काठमाडाैं। चाकु भन्ने वित्तिकै सबैको मुख रसाउँछ। सबैलाई मिठो लाग्ने चाकु बनाउन सिप चाहिन्छ। त्यस्तै चाकु बनाउन सिपालुहरूको बस्ती हो–काठमाडौंको टोखा। टोखामा बनाइएको चाकु स्वदेशमा मात्र होइन, विदेशमा समेत निर्यात हुन्छ।
काठमाडौंको सांस्कृतिक नगरी ‘टोखा’लाई चाकुको सहर पनि भनिन्छ। यहाँका १४ ओटा उद्योगमा चाकु उत्पादन गरिन्छ।
यतिवेला चाकुको सहरले चिनिने टोखा (१४ ओटा उद्योग)मा चाकु बनाउन भ्याईनभ्याई छ। विशेषतः माघे संक्रान्तिका दिन घरघरमा घ्यु, चाकु र तरूल खाने चलन छ। जाडो याममा शरीरलाई न्यानो बनाउन र शक्ति सञ्चय गर्न चाकु खाइन्छ। यसको सेवनले शरीरमा ताप बढ्छ। ऊर्जा बढ्छ। रोगसँग लड्ने क्षमता पनि बढाउन सहयोग गर्छ।
हाम्रा पुर्खाले उहिल्यैदेखि नै वातावरण अनुकुल शरीरलाई चाहिने खानपान गर्ने तरिका पस्केर गएका छन्। त्यहीअनुरुप हामी पनि खाने गर्छौ। तर आवश्यकताभन्दा बढी चाकु सेवन गरेमा भने यसले शरीरमा जति लाभ दिनुपर्ने हो त्यो हुँदैन। चाकुले शरीरमा गर्मी बढाउँछ। तसर्थ यसको आवश्यकताभन्दा बढी प्रयोगले शरीरमा पित्त समस्याहरू बढाउने गर्छ। टाउको दुख्ने, छाति, घाँटी, आँखा पोल्ने, पायल्स बढ्ने, निद्रा नलाग्ने, सुगरप्रेसर बढ्ने आदि। त्यस्तै यसको अत्यधिक प्रयोग भएमा शरीरमा गर्मी बढेर नाथ्रि फुटेर नाकबाट रगत बग्नेसम्म हुन्छ। त्यसैले यसको सेवन शरीरको अवस्था हेरेर ठिक मात्रामा गर्नु पर्छ।
ध्यान दिनुपर्ने कुरा– सुगर बढेका, टाउको दुख्ने, पाइल्स भएका वा शरीरमा गर्मी बढ्नेलगायत प्रेसर बढेको समस्या भएकाले भने चाकु सेवन नर्गनु बेस हुन्छ। अन्य अवस्थामा चिसोमा चाकुको प्रयोगले लाभ गर्छ।
बुझ्नु पर्ने कुरा– शरीर सबैभन्दा पहिलो र प्रत्यक्ष प्रयोगशाला हो। जे खाँदा पनि आफूसँग भएको शरीरलाई मापदण्ड बनाएर खाने तथा पिउने गरेमा स्वस्थ रहन सकिन्छ।
टोखाका उद्योगमा सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुुलगायत उत्पादन भइरहेका छन्। टोखा’ नामको विषयमा किंवदन्ती छ। पहिला गाउँमा ठूलो फाँट थियो जहाँ उखु खेती गरिन्थ्यो। नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट। त्यसैले बस्तीलाई ‘टुख्यः’ भनिन्थ्यो। टुख्य भन्दाभन्दै अपभ्रंस भएर टोखा भन्न थालियो।
त्यतिबेला गाउँमा उखुको धेरै खेती हुन्थ्यो। र उखुबाट चाकु बनाइन्थ्यो। ‘उखुको रसलाई पकाएर सख्खर बनाइन्थ्यो। अनि सख्खरबाट चाकु। अहिले बस्तीमा उखु खेती त छैन तर चाकु बनाउने काम भने निरन्तर भइरहेको छ। चाकु बनाउने सख्खर भने तराईबाट ल्याइन्छ।
चाकु बनाउन ठूलो फोसी (भाँडा)मा सख्खरपानी उमालिन्छ। त्यो लेदो बाक्लो भएपछि भाँडोमा खन्याइन्छ। चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ। अनि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर तानिन्छ। त्यसपछि विभिन्न आकारमा ढालिन्छ।
यहाँको चाकु उद्योगलाई संरक्षण गर्न वि.सं. २०७३ कात्तिक २२ गते ‘टोखा परम्परागत चाकु संरक्षण समाज’ स्थापना गरिएको छ।
सांस्कृतिक नगरी
चाकुको सहर भनेर चिनिने टोखा सांस्कृतिक नगरी पनि हो। नेवार बस्ती टोखा (१,४०० मिटर)मा विभिन्न धार्मिक सम्पदाहरू छन्। सपन तीर्थ, चण्डेश्वरी, भूतखेल, भीमसेन मन्दिर, तलेजु मन्दिर, बज्रयोगिनी, गणेश, संकटामाई, मसानकालीलगायत पाइलै पिच्छे मठमन्दिर, पाटीपौवा, पोखरी, चैत्य र ढुङ्गे धारा छन्। यहाँ विभिन्न पर्वहरू पनि मनाइन्छ। सांस्कृतिक नाचगान गरिन्छ।
टोखा लिच्छविकालमै व्यवस्थित बनेको थियो। यहाँ लिच्छवी संवत ५१९ लेखिएको शिलालेख पनि छ। यहाँ मात्र नाचिने नाचहरूमा ‘याप्याखँ’ र ‘नागप्याखँ’ हुन्। लाखे नाचका लागि समेत टोखा प्रख्यात छ। त्यसैगरी यहाँ हरेक वर्ष बिस्काः जात्रा पनि मनाइन्छ।
केही वर्ष अगाडि झोर महाँकाल गाविस, धापासी, गोगंबु, टोखा चण्डेश्वरी गाविस र टोखा सरस्वती गाविस मिलेर ‘टोखा नगरपालिका’ बनाइएको छ। यसको पूर्वमा बूढानिलकण्ठ, पश्चिममा तारकेश्वर, उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा काठमाडौ पर्दछन्।
टोखा एउटा खुला संग्रहालय पनि हो। प्राचीन नेवार बस्ती भएकाले नेवा समुदायको रहनसहन, कलासंकृति र परम्परा आदिको अध्ययन गर्न उपयुक्त छ।
कृषि कर्ममा व्यस्त छन् टोखाबासी। त्यति मात्र होइन, उनीहरू कलात्मक घर बनाउने काममा पोख्त छन्। शिवपुरी निकुञ्जको काखमा रहेकाले यहाँको वातावरण स्वच्छ छ। टोखालाई काठमाडौंको ‘उत्तरी ढोका’ पनि भनिन्छ। उहिलेउहिले काठमाडौंका नेवार व्यापारको सिलसिलामा तिब्बतसम्म ओहोरदोहोर गर्दा काठमाडौं खाल्डोबाट बाहिर निस्कने र भित्र आउने ढोका पनि टोखा नै थियो।
टोखा बजार प्रवेश गर्ने ५ प्रवेशद्धार छन्। काठमाडौंको धरहराबाट ९ किलोमिटरमा पर्दछ टोखा बजार। मोटर बाटोले टोखालाई नुवाकोटको बट्टारसँग जोडेको छ। गाउँमा खाना र बासका लागि होटल तथा रेस्टुराँ छन्।
भूतखेल चौर
टोखा बजारको मुखमै छ भूतखेल चौर। १०६ रोपनीमा फैलेको चौर। चौरको बीचमा प्यागोडा शैलीमा बनाइएको मन्दिर छ जसलाई ‘पिगंण द्य’ भनिन्छ। पिगण भनेको ‘पिठ’ र द्य भनेको ‘देवता’। नजिकै मसानघाट छ। लास जलाउने ठाउँ भएकाले यसलाई मसानकाली पनि भनिन्छ। पहिला लास जलाउँदाजलाउँदै बनेको खरानीको थुप्रो थियो तर हाल खेल खेल्ने मैदान बनाइएको छ। खुला चौरबाट राम्रो दृष्य देखिन्छ।
सपन तीर्थ
बस्ती नजिकै छ–सपन तीर्थ। मन्दिर नजिकै पोखरी। पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविश्वास छ। पहिला यहाँको डाँडागाउँमा क्षयरोग अस्पताल बनाइएको थियो, निकुञ्जभित्र परेकाले हाल त्यसमा सैनिक व्यारेक बनाइएको छ।
यहाँ वैशाखमा मेला लाग्छ। शिवपुरी बाघभैरब गएर यहाँ आउने चलन छ। सपनतीर्थमा गणेश मन्दिर छ। चैत मसान्तमा बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थको कुण्डमा नुहाएर बिस्केट जात्राको लिंगो ढाल्न भक्तपुर जाने चलन छ।
बरूणेश्वर
टोखाबाट ४ किलोमिटर दूरीमा पर्दछ बरुणेश्वर। यहाँको खोंचमा श्रीकृष्ण बरूणेश्वर गुफा र झरना छन्। गुफा भित्र महादेव र पार्वतीका मूर्ति छन्। गुफा करिब २५ मिटर लामो छ। गुफाको दायाँ नारायण र लक्ष्मीका मूर्ति छन्।
जनबोलीमा बरुणेश्वरलाई ‘बौंडेश्वर’ भनिन्छ। श्रीस्वस्थानी ब्रतकथाअनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ उनको बायाँ स्तन पतन भएको थियो। पछि यहीँ आएर श्रीकृष्णले तपस्या गरेका थिए।
अर्को किंवदन्तीअनुसार भष्मासुरले महादेवलाई लखेट्दै जाँदा महादेव भाग्दैभाग्दै यही गुफामा आएर बसेका थिए। त्यसैगरी पाँच पाण्डव पनि यही बाटो भएर गएको भनाई छ। सानो पोखरीमा पाण्डव बसेको भनाई छ। यहाँका चट्टानमा मृग र सीताको पाइलाका आकार पनि देखिन्छ।
यहाँ दुई ओटा झरना छन्। बरुणेश्वर संरक्षण समितिका अनुसार एउटा झरना २८ मिटर र अर्को ३६ मिटर लामो छ। बर्खामा सुन्दर देखिन्छन् झरना। यहाँको जल पवित्र मानिन्छ। काठमाडौंका युवा यहाँ आएर नुहाउँछन्। लुगा लगाएरै नुहाउने चलन छ। यसरी नुहाउँदा शरीरका चर्म रोग पखालिने जनविश्वास छ।
चट्टानमा रहेको झरनामा क्यानोनिङको सम्भावना छ। हिउँदमा चाहिँ झरनाको पानी सुक्छ। टोखा सडक मुन्तिर खोंचमा छन् महादेव। सडकबाट ५ मिनेट ओरालो झरे बरुणेश्वर पुगिन्छ। गुफा बाहिर पनि महादेव, गणेश र बिष्णुका मूर्ति छन्। नेवारीमा यसलाई ‘गुँ महादेव’ भनिन्छ।
गुफा क्षेत्रमा रेस्टुराँ तथा होटल छन्। झोरबाट टोखा बस्ती र काठमाडौंको दृश्य राम्रो देखिन्छ।
चण्डेश्वरी
टोखा बस्तीबाट करिब २ किलोमिटर दूरीमा पर्दछ चण्डेश्वरी मन्दिर। शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण सधैं शितल हुन्छ। यसलाई पुरानो चण्डेश्वरी मन्दिर भनिन्छ। यसकै सिको गरेर पछि बनेपामा बनाइएको स्थानीय बताउँछन्।
श्रीस्वस्थानी ब्रतकथाअनुसार यहाँ सतिदेवीको दाहिने कुम पतन भएको र दक्षप्रजापतिको यज्ञकुण्डको पवित्रस्थलका रुपमा लिइन्छ। मन्दिरमा चण्डेश्वरी देवीको मूर्ति छैन, मण्डलालाई पुज्ने गरिन्छ। मन्दिर हातामा कालीको नयाँ मूर्ति बनाइएको छ।
मुस्कानेश्वर महादेव, महाकालीको मूर्ति, विष्णु मन्दिर, यज्ञकुण्ड, पाँच धारा यहाँका मुख्य आकर्षण हुन्। चण्डेश्वरी मन्दिरमा हरेक वर्ष स्वस्थानी मेला लाग्छ। महिना दिनसम्म माधवनारायणको व्रत बस्ने चलन छ। हिन्दू मान्यताअनुसार चण्डेश्वरीमा सतीदेवीका पिता दक्ष प्रजापतिले अश्वमेघ यज्ञ गरेका थिए। प्रमाणस्वरुप मन्दिर हाताको हवन कुण्ड छ जहाँ सतीदेवीको मूर्ति पनि छ।
टोखा केव
वि.सं. २०७३ सालमा स्थापना भएको ‘टोखा केव रेष्टरेन्ट’ शान्त र सुन्दर छ। यहाँ टोखाको संस्कृति झल्काउने सङ्ग्रहालय, बालबालिकालाई खेल्न मिल्ने स्थान, स्विमिङ पुललगायत सुविधा छन्। पारिवारीक वातावरण भएको टोखा केवमा स्वास्थ्यवर्द्धक खाना पाइन्छ।
सम्पदा सरंक्षण समाजका सस्थापक अध्यक्ष मणिराज डंगोल यसका सस्थापक हुन्। टोखामा रहेका धार्मिक सम्पदा, संस्कृतिको संरक्षण गर्दै आफ्नो ठाउँ आफै बनाऔं, स्वस्थ्यमा आत्मनिर्भर रहौं भन्ने अभियानका साथ रेष्टुराँ सञ्चालनमा ल्याएको उनले बताए।
हाम्रो देशका सम्पूर्ण स्थानका आआफ्नै पहिचान, विशेषता र सम्भावना छन्। जहाँ जस्तो सम्भावना (भूगोल, वातावरण, सम्पदा) लाई बुझेर त्यहीँअनुसार गरेमा हामी आफ्नो ठाउँ आफैं बनाउन सक्षम हुन्छौं। यसका लागि आआफ्नो ठाउँबाट स्थानीय नै सक्रिय हुनु पर्ने उनी बताउँछन्।
तलेजु भवानी
बस्तीको बीच भागमा तलेजु भवानीको मन्दिर छ। बस्तीकै अग्लो भागमा बनाइएको दरबार (मन्दिर)। इतिहासमा टोखा पनि छुट्टै राज्य थियो। त्यसैले मल्लकालीन राजाले झ्यालबाट सबैतिर हेर्न सजिलो होस् भनेर अग्लो ठाउँमा दरबार बनाएका। जनताको घरमा चुल्हो बलेर धुवाँ आयो कि आएन भनेर उनी झ्यालबाट हेर्थे भनिन्छ।
परम्परागत शैलीमा तलेजु दरबारको पुनः निर्माण गरिएको छ। यसमा पुराना हतियार (खुँडा, तरबार) आदि राखिएको छ। यिनैलाई देवीको रुपमा पूजिन्छ। बडा दसैंमा यहाँ विशेष पूजा हुन्छ।
विस्काः जात्रा
भक्तपुरमा जस्तै यहाँ पनि बिस्काः जात्रा मनाइन्छ। यहाँ मनाइने बिस्काः जात्रालाई परम्परागत धार्मिक पदयात्रा भन्न सकिन्छ। हरेक वर्षको चैत मसान्तमा टोखाबाट हिँडेर बागद्धार र भोलिपल्ट नयाँ वर्ष बैशाख १ गते सपनतिर्थ आउने गरिन्छ।
करिब ३८ किलोमिटर दूरीको यो पदयात्रा गर्न करिब १२ घण्टा लाग्छ। वैशाख २ गते जात्रा, ३ गते रथ (गणेश, कुमारी आदि) यात्रा र ४ गते विशेष जात्रा गरेर समापन गरिन्छ। यसलाई बैज्ञानिक जात्रा अथवा वातावरणमैत्री जात्रा भन्न सकिने समाजसेवी तथा सम्पदा संरक्षण समाज (दबु)ंका संस्थापक अध्यक्ष मणिराज डंगोलले जानकारी दिए।
माघ १ गते चाकु दिवस
टोखा प्राचीन नेवार बस्ती हो। हामी यहाँको कलासंस्कृति र सम्पदा संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा चम्काउने अभियानमा छौं। चाकुका लागि प्रख्यात हाम्रो टोखा बजारमा हामी यही माघ १ गते ‘टोखा चाकु दिवस’ मनाउँदैछैं। नेवाः गुथिको आयोजनामा हामीले चाकु दिवस मनाउन लागेका हौं। त्यसैले थरीथरीका चाखुको स्वाद लिँदै सांस्कृतिक कार्यक्रममा रमाउन सबैलाई स्वागत छ।
सम्पर्क: ९८५१०९८६८३