काठमाडौं। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको नेतृत्वमा पर्यटकीय सहर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियान अघि बढेको छ। महानगरका मेयर धनराज आचार्यले नयाँ वर्ष २०८१ अगावै घोषणा गरिने सार्बजनिक अभिव्यक्ति दिइसकेका छन्।
पर्यटनको राजधानी घोषणा गरेपछि पोखराले के पाउँछ ? पोखरा घुम्ने पर्यटकले थप सुविधा केके पाउँछन्? सर्बसाधारणले यस्तैयस्तै प्रश्नको जवाफ खोजिरहेका छन्।
प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटन राजधानी घोषणा गर्ने सुझाब दिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले गत पुस २६ गते प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो।
प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र साहसिक खेल गतिविधिका कारण पोखरा संसारमै चिनिएको छ। पर्यटन राजधानी घोषणा गर्दा पोखराको नयाँ ब्रान्ड त बन्ला। तर, राजधानी घोषणा पछि पोखराले के पाउँछ ? पोखरा घुम्ने पर्यटकले थप सुविधा केके पाउँछन्? सरकारले केके थप काम गर्नेछ ? सर्बसाधारण यस्तै प्रश्नको जवाफ खोजिरहेका छन्।
यही विषयमा हामीले पोखराका पर्यटन सम्बद्ध संस्थाका अगुवासँग कुराकानी गरेका छौं। उनीहरु पर्यटनको राजधानी बनाउनु पर्नेमा एक मत देखिन्छन्। यसमा पनि एकथरी भन्छन्, तुरुन्तै राजधानी घोषणा गरिहाल्नु पर्छ। अर्काथरि भन्छन्, राम्रो पूर्वाधार तयारी गरेर मात्र घोषणा गर्नु बुद्धिमानी हुनेछ। हतार गर्नु हुन्न।
पर्यटनमा नयाँ ब्रान्ड
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने काम स्वागतयोग्य छ। यसले पोखराको नयाँ ब्रान्ड बन्ने छ। घोषणापछि थप थप पूर्वाधार विकास तथा समस्या समाधानमा ध्यान दिनु पर्छ। दीर्घकालीन योजना सञ्चालनमा ल्याएर वृहत्तर पर्यटकीय पोखरा निमार्णमा हामी सबै जुट्नु पर्छ। साथै स्थानीय सडकलाई व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा पहल गर्नु पर्छ।
तत्काल राजधानी घोषणा
पर्यटनका हिसाबले पोखरा अतुलनिय गन्तव्य हो। यहाँ पर्यटकलाई चाहिने आबश्यक पूर्वाधारको कमि छैन। त्यसैले तत्कालै पर्यटनको राजधानी घोषणा गरिनु पर्छ। समग्र गण्डकी प्रदेश त्यसमा पनि पोखरा नेचर, कल्चर र एड्भेन्चरमा निकै प्रसिद्ध सहर हो। यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् आवश्यक पूर्वाधारहरु पनि छन् त्यसैले राजधानी घोषणा गर्न किन ढिलाई गर्ने ? राजधानी घोषणाले तीनै तहका सरकारलाई थप जिम्मेवार बनाउँछ। साथै यहाँको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि दबाब पुग्छ।
हतार नगरौं
पर्यटनको राजधानी घोषणा गर्ने निर्णय स्वागतयोग्य छ। तर, पर्याप्त पूर्वाधार पुरा नगरी हतारमा निर्णय गर्नु हुँदैन। पर्यटन क्षेत्रमा गर्नुपर्ने काम अझैं बाँकी छन्। हामीले पूर्वाधार निर्माणका हिसाबले गन्तव्य संरक्षण गर्नु पर्ने थुप्रै काम बाँकी छन्। यसमा प्रदेश र स्थानीय सरकारले ध्यान दिनु पर्छ। अर्को कुरा, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको यतिका समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पहिला विमानस्थल सञ्चालनमा जोड दिनु पर्छ। विमानस्थल सञ्चालनमा आए गण्डकी प्रदेशलाई मात्र नभएर समग्र देशलाई यसको फाइदा पुग्छ। साथै पोखरामा फोहोर व्यवस्थापनको समस्या छ। पहिला यस्ता समस्याको सम्बोधन गरिनु पर्छ।
अघोषित राजधानी
पोखरा अघोषित रुपमा पर्यटनको राजधानी हो। यसले औपचारिकता पाउन लागेको खबरले खुसी बनाएको छ। हामीले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नु पर्ने माग राख्दै आएका थियौं। हाम्रो लामो समयदेखिको माग हो सरकारको कदम प्रति हामी सकारात्मक छौं।
पोखरा पर्यटकको पहिलो रोजाइमा पर्दछ। अन्तर्राष्ट्रिय विमानस्थलको अभावमा वाध्यात्मक अवस्थामा मात्र काठमाडौंमा अवतरण गर्ने गरेका हुन्। अब त यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसकेको छ। राजधानी घोषणासँगै सरकारमा दबाव बढ्ने र विमानस्थल सञ्चालनमा आउने छ। यसबाट समग्र गण्डकी प्रदेशकै पर्यटनले छलाङ मार्ने छ।
पोखरामा विदेशका थुप्रै चेन होटल आउन खोजेका छन्। राजधानी घोषणा पछि उनीहरु आउने वातावरण तयार हुनेछ। साथै पर्यटकले पोखराबाट भिसा थप गर्ने, पदयात्राको अनुमति लिन पाउने सुविधा पनि मिलाउनु पर्छ।
आशाबादी छौं
पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर व्यवस्थित सहर बनाउने खालका कार्यक्रम सञ्चालन गरिनु पर्छ। यहाँको विमानस्थल सञ्चालन, सडक पूर्वाधारको विकासमा सहयोग पुग्ने छ। पोखरा त्यसै पनि पर्यटकीय सहरका रुपमा चिनिएको छ। अब राजधानी घोषणा भएपछि पर्यटक बढ्ने। पर्यटकले पनि गर्ब अनुभव गर्ने वातावरण बन्ने छ। राजधानी घोषणा भएसँगै सरकारको जिम्मेवारी बढ्ने छ। ऊ पर्यटक लक्षित विभिन्न गतिविधि बढाउन बाध्य हुनेछ। त्यसैले हामी आशाबादी छौं।
पहिला पूर्वाधार
आवश्यक पूर्वाधार तयार नभइ राजधानी घोषणा गर्न हतार गर्नु हुँदैन। साथै राजधानी घोषणामा मात्र सिमित नभइ यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन अति आबवश्यक छ। त्यसका लागि पोखरा महानगरपालिका मात्र नभइ पोखरा आसपासका स्थानीयसँग समेत समन्व गरि कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। हतारोमा राजधानी घोषणा गर्दा घोषणामा मात्र सिमिति हुने त होइन ?