काठमाडौं विमानस्थल, सन् २००६ को एक दिन। सयौं आकांक्षीहरू एकातिर झोला, अर्कोतिर परिवारजन सम्हाल्दै थिए।
अनकन्टार पहाड बीचमा धुपीको रुख, ठुला–ठुला ढुङ्गा, त्यसबीच मनमोहक सुन्दर ठाउँ जहाँ भोक, रोग, द्धन्द, मृत्यु जस्ता कुराको कुनै गुन्जायस थिएन। सेतो बादलबीच अनायस पारदर्शी चट्टानभित्र आफूलाई देख्थेँ। यसले आनन्द ल्याउँथ्यो।
“यहाँ नाम मिल्या छैन, भित्र सोध्नुपर्छ एकपल्ट”, अध्यागमनका कर्मचारीले केही सिधा र केही टेबलमुनिको मोलतोल गरे।
त्यहाँबाट पार हुँदै हल्का पाकेट तर ठुलो सपना बोकेर केही बेरमै हाम्रो जहाज उच्च आकाशमा पुग्यो। यति उँचो कि देश, समाज, त्यो भूगोल जहाँ सत्ता प्राप्तिका लागि युद्ध नै चलिरहेको थियो, केहीबेरमै बादलमुनि हराएर गयो।
जब वादल खुल्यो, विदेसी भूमि आकाशबाट हेर्दा झसंग पनि भए। नेपाल पछि भारत, मध्य पुर्व, युरोप फरकफरक देशहरु सीमानाले नै फरक रङ्गका, पर्खालले छेकेको, छुट्टिएको हुनु पर्ने सोचमा थिएँ। तर नेपाल पछि पनि जमिन एक तमासले निरन्तर रहेछ। सोचें, देश, विदेशको विभाजन मानिसकै मनको वनावटसम्म रहेछ। जमिन एकतमासले अविभाजित रहेछ।
एक ठाउँ छोडेर अर्को ठाउँ नपुगुन्जेलको आकाशमा त्यो क्षणिक आनन्दमा पत्तै नपाइ कतार एयरपोर्ट पुगिएछ। त्यहाँ नजिकका साथीहरू आफ्ना झोला, विस्तरा बोक्दै भीडमा हराउँदै गए। हाम्रो यात्रा अझै बाँकी थियो। भित्र छिरेर कोरिया हुँदै पुगियो सानफ्रान्सिस्को, क्यालिफोर्निया।
सान फ्रान्सिस्को पुगेर साथीसँग भेटेर चिल्लो बाटो, आलिसान महल हुँदै जीवनमा पहिलो पटक महासागर किनार पुगें, मोन्टेरे बन्दरगाह। विशाल प्रशान्त महासागर हामीले देख्न सकेसम्म अगाडि फैलिएको थियो। छेउमा सैनपेड्रो उपत्यकाको रमणीय घाँसे मैदान, किनारमा पेलिकनहरू चरिरहेका थिए।
लगभग २५ लाख वर्ष पहिले, बरफ युगको उचाईको समय आर्कटिक घेरादेखि मेक्सिकोको खाडीसम्म विशाल बरफको तहले भूगोललाई मात्र हैन, पानीको ठुलो मात्रालाई जमाएछ, जसले गर्दा समुद्रको सतह घटेर गएछ। त्यसरी घटेको समुद्र सतहले खुल्न गएको जमिनको मार्गबाट जीवजन्तुका प्रजातिसँगै मानव बसाई सर्न थाले भनिन्छ। यीमध्ये पहिलो समूह पालेओ इन्डियन भनेर चिनिन्छन् जो तिस, चालिस हजार वर्षअघि पसेका थिए भनिन्छ। अनि त्यसपछि नाडेन, इनुइट्स, वा एस्किमोहरू आइपुगेका रहेछन्।
यसरी प्रकृतिसंगैे घुलमिलमा यस ठाउँमा आदिवासी समाज व्यवस्थित हँुदै गर्दा प्रकृति र मानवीय क्षमताको संयोजनले प्रशान्त महासागर अर्को छेउतिर संसार अर्कै तवरले परिवर्तित, विस्तारित हुँदै रहेछ।
यी समाज नयाँ प्रविधि र टाढा, रहस्यमय संसारको खोजीले पनि बेचैन रहेछन्। तिनका लागि रहस्यमय संसार मध्ये एक रहेछ एसिया र अर्को अफ्रिका। पन्ध्रौं शताब्दीको अन्त्यतिर बेलायत, स्पेन र फ्रान्स युरोप र एसिया बीचको छोटो, सस्तो र सुरक्षित समुद्री मार्ग पत्ता लगाउन पोर्चुगलसँग प्रतिस्पर्धा गरिरहेका रहेछन्। ती देशका यात्रीले चीनबाट चुम्बकीय कम्पास प्राप्त गरेछन्, अनि अरबबाट एस्ट्रोलेव, साथै विकसित अन्य यन्त्र र डिजाइन सुधारहरूले जहाजको दिशा, गति र स्थिरतामा कप्तानको नियन्त्रणमा सुधार भएछ।
ती नयाँ प्रविधि र ज्ञानको फाइदा उठाउदै, सन् १४९२ मा राजा फर्डिनान्ड र इसाबेलाको सहयोगमा एसियातर्फ छोटो, सुरक्षित मार्ग पत्ता लगाउने सर्तमा कोलम्बस र केही नाविकहरू प्रशान्त महासागरको अज्ञात लम्बाइतिर लागेछन्। तीन महिनाभन्दा बढी समय पछि, तिनीहरूले भूमि टेकेछन्।
कोलम्बसले सोंचेछन् कि उनी एसिया, भारत पुगे। तर, वास्तवमा, उनी बहामा भनिने (अमेरिकाको एक टापु) ठाउँमा पुगेका रहेछन्, जो आफैंमा एक नयाँ, आकर्षक ठाउँ थियो।
कोलम्बस क्यारिबियन टापुहरूमा आइपुग्दा सुरुमा त्यस क्षेत्रमा बसोबास गर्ने टाइनो मानिसलाई भेटेछन्। टाइनोहरूले कोलम्बस र उनको टोलीलाई जिज्ञासा र आतिथ्यताका साथ स्वागत गरेका रहेछन्। तर नयाँ पाहुनाको मनसाय भने सुरुदेखि नै अलग रहेछ।
स्पेनी राजालाई पठाएको पत्रहरूमा कोलम्बसले लेखेका छन्ः
“... तिनीहरू हामीप्रति धेरै मिलनसार थिए र बल प्रयोग गरेर भन्दा नम्र माध्यमद्वारा उनीहरूलाई हाम्रो धार्मिक विश्वासमा सजिलै परिवर्तन गर्न सकिन्छ भन्ने मैले देखेपछि मैले उनीहरूलाई केही रातो टोपी र घाँटीमा लगाउन माला दिएँ अनि धेरै साना मूल्यका अन्य साना कुराहरू, जसमा तिनीहरू धेरै खुसी थिए, र हामीसँग नजिकिन पुगे। त्यसपछि तिनीहरू जहाजको डुङ्गामा पौडी खेल्दै आए, सुती, कपासको गोला, भाला र अन्य धेरै चीज ल्याए ....
मलाई लाग्छ कि, यिनीहरू चलाख पनि छन् र असल नोकर हुनेछन् ...”
तर अप्रत्यासित तवरले, आगन्तुहरूले आफ्नो जमिन, जीवनमाथिको अधिकार खोस्दै गएको वुझे पछि आदिवासी नेताले विरोध थालेका रहेछन्। १७ औं शताब्दीमा यसले एक युद्ध नै निम्त्याएको रहेछ। तर हतियारले सुसज्जित आगन्तुकका अघि तिनको केही चलेनछ। अन्तमा, सन् १८३० मा राष्ट्रपति एन्ड्रयू ज्याक्सनले आदिवासीलाई उनीहरुको भूमिबाट जबरजस्ती हटाउने नीति लिएपछि, पुख्र्यौली जमीन छोडेर जोखिम, रोग र अभावका बीच अनकन्टार ठाउँतिर तिनले हिंडेको त्यो बाटो आँशुको पदमार्ग भनेर चिनिन पुगेको रहेछ।
बेलायतबाट स्वतन्त्रता पाएपछि संयुक्त राज्य अमेरिकाले भने कृषि, उद्योग, व्यापारको रफ्तार विकाससँगै आफ्नै माउ साम्राज्यलाई सामरिक, आर्थिक रुपमा उछिन्नेसम्म बन्न पुगेको रहेछ। तर अर्को छेउ विश्वमा बजार र नयाँ भू–भागको लागि प्रतिस्पर्धाले अभूतपूर्व हतियार निर्माण हुँदै, तिनको बेमेलका बीच सन् १९०० सम्म पुरै युरोप युद्धमा फस्न पुगेछ।
सन् १९१७ मा संयुक्त राज्य अमेरिकाले विश्वलाई “लोकतन्त्रको लागि सुरक्षित” बनाउन भनेर युद्धमा सामेल हुन पुगेछ। यद्यपी, संसारलाई “लोकतन्त्रका लागि सुरक्षित” बनाउन थालिएको युद्धले इटालीका लागि अस्ट्रियाको क्षेत्र र जापानलाई चीनको भू–भाग कब्जा गर्ने मौकाका रुपमा परिणत भयो। रोमानियाले सन् १९१९ मा हंगेरीमा आक्रमण ग¥यो, १९२० मा पोल्याण्डले रुसमा आक्रमण ग¥यो। रुसी गृहयुद्ध १९२० को अन्त्यसम्म जारी रह्यो, र ग्रीस र टर्कीले १९२३ सम्म युद्ध गरे। अझ यसले युरोपमा आर्थिक र राजनीतिक अस्थिरता उत्पन्न गर्न मद्दत ग¥यो, जसले अधिनायकवादी हिटलर जस्ता नेताका लागि अनुकुल वातावरण बनायो।
संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धको समय लगभग ४१८,५०० सैन्य कर्मचारी गुमाएका रहेछन्। सोभियत संघको मात्र अनुमानित १ करोड सैनिक हताहत भएका रहेछन्। एक हिसाबले सबैमा युद्ध, र विध्वंशको पश्चातापले हुनुपर्छ, सबै राष्ट्र बीच शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ (यु.एन.) को १९४५ मा स्थापना भएको रहेछ। संयोग भनौं वा नियति यसको पहिलो बैठक सान फ्रान्सिस्को, क्यालिफोर्नियामा, जुन १९४५ मा भएको रहेछ। हामी उभिएको, डुल्दै गरेको सहरमा। त्यही महिनामा।
जैविक विविधताले सम्पन्न यो ठाउँमा अठारौं शताब्दीतिर सुनखानी पत्ता लागेको रहेछ। क्यालिफोर्निया स्वर्ण दौडको रुपमा प्रख्यात त्यस समय संसार भरिबाट आप्रवासीको ओइरो पनि लागेको रहेछ। त्यसबाट प्राप्त श्रोत, उर्वर, सुन्दर भूमि, आप्रवासी श्रम अनि बन्दरगाहको सदुपयोगबाट यो ठाउँ विश्वकै संवृद्ध, वैभवशाली बन्न पनि पुगेको रहेछ।
दोश्रो विश्वयुद्ध पछिको अर्को भीषण पुनर्निर्माण अनि आर्थिक, सामाजिक सेवाको विकासले एक सर्वसाधारणले मिहिनेत गरे भने परिवारको लालनपालन, घर, गाडी, शिक्षा यानेकी सुखी जीवनको ंअमेरिकी सपना यथार्थमा प्राप्त गर्न सक्छ भन्ने मान्यता बनेछ।
‘अमेरिकी सपना’ भनेर चिनिने त्यही मान्यता विश्वव्यापी हुँदै म पनि जानी–नजानी त्यही सिलसिला आइपुगेको थिएँ।
संसारको सबैभन्दा विकसित, धनीमध्ये एक सानफ्रान्सिस्को शहर।
त्यहाँ एक नेपाली समूहसँग भेट पछि डुल्दै मूल शहर, चम्किलो, गगनचुम्बी भवन हुँदै एउटा साँघुरो गल्लीको एउटा पुरानो भवनमा पुग्यौं।
भित्र साँघुरो डेरा नेपाली मसलाको वासनाले भरिएको रहेछ। एकदिन नेपालको अवस्था सुधार होला र फर्कौंला भन्ने आशामा वर्षौ अघि पर्देशिएका रहेछन्। भेटमा नेपालको, गाउँठाउँको बारेमा भलाकुसारी भयो र स्वादिष्ट दालभात पनि खायौं।
“धेरै वर्ष भयो मैले परिवारलाई पनि नभेटेको”, हाम्रा मेजवान दाजुले दुःखको लामो सास तानेर भने।
तर, गहिरो द्वन्द्व र आर्थिक सङ्कटमा परेको नेपाल जुनसुकै बेला सामान्य अवस्थामा फर्किने आशा पनि थिएन, उनीहरूमा।
हामीमा पनि नेपालको याद ताजै थियो। बजारतिर आफ्नो घरमा खाना खाँदाखाँदै आर्मीको हुल आएर तर्साउने, अनि गाउँतिर माओवादीको भर्ती अभियान। अनि बेरोजगारी, बेथिति।
त्यो दिन फेरि काममा जाँदै ती दाजुले हामीलाई बजारतर्फ बाटो देखाउँदै गए। चौबाटोमा एक बोर्डमा त्यो शहरको भगिनी सहरको दूरी लेखिएको थियो। बेंगलोर ८७०७ माइल, संघाई ४१४५ माइल, ओसाका ५७३७ माइल, पेरिस ५५७० माइल। त्यहाँ नलेखिएको काठमाडौं लगभग १२१८० किलोमिटर जति टाढा रहेछ।
त्यहाँबाट अघि सहरमा बाँच्ने थप सुझावहरू, सडक सम्बन्धी निर्देशन दिँदै, खुट्टा खोच्च्याउँदै मूल सडकमा हामीलाई विदाइ गरे “ल भाइबहिनी राम्रोसँग जानु है!”
“हुन्छ दाइ ! तपाइँ आफू पनि राम्ररी बस्नुहोस्।”
व्यस्त सडकको भीडमा उनी हराएर गए।
अनि मूल सहरको रमझम हुँदै, सान फ्रान्सिस्को बन्दरगाह र त्यसको पियर ३९ मा आइपुग्यौं।
अघि निलो समुन्द्र अनन्तसम्म फैलिएको थियो। टाढाको क्षितिजमा समुन्द्रमाथि लमतन्न फैलिएको विशाल गोल्डेन गेट पुल थियो। नजिक चहकिला गगनचुम्बी भवन थिए। अनि तिनभित्र संसारभरीकै विशिष्ट खानपिन, कपडा अनि बासको व्यवस्था। अनि सक्नेलाई काम, नसक्नेलाई सामाजिक सुरक्षाको कुरा। मोहित हुँदै हामीले आफ्नो हात समायौं र त्यही आफ्नो अमेरिकी सपना देख्न थाल्यौं।
अनि काम पनि थालें एकदिन। दिनचर्या बित्दै जाँदा बन्दरगाहको त्यो दृश्य, काम गर्ने ठाउँका पर्खालले छेकिँदै गए। सपना, कल्पना भित्रका यथार्थ खुल्दै गए।
मेरा सहकर्मी कोही मेक्सिकोबाट आएका थिए, गरिबी, अपराधिक गिरोहको हिंसाबाट भाग्दै, खतरनाक मरुभूमिको बाटो पार गर्दै। कोही भारतीय थिए, गरिबीबाट उम्कने प्रयासमा, अमेरिकी शिक्षाको आशामा। कोही मध्यपूर्वबाट त्यहाँ चलिरहेको युद्धबाट उम्केर आएका थिए। सबैको आउने ठाउँ फरकफरक थियो, तर शान्ति र अमनचैनको खोजी सबैको एकै थियो। त्यहाँ पुगेर दुःखसुख सबैका एकै थिए।
भौतिक सुविधा, पूर्वाधार, गाँसबासको उच्च गुणस्तरअनुसार खर्च धान्न मानिस यहाँका हप्ताको छसात दिन काम गर्दा रहेछन्। पर्याप्त सुत्ने समय पनि नहुने रहेछ। अर्कोतिर त्यही सहरमै विश्वमै कहलिएका धनाढ्यलाई पनि निरन्तर, निर्दयी प्रतिस्पर्धाको होड्ले फुर्सद नहुँदो रहेछ। अनि औधोगिक कच्चा पदार्थ, तेल, शक्तिको होड्वाजी, लुछाचुँडिमा मध्यपुर्व देखि, अफ्रिका, एसिया द्वन्द, युद्धले ग्रष्त हुँदै, फेरि फस्दै पनि रहेछ।
केही समयपछि सजिलो र राम्रो कमाइको सोंचले नजिकैको कलेजमा जसोतसो भर्ना पनि मिल्यो अनि छात्रवृति पनि। भर्खरका कलिला विद्यार्थी साथी छेउ कलेजको ढोकामा उभिएर सोचें, “यदि यहाँकै डिग्री लिएँ भने पनि त्यसबाट गास, बास र कपडाको उच्च सुविधासम्म हुन्छ। त्यसभन्दा पर जीवन, जगतको, जन्म, मृत्युको अर्थ जान्ने मेरो आकांक्षा त अझै रहिरहन्छ।”
त्यतिन्जेलसम्म साथी भन्दा उमेर, भूगोल र जीवनका घटनाक्रमका हिसाबले धेरै लामो बाटो पार गरिसकेको थिएँ। तिनलाई थाती राखेर फेरि फेदीबाट यात्रा शुरु गर्न मनले मानेन।
“के चिज हो यो, जसले धनीदेखि गरिब सबैलाई दिनरात चिन्तित बनाइ राख्छ ?”
“त्यस्तो एक ज्ञान हुनसक्ला, जसले सबैमा दिगो सुख र शान्ति छाओस् ? जसको प्राप्तिमा हामी खुसीले जिउन अनि मर्न पनि सकौ ? ”
म आतुर हुँदै गएँ।
अनि वर्षौ अघिको नेपालको एउटा सपना फेरि निरन्तर देख्न थाले।
अनकन्टार पहाड बीचमा धुपीको रुख, ठुला–ठुला ढुङ्गा, त्यसबीच मनमोहक सुन्दर ठाउँ जहाँ भोक, रोग, द्धन्द, मृत्यु जस्ता कुराको कुनै गुन्जायस थिएन। सेतो बादलबीच अनायस पारदर्शी चट्टानभित्र आफूलाई देख्थेँ। यसले आनन्द ल्याउँथ्यो। तर चाँडै त्यो चट्टानभित्र आफूलाई कस्सिएको, निसास्सिएको महसुस हुन्थ्यो। त्यसैबेला पसिना पसिना भइ डराएर जाग्न पुग्थेँ।
एकदिन मैले मायालाई भनें, “म नेपाल जान चाहन्छु, कहिले फर्किन्छु थाहा छैन।”
मैले उनलाई सान्त्वना दिएँ “ यदि मैले नफर्कने निर्णय गरें भने तिमी पनि छिट्टै फर्किनु। नेपालमै केही गर्छु। ”
मेरा कुरा सुनेर उनी ओछ्यानमा थचक्क बसिन् र टाउको समाएर लामो श्वास लिइन्।
“ठीक छ, तिमीलाई जे मन लाग्छ गर। म तिमीलाई रोक्न सक्दिनँ।
केही दिनपछि सान फ्रान्सिस्को सहर घुम्दै फेरि पियर ३९ आइपुग्यौं। यसपटक हामीमध्ये एक जनाको नेपालको एकतर्फी टिकट थियो। एकतिर सान फ्रान्सिस्को शहर, अर्कोतिर प्रशान्त महासागरको सुन्दर बन्दरगाह। पियर बन्दरगाह ३९ को त्यही पुरानो ठाउँमा मैले आफ्नो “अमेरिकी सपना” त्याग्ने निधो गरें।
जीवन जगतका उल्झन, प्रश्नहरूको उत्तरको खोजीमा।
डेरा फर्किएर आउँदा एक कुनामा निःशब्द बसिन्, माया। जब मैले उनको हातबाट आफ्नो हात हटाएँ, उनको आँखाबाट आँसुको धारा बग्यो।
“यसअघि कहिल्यै यसरी रोएको थिइनँ” उनले भनिन्।
“हाम्रो फेरि भेट नहुने संकेत त हैन ?”
(बुक्स हिमालय, ललितपुरवाट प्रकासन हुन गइरहेको पुस्तक ‘अमरभूमि, दिगो सुख, अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृतान्त’ पुस्तकको अंश।) पुस्तक लेखक - जिग्मे लामा