काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावाना रहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ।
पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आज रातिको मौसम पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।