डडेल्धुरा। सुन्दर सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको भित्री मधेशमा एउटा सुन्दर ताल छ, आलिताल। आलिताल गाउँपालिका–३ मा पर्दछ ताल (८,०० मिटर)।
डडेल्धुराको आलितालमा माघे सङ्क्रान्तिका दिन मेला लाग्छ। त्यही बेला घुम्ने कि ?
प्राकृतिक तथा धार्मिक हिसाबले आलिताल आकर्षक छ। ताल वरपर बाराही, समैजी र भगवतीका मन्दिर छन्। यहाँ श्रीपञ्चमी र माघे संक्रान्तिमा ठुलो मेला लाग्छ।
माघे सङ्क्रान्ति आउन धेरै दिन बाँकी छैन। त्यही बेला घुम्ने कि ?
तालको पानी दक्षिणपट्टीबाट निकास हुन्छ, जसलाई झरन खोला भनिन्छ ।यो खोला रंगुन नदीमा पुगेर मिसिन्छ। रंगुन नदीमा पुल बनाउन बाँकी छ। पुल बनाउन पहल भैरहेको गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बताउँछिन्। ताल वरीपरी ५ ओटा सामुदायिक वन छन्। वन क्षेत्रमा जंगली जनावर बँदेल, मृग, चितुवा आदिको बसोबास छ। तालमा जाडो छल्न समुन्द्र पारीबाट फिरन्ते चरा पनि आउँछन्।
केही दिन अघि डडेल्धुराको रणबम गण र आलिताल गाउँपालिकाको आयोजनामा आलिताल सरसफाई गरिएको थियो। आलिताल किनारामा खाना र बास सुविधा छैन। नजिकका घुम्ति बजार र गोदाम बजारमा सामान्य खाना र बास पाइन्छ। प्रशस्तै पर्यटकीय सम्भावना बोकेको तालको राम्रो प्रचारप्रसार आवश्यक देखिन्छ। डडेल्धुराका पत्रकार एवम् पर्यटनविज्ञ गणेशबहादुर मगर भन्छन्, ‘आलितालको एग्रेसिभ मार्केटिङ गर्न सके यहाँ चहलपहल बढाउन सकिन्छ। यसका लागि गाउँपालिकाले पहल गर्नु पर्छ।’
कसरी पुग्ने ?
डडेल्धुराकोे बुडरबाट करिब १८ किलोमिटर दूरीमा आलिताल। बुडर–जोगबुढा सडक खण्डको घुम्ति बजारसम्म १६ किलोमिटर पक्कि सडक छ। त्यहाँबाट उत्तरपश्चिम २७ सय मिटरमा ताल।
थप जानकारीका लागि
गणेशबहादुर मगर
पत्रकार
सम्पर्क: ९८४८७६७५५३