‘चेर्दुङ डाँडैबाट हिमालै हिमाल हेरौंला
क्याङ्गग्से पोखरीमा मायाको डुबुल्की मारौंला
हामी पर्यौं जिरिको ठिटो, लगाउँछौं माया झन मिठो
सोचे है बेलैमा, एकबारको जुनीमा...’
जिरी। चेर्दुङ, नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी जिरीको शिर भएर उभिएको सुन्दर डाँडा। जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको छ।
समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो।
डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शीला छ। जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ।

वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्छ।
यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाईन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ।
चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुको साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न पाइन्छ।
डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाईन्छ। डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ।

चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ। उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ। रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरी गोठहरू पाईन्छ । वरिपरी रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन अनौठो छ। यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन्।
.jpeg)
जिरीबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करि १ घण्टामै पुगिन्छ।
यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका मधुर भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ।
यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।

कसरी पुग्नेः
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ। विशेषतः जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाँडा–क्याङ्से पोखरि–चेर्दुङ (पैदल यात्रा ६,७ घण्टा)
मोटरबाटो– जिरी बजार – रातमाटे–कुथामे– जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घन्टा पैदल।
न्यानो कपडा साथै बाटोमा होटल नहुँदा खानेकुरा लान बिर्सनु हुन्न।

.jpeg)
.jpeg)

.jpeg)


.jpeg)

.jpeg)



.jpeg)
.jpeg)


सबै तस्विरहरु सौजन्यः राजु सुनुवार