काठमाडौं। पोखरामा बसेर तीन दशकभन्दा लामो समयदेखि कविता, गजल, मुक्तक र लघुकथा साधनामा सक्रिय स्रष्टा दीपक समीप आफ्ना शक्तिशाली लघुकथाको सङ्गालो ‘नदीको राजमार्ग’ लिएर पाठक माझ आएका छन्।
चोटिला एव्म प्रभावशाली लघुकथा लेखन उनको विशेषता। उनको नयाँ पुस्तकमा ६६ ओटा लघुकथा छन्। शनिबार काठमाडौंको सर्बनाम थिएटरमा प्रकाशक पेज टर्नरले आयोजना गरेको लोकार्पण कार्यक्रममा विज्ञले मुग्धकण्ठले उनको तारिफ गरे।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, समीक्षकहरु डा. ज्ञानु अधिकारी, डा. ईश्वरमणि अधिकारी, आख्यानकार भुवनहरि सिग्देल, नियात्राकारहरु प्रतीक ढकाल, भवानी खतिवडालगायतले समीपका लघुकथाको प्रशंसा गरेका हुन्।
कृतिमाथि बोल्दै समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन्। लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन्। उनले भनिन्, ‘शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एकएक लघुकथाले तरङ्गित बनाउँछन्।’
कथामा मानव मनोविज्ञान नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको भन्दै उनले समीपले शब्दमा मितव्ययीता अपनाएर लेखेको बताइन्।
अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले पुस्तकमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए। कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता समीपको रहेको उदाहरण प्रस्तुत गरे। वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य यसभित्रका कथाले छर्लङ्ग पारेका छन्। साथै विविध पात्रका माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् कथाकारले। मानव जीवनका सन्त्रास, जिजिविषा, अन्धविश्वास, आस्तिकता एवम् लैङ्गिक विसङ्गतिको चित्र मर्मस्परशी ढङ्गले कथामा उनिएको ईश्वरमणिले बताए।
कृतिकार समीपले पचासको दशकको सुरुआतदेखिको साहित्यलेखनका अनुभव र अनुभूति पस्किएको अनुभव सुनाए। साहित्य अनुरागीले खचाखच हलमा उभिएका उनले सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा गजलकार प्रकट पगेनी ‘शिव’देखि आख्यानकार नयनराज पाण्डेसम्म, लघुकथाकार ममता मृदुलदेखि समीक्षक कुमारी लामासम्म उपश्थित थिए।
पोखरेली स्रष्टामा एकले अर्काको उत्साह बढाउने राम्रो प्रवृत्ति छ। समीपको हौसला बढाउन पोखराबाट साहित्यकारहरु लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, सूरज उपाध्याय र सन्जीब पौडेल काठमाडौ आएका थिए।
‘नदीको राजमार्ग’ समीपको तेस्रो कृति हो। यसअघि उनका ‘भूगोलभित्र नकोरिएको देश, गजलसङ्ग्रह (२०६२) र ‘अक्षरअक्षरमा देश, मुक्तकसङ्ग्रह (२०७८) प्रकाशित छन्।
लमजुङ जिल्लामा जन्मे÷हुर्केका समीप पोखरामा बसेर साहित्य साधना गर्छन्। उनी अग्रजको सम्मान र अनुजलाई प्रोत्सान गरिरहन्छन्।