म्याग्दी। म्याग्दी जिल्ला, बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई रोटरी क्लब अफ पोखरा, अन्नपूर्णले ४ थान व्हिलचियर प्रदान गरेको छ। तातोपानीमा प्राकृतिक उपचार गर्न आउने बिरामी, अशक्त र बृद्धबृद्धाका लागि प्रयोग गर्न व्हिलचियर हस्तान्तरण गरिएको हो।
कुण्डमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सभासद बिमला गौचनका हातबाट हस्तान्तरण गरिएका व्हिलचियरहरू समितिका अध्यक्ष कृष्ण खड्का, उपाध्यक्ष उषा श्रीश र सचिव कुमार के.सी.ले ग्रहण गरेका थिए।
कार्यक्रममा व्हिलचियर दाता क्लबका अध्यक्ष तोया भट्टराई, प्रमुख अतिथि गौचन र समितिका अध्यक्ष खड्कासहितले तातोपानी कुण्डलाई स्वास्थ्य पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
स्मरणरहोस्, सिंगा तातोपानी कुण्डमा असोजदेखि चैतसम्म प्राकृतिक उपचार गर्नेहरूको घुइँचो लाग्छ। यहाँको कुण्डमा महिला र पुरुषलाई बेग्लाबेग्लै समयमा डुबुल्की मार्ने ब्यबस्था मिलाएको छ। प्राकृतिक तातोपानीको उपचारबाट हाडर्जोनी, ग्यास्टिक र छालाका रोगहरू सन्चो हुन्छ।
‘आजका दिनमा साँढे चार सय जना उपचार गराइरहेका छन्’, कुण्ड व्यवस्थापन समितिका सचिव के.सी.ले एभरेष्ट पेडियालाई भने, ‘कोही महिना दिन, कोही दुई हप्ता त कोही एक हप्ता बसेर तातोपानी उपचार गर्छन्।’