चारैतिर अग्ला हिमालको छहारी। नाकै चिस्याउने चिसो वतास। फर्फराईरहेका रङ्गिन लुङ्दारहरू। बीचमा सेतो पछ्यौरीमा सिंगारिएकी भन्ज्याङ। दुबै हात फैलाएर सबैलाई अंगालोमा बेर्न बसेकी लार्के भन्ज्याङ (५१५५ मिटर)। गोरखा र मनाङ जिल्लाको साँधमा पर्ने भन्ज्याङ। मनास्लु परिक्रमा पदयात्राको क्लाइमेक्स विन्दु। आँखै नझिम्क्याई हेरिरहुँजस्तो लाग्ने।
इच्छाशक्ति, धैर्य र प्राकृतिक खानपानले सजिलै लार्के भन्ज्याङ पार गर्न सकिन्छ। हाम्रो देश यस्तै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। त्यसैले मनास्लु पनि घुमौं।
लार्के भन्ज्याङ्मा पुग्दा पदयात्राको थकाई मेटिन्छ। ऊर्जा बढ्छ। वर्सेनी हजारौं पदयात्री लार्केमा पुग्छन्। प्रकृतिको अँगालोमा बेरिन्छन्। र, आनन्द अनुभूत गर्छन्।
आखिर हिमालमा त्यस्तो के छ ? जसले सबैलाई आफूप्रति आकर्षित गरिरहेको हुन्छ ?
जतिसुकै गाह्रो र अप्ठेरोलाई पनि भुलाएर आफूप्रति आकर्षित गर्नसक्ने त्यो क्षमता!
प्रकृतिको सुन्दर रुप भनौ या निश्वार्थ प्रेमको अंगालो। जो पनि त्यो प्रेमको अंगालोमा बेरिन पुग्छन्, सबै पीडा विर्सेर। हामी पनि त्यो सुन्दर प्रेमको अंगालोमा बेरिन पुग्यौं।
मनास्लु क्षेत्रमा हिँड्दा आत्मगौरब बढ्छ। साहसिक र रोचक अनुभूति सँगाल्न पाइन्छ। हामी मङ्सिर १० गते मध्यान्ह लार्के भन्ज्याङमा पुगेका थियौं। यो महत्वपूर्ण पदमार्गमा ‘प्रकृति प्रेमी समूह’ ललितपुरका सदस्य हामीले पनि पदयात्रा गर्र्यौं। वि.संं. २०८० मंसिर २ गतेदेखि १२ गतेसम्म ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्रका साथ स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हामीले पदयात्रा गरेका।
स्वस्थ शाकाहारी भोजन गरेर हामीले पदयात्रा ग¥यौं। सात्विक भोजन गरेर पनि अग्ला भञ्ज्याङ छिचोल्न सकिन्छ भन्ने सन्देश बाँड्यौं। हामीले स्वास्थ्यको मुल मन्त्र फैलाउँदै हिँड्यौं। हामीलाई देख्ने सबैले सोध्थे, यो ‘आस्वा आहा भनेको के हो ?’
हामी भन्थ्यौ, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा।’
लार्के भन्ज्याङमा उभिएर पनि हामीले भन्यौं, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा!’
पहिलो दिन
काठमाडौं–धादिङबेसी–माछाखोला
गोरखा र धादिङको सिमामा रहेको आरुघाट बजार कटेपछि भने वरपरका भित्तामा हामीले सेता झरना हेर्दै यात्रा गर्न पायौं।
पकृति प्रेमी समूहले आयोजना गरेको ११ दिने मनास्लु पदयात्रामा हामी ३१ जना सदस्य मंसिर २ गते बिहानै सातदोबाटो, ललितपुरस्थित निरोगधामबाट एउटा गाडीमा निस्कियौं।थानकोट, धादिङबेसी, सोतिखोला हुँदै माछाखोलासम्म बसमा गयौं।
गोरखा र धादिङको सिमामा रहेको आरुघाट बजार कटेपछि भने वरपरका भित्तामा हामीले सेता झरना हेर्न पायौं। एक दशक अघिसम्म पनि पदयात्रीहरू आरुघाटबाट हिँडेर मनास्लुमा जान्थे। अहिले भने गोरखाको माछाखोलासम्म गाडी चल्छन्। सडक ट्रयाक भने अझै अगाडिसम्म खुलिसकेको छ। नास्तामा हामीले आँटाबाट बनाइएको केक र केरा खायौं। मध्यान्ह १२ बजे भने सोतिखोलामा पुगेर ‘न्यू चुम भ्याली गेष्ट हाउस’मा खाना खायौं।
खाना पछि करिब ३ घण्टा कच्ची सडक यात्रा पछि माछाखोला (९,३० मिटर) पुग्यौं। माछाखोला धार्चे गाउँपालिकाको केन्द्र हो। यहाँ स्यानो बस्ती छ। होटलहरू छन्। हामी दिउँसो ३ बजे माछाखोलामा पुग्यौं। र, स्थानीय हिलटप होटलमा बास बस्यौं। बुढीगण्डकी खोलाको किनारमा बसेको माछाखोला रमणिय छ। पदयात्राका लागि चाहिने कपडा, जुत्ता र अन्य सामान यहाँको बजारमा पाइन्छ।
खानाः न्यू चुम भ्याली गेष्ठ हाउस, सोतिखोला
सम्पर्क: हिम गुरुङ–९८४६५५४६२१
बासः होटल हिलटप, माछाखोला
सम्पर्क: बीरबहादुर गुरुङ–९८६६४३३३४५
बस दूरी: १५५ किलोमिटर
समयः ७ घण्टा.(अधिकांश बाटो अफ रोड)
दोस्रो दिन
माछाखोला–तातोपानी–जगत
धाराको पानीमा हात राख्दा पोल्यो ! निकै तातो रहेछ पानी। बाफ उड्दै थियो। धाराको छेउमा स्यानो कुण्ड पनि बनाइएको छ।
बिहान ५ बजे नै उठेर हामीले एकएक लिटर मनतातो पानी पियौं। त्यसपछि नियमित कर्म सकेर आआफ्ना रुकस्याक बोकि होटल बाहिर निस्कियौं। हिडाईंको पहिलो दिन, टोली नेता उमेश सरबाट पदमार्गका बारे र कसरी हिँड्ने भन्ने बारेमा छोटो ब्रिफिङ पछि हाम्रो पदयात्रा सुरु भयो।
केहीबेर हिँडेपछि पुल छेउमा पहिलो सामूहिक तस्बिर खिच्यौं। केहीबेर माछाखोलाको दृष्यावलोकन गरेर अगाडि बढ्यौं। माछाखोलाबाट ९ किलोमिटर कच्चि मोटरेबल बाटो हिँडेपछि पुल कटेर दोभानको रोयल माउन्टेन होटलमा बिहानको खाना खायौं।
खानापछि यात्रा निरन्तर अघि बढ्यो। अग्लाअग्ला चट्टानलाई फोरेर बनाइएको बाटो। तातोपानीसम्म जिप चल्दो रहेछ। त्यहाँ काठमाडौं आउन तयार केही जिप थिए।
तातोपानीमा हामीले मनास्लुका पर्यटन अभियन्ता लाक्पाढुण्डुप लामालाई भेट्यौं। नामरुङ गाउँमा उनले रिसोर्ट चलाउँदै आएका छन्। काठमाडौंमा पढ्ने छोरालाई लिएर उनी काठमाडौं झर्दै रहेछन्।
तातोपानीमा नाम जस्तै निकै तातो रहेछ पानी। बाफ उड्दै थियो। धाराको छेउमा स्यानो कुण्ड रहेछ। तातोपानीलाई छाडेर अगाडि बढेपछि मनोरम झरना देख्यौं। हिँड्ने बाटोमै झरिरहेको झरना। निकैबेर हामी त्यहाँ रमायौं।
चट्टाने पहाडका बीचमा हिँड्दा मिठो अनुभूति भयो। बाटोमा हामीले विदेशी पदयात्री पनि भेट्यौं। सबैका अनुहारमा उत्साहको फूल फूलेको थियो। हामी पनि उत्तिकै उत्साहित थियौं, हाम्रो क्लाइमेक्स विन्दु लार्के पुग्न।
साँझ ४ बजे तिर जगत (१,४८० मिटर) गाउँमा पुग्यौं। ढुङ्गा ओच्छाइएको सफा बाटो। ठाउँठाउँमा माने। ढुङ्गा र काठले बनाइएका घरहरू। हामी क्याप्टेन गुरुङको ‘न्यू मंगोलियन कटेज’मा बस्यौं।
जगतबाट मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सुरु हुन्छ। त्यसैले जगतलाई मनास्लुको प्रवेशद्धार पनि भनिन्छ। सरकारले उत्तरी गोरखाका साविकका ७ गाविसहरू प्रोक, बिही, ल्हो, सामागाउँ, चुमचेत, छेकम्पार र जगतलाई समेटेर सन् १९९८ मा मनास्लु संरक्षण क्षेत्र आयोजना लागु गरेको हो। हाल यी गाउँलाई मिलाएर ‘चुमनुब्री गाउँपालिका’ बनाइएको छ।
मनास्लु क्षेत्रमा घुम्न हामी नेपालीले प्रवेश शुल्क तिर्नु पर्दैन। विदेशीले भने विशेष शुल्क तिर्नु पर्छ। उनीहरूले सेप्टेम्बरदेखि नोभेम्बरसम्म एक साता पदयात्रा गर्दा सरकारलाई ७० डलर तिर्नुपर्छ भने अन्य बेलामा ५० डलर। त्यसबाहेक अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र (एमक्याप)लाई दुईदुई हजार रुपैयाँका दरले तिर्नु पर्छ।
जगतमा गुरुङ समुदायको बास छ। गाउँमा बास बस्नका लागि होटल छन्।
सम्पर्क
खानाः रोयल माउन्टेन होटल, दोभान
कान्छा गुरुङ–९८४६८१९८०७
बासः न्यू मंगोलियन कटेज, जगत
क्याप्टेन गुरुङ–९८४०९२८१०९
पदयात्रा दूरीः २२ किलोमिटर
समयः करिब ८ घण्टा।
तेस्रो दिन
जगत–फिलिम–ड्याङ
मनास्लु हिमाल र लार्के भन्ज्याङ नुब्री भ्यालीमा पर्दछन्। चुम भ्यालीमा पनि पर्यटक डुल्छन्। चुमलाई अहिंसा क्षेत्र बनाइएको छ।
उज्यालो बोकेर फेरी अर्को बिहान आयो। हामी बिहानै जगतबाट निस्कियौं। चाँडै निस्कँदा हिँड्न सजिलो हुन्छ।
बुढीगण्डकी किनारमा बसेको जगतलाई बिदा गरे लगत्तै हामीलाई झरनाहरूले स्वागत गरे। हाम्रो देश यिनै झरना, हिमाल, खोलानाला र थरीथरीका संस्कृतिकै कारण त धनी छ अनि ठाउँठाउँमा झोलुङे पुलहरू। पुल देख्नेवित्तिकै रमाउँदै फोटो खिच्थ्यौं। यस्तै बुढीगण्डकीका विभिन्न रुप हेर्दै हिँड्यौं।
हिँड्दाहिँड्दै गाउँमा पुग्यौ। गाउँको नाम थियो, ‘फिलिम’। फिलिम नाम किन राखियो भन्ने थाहा पाइएन। तर, यो गाउँ चुमनुब्री गाउँपालिकाको केन्द्र रहेछ।
फिलिममा स्यानो बजार छ। होटल तथा लज पनि छन्। निर्माणाधिन सडकैसडक हिँड्दै आएका हामी तल ओर्लिएर झोलुङे पुल तरेर उकालो चढेपछि फिलिम पुगेका थियौं। त्यहाँ केही बेर सुस्तायौं। पानी खायौं। अनि फेरी तरपायँतरपायँ उकालो चढ्यौं।
खासमा मनास्लुमा दुई वटा भ्याली छन्, चुम र नुब्री। नुब्री भ्यालीमा प्रोक, बिही, ल्हो र सामागाउँ पर्छन भने चुममा चुमचेत र छेकम्पार। दुवैतिर भोटे लामाको बसोबास छ। सबै बौद्धमार्गी।
हामी चुम भ्यालीतिर गएनौं। मनास्लु हिमाल र लार्के भन्ज्याङ नुब्री भ्यालीमा पर्दछन्। चुम भ्यालीमा पनि पर्यटक डुल्छन्। चुमलाई अहिंसा क्षेत्र बनाइएको छ। त्यसैले त्यहाँ जनावर र पंक्षीको काटमार चल्दैन। बिहानको खाना चिसापानी (एक्ले भट्टी)को ‘न्यू चुमनुब्री गेष्ट हाउस’मा खायौं। पारिलो घाममा गेष्ट हाउस बाहिर बसेर खाना खाँदा रमाइलो भयो।
खानापछि पनि हामीले मनास्लु पदमार्गलाई पच्छयाइरह्यौं। झोलुङे पुल तरेपछि हामी न्याक फेदीमा पुग्यौं। पुल नतरी सोझै लागे चुम भ्याली पुगिन्छ। पुल त¥यौं। न्याक गाउँलाई ‘लुकेको गाउँ’ भनिँदो रहेछ। तलबाट गाउँ देखिँदैन। हामी अघि बढ्यौं। फेदीमा केही होटल छन्। केही बेर पानी ब्रेक गरेर अगाडि बढ्यौ अझ हामीलाई ५ किमि हिँड्नु थियो बासस्थान पुग्न।
ड्याङ (१,८६० मिटर) गाउँमा पुग्दा झमक्कै साँझ प¥यो। गाउँमा तीन ओटा होटल र केही घर छन्। हामी ‘न्यू मनास्लु ब्याम्बो होटल’मा बस्यौं। नाम जस्तै घर पनि काठले बनाइएका।
सम्पर्क
खानाः न्यु चुमनुब्री गेष्ट हाउस, चिसापानी
दिपेन्द्र गुरुङ–९८४४८४८२३४
...
बासः न्यू मनास्लु ब्याम्बो होटल, ड्याङ
सम्पर्क: रुपबहादुर गुरुङ–९८४६००७५०४
पदयात्रा दूरीः २० किलोमिटरं।
समयः करिब ८ घण्टा।
चौंथो दिन
डयाङ्–बिही फेदी–नामरुङ
गुरु पद्मसंभवले ध्यान र साधनाका लागि संरक्षित क्षेत्र मानेका ७ पवित्र भूमि (बेयुल) मध्ये एउटा हो सेराङ। यस गुम्बामा पद्यसंभवले आठौं शताब्दीमा ध्यान गरेका थिए रे!
मनास्लु पदमार्गमा प्रकृतिको न्यानो अंगालोमा बेरिन त पाइन्छ नै, भोटे संस्कृतिमा पनि रम्न पाइन्छ। तिब्बती शैलीको खानपिन, भेषभुषा, भाषा र संस्कृतिले मोहनी लगाउँछन्।
पदमार्गमा जताततै माने, काने र गुम्बा भेटिन्छन्। यात्रामा यिनलाई दाहिने पारेर हिँड्नु पर्छ। गाउँलेको मुख्य पेसा कृषि। मकै, करु, आलु, फापर, स्याउ, ओखरलगायत फलाउँछन्। पछिल्लो समय पर्यटनले पनि धेरै राहत दिएको छ।
हामी बिहानै ड्याङ गाउँबाट अगाडि बढ्यौं। कहिले उकाली चढ्यौं, कहिले ओराली झ¥यौं। झरना, वनजङ्गल र चराको चिरविर आवाज। कतै खेतका फाँटहरू कतै जङ्गल।
बिही फेदी पुग्ने बेलामा हामीले केही विदेसी भेट्यौं। उनीहरू बिही गाउँको शिरमा रहेको शेराङ गुम्बासम्म पुगेर फर्केका रहेछन्। गाउँबाट ६ घण्टा उकालो चढेमा शेराङ गुम्बामा पुगिन्छ।
बस्तीभन्दा माथि सृङ्गी (शेराङ) हिमालको फेदमा गुम्बा। शान्त एवम् प्राकृतिक वातावरण। गुम्बामा बौद्ध दर्शन सम्बन्धी पढाई हुने जानकारी पाइयो।
हिमाली क्षेत्रमा बौद्ध धर्मका संस्थापक गुरु पद्मसंभवले ध्यान र साधनाका लागि संरक्षित क्षेत्र मानेका ७ पवित्र भूमि (बेयुल) मध्ये एउटा हो शेराङ। यहाँ पद्यसंभवले आठौं शताब्दीमा ध्यान गरेका थिए रे। उनले अनुयायीलाई ध्यान गर्न तोकेको ठाउँलाई ‘किमोलुङ’ भनिन्छ। सेराङ पनि एउटा ‘किमोलुङ’ हो।
हामी शेराङ गुम्बातिर लागेनौ। गाप पुग्नु अगाडि बाटोमा पहिरो गएको रहेछ। एकदमै साबधानीपूर्वक हिँड्यौं। दिउँसोको १ बजे गापस्थित रिक्चिन दोर्जेको ‘नुब्री लामा गेष्ट हाउस’मा खाना खायौं।
गापको शिरमा प्रोक गाउँ छ। त्यसको शिरमा कालताल (३,६०० मिटर) छ। कालताल हाम्रो योजनामा थिएन त्यसैले हामी नामरुङ (२,६३० मिटर) तिर लाग्यौं। बुढीगण्डकीको तिरैतिर जङ्गलको बाटो। नामरुङ पुग्ने बेला दुई घण्टा जति ठाडो उकालो चढ्नु पर्ने।
नामरुङ पुग्नु अगाडि हामी पर्यटनकर्मी लाक्पाढुण्डुप लामाको स्याउबारी घुम्यौं। उनले स्याउका विभिन्न परिकार बनाउँछन्। अर्गानिक स्याउ मिठो! पदमार्गमै पसल छ जहाँ स्याउका परिकार किन्न पाइन्छ।
नामरुङ बस्तीमा पनि भोटे समुदायको बसोबास छ। पुरानो गुम्बा र झरना यहाँका आकर्षण हुन्। यहाँ पर्यटकीय सुविधाका होटल तथा रेष्टुराँ छन्। हामी लाक्पा दाइको ‘नुब्री फोर सिजन रिसोर्ट’मा बस्यौं।
सम्पर्क
खानाः नुब्री गाप लामा गेष्ट हाउस, गाप
सम्पर्क: रिक्चिन दोर्जे–९८६११४८९७३
बासः नुब्री फोर सिजन रिसोर्ट, नामरुङ
सम्पर्क: लाक्पा ढुण्डुप लामा–९८५११५८०८८
पदयात्रा दूरी: १९ किलोमिटर
समयः ८ घण्टा।
पाँचौं दिन
नामरुङ–लिही–ल्हो
पदमार्गका बीचमा ढुङ्गैढुङ्गाको कलात्मक माने बनाइएका । ठाउँठाउँमा पवित्र बौद्ध मन्त्र लेखिएका लुङ्दारहरु । वातावरण नै आध्यात्मिक!
बिहानै केही साथी गाउँभन्दा माथिको झरना हेर्न गए। त्यसपछि हामीले ब्रेकफास्टमा भेज थेन्दुक खायौं। र, यात्रालाई अगाडि बढायौं। पदमार्गका बीचमा ढुङ्गैढुङ्गाको कलात्मक माने बनाइएका छन्। ठाउँठाउँमा पवित्र बौद्ध मन्त्र लेखिएका लुङ्दार टाँगिएका छन्। वातावरण नै आध्यात्मिक!
गाउँका बारीमा दिदीबहिनी खेतीबालीको काम गर्दै थिए। हामी निरन्तर हिँडिरहेका थियौं। उकालो चढेर लिही गाउँको प्रवेशद्धारमा पुग्ने बेलामा हामीले झलक्क हिमाल देख्यौं। ‘हिमचुली’ हिमालले स्वागत गरे हाम्रो। त्यस अगाडि हामीले सृङ्गी र अन्य केही हिमचुलीको मात्र दर्शन पाएका थियौं। हिमाल देखेपछि तस्बिर खिच्न मन लागि हाल्ने। नअघाउन्जेल खिच्यौं।
लिही गाउँ पनि सुन्दर छ। गुचुमुच्च बस्ती। ढुङ्गा, माटो, काठ र टिनबाट बनेका घरहरू। पदमार्गमा चौंरी र खच्चड भेटिन्थे। जिउभरि भारी बोकेर हिँडेका खच्चड।
हामी लिहीबाट स्यो गाउँ हुँदै ल्हो (३,१८० मिटर) पुग्यौं। मनास्लु हिमाल (८,१६३ मिटर)को सुन्दर छवि ल्हो गाउँबाट देखिन्छ। हामी मध्यान्हमा पुगेका थियौं। घामको उज्यालोमा हिमाल टल्किरहेका थिए।
मनास्लु हिमालको चुचुरामा सबैभन्दा पहिला सन् १९५६ मे ९ मा जापानी नागरिक टोसी इमानिसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पा पुगेका थिए। त्यस यता पनि सयौंले मनास्लु चुमिसके। हामीले भने टाढैबाट दर्शन ग¥यौं।
ल्हो गाउँ पुग्दा चैत्यको पुननिर्माण गरिएको रहेछ। त्यसको उद्घाटन कार्यक्रम चलिरहेको थियो। नाचगान र प्रवचन पनि। हामीले त्यहाँको कला र संस्कृति हेर्ने मौका पायौं।
मौसम घमाइलो थियो। १ बजेतिर बिहानको खाना ‘टासी देले होटल’मा खायौं। खानापछि केही बेर आराम गरेर ‘एक्लमटाइज’ हुन बस्ती भन्दा मास्तिरको गुम्बा र भ्यू पोइन्टमा गयौं।
त्यहाँबाट फर्कंदा साँझ पर्यों। राती अबेरसम्म त्यहाँ नाचगान चलिरहेको थियो।
सम्पर्क
टासी देले होटल, ल्हो गाउँ
सुनिता गुरुङ–९८०८११९१७१
पदयात्रा दूरीः ११ किलोमिटर
समयः ५ घण्टा
छैटौं दिन
ल्हो–स्याला–सामागाउँ
हामीले तस्बिर र भिडियोमा देख्दै आएको मनास्लु हिमालको सुन्दर दृश्य त ल्हो गाउँबाट खिचिएको पो रहेछ ! होटलका कौसी, आँगन जताततैबाट हिमालको दर्शन पाइने।
सूर्योदयका बेला मनास्लु हिमाल सुनौलो देखियो। हामी सबैका क्यामेरा र मोबाइल मनास्लुतिर फर्केका थिए। वास्तवमा हामीले तस्बिर र भिडियोमा देख्दै आएको मनास्लु हिमालको सुन्दर दृश्य त ल्हो गाउँबाट खिचिएको पो रहेछ !
होटलका कौसी, आँगन जताततैबाट हिमालको दर्शन पाइने। गाउँभन्दा माथि हेलिप्याडबाट त सल्लाघारीको पृष्ठभूमिमा मुस्कुराईरहेका हिमाल एक टकले हेरिरहन मन लाग्छ।
विहान केहीबेर हिमालको सुनौलो मुस्कान हेरेर ल्हो गाउँलाई बिदा गर्दै अगाडि बढ्यौ। मनास्लु हिमाललाई शिर बनाए बसेको बस्ती उब्जाउ बारीको छेउमा रहेको ल्हो सुन्दर छ। कहिले मनास्लु त कहिले हिमालचुलीको दर्शन। जङ्गलको बाटो। ल्होबाट करिब ३ घण्टा ठाडो जङ्गलको उकालो हिँडेपछि रमणिय उपत्यका ‘स्याला’मा पुग्यौं।
अहो, स्यालामा चारैतिर हिमालै हिमाल। बीचमा होटलैहोटल।
कति उज्यालो गाउँ !
उकालो चढेर स्यालाको कानीबाट भित्र पस्ने वित्तिकै स्वर्गमा पुगेझैं लाग्यो। त्यहाँ हामी निकैबेर बस्यौं। खाजा खायौं। सामूहिक तस्बिर पनि खिच्यौं।
हाम्रो गन्तव्य सामागाउँ (३,५२० मिटर)। स्यालाबाट तरपायँतरपायँ हिँड्दा सामागाउँ पुगिन्छ। ठाउँठाउँमा फराकिला चउर, निलो आकाश अनि वरिपरि हिमाल। ल्हो गाउँबाट करिब १५ किलोमिटर हिँडेपछि सामागाउँ पुगिन्छ। सफा खोला, गुचुमुच्च बस्ती, ससाना घर, घरको आँगनमा चौंरी गाईहरू। प्रबेशद्धारमै गुम्बा! सुन्दर छ सामागाउँ।
सामान्यतयाः विदेसी पर्यटक सामागाउँमा दुई रात बस्छन्। उनीहरू एक्लमटाइज हुन कोही पुङ्गेन जान्छन् त कोही मनास्लु वेस क्याम्प, अनि कोही वीरेन्द्रताल हुँदै मिलारेपा केभ (नाल्जोर फुक) पुग्छन्।
हाम्रो भने सामागाउँमा एक रात मात्र बस्ने योजना थियो। यहाँ नयाँ तथा पुराना घर, प्राचीन गुम्बा, होटल, रेष्टुराँ, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य केन्द्रलगायत सुविधा छन्। त्यहाँका साहसिक हिरो मिङ्मार लामालाई सम्पर्क गरेर हामीले होटल व्यवस्थापन गरेका थियौं, मण्डला होटलमा। त्यहाँ खाना खायौ। केही समयमा मिङ्मार पनि आइपुगे। केहीबेर आराम गरेर हामी एक्लमटाइज हुन पुराना गुम्बा दर्शन गर्दै वीरेन्द्र तालतिर उकालो चढ्यौं।
एक पटक राजा वीरेन्द्र ताल घुम्न आएका रहेछन्। त्यसैले उनकै नाममा तालको नामकरण गरिएको रे ! मिङ्मारले सन् २०२१ मा पहिलो पटक मनास्लु हिमाल चढेका त्यो पनि बिना अक्सिजन। उनैले हामीलाई तालसम्म पु¥याए। मनास्लुको हिमपहिरो बगेर तालसम्मै आइपुगेको थियो। हामी पुग्दा हिमाल भने बादलभित्र लुकिसकेको थियो।
सहयोगी मिङ्मारलाई धन्यवाद !
वेस क्याम्प पनि जान मन थियो। महायोगी मिलारेपाले ध्यान गरेको गुफामा पनि जान पाएको भए हुन्थ्यो। तर, हामीसँग समय थिएन। ११ औं शताब्दीमा तिब्बतका महायोगी मिलारेपा ध्यान बसेको ‘नाल्जोरफुक’ गुफालाई गुम्बामा रुपान्तरण गरिएको छ। जङ्गल बीचमा गुम्बा भएको मिङ्मारले जानकारी गराए।
सम्पर्क
मण्डला होटल, सामागाउँ
बास: राजु लामा–९८६९६४१२१६ र ९७४५५७२७०६
पदयात्रा दूरी: १५ किलोमिटर
समयः ५ घण्टा
सातौं दिन
सामागाउँ–साम्दो
हाई अल्टिच्युडमा पुग्दा दिउँसो सुत्नु हुँदैन। बरु एक डेढ सय मिटर थप उचाई लिएर ओरालो झरेमा भोलिको हिँडाई सजिलो हुन्छ।
दुईतिर अग्ला पहाड। छेउमा बुढीगण्डकी। गण्डकीको किनारमा पदमार्ग। यात्रामा केही भारतीय र विदेसी पदयात्री पनि भेटिए। पर्यटकीय सिजनको अन्तिमअन्तिम भएकाले होला पदयात्रीको संख्या थोरै थियो।
साम्दो गाउँ पुग्ने बेलामा हामीले बुढीगण्डकी त¥यौं। र, उकालो चढ्यौं। गाउँमा केही घर, गुम्बा, माने र काने रहेछन्।उत्तरी गोरखाको अन्तिम गाउँ नै साम्दो (३,७०० मिटर) हो। यहाँबाट एक दिन कस्सिएर हिँडेमा तिब्बती सिमा रुइला पुगिन्छ। पहिलापहिला गाउँलेहरू त्यहीँबाट सामान ल्याउँथे। कोभिड–१९ पछि चिनले नाका खुला नगरेको गाउँलेले बताए।
हामी मध्यान्हमा ‘होटल तिब्बत’मा पुग्यौं। भर्खरै बनाइएको होटल रहेछ। त्यहाँ खाना खायौं। आराम ग¥यौं। भोलिका लागि सजिलो बनाउन अर्थात् एक्लमटाइज हुन हामी अपरान्ह गाउँमाथिको डाँडामा चढ्यौं।
गाउँमा छिट्टै पुगियो भनेर आराम गरेर मात्र बस्नु हुँदैन। हाई अल्टिच्युडमा पुग्दा दिउँसो सुत्नु हुँदैन। बरु एक डेढ सय मिटर थप उचाई लिएर ओरालो झरेमा भोलिको हिँडाई सजिलो हुन्छ। हिमालको काखमा रहेको साम्दो गाउँ पनि सुन्दर छ।
सम्पर्क
होटल तिब्बत, साम्दो
दावा साङ्पो–९७६५८२९६३९
पदयात्रा दूरीः १५ किलोमिटर
समयः ५ घण्टा
आठौं दिन
साम्दो–धर्मशाला
हामी बेलाबेलामा साम्दो गाउँतिर फर्केर हेथ्र्यौं। बस्ती माथिको हिमाल मुसुक्क मुस्कुराएर शुभ यात्रा भनिरहन्थ्यो।
पहिलापहिला पदयात्रीहरू साम्दो गाउँमा बसेर लार्के भन्ज्याङ पार गरी मनाङको भिमथाङमा बास बस्न पुग्थे। बीचको धर्मशाला (४,४६० मिटर)मा खाने तथा बस्ने सुविधा थिएन। पछिल्लो डेढ दशक यता भने होटल सुविधा छ।
अचेल धर्मशालामा तीन ओटा होटल छन्। एकै पटक सयौं पदयात्री बास बस्न सक्छन्। हिमालको काखमा। चिसो भूगोलमा।
हामी साम्दोबाट बिहान खाजा खाइवरी हिँडेका थियौं। पुल तर्नेवित्तिकै लार्के बजार पुग्यौं। त्यहाँ पुराना घर त छैनन्। हालसालै एउटा होटल खुलेको छ। पहिलापहिला तिब्बतको सामान यही बजारमा ल्याएर किनबेच हुन्थ्यो रे! लार्के बजार काटेपछि एक जना पदयात्री दाइलाई हिँड्न गाह्रो भयो। उनले फर्कने निर्णय गरे। उनको साथी बनेर अर्का एकजना पनि फर्किए। हाम्रो समूहबाट दुई जना कम भए।
हामी रुइला नाका जाने सडक छाडेर तेरपायँतेरपायँ उकालोतिर लाग्यौं। बेलाबेलामा साम्दो गाउँतिर फर्केर हेथ्र्यौं। बस्ती माथिको हिमाल मुसुक्क मुस्कुराएर शुभ यात्रा भनिरहन्थ्यो। अगाडिका हिमालले ढिलो नगरी अघि बढ भनेझैं लागिरहन्थ्यो।
उचाईको यात्रा, थकाई त लाग्ने नै भयो। ठाउँठाउँमा हिँड्दै अघि बढ्यौं। १२ किलोमिटर हिँडेर धर्मशालामा पुग्दा झलमल घाम लागिरहेकै थियो। खाना तयार थियो। हामीले होटल पिसमा खाना खायौं।
खाना पछि केहीले आराम ग¥र्यौं। धेरै जसो पदयात्रीहरू एक्लमटाइज हुन उकालो चढे। राती निद्रा परेन। हुन त जति माथि गयो उति निद्रा पर्दैैन।
सम्पर्क
होटल पिस, धर्मशाला
कर्म सेम्दुक लामा–९८४६८८२८६६ र ९८४६८८२४४५
पदयात्रा दूरीः १२ किलोमिटर
समयः ५ देखि ६ घण्टा (ठाडो उकालो उचाई चढ्नु पर्ने)
नवौं दिन
धर्मशाला–लार्के भन्ज्याङ–लार्के फेदी
लार्के भन्ज्याङमा पुग्दा प्रकृतिको अनौठो रुप देखेर नतमस्तक भएँ, यो गरुँ कि त्यो गरुँ। सबै बिर्सेर आँखा बन्द गरेर सुन्दर प्रकृतिलाई मनभरी कैद गरिदिएँ।
हावा नचल्दै अग्ला भन्ज्याङहरू पार गर्नु पर्छ। त्यसैले हिमाली भेगको यात्रामा १२ बजेभन्दा पहिल्यै भन्ज्याङ पार गर्ने योजना बनाउनु पर्छ। हामी पनि राती तीन बजे नै उठ्यौं। खाजा खायौं। र, हेडलाइट तथा टर्चलाइटको उज्यालोमा उकालो चढ्यौं।
लहरै लाइट बालेर हिँडेका पदयात्री देख्दा जुनकीरीको लर्कन जस्तो। हिँड्दै जाँदा सेता हिमाल खुल्दै आए।धर्मशालाबाट एक जना पदयात्री मित्रले अघि बढ्ने आँट गरेनन्। उनी पनि फर्के। हिँड्दै जाँदा हाम्रो समूहका केही साथीलाई पनि सजिलो भएन। त्यसैले हामीले सुस्तरीसुस्तरी पाइला चाल्यौं। हतार गरेनौं। आखिर समूहमा हिँडेपछि सबैको ख्याल गर्नै पर्छ।
हाई क्याम्पमा एउटा टेन्ट गाडिएको रहेछ। त्यहाँ चिया पाइयो। हामीले कालो चिया खायौं। आराम ग¥यौं। हामी लामबद्ध भएर हिँड्यौं। दायाँ, बायाँ हिमालैहिमाल, हिमालको छहारीमा हिँड्यौं।
लार्केचुली र अन्य केके नाउँ गरेका हिमाल अनि चट्टानैचट्टानको बाटो। कतै तेर्सो त कतै ठाडै उकालो। जति हिँड्यो उति बाटो थपिएझैं लाग्ने। घण्टौं हिँडिसक्दा पनि लार्के भन्ज्याङ आएन। हिमाल हेर्दा त्यहीं नजिकै देखिन्छ। हिँड्न भने घण्टौं लाग्ने। जब हिउँमा टेकेर हिँड्न सुरु भयो। तब बेग्लै आनन्द आयो। बिहानदेखि एकनासको उकालो हिँडेर थाकेका हामी क्रयाम्पन लगाएर हिउँमा टेक्न पाउँदा सबै रमायौं। पहिलोपटक क्रयाम्पन लगाएर हिउँमा हिँड््दा हिमाल चढेको अनुभूति भयो।
सबै रमाउँदै हिँडेका देख्दा बालकहरू आफूले चाहेको पाएपछि जसरी खुसी हुन्छन्, त्यही खुसीको अनुभूति छाएको थियो सबैका अनुहारमा।
केहीबेरमै साथीहरू खुसीले चिच्याउन थाले, लार्के भन्ज्याङ पुग्यौं भनेर। आँखा डुलाएर हेरं, अहो ! कति सुन्दर भन्ज्याङ, हिउँ नै हिउँले ढाकेका। सेताम्मे । आँखैले नभ्याउने फराकिलो भन्ज्याङ। छेउमा बोर्ड अनि हिमाली हावाले फर्फराइरहेका रंगिन लुङडारहरू। बोर्डमा लेखिएको थियो, ५,१०६ मिटर तर, हाम्रो जिपिएसले भने ५,१५५ मिटर देखायो।
हाम्रो पदयात्राको क्लाइमेक्स विन्दु, ८ दिन हिँडेर हामी त्यहाँ पुगका थियौ। भन्ज्याङको सौन्दर्यले सबै थकाई बिर्साइदियो।
मनास्लुका बारेमा धेरै कुरा सुनेकी थिएँ। धेरै लेख पढेकी थिएँ। तस्बिरहरू हेरेकी थिएँ। पढेको, सुनेको र तस्बिरमा हेरेकोभन्दा लाखौं गुना सुन्दर रहेछ मनास्लु।
वास्तबमा म त्यहाँ पहिलो पटक पुगेकी थिएँ जहाँ मभन्दा पहिला मेरा हजारौं सपना र कल्पनाहरू मात्र पुगेका थिए।
जब विपनामा पहिलो पटक भन्ज्याङमा पाइला टेकें तब म स्तब्ध भएँ। खुसीले भनौं या डरले या उनको सौन्दर्यले अलमलमा परे
फोटा खिचौं कि ?
हिउँलाई अंगालो मारेर बसौं कि ?
हिउँसँग खेलौं कि ?
या देखिएका दृश्यलाई आँखा र मनभरी कैद गरी राखौं कि ?
प्रकृतिको अनौठो रुप देखेर नतमस्तक भएँ, यो गरुँ कि त्यो गरुँ भयो। सबै बिर्सेर आँखा बन्द गरेर एक छिनका लागि सुन्दर प्रकृतिलाई मनभरी कैद गरिदिएँ।
थाहा छैन हिमालसँग त्यस्तो के छ ? जसले सबैलाई आफूप्रति मोहित तुल्याउँछ। जतिसुकै गाह्रोलाई भुलाएर निस्वार्थ प्रेमको अंगालोले बेर्छन् हिमालले।
यहि सुन्दर हिमालको अंगालोमा म पनि बेरिएँ। हजारौं पदयात्रीले त्यहाँ पाइला टेकिसके। तर, लार्केभन्ज्याङ उस्तै मुस्कान बोकेर पदयात्रीको प्रतीक्षामा बसिरहेकै छिन्। सबैलाई आफ्नो प्रेम र सौन्दर्यको अंगालो बेर्न एकनासले बाटोमा आँखा बिच्छ्याएर बसेकी छिन् लार्के भन्ज्याङ।
भन्ज्याङमा धेरैबेर बस्न सकिँदैन। चिसो हावाले समस्या हुन्छ। त्यसैले करिब १५ मिनेट बसेर हामी ओरालो झ¥यौं। अबको बाटो भने टोपी नै खसाउने ठाडो ओरालो। उकालो चढेपछि ओरालो झर्नै पर्ने प्रकृतिको नियम। अब हामी मनाङ जिल्लामा थियौं।
धर्मशालाबाट फेदीसम्मको बीचमा कुनै घर तथा होटल छैनन्।
हामी पनि ओरालो झ¥यौं। ओरालो झर्दा मनमा अचम्मको अनुभूति भइरहेको थियो। मानौं केही चिज पछाडि छुटे जस्तो ! जतिजति ओरालो झर्दै गयौ त्यति नै भन्ज्याङको चित्र आँखामा छाइरह्यो। फेरी एकचोटि भन्ज्याङ पुग्न मन लाग्यो तर हामीसँग समय थिएन।
मनभरी लार्के भन्ज्याङको स्मृति बोकेर फर्कियौं। करिब ३ घण्टामा फेदीको गुरुङसेनी होटलमा पुग्यौं। चारैतिर हिमालले घेरिएको बस्तीमा। हामीले यहाँबाट अगाडि नबढ्ने निर्णय ग¥यौं। अनि ३ वटा होटलमा बाँडिएर बस्यौ।
सम्पर्क
गुरुङसेनी होटल, लार्के फेदी
थुमकुमारी गुरुङ–९८४६३५३१८६
पदयात्रा दूरीः १५ किलोमिटर
समयः ६÷७ घण्टा
दसौं दिन
लार्के फेदी–भिमथाङ–गो गाउँ
हामी लार्के बजारसम्म बुढीगण्डकीको तिरैतिर आएका थियौं। भिमथाङ काटेपछि भने दुधखोलाको तिरैतिर हिँड्न सुरु ग¥यौं। दुधखोला धारापानीमा पुगेपछि मरस्याङ्दी नदीमा समाहित हुँदो रहेछ!
यात्राको गन्तव्य भेटिएपछि मनमा संतोष हुन्छ। हामीले सफलतापूर्वक लार्के भन्ज्याङ पार गरेका थियौं। त्यसैले राती मिठो निद्रा प¥यो।
बिहानै हामी ओरालो झ¥यौं। ओरालिँदा हामीले ‘पङ्कर’ नामक हिमताल देख्यौं। तालको नजिक त पुगेनौ। तर, टाढैबाट दर्शन ग¥यौं।
करिब दुई घण्टा हिँडेपछि भिमथाङ पुगियो। समथर खर्कमा हिमाली बस्ती। सबै घर, सबै होटल। त्यहाँ पदयात्री आराम गरिरहेका थिए।
हामी भने एकैछिन बसेर हिँड्यौं। अब चाहिँ मनास्लुको पछाडिपट्टिको बेग्लै रुप देखियो। अरु हिमचुली पनि देखिए। अगाडि बढ्दै जाँदा खोला छेउमा चौंरी गाई चरेको दृश्य मज्जाको देखियो।
हामी लार्के बजारसम्म बुढीगण्डकीको तिरैतिर आएका थियौं। भिमथाङ काटेपछि भने दुधखोलाको तिरैतिर हिँड्न सुरु ग¥यौं। माथि हिमपहिरो पनि देख्यौं। दुधखोला धारापानीमा पुगेपछि मरस्याङ्दी नदीमा समाहित हुँदो रहेछ!
ओरालो लाग्दा हामीले भोजपत्रका जङ्गल छिचोल्यौं। पहिलापहिला हाम्रा पुर्खाले भोजपत्रमा तमसुक वा लेखोट लेख्थे र!
बिहानको खाना खान भने चौंरी खर्कमा पुग्यौं। त्यो दिनको यात्रा ओरालैओरालो। खानापछि पनि हामीले दुधखोला पच्छयाइरह्यौं। बाटामा डाले चुक (सिबाकथ्रोन)का थुप्रै बुटा पनि देख्यौं। गुराँसे जङ्गल पनि।
साँझपख हामी बास बस्न ‘गो’ गाउँमा पुग्यौं। त्यहाँका बोर्डमा ‘गोवा’ लेखिएको रहेछ। भारतको समुन्द्री सहर गोवाको बारेमा धेरै सुनेका थियौं। तर, हाम्रै नेपालमा पनि गोवा रहेछ भन्ने लाग्यो।
पछि बुझ्दा गाउँको खास नाम ‘गो’ रहेछ।
सम्पर्क
निवार्ण गार्डेन इन, गो गाउँ
एलिजा घले–९८४६१२१५०५
पदयात्रा दूरीः २५ किलोमिटर
समयः ७ घण्टा
एघारौं दिन
गो–तिल्चे–काठमाडौं
गो गाउँमा केही होटल छन्। त्यहाँबाट मोटरेबल सडकैसडक हामी अगाडि बढ्यौं। करिब ३ घण्टा हिँडेपछि गुरुङ बस्ती तिल्चेमा पुग्यौं। दुधखोला किनारको बस्ती तिल्चेमा केही होटल र गुम्बा पनि छन्।
हिउँदमा तिल्चेबाट धारापानीसम्म जिप चल्छन्। हामी पनि तिल्चेबाट रिर्जभ्ड जिपमा लमजुङ सदरमुकाम बेसिसहरसम्म गुड्यौं। बेसिसहरमा खाना खाएर फेरी एउटा रिर्जभ्ड मिनिबसमा काठमाडौं फर्कियौं।
यसरी एघारौं दिनमा हाम्रो यात्रा पुरा भयो।
अन्त्यमा
मनास्लु परिक्रमा पदयात्रामा जानु अगाडि मनमा धेरै प्रश्न थिए।
कस्तो होला मनास्लु?
पदमार्ग धेरै अप्ठेरो पो छ कि?
लेक लाग्ने पो हो कि?
पदयात्राबाट फर्किंदा भने आँखा तथा मनभरी थुप्रै अनुभव र अनुभूति सँगालेर फर्कें। स्मृतिमा ती क्षण ताजै छन्। इच्छाशक्ति, धैर्य र प्राकृतिक खानपानले सजिलै लार्के भन्ज्याङ पार गर्न सकिन्छ। पदयात्राबाट पहिलो कुरा, समाजलाई नजिकबाट बुङ्घन पाइन्छ। दोस्रो कुरा, प्रकृतिको नियमलाई बुझ्न पाइन्छ। तेस्रो कुरा, उकालीओरालीमा पसिना चुहाउँदा शरीरबाट विकार बाहिरिन्छ। जोर्नीहरू बलिया हुन्छन्। अनि स्वस्थ भइन्छ।
त्यसैगरी हिँड्दा आफ्नो देशप्रति प्रेम बढ्छ। भातृत्व प्रेमको विकास हुन्छ। आन्तरिक पर्यटनको विकास हुन्छ जसले आफ्नो गाउँठाउँलाई उकास्न सहयोग पुग्छ। त्यसैले एक ठाउँका मान्छे अर्को ठाउँ घुर्मौ, गाउँका मान्छे सहर घुमौं। सहरका मान्छे गाउँमा घुमौं।
हामी त पुग्यौ सुन्दर लार्के भन्ज्याङमा। के तपाईलाई पनि लार्के भन्ज्याङमा पुगेर प्राकृतिक सौन्दर्यको साक्षी बन्ने इच्छा छैन?
कसरी पुग्ने ?
काठमाडौंबाट ११ दिनमा मनास्लु परिक्रमा पदयात्रा पुरा गर्न सकिन्छ। काठमाडौंबाट थानकोट, धादिङबेसी, सोतिखोला हुँदै माछाखोलासम्म १५५ किलोमिटर बसमा, समय ७ घण्टा। माछाखोलाबाट मनाङको तिल्चे गाउँसम्म हिँड्ने। तिल्चेबाट धारापानी, बेसिसहर हुँदै काठमाडौं फर्कने।
के बोक्ने ?
लामो दूरीको पदयात्रा गर्दा राम्रोसँग लिस्ट बनाएर आवश्यक सामान बोक्नुपर्छ। सामान सही छनोट हुनुपर्छ। अनावश्यक र धेरै सामान बोक्दा भारी बढी भएर यात्रा अप्ठेरो हुन्छ। सही तरिकाले सामान छनोट गर्नुका साथै सही तरिकाले बोक्नुपर्छ।
लामो पदयात्रा गर्दा बोक्नुपर्ने सामानः
- पछाडी भिर्ने ट्रेकिङ ब्याग– १
- डाउन ज्याकेट(माइनस तापक्रममा पनि लगाउन मिल्ने न्यानो)– १
- हावा छेक्ने विइन्डसिटर ज्याकेट– १
- घाँटीमा लगाउने न्यानो मफलर– १
- न्यानो थर्मोकोट(आवश्यकताअनुसार)– २÷३ जोर
- भित्र लगाउने इनर लुगा(आवश्यकताअनुसार)
- ट्राउजर(हिँड्न सामान्य १ र हावा छेक्ने बाक्लो १ ओटा)
- पन्जा(हिँड्दा लगाउन सामान्य १ र हावा छेक्ने बाक्लो १ जोर)
- ट्रेकिङ वाटरपु्रफ बुट
- जगेडा चप्पल– १ जोर
- घाम छेक्ने क्याप– १
- ट्रेकिङ लौरो अनिवार्य (दुई वटा बोकेमा हिँड्न सजिलो हुन्छ)
- सनग्लास(कालो चश्मा)– १
अन्य
- क्यामेरा, नोटबुक, म्याप, मोइस्चराइजर, सनक्रिम, लिप गार्ड, ट्वाइलेट पेपर(अनिवार्य), बर्सादी आदि।
- साबुन, टावल, टुथब्रस, पेस्ट, मोबाइल चार्जर, पावर व्याङक आदि।
- आवश्यक पैसा साबधानीका साथ बोक्ने।
पदयात्राका सहयोगीहरू
हामीलाई एकदुई दिन पुग्दा धेरै रमाईलो र स्वर्गजस्तो लाग्ने हिमाली भेगको जीवन निवार्ह भने सजिलो हुँदैन। सबैको साथ र सहयोग बिना जीवन धान्न सकिँदैन। हाम्रो पदयात्रामा पनि धेरैको सहयोग पाएका थियौं।
तिनलाई हृदयदेखि नमन गर्दै धन्यबाद !
खच्चड
टिङ्टिङ् बजेको आवाजले सबैको ध्यानाकर्षण गर्छ। खच्चडको घाँटीमा घण्ट झुण्ड्याइएको हुन्छ। आवाज सुन्नेवित्तिकै भनेको सुनिन्छ– खच्चड आयो, बाटो छोडौं। जिउभरी भारी बोकेर लामबद्ध आउँदा रहेछन् खच्चड। हामीभन्दा अनुशासित। अगाडिको खच्छड नहिँडेसम्म अरु नहिँड्ने।
खच्चडलाई बाटो छोड्दा हामीले कुना च्याप्नु पर्छ। छेउतिर बसेमा खच्चडले धकेलेर तल खस्ने सम्भावना हुन्छ। हिमाली भेगमा होस् वा अन्य ठाउँमा खच्चड वा घोडा आएमा कुनातिर च्याप्ने।
घतलाग्दो कुरा, सबै खच्चड अगाडि हुन्थे भने खच्चड ड्राइभर चाहिँ पछाडि। खच्चड ड्राइभरभन्दा पनि पछाडि एउटा खच्चड हुन्थ्यो। एउटा खच्चड किन पछाडि भनेर सोध्दा उनीहरू भन्थे, सुरक्षाका लागि। कस्तो अचम्म ती अवोध जनावरले भारी पनि बोक्नु पर्ने र पछाडि जङ्गली जनाबर आएमा मालिकको सुरक्षामा पनि उनीहरू नै होमिनु पर्ने !
हामी भगवान भन्नेवित्तिकै चार हात तथा चार टाउका भएका विचित्रका हुन्छन् कि भन्ने सोच्छौ। ढुङ्गामा भगवान खोज्छौं। तर, भगवान हाम्रो सामु जुनसुकै रुपमा पनि हुन्छ भन्ने कुरा बिर्सन्छौं। मैले ती खच्चडमा भगवानको रुप देखें जसले निरन्तर त्यहाँको जनजीवनमा सुविधा पु¥याइ रहेका छन्। हाम्रो लागि बिना स्वार्थ जीवन समर्पित गरिरहेका छन्। भगवानलाई पुज्न मन्दिर नै पुग्नु पर्दैन, हामी वरपर नै विभिन्न रुपमा हुन्छन्। बस्, तिनको सहयोगलाई बुझे पुग्छ।
यात्रामा धेरै कुरा देख्न पाइन्छ। प्रकृतिका विभिन्न रुप। गाउँले जीवनशैली। मेरा नजरहरू भने सधैं ती अबोध खच्चडमा अडिन्थे। हामी मान्छे अलिक बढी भारी भएमा ‘मलाई बढी भयो’ भनेर अरुलाई बोकाउँछौ, तर ती अवोध खच्चड भने भारीले थिचिए पनि मौन भएर हिँडिरहेका हुन्छन्। कुनै गुनासो नगरी।
भरिया
भरिया पनि निकै मिहेनती हुन्छन्। कुनै पनि काम आफैंमा सानो वा ठुलो हुँदैन। जिविकोपार्जनका लागि गरिने मिहिनेत नै काम हो। हामीलाई आफ्नै शरीरको भारी नै बोकेर ठाडो उकालीओराली गर्न गाह्रो तर उनीहरू भारी बोकेर हामीभन्दा फटाफट हिँड्ने। चाँडै गन्तव्यमा पुग्ने।
अझ माथि पुगेपछि पनि देख्नेवित्तिकै मुसुक्क हाँसेर ‘गाह्रो त भएन बैनी’ भनेर सोध्थे। थाकेका होलान् भनेर हाम्रो सामान कोठाकोठामा पु¥याइदिन्थे। भान्छामा पनि सहयोग गर्थे। हिमाली भेगमा पदयात्रा गर्दा भरियाकाे निकै ठुलाे याेग्दान हुन्छ। उनीहरूको साहस र सहयोगलाई सलाम !
शरीरलाई जुन रुपमा ढाल्यो त्यस्तै हुने प्रकृतिको नियम। भरियाको पनि शरीर, हाम्रो पनि शरीर। स्वस्थ रहेमा शरीर जहाँ पनि जान सक्ने क्षमताको रहन्छ। हाम्रो समूहका भरिया दाइ र दिदी दुबै हँसिला थिए। उनीहरूलाई देख्नेवित्तिकै हामीलाई हिँड्ने साहस बढ्थ्यो। धैर्य हुन प्रेरणा मिल्थ्यो।
स्थानीय / हाेटल
हामीलाई देख्नेवित्तिकै दुई हात जोडेर उनीहरू भन्थे, टासिदेले ! हामी पनि प्रतिउत्तरमा नमस्ते/ टासिदेले भन्थ्याैं।
उनीहरूको सहयोग बिना हाम्रो यात्रा सम्भव हुँदैनथ्यो। बुङ्घनु पर्ने कुरा, हामी जहाँ जान्छौं त्यहाँको रहनसहन, जीवनशैली र कलासंस्कृति सबैको सम्मान गर्नु पर्छ। कसैलाई अप्ठेरो हुने गतिविधि गर्नु हुँदैन।
हामीमा घुम्ने संस्कृति विकास भएको छ। यसरी घुम्दा आन्तरिक पर्यटन विकास हुन्छ। गाउँघरको विकासमा सहयोग पुग्छ। आखिर आन्तरिक पर्यटक नै दिगो पर्यटनका आधार हुन्।
सबैतिर नेपालीमैत्री पर्यटन विकास हुन जरुरी छ। हामी एकले अर्कालाई साथ दिँदै अघि बढ्नु पर्छ। ठिक समयमा पुग्ने, ठिक समयमा सुत्ने र ठिक समयमा उठ्ने गर्नुपर्छ। चाँडै उठेर होहल्ला गर्ने वा अरुलाई अप्ठेरो हुने गतिविधि गर्नु हुँदैन। होटलमा अरु पाहुना पनि हुन्छन्। कामले थाकेका होटलवाला पनि हुन्छन्। त्यसैले अनुशासित बनौं।
जानुभन्दा पहिल्यै हाेटलमा सम्पर्क गर्ने बानी बसालाैं।
गाइड
हिमाली भेगमा गाइड बिना यात्रा गाह्रो हुन्छ। अझ एक्लै पदयात्रा गर्दा राम्रो गाइड आवश्यकता पर्छ। खाना व्यवस्थापन, होटल व्यवस्थापनदेखि लिएर कसैलाई अप्ठेरो भएमा सहयोग गर्ने पथप्रदर्शकहरू निकै मिहिनेती हुन्छन्। हाम्रो समूहमा होमराज तामाङ गाइडको भूमिकामा थिए। निकै हँसिला अनि सहयोगी। आवश्यकता पर्दा नसक्नेका झोला समेत बोकेर हिँड्थे। कसैलाई अप्ठेरो परेमा दौडेर अगाडि आएर सहयोग गरिहाल्ने। यसरी गाइडहरू अनुभवी र सहयोगी हुन्छन्।
लेक लाग्नु
सामान्यतयाः पच्चिस सय मिटरभन्दा माथिको उचाईमा वातावरणमा अक्सिजन कमिले हुने समस्यालाई ‘हाई लाग्नु’ तथा ‘लेक लाग्नु’ भनिन्छ। अंग्रेजीमा यसलाई ‘हाई अल्टिच्युड सिक्नेस’ भनिन्छ। जति उचाई चढ्दै गयो त्यति बोटविरुवा कम र अक्सिजन पनि कम हुन्छ। तसर्थ उचाई चढ्दा शरीरमा अक्सिजन कम भई समस्या हुन्छ।
लक्षण
- लेक लाग्नुको पहिलो लक्षण भनेकै टाउको दुख्नु हो। (विषेशगरी पछाडिको घुच्चुक दुख्नु।)
- स्वास फेर्न गाह्रो हुनु, स्वास छोटोछोटो हुनु, धेरै हाइ आउनु।
- रिंगटा लाग्नु, वाकवाक लाग्नु ।
- वान्ता हुनु ।
- धेरै थकान हुनु, गल्नु ।
- भोक नलाग्नु ।
- चिडचिडाहट हुनु, रिस उठ्नु, कसैसँग कुरा गर्न मन नलाग्नु ।
- निद्रा नलाग्नु अथवा हिँड्दाहिँड्दै सुत्न मन लाग्नु ।
- धेरै भएमा टाउको चर्को दुख्ने, बेहोस हुने, कानबाट रगत देखा पर्ने, छाती दुख्ने आदि।
समाधान
- नआत्तिने । उचाईमा सबैलाई सामान्यतयाः हल्का टाउको दुख्नु र शरीर भारी हुन सक्छ। आराम गरेपछि कम हुन्छ। आफूलाई धेरै गाह्रो भयो भने समाधानतिर लाग्ने।
- न्यानो कपडा लगाउने।
- ठाउँठाउँमा आराम गर्दै हिँड्ने।
- प्रशस्त मनतातो पानी पिउने।
- झोलिलो खानेकुरा र तरकारी सुप प्रशस्त खाने।
- तिब्र रुपमा दूरी पार नगर्ने ।
- नशाजन्य पदार्थ, मद्यपान र धुम्रपान नगर्ने।
- अम्लकारक आहार, पिरो, अमिलो, चिल्लोजस्ता खानेकुरा प्रयोग नगर्ने।
- हिँड्दा मुख खुला हुने गरी नहिँड्ने। मुख खुल्ला हुनेवित्तिकै आराम गर्ने वा मनतातो पानी पिउने।
- उचाईमा हिँड्दा ध्यान दिनुपर्ने कुरा, आफ्नो शरीरको क्षमताअनुसार हिँड्ने। स्वाँस्वाँ हुनेगरी दौडिने वा कुद्ने नगर्ने। स्वासको तालमा बिस्तारै हिँड्ने। यसरी हिँड्दा शरीरलाई धपेडी हुँदैन र सजिलै हिँड्न सकिन्छ।
- औषधी प्रयोग गरेर हिँड्न प¥यो भने प्रशस्त पानी पिउदै हिँड्ने। धेरै गाह्रो भयो भने जहाँको त्यहीँ बस्ने बस्ने वा लेक लागेको लक्षण देखा पर्ने वित्तिकै एक दुईसय मिटर तल झर्ने।
|
(योग तथा उचित आहार, बिहार र विचारकी प्रशिक्षक महर्जनको ‘हाइकिङ काठमाडौं’ नामक पुस्तक प्रकाशित छ। उनी प्रकृति प्रेमी समूहकी सचिव हुन्।)