भएर
♦♦♦
घमण्डको मयल निखारेर आउँछौ भने
मुटुमा कदरका थुङ्गा राखेर आउँछौ भने
उपहारमा प्रेमले भरिएको हृदय टक्ञ्याउँला
मनबाट स्वार्थको पगरी फालेर आउँछौ भने ।
♦♦♦
नयनमा प्रेमको गङ्गा देखेर आजित भएँ
सग्लो थिएँ टुक्राटुक्रामा विभाजित भएँ
मन जित्ने खेल चलिरहेथ्यो प्रेमको मैदानमा
पुरस्कारमा आफैंलाई सुम्पिएर पराजित भएँ ।
♦♦♦
सम्झना तलतल लाग्ने अफिम भएर बसेको छ
महजस्तै गुलियो मान्छे निम भएर बसेको छ
जिन्दगीको पानामा हस्ताक्षर गरिसक्यो अर्कैले
अझै पनि उही दिलमा हाकिम भएर बसेको छ ।
♦♦♦
हरेक क्षण, हरेक प्रहर आइरहन्छन्
लगाई मेरै खुसीमा नजर आइरहन्छन्
खुब माया गर्छन्, मलाई तिम्रा यादहरुले
बेलाबेला बुझ्न खबर आइरहन्छन् ।
कृष्ण देवकोटा
कृष्ण देवकोटा मुलतः मुक्तकार हुन्। मुक्तकमा उनको छुट्टै नाम र पहिचान छ। मुक्तक बाहेक उनले गीत, गजल र कविता पनि लेख्छन्। साहित्यिक कार्यक्रममा उनले वाचन गरेका मुक्तकले राम्रै ताली र प्रशंसा पाउँछ।
शिरमा कहिले सिन्दुर कहिले टीका फरक भेटियो
प्यार कहिले गाडा कहिले फिका फरक भेटियो
श्रीमती र प्रेमिका उस्तै उस्तै लाग्थ्यो
तर चुम्बन गर्ने तरिका फरक देखियो ।
♦♦♦
सान्त्वना दिँदैं दुःखमा पनि मुस्कुराउनु भनेर
थप केही परे सिधै सिंहदरबार आउनु भनेर
छानोको सट्टामा एउटा छाता दिएको छ सरकारले
वर्षौं टिक्छ घाम पानीमा जोगाउनु भनेर ।
♦♦♦
न थुन्ने कारागार हुन्छ न ओत्ने छत हुन्छ
दुख्छ दुखिरहन्छ यस्तो हरबखत हुन्छ
यो मेरो दिललाई कस्तो बनायौ ए मेरो प्रियतम्
न फेर्न मिल्छ न मर्मत हुन्छ ।
♦♦♦
सिमा पारी यो देशका खाकाहरु छन्
भतिजीलाई बेचिदिने काकाहरु छन्
कसोगरी हुन्छ बिकास तपाईं आफंै भन्नुस
देशको उच्च ओहदामामै डाँकाहरु छन् ।
♦♦♦
खेतबारीमा हराउनुको कारण सोधिएन
खडेरीसँग डराउनु कारण सोधिएन
हलो मन पराएकोमा मलाई राप्रपा भनियो
तर मन पराउनुको कारण सोधिएन ।
♦♦♦
ऋद्धिमा रिजाल
ऋद्धिमा रिजाल पोखराकी नारी हस्ताक्षर हुन्। विगत डेढ दशकदेखि मुक्तक, गजल र कविता लेखनमा सक्रिय छिन्। उनका रचना प्रणय भावले ओतप्रोत हुन्छन्।
तिमी मायाको घाम, म पानी हुन तयार छु
हेर्छाै भने यो संसार, म नानी हुन तयार छु
जित्छौ भने जित प्रेमको एउटा महाभारत
म कर्णभन्दा पनि अब्बल दानी हुन तयार छु ।
♦♦♦
आँगनमा छरिएको बिसुन झैँ ऐलानी सम्झियौ
प्रेमको पूजारी थिएँ, भोग्या दिवानी सम्झियौ
श्रद्धाले पोखिएथेँ तिम्रो पाउमा, अक्षता बनेर
शिरको चन्दनलाई जुठेनको खरानी सम्झियौ !
♦♦♦
भिरको लालीगुराँससँग, भँवरा तर्किएर केही हुन्न
आफै तैरिने अभ्यास हुनेछ, नाउ पल्टिएर केही हुन्न
आफ्ना पाउ सलामत रहुन, बाटो बरु नयाँ खनौँला
जाबो आकाश खसेर या जमिन भासिएर केही हुन्न !
♦♦♦
घाउ एउटालाई लाग्दा अर्काे रुनुलाई के भन्छौ?
ईश्वरको ठाउँमा तिम्रो तस्बिर छुनुलाई के भन्छौ?
ओठ चुमेर आलिङ्गन गर्नेलाई प्रेम भन्छौ भने
नछोएरै तिम्रो स्पर्श महशुस हुनुलाई के भन्छौ?
♦♦♦
मौन भैदिन्छ अटल प्रकृति विज्ञानलाई चुनौती दिन्छ
आँखामा फुट्छ ज्वालामुखी आगोले सागर भरिन्छ
मानेँ मैले कि “एउटा तारा टुट्दैमा आकाश रित्तिँदैन“
तिमी त सूर्य हौ जो नउदाउँदा मेरो ब्रम्हाण्ड रोकिन्छ ।
बीना ढुंगाना
पोखराकी बीना ढुंगाना मुक्तक मञ्च नेपालकी सदस्य हुन्। गीत, गजल, कविता र मुक्तकमा उनी कलम चलाउँछिन्। उनका मुक्तक पवित्र प्रणय र देशप्रेमले ओतप्रोत छन्।
प्रतिक्षा गर न नामको पछि थर बनाएर दिनेछु।
जब आफ्नै मिहिनेतले घर बनाएर दिनेछु ।
हातमा यसैगरि धागो लिएर हिँडिरहनु प्रिय
म यी हातले प्रेमको मफलर बनाएर दिनेछु ।
♦♦♦
टुहुरा भए पाखाहरु यस्तै छ देशको हाल के गर्नु ।
देखेर पनि नदेखे जस्तो गर्छन् सवाल के गर्नु ।
गद्दीमा रमाउने रहेछन् सरकारमा गएका नेताहरु।
लगाउनभन्दा झन् फोर्न तम्सिन्छन् पर्खाल के गर्नु ।
♦♦♦
अब फर्केर आउँदैन झै लाग्छ तैपनि आश आउँछ।
पर्खाइ धेरै गरे परदेशिको न ज्यान न लाश आउँछ।
आमाको मन मान्दैन कुरेर बस्छिन् दिनहुँ बाटो।
नराम्रो सपना देखेकै दिन बन्द बाकस आउँछ।
♦♦♦
बर्खा लागेपछि छानो छाउनुपर्छ बा भन्नुहुन्छ।
हिउँद लागेसँगै मानो भित्राउनुपर्छ बा भन्नुहुन्छ।
यो जीवन अमूल्य छ, तिमी कसैको भर नपर्नु।
आफ्नो जीवन आफैं बनाउनुपर्छ बा भन्नुहुन्छ ।
♦♦♦
बाबा मलाई दाईजो दिएर नबिकाउनु है ।
बैङ्कबाट ऋण लिएर पैसा नझिकाउनु है ।
किसानको छोरी हुँ दुःख बुझेको छु बाबा ।
सम्पति दिएर यो सम्बन्ध नटिकाउनु है।
♦♦♦
अर्जुन अधिकारी
अर्जुन अधिकारी पोखरेली साहित्यकार हुन्। गजल, मुक्तक र कविता लेखन उनको रुचिको क्षेत्र हो ।
म त सिमल, सिमलुको भुवा बनि ऊ।
मलाई गोरु बनाई आफू जुवा बनि ऊ।
उसको ओठमा हाँसो देख्न चुरोट बनि सल्किदिए,
म त ठुटो, उडिजाने धुवाँ बनि ऊ।
♦♦♦
बिहान चढाउँछ, राती चढाउँछ ।
खै के के नानाभाँती चढाउँछ ।
कसैले ढुङ्गामा अबिर पोखेछ ,
ऊ ईश्वर सम्झेर पाती चढाउँछ ।
♦♦♦
रुँदारुँदै आशुको धारा सकिएछन्।
पिरतिमा लाउने झुटा नारा सकिएछन्।
पिरतीमा सबले झार्थे आज मैले झार्छु भन्दा,
एउटै छैन आकाशमा तारा सकिएछन् ।
♦♦♦
मलाई भुलि जाउ भन्छे के यो सम्भब छ र ?
आफ्नो संसार बनाउ भन्छे के यो सम्भब छ र ?
उसलाई भुल्न नसकेनी भुले जस्तो गरिदिउँला,
सपनिमै नआउ भन्छे के यो सम्भब छ र ?
♦♦♦
जो चोर उसको ठुलो स्वर हुन्छ यहाँ ।
दिउँसो साधु राती चोर हुन्छ यहाँ ।
जहाँ बस्छन् न्यायका पूजारी हौ भन्नेहरु ,
त्यही घरमा नारी दमन घोर हुन्छ यहाँ ।
♦♦♦