अहो ! कति राम्रो चौर, चौरमा पुग्ने वित्तिकै सबै पदयात्री रमाउन थाले। कोही फोटो खिच्न व्यस्त भए भने कोही रमाउँदै न्यानो घाम ताप्न।
भुन्डोल हाइकिङमा प्रकृतिको अँगालोमा बेरिन पाइन्छ। साथमा हिन्दू र बौद्ध धर्मका पवित्र सम्पदाको दशर्न पनि।
काठमाडौंको एउटा सुन्दर गन्तव्य हो–भुन्डोल। अग्ला डाँडाका बीचमा स्यानो उपत्यका। वरपर हरियो जङ्गल, बीचमा ठूलो चौर माथि निलो आकाश। चौरमा ससाना दुईवटा सामान्य खाजा पसल।
शान्त एवम् सुन्दर वातावरण !
चम्पादेवीलाई शिर र सुन्डोललाई पाउ बनाएर बसेकी भुन्डोल। काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल (१,९३० मिटर) प्रकृतिको एउटा सुन्दर उपहार !
भुन्डोलमा वस्ती छैन। तल सुन्डोलमा भने सुन्दर बस्ती छ। केही वर्ष मात्र भयो भुन्डोल चम्केको। घुमन्तेहरूको चहलपहल बढ्दै गएपछि सुन्डोलका गाउँलेले भुन्डोल चौरमा दुई ओटा सामान्य खाजा पसल चलाएका छन्। यहाँ बास बस्ने सुविधा छैन। रात विताउन चाहनेले आफैं टेण्ट लिएर जानुपर्छ।
बिदाका दिनमा विशेषतः युवाको जमघट हुन्छ। हाइकिङका लागि भुन्डोल क्षेत्र उपयुक्त छ। फर्पिङको शेषनारायण मन्दिरबाट बज्रयोगिनी, असुरा गुफा, पौराणिक दक्षिणकाली मन्दिर हुँदै भुन्डोलसम्मको पदयात्रा रोमाञ्चक छ। भुन्डोल माथि डाँडामा कच्चि मोटर बाटो पनि पुगेको छ। मोटर बाइक वा गाडीमा जानेहरू भने डाँडामा पार्किङ गरेर करिब १० मिनेट ओरालो झरेमा चौरमा पुगिन्छ।
भुन्डोलबाट कुलेखानी वा चम्पादेवीतिर जान सकिन्छ। यहाँबाट करिब दुई घण्टा पदयात्रा गरेमा चम्पादेवी पुगिन्छ।भुन्डोल हाइकिङमा प्रकृतिको अँगालोमा बेरिन पाइन्छ। साथमा हिन्दू र बौद्ध धर्मका पवित्र सम्पदाको दशर्न पनि।वर्षैभरि भुन्डोल घुमफिर गर्न उपयुक्त छ। हिउँदमा यहाँ पहारिलो घाम ताप्न पाइन्छ। मनसुनमा भने हराभरा हुन्छ। चारैतिर हरियाली छाउँछ। भुइँफूलले पनि मादकता थप्छन्।
डाँडामा पानीको मुहान छैन। पानीको दुःख छ। खाजा पसलेले सुन्डोलबाट आधा घण्टा उकालो चढेर पानी र खानेकुरा ल्याउँछन्। घुमन्तेले पनि आफूलाई चाहिने पानी आफैं बोकेर लैजाँदा सजिलो हुन्छ।
यहि हाइकिङ गन्तव्यमा प्रकृति प्रेमी समूहको नियमित १८५ औं पदयात्रा पुस २८ गते भएको थियो। बिहानीको चिसो वातावरण, सातदोबाटोस्थित निरोगधाममा नाम दर्ता गरी त्यहाँबाट शेषनारायणसम्म गाडीमा पुगेका थियौ। त्यहाँ हामीलाई दक्षिणकाली नगरपालिका वडा न.५ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गर्नुभएको थियो। पूर्व वडाध्यक्ष नारायण बस्नेतले भने हाइकिङ अबधिभर हामीलाई साथ दिनु भयो।
पुसको चिसो मौसममा पनि घमाइलो वातावरण। सबै पदयात्री उत्साही थिए। शेषनारायण दर्शन पछि गाडी नचल्ने ठाडो जङ्गलको उकालो हुँदै बज्रयोगिनी, असुरा गुफा, पौराणिक दक्षिणकाली, फूटबल मैदान भएर सुन्डोल बस्ती पुगेका थियौ। सुन्डोलबाट भने ठाडो ढुङ्गा ओछ्याइएको उकालो करिब आधा घण्टा चढेपछि खुल्ला चौर भुन्डोल पुग्यौं। भुन्डोल देख्नेवित्तिकै सबै पदयात्री रमाए।
बज्रयोगिनी मन्दिरबाट असुरा गुफा हुँदै पौराणिक दक्षिणकाली मन्दिरसम्म पदमार्गका दायाँबायाँ बौद्ध मन्त्र लेखिएका लुङ्दार टाँगिएका छन्। पुरै वातावरण आध्यात्मिक छ।
पहारिलो घाम, न्यानो। भुन्डोलमा पहार ताप्दै हामीले स्वास्थ्यबद्र्धक तीन बराबर आहार खायौं। खाना पछि केही बेर स्वास्थ्यका विषयमा अन्तरक्रिया भयो। अन्तिममा केहीबेर नाचगान गरेर हामी फर्कियौं। फर्कंदा भने सुन्डोल नझरी माथि डाँडामा चढेर तल फर्कियौं, करिब ११ किलोमिटर पदयात्रा गरेर।
हामी त पुग्यौ सुन्दर गन्तव्य भुन्डोलमा। अहिलेको चिसो मौसममा सुन्तला खाँदै भुन्डोल हाइकिङ गर्न सकिन्छ। जाडोमा पहारिलो घाम ताप्दै जाने होइन त भुन्डोल ?
शेषनारायण
दक्षिणकाली नगरपालिका–५, फर्पिङमा शेषनारायण मन्दिर छ। भित्ताको पहरामा जोडेर बनाइएको मन्दिर। नारायण अर्थात् भगवान बिष्णु। यहाँ तिनै बिष्णुको मूर्ति छ।
मन्दिर अगाडि पञ्च पोखरी, सूर्यकुण्ड, बासुकीकुण्ड, भैरबकुण्ड, सरस्वतीकुण्ड र गोसाइँकुण्ड छन्। शेषनारायण हिन्दू र बौद्धमार्गी दुबैको आस्था केन्द। शेषनारायण हातामा एउटा गुफा छ जुन गोरखनाथ (पद्यसंभव) गुफासँग जोडिएको विश्वास गरिन्छ।
हिन्दू धर्मअनुसार काठमाडौं उपत्यकाका चार दिशामा रहेका चार नारायणको विशेष महत्व छ। पूर्वमा विशंखुनारायण, पश्चिममा इचंगुनारायण, उत्तरमा चाँगुनारायण र दक्षिणमा शेषनारायण बसेका छन्।
शेषनारायणलाई कान्छा नारायण भनिन्छ। हरिबोधनी एकादशीका दिन नारायण मन्दिरमा मेला लाग्छ।
बज्रयोगिनी
शेषनारायण मन्दिरभन्दा माथि छ बज्रयोगिनी मन्दिर। बज्रयोगिनीलाई उग्रतारा पनि भनिन्छ। मन्दिरको माथिल्लो तलामा बज्रयोगिनीको मूर्ति छ। बज्रयोगिनी तान्त्रिक देवी हुन्।
बज्रयोगिनी मन्दिर बास्तुकलाको अनुपम नमुना हो। मन्दिर हातामा श्वेत चैत्य पनि छ। शनिबारका दिनमा मन्दिर हातमा भजनकिर्तन सुन्न पाइन्छ। मन्दिरमा बज्रयोगिनीको दर्शन गर्न पाइन्छ, तस्बिर खिच्न भने पाइँदैन।
योगिनी भनेका शक्तिका प्रतिक हुन्। काठमाडौंमा चार योगिनी छन् जसमा साँखुको बज्रयोगिनी, गुहेश्वरीमा, फर्पिङ अनि विजेश्वरीकी बज्रयोगिनी हुन्। यी चार मध्ये साँखुका बज्रयोगिनीलाई सबैभन्दा पुरानो र सबैको दिदी भनिन्छ।
असुरा गुफा
विशाल चट्टानको फेदमा गुफा। हिन्दूहरू यसलाई ‘गोरखनाथ गुफा’ भन्छन् भने बौद्धमार्गीले ‘पद्यसंभव गुफा’। गुफामा पुग्ने तिर्थालु ध्यानमा बस्छन्।
धार्मिक कथाअनुसार पहिलापहिला गुफामा असुरहरूको बसोबास थियो। असुरलाई हटाएको विषयमा हिन्दू र बौद्धमार्गीका आआफ्नै भनाई छन्। हिन्दूकाअनुसार मच्छिन्द्रनाथको चेलाका रुपमा गुरु गोरखनाथ यहाँ बसे। उनले असुरलाई हटाए। र, यहाँ बसेर योग तथा ध्यान गरे। त्यसैले हिन्दू यसलाई गोरखनाथ गुफाका रुपमा पूज्छन्। गुफा बाहिर राखिएका ‘पाउलाई गोरखनाथका पाउ’ भन्छन्। यस गुफाबाट पसेर शेषनारायणमा निस्कन सकिने जनविश्वास छ।
बौद्धमार्गीकाअनुसार गुरु रिम्पोचे अर्थात् पद्यसंभवले तान्त्रिक शक्तिले असुरलाई धपाएर यहाँ ध्यानमा बसि सिद्धि प्राप्त गरेका थिए। त्यसैले गुफा क्षेत्रमा गुम्बा, चैत्य र माने बनाइएका छन्।
यहाँको याङ्लाशी गुम्बा नै फर्पिङको पहिलो गुम्बा हो। फर्पिङ क्षेत्रमा धेरै गुम्बा बनाइएको छ।
पौराणिक दक्षिणकाली
असुरा गुफाबाट १ किलोमिटर ठाडो उकालो चढेपछि पौराणिक दक्षिणकाली मन्दिरमा पुगिन्छ। डाँडामा मन्दिर निर्माण भइरहेको छ। यसभित्र देवदेवीका शिला छन्।
गाउँलेकाअनुसार यहाँ पौराणिक कालदेखि नै दक्षिणकाली मन्दिर थियो। पछि राजा प्रताप मल्लका पालामा तल नदीको दोभानमा सारियो। लिच्छिवी राजा प्रताप मल्लले तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा दोभानमा मन्दिर बनाएर श्यामवर्ण मूर्ति स्थापना गरेको इतिहास छ।
सपनामा दक्षिणकालीले आफ्नो वास्तविक रुपको मूर्तिसहित मन्दिर बनाउन आदेश दिएकाले राजाले नेपाल संवत ७७४ मा दोभानमा मन्दिर बनाएको भनाई छ।
यसरी दक्षिणकाली मन्दिर तल सारियो। त्यसैले पौराणिक भूमिमै मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मन्दिर बाहिरको भूगोलले गढीको झल्को दिन्छ। नेपाल एकीकरणका सिलसिलामा राजा पृथ्वीनारायण शाहले यसलाई गढीका रुपमा प्रयोग गरेका थिए।
फर्पिङ
फर्पिङको पुरानो नाम शिखरापुर। यहाँ प्राचीन मठमन्दिर, गुम्बा, चैत्य आदि छन्। यहाँ किरातकालभन्दा पहिल्यै बस्ति भएको पुरातत्वविद्को अनुमान छ। काठमाडौं जलमग्न हुँदा समेत यहाँ बस्ती थियो। स्वयंभु पुराणअनुसार महामञ्जुश्रीले चोभारको डाँडा काटेर पानीको निकास खोलेपछि गोपालेश्वरमा केही समय बसेर भक्तहरूलाई शिक्षा दान गरेका थिए। गोपालेश्वर फर्पिङमा पर्दछ।
लिच्छविकालमा राजा भिर्माजुन देवले सात टोल, सात ढुंगेधारा, सात डबली र ७ योगको संयोजन गर्नुका साथै चारैतिर अष्टमातृका स्थापना गरेर शिखरापुरलाई व्यवस्थित बस्ती बनाएको इतिहास छ।
त्यसैले फर्पिङ क्षेत्र घुमफिरका लागि उपयुक्त छ। यहाँ खाना र बासका लागि होटल, रिसोर्ट र रेष्टुराँ सुविधा छ।
अन्त्यमा
भुन्डोल पदयात्राका लागि रमणिय गन्तव्य हो। पदयात्रा गरेर जाँदा पसिनासँगै शरीरका विकार बाहिर निस्कन्छन्। जोनीहरूको कसरत हुन्छ। फोक्सोले स्वस्थ हावामा श्वास फेर्न पाउँछ।
प्रकृतिको सामिप्यमा हिँड्दा तन र मन दुवैमा ऊर्जा बढ्छ। गाउँपाखा चिन्न पाइन्छ। गाउँघरको आत्मियतामा रमाउन पाइन्छ। प्रकृति प्रेमी समूहले यहि कुरालाई ध्यान दिएर हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वस्थबद्र्धक हाइकिङ गराउँदै आएको छ।
स्वास्थ्यका लागि पदयात्रा गरिने भएकाले यात्रामा जंक फुड, फास्ट फुड र मदिरा निषेध छ। स्वास्थबद्र्धक खाना र नास्तामा मौसमअनुसारका फलफुल खुवाइन्छ। सस्थाको पदयात्रामा नयाँ ठाउँ घुमघामका साथै स्वास्थ्य ज्ञान पनि पाइन्छ।
सस्थाकोे अर्को नियमित हाइकिङ यही माघको चौंथो शनिबार फरक गन्तव्यमा हुनेछ।
कसरी पुग्ने ?
काठमाडौंबाट १६ किलोमिटरमा शेषनारायण मन्दिर। शेषनारायणबाट पदयात्रा सुरु गरेर बज्रयोगिनी, असुरा गुफा, पौराणिक दक्षिणकाली, फुटबल मैदान, सुन्डोल हुँदै भुन्डोलसम्म करिब ५.५ किलोमिटर। फर्कदा चौरबाट बायाँ जङ्गलको उकालो १० मिनेट गए मोटरबाटो भेटिन्छ। मोटरबाटोबाट फुटबल मैदान हुँदै गएकै बाटो शेषनारायणसम्म पदयात्रा। अथवा फुटबल मैदानबाट बायाँ जङ्गलको ठाडो ओरालो झरेर पद्यमसंभवको मन्दिरसम्म पदयात्रा गर्न सकिन्छ। तर ठाडो ओरालो अप्ठेरो भएकाले धेरै सम्हालिएर हिँड्नुपर्छ। मोटर बाटो भने फर्पिङबजारबाट करिब ६ किलोमिटरमा भुन्डोल माथिको डाँडामा पुगिन्छ। सडक सबै कच्चि छ।
पदयात्रा दुरिः ११ किलोमिटर
समयः ४ घण्टा।
(योग तथा उचित आहार, बिहार र विचार प्रशिक्षक महर्जनको ‘हाइकिङ काठमाडौं’ नामक पुस्तक प्रकाशित छ।)