काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम केही दिन अघि प्रतिष्ठानको देवकोटा सभाकक्षमा गरियो। हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाका रूपमा यस्तो कार्यक्रम गरिन्छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ ’विमल निभा’ले ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचाहन गरी तिनको अस्तित्व संरक्षण गर्न दत्तचित्तका साथ प्रतिष्ठान लागि परेको बताए।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण )विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले मातृभाषा साहित्य श्रृङ्खलाले पहिचान र चेतनालाई व्पापक बनाउन र एकआपसमा सुपरिचित हुन सहयोग पुगेको चर्चा गरे।
अर्का वक्ता एवम् प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख एवम् कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले भने, ‘आफ्नो मातृभाषालाई व्यक्तिले संरक्षण गरेर मात्रै सम्भव छैन। त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेट व्यवस्था गर्नु पर्दछ। साथै अघिल्लो पुस्तासँग भएको मातृभाषा, रैथाने ज्ञान र सीपलाई अभिलेखिकरण गर्ने काममा हामी सक्रिय छौं।’
कार्यक्रममा गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा–साहित्यकी अन्वेषक गौरी तमूले ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक कार्यपत्र प्रस्केकी थिइन्।
कार्यपत्रमा पहिचान सम्बन्धि अवधारणा, गुरुङ साहित्यको विकास र विस्तार, गुरुङ भाषाको साहित्य, श्रुति साहित्य, लिखित साहित्य, श्रव्य–दृश्य साहित्य, गुरुङ भाषाको साहित्यमा पहिचान, गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि समेटिएको छ।
उनको कार्यपत्रमाथि सिताराम गुरुङ, रामकाजी कोने, मणिराज गुरुङ, सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गरेका थिए। यस कार्यक्रममा मगर ढुटभाषाका कवि हिरा राना मगर, तामाङ भाषाका कवि रिना बम्जन र खालिङ भाषाका कवि रेजिना खालिङले आ–आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए।