ललितपुर। माघ १ गते अर्थात् राष्ट्रिय योग दिवस। नेपालमा वि.सं. २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यसै अबसरमा ललितपुरको प्रकृतिप्रेमी समूहले सोमबार बिहान प्रभातफेरी आयोजना गर्यो।
लगनखेलबाट सुरु भएको प्रभातफेरी हौगल, तिछुँगल्ली, कायगुननी, गाबहाल, कुछेननी, पिम्बहाल, नकबहिल, स्वथः, वल्खु, न्यौतः, खपिन्छे, क्वयलाछी, भोलढोका, गुइतः, पिन्छें, दुपाः, हकत्वाः, सुन्धारा, यंगुबहाल हुँदै सौगल पुगेर समापन गरिएको थियो।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र लेखिएको निलो क्याप लगाएका सहभागीहरूले योगको महत्व झल्कने नारा लगाउँदै नगर परिक्रमा गरेका हुन्।
कार्यक्रममा ललितपुर क्षेत्र नं २ का संघीय सांसद प्रेम महर्जन र समूहका संस्थापक डा. उमेश श्रेष्ठसहित करिब २ सय जना योग अभ्यासीहरू सहभागी थिए। कार्यक्रममा सांसद महर्जन र डा. श्रेष्ठले योेगको महत्वबारे चर्चा गर्दै उचित आहार, विहार र विचारबाट निरोगी भइने बताए।
प्रभातफेरीले योगका विषयमा जनचेतना फैलाउन मद्धत पुगेको विश्वास गरिएको छ। ‘वास्तवमा योग मानिसलाई मानिसको स्थितिमा कायम राखी दुःखबाट मुक्त हुन र निरोगी भएर जीवन जिउन सिकाउने विज्ञान हो’, समूहकी सचिव रामदेवी महर्जनले एभरेस्ट पेडियालाई भनिन्, ‘योगले मानिसलाई रोग र दुःखबाट मुक्त गराई म को हुँ? शरीर, मन र आफू के हो ? मानिसको कर्तव्य के हो? यो जगत के हो? भन्ने सत्य ज्ञानको बोध गराउँछ। मानिसलाई स्व–स्थितिमा कायम राखि शारीरिक रोग र मानसिक दुःखबाट मुक्त हुन र निरोग आनन्दमय जीवन जीउन सिकाउँछ।’
योगलाई महत्व दिएर विश्वभर जनवरी २१ मा विश्व योग दिवस मनाउने गरिएको छ। नेपालमा पनि माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ।























