सोलुखुम्बु। सर्बोच्च शिखर सगरमाथा हिमालका कारण संसारभर चिनिएको सोलुखुम्बु जिल्लामा बर्सेनी हजारौं पदयात्री हिँड्छन्। त्यसैले उपल्लो भेग (खुम्बु क्षेत्र)ले पर्यटनबाट मनग्य लाभ लिइरहेको छ। तर, तल्लो भेग अर्थात् सोलुमा भने चहलपहल कम छ।
लो अल्टिच्युडमा पदयात्रा गरेर सजिलै सगरमाथासहितका हिमसृङ्खला अवलोकन गर्न चाहनेका लागि सोलुखुम्बुको ‘माप्य दुधकोशी गाउँपालिका’ले एउटा सुन्दर पदमार्ग पस्किएको छ, ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’।
नयाँ पदमार्गको नक्सा सार्बजनिक गरिँदै।
सोलुमा पनि पर्यटनको अथाह सम्भावना छ। सोलुको पिके र दुधकुण्ड पदमार्ग भने स्थापित भैसकेका छन्। हालै नयाँ सम्भावना उजागर गर्दै ‘माप्य दुधकोशी गाउँपालिका’ले ब्रान्डिङ गरेको पदमार्ग ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’ शुभारम्भ गरिएको छ। कार्यक्रममा पदमार्गको नक्सा र ब्रोसर समेत लोकापर्ण गरिएको थियो।
राई समुदायको चण्डी नाच।
पदमार्ग शुभारम्भसँगै उसले पर्यटनकर्मी, पत्रकारसहित सरोकारवालालाई परिचयात्मक भ्रमण समते गरायो। उनीहरुलाई मङ्सिर २८ गतेदेखि २ गतेसम्म ५ दिन घुमाएर आफ्ना सम्पदा पहिचान गराएको हो। पदयात्राको मुख्य आकर्षण २८ पटक सगरमाथा आरोहण गरिसकेका ‘साहसिक हिरो’ कामिरिता शेर्पा बन्न पुगे। कार्यक्रम शुभारम्भ भने कोसी प्रदेशका सभासद् बुद्धिकुमार राजभण्डारीले गरेका थिए। टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्ड कार्यक्रमका सहयोगी हुन्।
सिलगुडी डाँडाबाट देखिएका सगरमाथासहितका हिमाल।
एभरेष्ट दुधकोशी कल्चरल ट्रेल
लो अल्टिच्युडमा पदयात्रा गरेर सजिलै सगरमाथासहितका हिमसृङ्खला अवलोकन गर्न चाहनेका लागि सोलुखुम्बुको ‘माप्य दुधकोशी गाउँपालिका’ले एउटा सुन्दर पदमार्ग पस्किएको छ। ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’का रुपमा ब्रान्डिङ गरिएको नयाँ पदमार्गमा प्रकृति र संस्कृतिको सुवास पाइन्छ।
घुम्ने मेरा (च्याङमितेङ)मा शेर्पा संस्कृति।
सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारबाट सुरु हुने पदमार्ग सिलगुडी डाँडा, घुम्ने मेरा गुम्बा (च्याङमितेङ गुम्बा), कुदाम डाँडा, योतेल्म्ये हुँदै सिलगुडीसम्म आइपुग्छ। काठमाडौंबाट निस्कनेहरु पाँचौं दिनमा काठमाडौं आइपुग्न भ्याउँछन्। आउँदा र जाँदा दुई दिन गाडीमा र बाँकी तीन दिन पदयात्रा। दिन लम्ब्याउन चाहनेका लागि समेत ठाउँ छन्। यही पदमार्गबाट मेरा पिक र सगरमाथा आधारशिविरसम्म पनि जान मिल्छ। काठमाडौंबाट सिलगुडी हुँदै मेरा पिक पुगेर काठमाडौं फर्कन १४ दिनको प्याकेज बनाउनु पर्छ।
पाहुनाको स्वागतमा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई।
मौसम बिग्रिएका बेला लुक्ला विमानस्थलमा जहाज चल्दैनन्। पर्यटकको चाप हुँदा बेलैमा उड्न समेत पाउँदैनन्। त्यसैले नयाँ पदमार्गबाट सगरमाथा आधारशिविर वा मेरा पिक जाने हो भने खर्च पनि कम लाग्छ। किनकी मन्थली वा काठमाडौंबाट लुक्ला उडान भर्न विदेशीले महंगो डलर शुल्क तिर्नु पर्ने बाध्यता छ।
कुदाम चौर।
नयाँ पदमार्गमा गुराँसे जङ्गलका बीचमा रोमाञ्चक अनुभूति सँगाल्न पाइन्छ। यात्रामा खालिङ (राई), शेर्पा, तामाङ, मगर समुदाय आदिको संस्कृति र जीवनशैलीमा रम्न सकिन्छ। बास बस्न सल्लेरीमा थुप्रै होटल छन् भने सिलगुडी डाँडामा गोठ स्टे छ। त्यसैगरी गुम्बामा पनि पाहुना कक्ष छन्। गुम्बाका आनी र लामा र विद्यार्थीसँग साक्षात्कार गर्न सकिन्छ। शुद्ध शाकाहारी भोजन ग्रहण गर्न सकिन्छ।
सिलगुडीबाट देखिएको सूर्योदय।
योतेल्म्येमा गाउँपालिकाले सेल्टर हाउस बनाइदिएको छ। बन्दोबस्तीका सामान लिएर गएमा सेल्टरमा खाना पकाएर खान सकिन्छ। तल अधेरी गाउँमा पनि सामान्य खाना र बास सुविधा पाइन्छ। त्यहाँबाट गाडीमा सिलगुडी या सल्लेरी आएर बास बस्न सकिन्छ।
मेरा पिक (६, ४४५ मिटर)।
गाउँपालिकाका पर्यटनप्रेमी अध्यक्ष बुद्धिकिरण राईको सक्रियतामा पदमार्ग एक्सप्लोर गरी धमाधम पूर्वाधार निर्माण भैरहेको छ। उनलाई गाउँपालिकाका उपाध्यक्ष गौरव राईसहित सबैले साथ दिइरहेका छन्।
पदयात्री।
सगरमाथा दर्शन
सगरमाथासहित दर्जनौं हिमालको दृश्यावलोकन गर्नका लागि एभरेष्ट दुधकोशी कल्चरल ट्रेल उपयुक्त छ। यस पदमार्गमा पर्ने सिलगुडी (३,०२० मिटर), कुदाम (२९०० मिटर) र कुदाम हाइक्याम्प (३२०० मिटर)बाट अनेकौं हिमालको लर्कन देखिन्छ। नुम्बुर, कार्यालुङ, थामसेर्कु, सगरमाथा, काङ्तेका, कुसुम काङ्ग्रु, ल्होत्सेसार, क्यासार, बरुन्चे, मेरा पिक, चामलाङ, पाङ्गु, नेपाल पिकदेखि कञ्चनजंघासम्म देखिन्छन्। त्यसैगरी नुम्बुर र कार्यालुङको मिठो दृश्यका लागि योतेल्म्ये (२,८०० मिटर) पनि उपयुक्त छ।
सिलगुडी डाँडाबाट देखिएका सगरमाथासहितका हिमाल।
यी डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि चित्ताकर्षक देखिन्छन्। डाँडामा सधैं शितल हुन्छ। दिउँसो पारीलो घाम लाग्छ। जङ्गलमा हरपल चराको चिरबिर सुनिन्छ। लालीगुराँससहित जैविक विविधता अध्ययनका लागि समेत पदमार्ग आकर्षक गन्तव्य बन्न सक्छ। गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन अभियन्ता बुद्धिकिरण राई भन्छन्, ‘हामी विज्ञलाई बोलाएर यस क्षेत्रका चरा, लालीगुराँस र सुनाखरीसहितका वनस्पतिको चाँडै अध्ययन गराउने छौं।’
पदयात्रामा सुरज शाक्य, अमृत भादगाउँले, गजुरधन राई, देवेन्द्र बस्न्यात र रञ्जन राजभण्डारी।
विदेसी पर्यटक ल्याउन समय लाग्छ। राम्रो अक्कल पु¥याएर मार्केटिङ गर्न सके आउने गुराँसे सिजन (चैतबैशाख)मै यस पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल बढाउन सकिन्छ। त्यसका लागि गाउँपालिकाले योतेल्म्येमा बनाएको सेल्टर हाउसमा सजिलै खाने र बस्ने व्यवस्था मिलाइहाल्नु पर्छ। साथै आमसञ्चार र सामाजिक सञ्जालबाट एग्रेसिभ प्रचार आवश्यक छ।
योतेल्मे।
चाँडै सिलगुडी डाँडा र कुदाम डाँडालाई हिलस्टेशनका रुपमा चम्काउन सकिन्छ। पदयात्रामा रुचि नभएका सौखिन पर्यटक सिलगुडीमा पुगेर रमाउने छन् भने हिँड्न रुचि हुनेहरु कुदाम डाँडासम्म पुग्नेछन्। त्यसैले यहाँ पर्यटनको भबिश्य उज्यालो देखिन्छ।
कुदामचौरमा पर्यटन व्यवसायीहरु पेमा टेण्डी शेर्पा, चोलेन्द्र कार्की र मानवीर राई।
रक क्लाइम्बिङ
माप्य दुधकोशीमा नयाँ पदमार्ग मात्र होइन, रक क्लाइम्बिङ सेन्टर पनि शुभारम्भ गरिएको छ। वडा नं ५ मा अवस्थित महभिरलाई चट्टान आरोहणको नमुना गन्तव्य बनाउने अभियान सुरु गरिएको छ। सय मिटर अग्लो भिरमा चट्टान आरोहणका पूर्वाधार विकास गरिएको छ। रक क्लाइम्बिङ रुट तयार गर्ने प्राविधिक काम भने माउन्टेन गाइड एसोसियसन अफ नेपाल (मोगान)ले गरेको हो। मोगानका अध्यक्ष संजिब गुरुङ, उपाध्यक्ष पासाङ लामा, महासचिव रामकाजी तिवारीसहित दाबा टासी शेर्पा र रक्षराज तामाङले काम गरेका हुन्।
महभिरमा रक क्लाइम्बिङ।
पुस १ गते रक क्लाइम्बिङको औपचारिक शुभारम्भ गरिएको थियो। शुभारम्भ कार्यक्रमा रामकाजीले १२० मिटर अग्लो चट्टानबाट डोरीमा तल झरेर ¥याप्लिङ खेल प्रदर्शन गरी सबैलाई चकित बनाएका थिए। त्यसैगरी पासाङ लामा, रक्षराज तामाङ, सेविका तामाङ र योगराज राईले पनि रक क्लाइम्बिङ गरे।
रक क्लाइम्बिङका प्रशिक्षकहरू।
यसै सिलसिलामा मोगानले स्थानीय १२ जना युवालाई रक क्लाइम्बिङ तालिम दिएको छ। यस क्षेत्रमा रक क्लाम्बिङका साथै भलिबल, टेनिस, जिप लाइन आदि खेल विकास गरेर साहसिक खेल पर्यटन केन्द्रका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ। ‘स्थानीय सक्रिय भए भने यो ठाउँ चम्किन्छ। अब युवाले क्लब बनाएर यसको विकासमा क्रियाशील हुनु पर्छ’, मोगानका अध्यक्ष संजिब गुरुङले भने।
र्याप्लिङ गर्दै रामकाजी तिवारी ‘प्रयास’।
सडक सञ्जाल नजिकै रहेको प्राकृतिक पहरामा रक क्लाइम्बिङ गर्न स्वदेसी तथा विदेसी लोभिन सक्छन्। त्यसका लागि गाउँपालिकाले राम्रो प्रचार र निन्तर इभेन्ट आयोजना गर्नु पर्ने देखिन्छ। स्मरणीय छ, रक क्लाइम्विङ राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त तथा ओलम्पिक अन्तर्गतको खेल हो जसको विश्व कप खेल सन् २०२४ मा फ्रान्समा हुँदैछ। हिमाल आरोहणमा नेपाल अगाडि भए पनि खेल मार्फत् विश्वमा चिनाउने काम भने भैसकेको छैन।
सहयोगीलाई सम्मान
नयाँ पदमार्ग पहिचान गर्न सहयोग पु र्याउने ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान), २८ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही कामिरिता शेर्पा, नेपाल पर्यटन बोर्ड र माउन्टेन गाइड एसोसियसन अफ नेपाल (मोगान)लाई सम्मान गरियो। माप्य दुधकोशी गाउँपालिकाका तर्फबाट उनीहरुलाई कोसी प्रदेशका सभासद् बुद्धिकुमार राजभण्डारी सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
सम्मान ग्रहण गर्दै टानका सचिव विनाेद सापकाेटा र अध्यक्ष निलहरी बाँस्ताेला।
मङ्सिर २९ गते बिहान सिलगुडी डाँडामा आयोजित पदमार्ग शुभारम्भ कार्यक्रममा राजभण्डारीले हस्तान्तरण गरेको प्रमाणपत्र टानका अध्यक्ष निलहरी बाँस्तोला, पर्वतारोही शेर्पा र मोगानका अध्यक्ष संजिब गुरुङले ग्रहण गरेका थिए। कार्यक्रममा पर्यटन बोर्डका सदस्य भने अनुपश्थित भए। पदमार्ग शुभारम्भ र परिचयात्मक भ्रमण कार्यक्रमका लागि काठमाडौंबाट आएको टोलीलाई खादा र मालाले भव्य स्वागत गरिएको थियो। त्यसैगरी पन्चे बाजा र किरात समुदायको चण्डी नाच कला समेत अवलोकन गराइयो।

दुई तारा
माप्य दुधकोशीलाई भर्खरै पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ। तर यस क्षेत्रका दुई जना पर्यटनकर्मीले भने पहिलेदेखि नै गाउँघरमा पर्यटक डुलाउँदै आएका छन्। यसैगरी अन्य पर्यटनकर्मीले पनि पर्यटक डुलाउने हो भने मात्र पनि एभरेष्ट दुधकोशी कल्चर ट्रेल चाँडै नै पर्यटन बजारमा स्थापित बन्ने छ।
पेमा टेण्डी शेर्पा
माप्य दुधकोशी गाउँपालिका–७, सोलावनका पेमा टेण्डी शेर्पा स्थापित पर्यटन व्यवसायी हुन्। अचेल उनी आफ्नै कम्पनी ‘विङ्ग्स टे«क एन्ड एक्सपिडिसन’ मार्फत विभिन्न देशका पर्यटकलाई नेपालमा डुलाउँछन्। उनी भर्खर ४६ वर्षमा हिँड्दैछन्। तर, २८ वर्ष भैसक्यो पदयात्रा पर्यटनमा लागेको। पदयात्राको किचेन स्टाफबाट पर्यटन यात्रा सुरु गरेका उनले सन् २००२ मा पथप्रदर्शक लाइसेन्स प्राप्त गरे।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईबाट मायाकाे चिनाे लिँदै पेमा टेण्डी शेर्पा ।
उनी नेपालका प्रायः सबै पदमार्गमा पुगिसकेका छन्। उनले सन् २०१३ मा आफ्नो कम्पनी खोलेका हुन्। उनले आफ्नो गाउँतिर सन् २०१३ देखि नै पर्यटक डुलाउन थालेका हुन्। सिलगुडीबाट कहिले मेरा पिकसम्म त कहिले सगरमाथा आधारशिविरसम्म पु¥याएर फर्काउँछन्। यो रुटमा उनले बेलायती, जर्मनी, फ्रान्स र अमेरिकी पर्यटक डुलाइसके। त्यसो त उनी थाइल्याण्ड, जापान, अष्ट्रेलिया र युरोपका पर्यटकलाई पनि नेपालमा घुमाउँछन्।
‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’का विषयमा उनी भन्छन्, ‘समय कम भएकाहरूलाई यो एकदम राम्रो विकल्प छ। अब सगरमाथा हेर्न सगरमाथा आधारशिविरै पुग्नु पर्छ भन्ने छैन। सिलगुडी मात्र पुगे पनि पुग्छ। छोटो समय र थोरै खर्चमा यात्रा गर्न सकिन्छ।’
कपन, काठमाडौंमा परिवारसँग बस्दै आएका उनको योजना के छ त ?
भन्छन्, ‘सकुञ्जेलसम्म यही पेशालाई निरन्तरता दिने छु।’
पेमालाई धेरैधेरै शुभकामना !
सम्पर्क: पेमा टेण्डी शेर्पा ९८५१०८९९४६
पासाङ शेर्पा
माप्य दुधकोशी गाउँपालिका–४ घुम्ने मेरा (च्याङमितेङ) मा जन्मे÷हुर्केका पासाङ शेर्पा ४५ वर्षका भए। उनी आफ्नै कम्पनी ‘माउन्टेन शेर्पा टे«किङ’ मार्फत पर्यटकलाई नेपालमा घुमाउँछन्।
उनी पर्यटनमा लागेको २८ वर्ष भयो। काठमाडौंमा कलेज पढ्दै गर्दा वि.सं. २०५२ असोजदेखि उनी पदयात्राको भरिया भएर यस क्षेत्रमा प्रवेश गरेका हुन्। उनी वि.सं. २०५४ सालदेखि पथप्रदर्शक बने। कम्पनी भने वि.सं.२०५८ सालमा खोलेका हुन्।

उनी नेपालका सबै पदमार्गमा पर्यटक डुलाउँछन्। उनी अमेरिकी, क्यानेडियन, बेलायती, युरोपेली र अष्ट्रेलियाली पर्यटक नेपाल भित्र्याउँछन्। उनले सन् २००८ देखि आफ्नै गाउँघरतिर पर्यटक डुलाउन थालेका हुन्।
उनले नयाँ ब्रान्डिङ गरिएको पदमार्ग ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’को अथाह सम्भावना देखेका छन्। ‘पर्यटकको आवश्यकता अनुसार यसलाई तीन दिनदेखि २० दिनसम्मको पदयात्रा बनाउन सकिन्छ’, उनी भन्छन्, ‘लो अल्टिच्युडमा हिँड्न रुचाउने र सांस्कृतिक विविधता हेर्न मन पराउने पर्यटक यस रुटमा रमाउन सक्छन्।’ स्वदेसी तथा विदेसी दुबै खाले पर्यटकका लागि सस्तो र सजिलो गन्तव्यका रुपमा नयाँ पदमार्ग उपयुक्त भएको उनी बताउँछन्।
बाँसबारी, काठमाडौंमा बसोबास गर्दै आएका पासाङको अबको योजना के छ त?
‘म नपुगेका पदमार्गहरू मनास्लु, डोल्पो, कञ्चनजंघा र मकालु पुग्ने चाहना छ’, उनी भन्छन्, ‘आफ्नो जन्मथलो माप्य दुधकोशीमा पर्यटन मार्फत समृद्धि ल्याउन पहल गर्नेछु।’
पासाङलाई धेरैधेरै शुभकामना !
सम्पर्क: पासाङ शेर्पा ९८५१०६०९४७
नुम्बुर र कार्यालुङ हिमाल।
सिलगुडीमा गोठ स्टे
हिमालय दर्शन, सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिने शितल अनि शान्त डाँडा–सिलगुडी (३,०२० मिटर)। सदरमुकाम सल्लेरी बजारबाट उत्तरपूर्व ७ किलोमिटर दूरीमा माप्य दुधकोशी गाउँपालिका वडा नं ५ मा पर्ने डाँडा। पहिलापहिला यहाँ चौंरी, भैंसी, भेडा र गाई गोठ राखिन्थ्यो।
गोठ स्टे।
अचेल गोठ राख्ने चलन हरायो। डाँडामा भर्खरै ‘गोठ स्टे’का नाममा एउटा होटल खोलिएको छ। यसको सञ्चालक डबलसिंह राई हुन्। उनले १० ओटा कोठा बनाएका छन्। दुई ओटामा चाहिँ अट्याच बाथरुम सुविधा छ। त्यसैगरी चित्रा र मान्द्राले बारेर लहरै सुत्न मिल्ने एउटा गोठ पनि बनाइएको छ।
अट्याच बाथरुमसहितका कोठाको मूल्य ८ सय रुपैयाँ, अन्य कोठाको ३ सय रुपैयाँ छ भने गोठमा निःशुल्क सुत्न पाइन्छ। सिलगुडी आफैंमा रमाइलो छँदैछ। यसलाई केन्द्रमा राखेर घुम्ने मेरा गुम्बा, रातानाङ्े डाँडा र कुदाम डाँडा घुमफिर गर्न सकिन्छ।

लस्कु गाउँका राईले १३ वर्ष अगाडी यहाँ जग्गा किनेका थिए। नयाँ वर्षलगायत विभिन्न पर्वमा सिलगुडीमा चहलपहल हुन्थ्यो। ‘भविश्यमा होटल खोलौंला भनेर जग्गा किनेको थिएँ’, उनले भने, ‘अब हेलिप्याड, खेल मैदान र एउटा हल बनाउने योजना छ।’ अस्ती मङ्सिर २२ गते होटल उद्घाटन गरिएको हो। यसको निर्माणमा करिब ९० लाख रुपैयाँ खर्च भैसकेको उनले बताए। उनलाई गाउँपालिको २५ लाख रुपैयाँ अनुदान दिएको छ। त्यसैगरी खानेपानीका लागि थप ४ लाख रुपैयाँ दिएको थियो।
डबलसिंह राई।
किसान पृष्ठभूमिका राई अघिल्लो चुनावमा ४ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए। परिवार मिलेर होटल चलाइरहेका छन्। भन्छन्, ‘स्थानीय सागसब्जी, अर्गानिक परिकार खुवाउँछौं। पाहुनालाई न्यानो आतिथ्यता दिन्छौं।’
बाँकी जीवन पर्यटनमै विताउने उनको योजना छ। उनलाई शुभकामना !
सम्पर्क: डबलसिंह राई–९८६०९२४१२५
कसरी पुग्ने ?
काठमाडौंबाट खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार २७७ किलोमिटर, बसमा ११ घण्टा। अथवा काठमाडौंबाट ३५ मिनेट हवाई यात्रामा फाप्लु। सल्लेरीबाटै पदयात्रा सुरु गर्न सकिन्छ। अथवा ७ किलोमिटर दूरीको सिलगुडी डाँडासम्म जिपमा गएर पदयात्रा सुरु गरे पनि हुन्छ।
रक क्लाइम्बिङ शुभारम्भ गर्दै कोसी प्रदेशका सभासद बुद्धिकुमार राजभण्डारी।
सिलगुडी डाँडा।
सम्पर्क :
बुद्धिकिरण राई
अध्यक्ष, माप्य दुधकोशी गाउँपालिका
सोलुखुम्बु
फोन: ९८५११८७११६
गौरव राई
उपाध्यक्ष, माप्य दुधकोशी गाउँपालिका
सोलुखुम्बु
फोन: ९८४२९२२७६७
हेर्नुहाेस् थप तस्बिरहरु:
कीर्तिमानी आराेही कामिरीता शेर्पा।
कुदाम चौरमा ब्रेकफास्ट खाँदै छिमदोर्जी शेपा लगायत पर्यटनकर्मीहरु।
साइक्लिष्टहरु किरण तामाङ र फूर्वा शेर्पा।
कुदाम डाँडामा पदयात्रीहरु।
ठुल ढुङ्गा गाउँका कलाकार।
ठुल ढुङ्गामा किरात संस्कृति।