डोल्पा। नेपालको हिमाली भेगका विद्यालयमा एकातिर भौतिक पूर्वाधारको कमि देखिन्छ भने अर्कातिर विद्यार्थी सङ्ख्याको। त्यसमाथि अर्को प्रमुख समस्या हुन्छ, शिक्षकको। तर, डोल्पाको एउटा विद्यालय यसरी अगाडि बढिरहेको छ कि उसमा यी कुनै समस्या छैनन्।
भौतिक पूर्वाधार र गुणस्तरिय शिक्षाका कारण हिमाली भेगमै नमुना बनेको छ डोल्पाको ‘तापिरिचा माध्यमिक विद्यालय।’। नेपाल सरकार भने यसलाई नमुना विद्यालय भनेर सम्मान गर्न चुकेको छ।
शे–फोक्सुन्डो गाउँपालिका–८ मा अवस्थित ‘तापिरिचा माध्यमिक विद्यालय’मा करिब १७० विद्यार्थी पढ्छन्। यहाँ भौतिक संरचनाको दुःख छैन। विद्यालय हातामा खेल मैदान, पुस्तकालय, कक्षाकोठा, प्रयोगशाला, छात्राबास, गुम्बालगायत मनग्य संरचना छन्।
विद्यालयमा सरकारी कोटाका १० शिक्षकले पढाउँछन्। त्यसैगरी निजी श्रोतका ६ शिक्षक र ५ कर्मचारी कार्यरत छन्। यहाँ विद्यार्थीहरूलाई आवासिय रुपमा पठनपाठन हुन्छ। विद्यालय हरेक विद्यार्थीबाट वार्षिक ३ हजार रुपैयाँ, ७० किलो चामल, ४ किलो मकैको पिठो, २ किलो फापरको पिठो उठाउँछ। साथै चिया र नुन भने अभिभावकले स्वेच्छाले दिने गरेका छन्।
विद्यालयले विद्यार्थीले बिहान र बेलुकी दालभात खुवाउँछ। उसले हप्तामा दुई छाक भने ढिँडो खुवाउँदै आएको छ।शिक्षक तथा विद्यार्थी सबै स्कुल हातामै बस्छन्। त्यसैले दिउँसो मात्र होइन, बिहान र बेलुकी पनि शिक्षकले विद्यार्थीलाई सिकाउँछन्। वि.सं २०६५ सालदेखि एसइई परीक्षामा सामेल हुन थालेका यहाँका विद्यार्थीहरू राम्रो अंक ल्याएर उत्र्तीण हुँदै आएका छन्।
हिमाली भेग भएकाले जाडोमा धेरै चिसो हुन्छ। त्यसैले यस विद्यालयमा वर्षका ८ महिना मात्र पढाइ हुन्छ। कक्षा १० का विद्यार्थीलाई भने जाडोमा पनि बिदा हुँदैन। उनीहरूले एसईईको तयारी गर्नु पर्ने भएकाले जाडोमा उनीहरूलाई काठमाडौं लगेर पढाइन्छ। यतिबेला विद्यालय बन्द छ भने कक्षा १० का विद्यार्थी काठमाडौंमा बसेर पढिरहेका छन्। उनीहरु एसईई परीक्षाका बेलामा मात्र डोल्पा फर्कनेछन्।
यसरी विद्यालय नमुना बन्नुमा धेरैको मिहिनेत परेको छ। विशेषतः शिक्षासेवी सेम्दुक लामाको सपना, त्याग र मिहिनेत धेरै परेको छ। उनको होस्टेमा स्वीजरल्याण्डकी मानवशास्त्री डा. मारियट्टा काइन्ड र अमेरिकी सहयोगी क्याथरिन इमानले हैंसे गरेका छन्।
शिक्षासेवी लामाले ‘तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा’ नामक संस्था खोलेर सहयोग जुटाउँदै आएका छन्। उनलाई डा. काइन्डको संस्था ‘तापिरिचा भेहराइन’ र क्याथरिनको संस्था ‘फ्रेण्ड्स अफ डोल्पा’ले निरन्तर सहयोग गर्दै आएका छन्।
यस विद्यालयले यही असोजको २८, २९ र ३० गते धुमधामसँग रजत महोत्सव मनाइसकेको छ। महोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरिएको थियो। कार्यक्रममा विद्यार्थीले आआफ्ना प्रतिभा पनि देखाएका थिए।
हेर्नुहोस् तापिरिचा विद्यालयको रजत महोत्सवका तस्बिरहरु :