पोखरा। नेपाली लेखक संघ, कास्कीले ‘स्रष्टा सम्मान–२०७९’ बाट अग्रज साहित्यिक एवम् सामाजिक व्यक्तित्व विश्वप्रेम अधिकारीलाई सम्मान गर्ने भएको छ। स्याङ्जामा रहेर विगत ६ दशकदेखि अनवरत साहित्य साधनामा लागेका अधिकारी कविता, गीत, गजल, निबन्ध, कथाजस्ता विविध विधामा कलम चलाउँछन्।
स्याङ्जाको राङ्खोलामा वि.सं.२००३ सालमा जन्मेका अधिकारी विगत तीन दशकदेखि निरन्तर प्रकाशन भइरहेको साहित्यिक पत्रिका ’रजस्थल’ का प्रधान सम्पादक पनि हुन्।
त्यसैगरि लेखक ‘वर्ष कृति पुरस्कार–२०७९’ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’ लाई प्रदान गरिने भएको छ। वर्षभरमा गण्डकी प्रदेशभित्रका लेखकद्वारा प्रकाशित कृति अध्ययन गरी प्रारम्भिक चरणमा उत्कृष्ट ६ कृतिहरू दिलीप ढकालको उपन्यास ‘छलाङ’, अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’, प्रदीप रोदनको गजलसङग्रह ‘मफलर’, जनार्दन दाहालको लघुकथासङ्ग्रह ‘भुवा’, मिलन समिरको कवितासङ्ग्रह ‘प्रिय दुश्मन’ र सूरज उपाध्यायको बाल कवितासङ्ग्रह ‘साइकल’ छानिएका थिए।
छनोटमा परेका कृतिहरूमध्ये विषय, शिल्प, संवेदना, नवीनता आदिका आधारमा ‘मफलर’लाई रोजिएको छनोट समितिका संयोजक डा. भूमिराज बस्ताकोटीले जानकारी दिए। समितिमा बस्ताकोटीसहित, सञ्जीव पौडेल, रीतादेवी कँडेल, रीता अधिकारी ‘ऋतु’ र प्राञ्जल थिए।
मफलर रोदनको पहिलो कृति। यसमा गजलका साथमा फर्दहरू पनि सङ्कलित छन्। चाँडै नै औपचारिक कार्यक्रम गरेर दुबै स्रष्टालाई सम्मान गरिने संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले जानकारी दिइन्।
संस्थाले यसअघि सरोज अर्यालको उपन्यास ’दिव्याञ्जली’लाई २०७५ को, डा. मतिप्रसाद ढकालको ‘महाभारतमा के छ ?’ कृतिलाई २०७७ को, दीपक समीपको ‘अक्षरअक्षरमा देश’ लाई २०७८ सालको लेखक कृति पुरस्कार दिइसकेको छ।
त्यसैगरी तेजनाथ घिमिरे, केशवराज पराजुली, डा. भूपति ढकाल ‘कमल’लाई सम्मान गरिसकेको छ। वि.सं. २०७६ सालको पुरस्कार भने कोभिडका कारण प्रदान गर्न नसकिएको संघका सचिव प्राञ्जलले बताए।