काठमाडौं। कोभिड भाइरसले संसारलाई नै स्तब्ध बनाएको धेरै समय भएको छैन। कोभिड–१९ ले संसारलाई नै पीडित बनायो। आज कोभिड शान्त भए पनि त्यसका असरहरू बाँकी नै छन्। सम्झनाहरू आलै छन्।
केशवराज थोकरको पुस्तक ‘लाइफ इन प्यानडेमिक’ले पाठकलाई महामारीका दिनहरू सम्झाउँछ।
नेपाली समाज पनि कोभिडको चपेटामा नराम्रोसँग फस्न पुग्यो। लकडाउनका दिनहरूमा सहरबजार सुनसान थियो। अस्पतालहरू भरिभराउ थिए। मान्छेको मन आत्तिएको थियो। चारैतिर अन्यौल थियो।
त्यतिबेला चिकित्साकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरू भने अहोरात्र खटिएका थिए। उनीहरू आआफ्नो बलबुताले काम गरिरहेका थिए। त्यसरी खटिने एक जना पत्रकार हुन्–केशवराज थोकर। तिनताका उनी नागरिक दैनिकमा काम गर्थे। उनले महामारीका बेला धेरै तस्बिर खिचे। धेरै तस्बिर सार्बजनिक गरे। कतिपय प्रकाशन हुन बाँकी थिए। त्यसैले उनले समाचारपत्रमा छापिएका र नछापिएका फोटाहरूको पुस्तक ‘लाइफ इन प्यानडेमिक’ प्रकाशन गरेका छन्।
उनको आफ्नो पुस्तकमा ‘मौन सहर’, ‘चरम सङ्कटमा स्वास्थ्य सेवा’, ‘कारुणिक दाहसंस्कार’, ‘आइसोलेसनमा गर्भवती महिला’, ‘सरकारविरुद्ध प्रदर्शन’, ‘अग्रपङ्क्तिका लडाकुहरु’ र ‘कोरोनाकालका अनपेक्षित पलहरू’ शीर्षकमा तस्बिर कथा पस्केका छन्।
पुस्तकका पाना पल्टाउँदै जाँदा सुनसान काठमाडौं, पशुपतिको खुला भागमा शब जलाइएको दृश्य, गभर्वती महिलाको आइसोलेसन, अक्सिजन नपाएर अस्पताल बाहिर छटपाइरहेका बिरामी, फ्रन्लाइनर आदिका तस्बिरले ती दुख्द क्षण सम्झना गराउँछन्।
‘हामीले यसरी महामारी भोगेका थियौं भन्ने पस्किने प्रयास गरेको हुँ’, उनी भन्छन्, ‘यो फोटो बुकले महामारीमा के भएको थियो भनेर सम्झनाउने छ।’
उनले एउटा ऐतिहासिक दस्तावेज बनाएर सत्कार्य गरेका छन्। सबैतिरबाट प्रशंसा पाएका छन्। समाजले एउटा कालखण्डमा कोभिड जस्तो महामारीलाई कसरी भोगेको थियो भन्ने बुझ्न यस पुस्तकले मद्धत गर्नेछ। उनको पुस्तक ‘म्हेन्दो ट्रस्ट’ले प्रकाशन गरेको हो। उनी दोस्रो संस्करण प्रकाशनको तयारीमा छन्।
दोलखाको मेलुङ गाउँपालिका–४, भेडपु गाउँमा जन्मे÷हुर्केका थोकर हिजोआज काठमाडौंको बौद्धमा बस्छन्। उनको फोटो पत्रकारिता यात्रा ‘नेपाल समाचारपत्र’बाट सुरु भएको थियो। त्यहाँ दुई वर्ष काम गरेपछि उनले नागरिक दैनिकमा १३ वर्ष काम गरे। त्यसपछि ‘आयो मेल’ डिजिटल पत्रिकामा करिब एक वर्ष फोटो सम्पादकका रुपमा काम गरे। अहिले उनी प्रिलान्सरका रुपमा क्रियाशील छन्।
कडा मिहिनेत, धैय र विषयगत ज्ञानले काममा सफलता मिल्ने उनको अनुभव छ। पत्रकारले आफ्नो ज्ञानको दायरा बढाउनु पर्छ। डिजिटल पत्रकारिताको युगमा घरमै बसेर धेरैकुरा सिक्न र बुझ्न पाइन्छ।
‘सबैका हातहातमा मोबाइल फोन छ, सबैले फोटो खिच्न सक्छन’, उनी भन्छन्, ‘फोटो पत्रकारले उनीहरूभन्दा फरक खुबी देखाउनु पर्छ। फोटो स्टोरीमा फोकस हुने। मल्टि मिडियाकर्मीमा रुपमा आफूलाई ढाल्नु पर्छ। हैनभने पेशामा टिकिरहन सकिँदैन।’
पत्रकारिता आफैंमा सजिलो काम होइन। त्यसमाथि फोटो पत्रकार सधैं फ्रन्टलाइनर बन्नु पर्छ। देशमा कुनै समस्या पर्दा वा महामारी आउँदा उनीहरू घरमै बस्छु भनेर सुख पाउँदैनन्। ‘त्यति मात्र होइन, चाडबाडमा समेत परिवारलाई समय दिन पाइन्न’, थोकर भन्छन्, ‘पहिला काम अनि परिवार।’ ‘आवाजविहिनहरूको आवाजलाई भिज्युल स्टोरी मार्फत सार्बजनिक गर्नेछु’, उनले भने, ‘बाँचुञ्जले क्यामेरा बोकेर हिँडिरहने छु।’