धनगढी। सुन्दर सुदूरपश्चिमको धनगढी बजार नजिकै छ थारु वस्ती–भादा। कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका–१६, मा अवस्थित भादा ग्रामीण पर्यटनको नमूना गन्तव्य बनिसक्यो।
गाउँसँगै उब्जाउ फाँटहरू। कृषिकर्ममा जुटिरहेका गाउँले। मौलिक संस्कृति र प्राकृतिक तथा धार्मिक सम्पदाले घुम्नलायक गन्तव्य। यहाँको होमस्टेमा बसेर सेरोफेरोका कोहिलही ताल, जोगिन्या ताल, सहदेवा ताल, महादेवा ताल, बेहेडाबाबा मन्दिर, रामेश्वर मन्दिर, गणेश सामुदायिक वनलगायतमा घुमफिर गर्न सकिन्छ।
कोहिलाही र महादेवा तालमा डुङ्गा चढ्ने सुविधा पनि छ। साइकल चढेर वा परम्परागत गोरु गाडा (लहरू)मा बसेर घुम्न पाइन्छ। बर्ड वाचिङ टुरिजमका लागि पनि भादा आकर्षक बन्न सक्छ।
भादा विशुद्ध थारु बस्ती हो। यहाँ डगौरा थारु जातिको बसोबास छ। इतिहासअनुसार दंगाली गुरुबा भगौती दासले बस्ती बसालेका। सुरुमा १३ घर बसाइएकामा अहिले तीन सय घर पुगिसके। तिनै गुरुबाको नाउँ भगौतीको ‘भ’ र दासको ‘दा’बाट गाउँको नाम भादा राखिएको हो। उनले तान्त्रिक विद्याद्वारा गाउँमा गुरु जगन्नाथको मन्दिर बनाएका थिए। यहाँ अन्य जातिले बसोबास नगरुन् भन्ने उनको चाहना थियो। अन्य जातिले बसोबास गरमा कि त बिरामी हुने कि मृत्यू हुने जनविश्वास छ।
समयको चक्र घुमिरहेछ। आज भादा अरु जातिका मान्छेलाई मात्र होइन, संसारभरका विदेशीलाई निम्त्याउँदै छ। सधैं बस्न होइन, केही दिन पाहुना बन्नका लागि मात्र। थारु जातिको खानपिन, जीवनशैली र संस्कृति उन्नत छ। गाउँलेको आत्मियता र मिठो परिकारले सबैलाई लोभ्याउँछ।
गाउँका अगुवा लक्ष्मीनारायण चौधरीको अगुवाईमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न वि.सं. २०६७ पुसदेखि सामुदायिक होमस्टे शुभारम्भ गरिएको थियो। अचेल गाउँका २० घरमा पर्यटक राखिन्छ जहाँ एकै पटक सय जना बास बस्न सक्छन्। धनगढी उपमहानगरपालिका, तारागाउँ विकास समिति, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा गाउँमा सामुदायिक भवन बनाइएको छ। अचेल यहाँ गाउँ बाहिरका संघसंस्थाले पनि गोष्ठि तथा तालिम गर्न थालेका छन्।
पाहुनाको मागअनुसार गाउँमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। उनीहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन्। होमस्टेमा दालभात त पाइन्छ नै, मुखै रसाउने थारु परिकार चाख्न त छुटाउनै हुन्न। सालको पातबाट बनाइएको दुना र टपरीमा खाना पस्किने चलन छ। थारु परिकारमा अण्डिक भात, ढिक्री, खेरिया, बरिया, पन्झरा, अण्डिक रोटी, गंगटा, घोंघी, सुँगुरको मासु, झिँगे माछा, सिन्की, मुसाको चटनी, महुवाको रक्सी, चामलको रक्सी, निगारलगायत हुन्छ।
मुलुकमा सयौं होमस्टेग्राम सञ्चालनमा छन्। तिनमा केही उत्कृष्ट सामुदायिक होमस्टेको लहरमा चम्किएको छ भादा गाउँ पनि। यहाँ दुई रात बसेर घुम्नु बेस हुन्छ। पर्यटकले यात्रा योजना बनाउँदा होमस्टे व्यवस्थापन समितिलाई पहिल्यै खबर गर्नुपर्छ। त्यसो गरमा गाउँलेले आवश्यक तयारी गर्न पाउँछन्। अनि घाम नडुब्दै गाउँमा पुग्नु पर्छ।
कसरी पुग्ने ?
काठमाडौंबाट धनगढी ६८० कि.मि. बसमा । अथवा काठमाडौंबाट १ घण्टा १० मिनेट हवाई यात्रामा धनगढी। धनगढीबाट बेली हुँदै भादा पुग्न १७ कि.मि.। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ कि.मि. र झिल चौराहाबाट १२ कि.मि. पर्छ भादा।
सम्पर्क :
होमस्टे व्यवस्थापन समिति
भादा, कैलाली
लक्ष्मीनारायण चौधरी–९८११६६२३३१